+

छोरीमैत्री शहर बनाइरहेकी मेयर

पूरा सूची
Shares
उनी छोरीका लागि सुरक्षित शहर चाहन्छिन् । वीरेन्द्रनगर नगरपालिकामा आमा–छोरी सम्बन्धी मात्रै दर्जन बढी कार्यक्रम छन् । जुन शहरमा छोरी सुरक्षित हुन्छिन्, त्यहाँ कोही पनि असुरक्षित हुँदैन भन्ने उनको बुझाइ छ ।
मोहनमाया ढकाल

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर शहरकी मेयर हुन्, मोहनमाया ढकाल । महिलाको नेतृत्वमा पनि उल्लेखनीय काम हुन सम्भव छ भन्ने भाष्य बनाउन चाहन्छिन् मोहनमाया । ‘थुप्रै चुनौती छन्, तर मैले यसलाई छोरीले नेतृत्व पाए फरक र नयाँ काम गर्न सक्छन् भनेर पुष्टि गर्ने अवसरको रूपमा लिएकी छु ।’

महिलाहरू सजिलै नेतृत्वमा पुग्न सक्दैनन्, अनि पुगिहाले भने पनि उल्लेख्य काम गर्न सक्दैनन् भन्ने यहाँको सामाजिक भाष्य चिर्न चाहन्छिन् उनी ।

केही दिनअघि हामी उनको कार्यालय पुग्दा उनी स्टाफ मिटिङमा थिइन् । केही समय पर्खिएपछि उनले हामीलाई समय दिइन् । ‘बिहानै अफिस आउनुहुँदोरहेछ’ भन्ने हाम्रो जिज्ञासामा मेयर ढकालले आफ्नो दैनिक कार्य तालिका यस्तै रहेको सुनाइन् ।

‘प्रायः ७ बजे नै कार्यालय आइपुग्छु, चिया पिउँदै साढे एक घण्टा जसो फाइल पल्टाउँछु र आवश्यकता अनुसार प्रमुख प्रशासकीय र शाखा प्रमुखहरूलाई बिहानै कार्यालय बोलाएर काम लगाउँछु ।’ उनी १० बजे अगावै अफिसको काम सकेर दिउँसो ३ बजेसम्म सेवाग्राहीलाई समय दिन्छिन् ।

अघिल्लो कार्यकाल उपमेयर रहेकी उनलाई ०७९ को स्थानीय निर्वाचनमा नगरवासीले राजधानी शहरको नेतृत्व सम्हाल्ने जनादेश दिए । उपमेयर हुँदा स्थानीय तहबारे नजिकबाट बुझ्ने मौका पाएको र मेयर भएपछि आमा र छोरीको हितमा एक दर्जन जति कार्यक्रम बनाएको तथा विकासका केही दीर्घकालीन महत्वका योजना अगाडि सारेको ढकालको भनाइ छ ।

‘मलाई थाहा छ, स्टन्टबाजी क्षणिक हुन्छ । हामीले थुप्रै कामको सुरुवात गरेका छौं, परिणामका लागि पर्खिनुपर्छ’, उनी भन्छिन् । लोकप्रिय मतले चुनाव जितेकी मोहनमाया काम नगरे मतदाताले दण्डित गर्छन् भन्नेमा सचेत छिन् ।

२७ चैत २०३६ मा वीरेन्द्रनगर–१६, गर्पन मेहेलीमा जन्मिएकी मोहनमाया वीरेन्द्रनगरकी स्थायी बासिन्दा हुन् । सामान्य परिवारमा जन्मिएर र दुई दाइभाइसँग अभाव र विभेद नझेली हुर्किएकी एक्ली छोरी हुन् ।

किशोरावस्थामा उनी राजनीतिमा लाग्दा देशमा पञ्चायतको जगजगी थियो । वीरेन्द्रनगरको अमर ज्योति माविमा कक्षा ८ मा पढ्दा १४ वर्षको उमेरमा उनी नेकपा एमाले निकट विद्यार्थी राजनीतिमा जोडिएकी थिइन् । शिक्षा क्याम्पस सुर्खेतमा पढ्न आएपछि २०५६ सालमा क्याम्पसको विद्यार्थी राजनीतिमा जोडिइन् ।

‘कतिपय बेला त म आन्दोलनमा हिंड्ने एक्ली केटी हुन्थें’ उनले भनिन्, ‘धेरै जनाले एक्लै आन्दोलनमा हिंडेर के हुन्छ ? भन्दै प्रश्न गर्नुहुन्थ्यो । हामी अधिकारका लागि लडिरहेका छौं भन्थ्यौं ।’ २०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमा सक्रिय ढकाल २०६२ मा पार्टी राजनीतिमा प्रवेश गरेकी हुन् । हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य छिन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर ढकालले उपप्रमुखमा निर्वाचित भएसँगै कानुनमा पनि स्नातक गरेकी छन् । अध्ययन र निर्णय क्षमताका कारण उनी कर्णाली प्रदेशमै न्यायिक समितिमध्ये अब्बल काम गर्ने उपप्रमुख थिइन् ।

संविधानले समावेशिताको हक प्रत्याभूत गरे पनि राजनीतिक दलका नेताहरूको चेतनास्तर अझै नबदलिएको मेयर ढकालको बुझाइ छ । ‘महिलाहरू कोटामै सीमित हुन्छन्, मूल नेतृत्वमा आउन सक्दैनन् र आइहाले पनि प्रभावकारी काम गर्न सक्दैनन् भन्ने भाष्य अहिले पनि समाजमा रहेको उनी बताउँछिन् ।

‘छोरीका लागि सुरक्षित शहर’

मोहनमाया पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो प्रेरणाको स्रोत मान्छिन् । त्यसैले कार्यकक्षमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै उनले पूर्वराष्ट्रपति भण्डारीको तस्वीर पनि राखेकी छन् ।

‘बिहान कार्यकक्षमा आउँदा उहाँको तस्वीर देख्दा मलाई छुट्टै ऊर्जा आउँछ’ उनले भनिन्, ‘उहाँको जीवन मेरो प्रेरणाको स्रोत हो ।’ देशको पहिलो महिला राष्ट्रपति भण्डारीको तस्वीर देख्दा उनलाई लाग्छ, छोरीहरू पनि यो देशको राष्ट्रप्रमुख बन्न सक्छन् ।

उनी वीरेन्द्रनगर नगरपालिकालाई छोरी सुरक्षित शहरका रूपमा विकास गर्न चाहन्छिन् । त्यसैले नगरपालिकाले गर्ने निर्णय र कार्यक्रममा महिलालाई प्राथमिकतामा राखेर काम गर्ने गरेको उनको भनाइ छ । उनका बुझाइमा, ‘संविधानले महिलाका लागि थुप्रै अधिकार प्रत्याभूत गरे पनि समाजले छोरीलाई गर्भमै मार्ने चलन अहिले पनि कायमै छ ।

त्यसैले उनी वीरेन्द्रनगरलाई यस्तो शहर बनाउन चाहन्छिन् जहाँ छोरीहरूले म सुरक्षित छु । मसँग मेरो स्थानीय सरकार छ । मेरो सुरक्षा उसले गर्छ । मैले पाउनुपर्ने सम्पूर्ण अधिकार सहजताका साथ पाउँछु भन्ने महसुस गरुन् ।

मेयर ढकाल भन्छिन्, ‘त्यसका लागि हामीले आमा र छोरीका लागि मात्रै दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन गरेका छौं ।’ जुन शहरमा छोरी सुरक्षित हुन्छे त्यहाँ कोही पनि असुरक्षित हुँदैन भन्ने उनको बुझाइ छ ।

राज्य प्रत्येक नागरिकको अभिभावक हो । राज्यले अन्यायमा परेकालाई न्याय दिन्छ । अप्ठेरो परेको बेला सम्बोधन र सुरक्षा गर्छ । उनी भन्छिन्, ‘हामी महिला–पुरुष बीचको विभेद अन्त्य भएको नगर बनाउन चाहन्छौं । वीरेन्द्रनगरमा बसेकी छोरीले कुनै पनि प्रकारको विभेद महसुस गर्नुपर्ने छैन ।’

त्यसैले ‘छोरी हुनुमा गर्व गर’ भन्ने नारा सहित बालविवाह, बहुविवाह, बालश्रम मुक्त नगर जस्ता अभियान सञ्चालनमा ल्याएकी छन् । महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार, मेयरसँग महिला किसान लगायत दर्जन बढी महिला सम्बन्धी योजना सञ्चालनमा छन् ।

यस वाहेक महिलाका लागि निःशुल्क स्यानिटरी प्याड, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे कार्यक्रम पनि सञ्चालन गरिएको र ती कार्यक्रम एकदमै प्रभावकारी भएको उनको दाबी छ । यीमध्ये कतिपय कार्यक्रम त उनले उपमेयर हुँदा नै सञ्चालनमा ल्याएकी थिइन् ।

छोरी बचाउन बैंक खाता

अहिले पनि वीरेन्द्रनगर लगायत कर्णाली प्रदेशका जिल्लामा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने चलन कायमै छ । पाँच वर्ष पहिला यो संख्या दोब्बर भएको ढकालको भनाइ छ । छोरी जन्मनै नदिने, जन्मिहाले परिवारले बोझको रूपमा लिने र उनीहरूलाई विद्यालय नपठाउने, पठाइहाले पनि उच्चशिक्षा नपढाउने जस्ता विभेद परिवारबाटै हुँदै आएको छ ।

त्यसैलाई चिर्न नगरपालिकाले नगर क्षेत्रमा जन्मिने छोरीका लागि निःशुल्क बैंक खाता खोलिदिने योजना पाँच वर्ष पहिले नै ल्याएको थियो । उपमेयरमा निर्वाचित भएपछि ढकालको प्रस्तावमा पहिलो नगर सभा बैठकले सो प्रस्ताव पारित गरेको थियो ।

यसरी उनी नगरभित्र जन्मिने छोरीको बैंकमा एक हजार रुपैयाँको बचत खाता खोलिदिने निर्णय गराउन सफल भइन् । छोरा र छोरीबीचको विभेद न्यूनीकरण गर्न प्रोत्साहन स्वरूप यो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
‘वीरेन्द्रनगरमा जन्मिने हरेक छोरीको बैंकमा बचत खाता नगरपालिकाले नै खोलिदिएको छ । छोरी जन्मिएकोमा गर्वको अनुभूति होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएका हौं’, उनले भनिन् ।

यो कार्यक्रम पछि कर्णाली प्रदेश सरकारले पनि अनुसरण गर्‍यो । ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको’ नाम दिएर प्रदेश सरकारले कर्णालीका ७९ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

यो बीचमा नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ निर्माण गरेको छ । आगामी पाँच वर्षमा हिंसामुक्त नगर निर्माण गर्ने योजना अनुरूप आफूहरू अघि बढेको ढकाल बताउँछिन् । ‘सडक कालोपत्रे गरिनु मात्रै विकास हैन, हामीले सामाजिक न्यायलाई पनि विकास प्रक्रियाको प्राथमिकता सूचीमा राखेका छौं’, उनी भन्छिन् ।

सुधार प्रयासका थप शृङ्खला

वीरेन्द्रनगरको नेतृत्वमा आफू आएपछि सुधारका केही शृङ्खलाबद्ध प्रयास भएका उनको दाबी छ । वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’ को रूपमा विकास गर्न नगरपालिकाले १० वर्षे शैक्षिक रणनीति तयार पारेको छ । उनका भनाइमा अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिनेछ ।

उनको विचारमा पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालय सबलीकरण, अनौपचारिक शिक्षा, दूर शिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचनाप्रविधि र समावेशी शिक्षालाई १० वर्षे शिक्षा मोडेलले जोड्नेछ ।

‘उज्यालो र सुरक्षित वीरेन्द्रनगर’ अभियान अन्तर्गत चोक र मुख्य सडकमा हाई मास लाइट र सीसीटिभी क्यामेरा जडान भएका छन् । नगरपालिकाले मुख्यबजारमा फुटपाथ खाली गराएको छ । सार्वजनिक जग्गाको संरक्षणमा कडाइका साथ लागेको उनी बताउँछिन् ।

वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अघि सारिएको भेरी लिफ्ट खानेपानी आयोजनाको काम अघि बढाउन केन्द्र, प्रदेश र नगरपालिका बीच सम्झौता भएको छ । खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लिफ्टिङ प्रविधि मार्फत भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन योजना कार्यान्वयनमा आएको छ । यो योजना सम्पन्न भए अबको ५० वर्ष वीरेन्द्रनगर नगरवासीले खानेपानीका लागि अर्को विकल्प खोज्नु नपर्ने उनको दाबी छ ।

फोहोरमैला दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल निर्माण गरिएको छ भने फोहोरबाट मोहोर कार्यक्रम सञ्चालनमा छ । वीरेन्द्रनगर वातावरण र दिगो व्यवस्थापनमा देशकै उत्कृष्ट पालिकाको रूपमा गत वर्ष नगरपालिका महासंघबाट पुरस्कृत भएको थियो । फोहोर व्यवस्थापनबाट वार्षिक ३० लाख रुपैयाँ राजस्व सङ्कलन भएको मेयर ढकाल बताउँछिन् ।

  • यज्ञ खत्री