+

सिंहदरबार झुकाइछाड्ने रूबी खान

पूरा सूची
Shares
रुबीले बुझेको नेपाली राज्य सत्ताको प्रवृत्ति के हो भने– न्याय खोज्नेलाई शुरूमा दबाउने, नसके गलाउने र यस्तो स्थितिमा पुर्‍याउने कि फेरि न्याय माग्न सिंहदरबार आउन त के सोच्न पनि नसकुन् । तर, उनले नेपालगञ्जको एउटा केसमा सत्तालाई पाँच पटक झुकाइन् ।
रुबी खान

रुबी खान यस्तो समाजमा जन्मिएकी थिइन्, जहाँ पुरुषमाथि प्रश्न उठाउन वर्जित थियो । हिंसा विरुद्ध आवाज उठाउनु त उल्टै ‘अपराध’ बन्थ्यो । आफूमाथि जस्तोसुकै हिंसा भए पनि सहेर बस्नुपर्ने महिलाको बाध्यता थियो । कसैले गलत काम विरुद्ध प्रश्न उठाउँदा उल्टै पिटाइमा परेको र चरित्रहीनको संज्ञा पाएको उनले सानैदेखि देख्नु, सुन्नु परेको थियो ।

‘मैले अलिअलि बुझ्ने भएदेखि नै घर, छरछिमेकमा महिलालाई सधैं दबाबमा राखेको पाएँ, जस्तोसुकै हिंसा भए पनि त्यस विरुद्ध आमाहरू मौन रहेको देखें’ नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानी बंग्ला क्षेत्रमा जन्मे–हुर्केकी खान सम्झन्छिन्, ‘तर किन हो, मलाई त्यतिबेलादेखि नै महिलाले जे पनि सहेर बस्नुहुँदैन भन्ने लाग्थ्यो ।’

कुनै महिलालाई मरणासन्न हुने गरी कुटिएको छ, उनी आँशु बगाइरहेकी छन् । तर, कसैले त्यहाँ किन उनलाई पिटियो भनेर सोध्दैन । कसैले उनलाई किन घरबाट निकालियो भनेर सोध्दैन । ‘म बालखै भए पनि त्यहाँ गलत भइरहेको छ भन्ने मजाले बुझ्थें, तर केही गर्न सक्दिनथें’ उनले थपिन्, ‘यद्यपि, मैले त्यतिबेलै प्रण गरेको थिएँ कि भोलि यस्ता आमाहरूको लागि मैले काम गर्नेछु ।’

त्रिभुवन चोकमा रहेको नारायण उच्च माविमा कक्षा ८ पढिरहेका बेला उनले त्यो मौका पनि पाइन् । नेपालगञ्जमा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नामक संस्था सक्रिय थियो, जसले मुस्लिम समुदायभित्र सामाजिक चेतना विकास र सशक्तीकरणका लागि काम गर्थ्यो ।

‘त्यो संस्थाको समन्वयमा नेपालगञ्जका विद्यालयमा किशोरी क्लब स्थापना भइरहेको थियो, त्यसका लागि बोल्न सक्ने किमिसको विद्यार्थी उहाँहरूलाई चाहिएको थियो’ खानले सम्झिइन्, ‘त्यो संस्थामा मलाई चिन्ने एक जना आन्टी पनि हुनुहुन्थ्यो, उहाँ मेरो विद्रोहीपनसँग पनि कुनै न कुनै रूपमा परिचित हुनुहुन्थ्यो ।’

यसपछि किशोरी क्लबमा आबद्ध भएर उनले नेपालगञ्जमा बालविवाह र महिला हिंसाको विरुद्धमा आवाज उठाउन थालिन् । ‘पालिकादेखि जिल्ला तहसम्म त्यस्तो किशोरी क्लब गठन भइसकेको थियो, त्यसले तत् स्थानबाट हिंसा विरुद्ध सम्बन्धित निकायलाई झक्झक्याउन महत्वपूर्ण भूमिका खेल्न थाल्यो’ खान भन्छिन्, ‘त्यसको प्रभाव विस्तारै बढ्दै गयो ।’

न्याय खोज्दै सिंहदरबारसम्म

किशोरी क्लबमा आबद्ध भएपछि खानले घरेलु हिंसामा परेका महिलादेखि परिवारको यातनाका कारण देहत्याग गर्न बाध्य महिलाको विषयसम्म उठाउन थालिन् । २०६८ सालतिर बाँकेको जानकी गाउँपालिका–३, बञ्जाडे गाउँकी रेखा तमोलीको आत्महत्या भएको भन्दै प्रहरीले मुद्दा अघि बढाउन खोजेको थियो । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा माइती पक्षको गम्भीर असहमति रह्यो ।

श्रीमान्को कुटपिटबाट उनको मृत्यु भएको माइती पक्षको आरोप थियो । ‘त्यो सूचना हामीसम्म पनि आइपुग्यो, पृष्ठभूमि हेर्दा त्यो सामान्य मृत्यु जस्तो देखिइरहेको थिएन’ खान सम्झिन्छिन्, ‘त्यसपछि रेखा तमोलीको न्याय माग्दै हामीले निरन्तर प्रदर्शन गरेका थियौं ।’

त्यसबेला खान सहितको समूह जिल्ला प्रशासन कार्यालयको गेटमा १९ दिनसम्म रिले अनशनमा बस्यो । प्रशासनले दुवै पक्षलाई वार्ताका लागि बोलायो । पछि खान सहितका व्यक्तिको निरन्तरको खबरदारीका कारण प्रहरीले कर्तव्य ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलायो ।

त्यसबेला बाँकेमा महिलालाई जलाइएका थुप्रै घटना सतहमा आइरहेका थिए । एकपटक बाँकेमा जलाइएकी एक महिलालाई उपचार गराइदिने भनेर माइतीपक्ष कानूनी कारबाहीबाट मुक्ति पाउने प्रयासमा थियो । त्यो थाहा पाएपछि रुबी विरोधमा उत्रिहालिन् ।

‘उसका श्रीमान्ले के नै हुन्छ र ! हामी सबै हेरिहाल्छौं भनेका थिए’ उनले सम्झिइन्, ‘तर, त्यसबेला गाउँमा महिला समूह गठन भइसकेको थियो, त्योबाट सूचना आएपछि हामी यसबारेमा बोलेका थियौं ।’

त्यसपछि न्यायको माग गर्दै निरन्तर प्रदर्शन हुन थाल्यो । जुलूस र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउने काम भयो । पछि श्रीमान्, सासू सहितका उनका माइती पक्ष विरुद्ध फौजदारी अपराधमा मुद्दा चल्यो ।

 

खानले नेपालगञ्जमा सानै उमेरदेखि यस्ता थुप्रै काम गरिन्, जसले उनलाई जस्तोसुकै दबाब, प्रभावमा नपरी न्यायको पक्षमा उभिइरहने बनाएको छ । जस्तोसुकै शक्तिशालीले अन्याय गरेको भए पनि दृढतापूर्वक उभिने साहस उनीमा छ ।

त्यसकै गतिलो उदाहरण हो, नेपालगञ्जकी निर्मला कुर्मी र बाँकेको नकुन्नी धोबीको मृत्युबारे छानबिनको माग राख्दै उनले २०७८ सालदेखि गरेका पटक–पटकका प्रदर्शन । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रदेश सांसद बादशाह कुर्मी जोडिएको निर्मला प्रकरणमा न्याय खोज्न उनी नेपालगञ्जदेखि सिंहदरबारसम्म आउनुपर्‍यो ।

‘पहिलेका आन्दोलन र प्रदर्शनहरू नेपालगञ्ज केन्द्रित थिए, तर निर्मला कुर्मीको मामलामा शक्तिशाली व्यक्ति जोडिएकाले न्याय खोज्दै काठमाडौं नै आउनुपर्‍यो’ उनी भन्छिन्, ‘जिल्लाबाट न्याय नपाउने भएपछि २०७८ असोजमा म सहित २० अधिकारकर्मी पैदल हिंडेर काठमाडौं आउन बाध्य भएका थियौं ।’

न्याय माग्दा राज्यको हत्कडी

न्याय खोज्दै काठमाडौंसम्म पैदल यात्रा सहज हुनेवाला छैन भन्ने उनलाई राम्रोसँग थाहा थियो । तर, न्याय मागेकै भरमा राज्यले आफैंलाई गिरफ्तार गर्ला भन्ने उनले सोचेकी थिइनन् । अहिलेको पारदर्शी र लोकतान्त्रिक समाजमा कसैले न्याय मागेका भरमा जेल जानुपर्ने कल्पना गर्न सकिने विषय पनि थिएन ।

तर, पैदलयात्रा गरेर काठमाडौं आउने वित्तिकै प्रहरीले उनलाई बहुविवाहको आरोपमा समात्यो, २३ असोज २०७८ मा नेपालगञ्ज पुर्‍यायो ।

‘मेरो पनि एउटा पारिवारिक समस्या थियो, तर त्यसमै टेकेर सम्बन्धविच्छेद भइसकेको केसमा मलाई प्रदर्शनबाट पछि हटाउने गरी मुद्दा चलाएर दबाब दिने काम भयो’ खान सम्झन्छिन्, ‘त्यो मुद्दा दर्ता हुनुअघि मलाई बाँकेका तत्कालीन एसपी श्यामकृष्ण अधिकारीले आन्दोलन फिर्ता नलिए विभिन्न मुद्दा लगाउने भन्दै धम्की दिएका थिए ।’

जवाफमा उनले आफ्नो गल्ती नभएको भन्दै ‘जे गर्न मन लाग्छ, गर्ने’ भन्दै चुनौती दिएकी थिइन् ।

‘काठमाडौंबाट नेपालगञ्ज लैजाने वित्तिकै मैले त्यहीं विरोधमा आमरण अनशन थालें, तर तत्कालीन डीएसपी मधुसूदन न्यौपानेले मलाई त्यो रोक्न भन्दै कुनै फाइभ स्टारबाट खाना मगाउँछु, खाइबक्सियोस् भनेका थिए’ उनी सम्झन्छिन्, ‘न्यौपानेले त्यतिबेला काठमाडौंमा को–को छन् तिनलाई पनि एक कल फोन गरेर आन्दोलन स्थगित गर्न भनिदिन भनेका थिए ।’

बदलामा आफूहरूले घरबाट कोहीलाई बोलाएर जिम्मा लगाएर छाडिदिने भनेको उनी सम्झन्छिन् ।

‘…सबै स्थगित गर्नुस्, तपाईंमाथि मुद्दा चल्दैन, यो तत्कालीन डीएसपीको बोली हो’ खानले थपिन्, ‘म हिरासतमा छँदा अरू अभियुक्तलाई आफन्त लगायतसँग भेट्न दिइरहेको देख्थें । तर, मलाई कसैलाई भेट्न पनि दिइएन ।’

आफूलाई कुनै हत्या अभियोगमा हिरासतमा रहेको व्यक्तिसँग जस्तो व्यवहार गरिएको उनी सम्झिन्छिन् । तर, ७ दिनपछि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दियो । पछि खान सहितका महिलाको आन्दोलनका कारण सरकार उनीहरूसँग वार्ता गर्न बाध्य भयो । २१ असोजमा गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वमा छानबिन समिति गठन भयो ।

रेग्मी समितिले कुर्मी बेपत्ता प्रकरणमा कांग्रेस नेता बादशाह कुर्मीको भूमिका शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न सिफारिश गर्‍यो । तर, प्रतिवेदन कार्यान्वयन गर्न सरकार तयार नभएपछि उनी फेरि सडकमा आउन बाध्य भइन् ।

२० पुस २०७८ मा मन्त्रालयका सह–सचिव मुकुन्दप्रसाद निरौला नेतृत्वको समितिले उनीसँग वार्ता गर्‍यो । त्यसले रेग्मी समितिको सिफारिशहरूलाई कार्यान्वयनमा लैजान पत्राचार गर्ने निर्णय गर्‍यो । यो सहमतिपछि उनले अनशन तोडेकी थिइन् ।

तर, अनुसन्धानले गति लिएन, उनले धोका पाइन् । तेस्रो पटक पनि आन्दोलनमा उत्रिइन् । २ फागुन २०७९ मा गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेत नेतृत्वमा अर्को समिति बनायो । आरोपीलाई मुद्दा चलाउने निर्णय गर्‍यो । त्यही बेला सीआईबीका तत्कालीन एसपी नवराज अधिकारीको नेतृत्वमा समेत छानबिन समिति बन्यो ।

एउटा मागमा पाँच पटक सहमति

सीआईबी छानबिन चलिरहेका बेला निर्मला कुर्मीको भारतमा मृत्यु भइसकेको विवरण बाँके प्रहरीबाट सार्वजनिक भयो । अनुसन्धान अधिकृतहरूको भनाइमा, रुपैडिया नाकाबाट १५ किलोमिटर टाढा पर्ने जगन्नाथपुरको बलहामा उनको मृत्यु भएको स्थानीय ग्राम पञ्चायत विवरणमा भेटिएको थियो ।

बाँके प्रहरीका अधिकृतहरूको दाबीमा २०६९/७० सालतिर निर्मलाले भारतीय नागरिक अर्जुन कुर्मीसँग विवाह गरेको भेटिएको थियो । प्रहरीले अर्जुनसँग पनि सम्पर्क गरेर कुराकानी गरेको दाबी गरेको छ । प्रहरीको दाबीमा, अर्जुनले निर्मलाको मृत्यु कालगतिले भए पनि सम्पत्ति हडपिएको दाबी गरेका छन् ।

तर, खान सहितका अधिकारकर्मीहरू भने निर्मलाले अर्जुनसँग विवाह गरेको मान्नै तयार छैनन् ।

‘सम्पत्ति हडप्ने योजना अनुरूप नै अर्जुन पनि खडा गरिएका हुन्’, खान जिकिर गर्छिन् । प्रहरीले अझै छानबिनमा गम्भीरता नदेखाएपछि उनी फेरि आन्दोलनमा उत्रिइन् । चौथो पटक १ असार २०८१ मा खानसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गर्‍यो ।

सहमतिको पहिलो बुँदामै निर्मला कुर्मीबारे विभिन्न समयमा गठित छानबिन समितिका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण गरेर यथाशीघ्र निरुपण गर्न बाँके प्रहरीलाई पठाउने उल्लेख थियो । तर, अझै कार्यान्वयनमा सरकारी पक्ष उदासीन देखिएपछि उनले पाँचौं पटक आन्दोलन गरिन् ।

‘संविधानले नै ग्यारेन्टी गरेको अधिकार समेत राज्य संयन्त्रले नदिएकाले हामी बाध्यतावश सडकमा उत्रिनु परेको थियो, लामो लडाइँपछि बल्ल सहमतिहरू कार्यान्वयनमा जान थालेका छन्’, उनी भन्छिन् ।

यो बीचमा निर्मलाले राज्यको प्रवृत्तिलाई राम्रोसँग बुझिन्– न्याय खोज्नेलाई शुरूमा सकभर दबाउन खोज्ने, नसके गलाउन खोज्ने र यस्तो स्थितिमा पुर्‍याउने कि उनीहरू फेरि न्याय माग्दै नआउन्, अरूले न्याय खोज्न सिंहदरबार आउनेबारे त पटक–पटक सोचुन् ।

तर, त्यो प्रवृत्ति उनलाई तोड्नु थियो, त्यसैले जस्तोसुकै परिस्थितिको पनि मतलब नगरी आफ्नो अडानमा अडिग रहिन् । राज्यलाई पाँच/पाँच पटकसम्म वार्तामा बस्ने बनाइन् र अहिले निर्मला कुर्मीलाई न्याय दिलाउने बाटो अघि बढेको छ । त्यसैले आजभोलि कोही उनलाई ‘जब्बर’ केटीको संज्ञा दिन्छन्, कोही उनलाई विद्रोही भन्छन् ।

खान चाहिं भन्छिन्, ‘पहुँचविहीन महिलाहरूका लागि एउटा रुबी खान मात्र होइन, अरू महिलाहरू पनि जब्बर नै हुनु परे पनि पछि हट्नुहुँदैन ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।