+
+
Shares
रिपोर्ट :

पाठ्यपुस्तकले बालमस्तिष्कमा कस्तो छाप छोडिरहेको छ ?

प्राथमिक तहका पाठ्यपुस्तकलाई बालबालिकाको सोच, आत्मपहिचान, सामाजिक व्यवहार र भविष्यको नागरिक चेतना निर्माण गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिन्छ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ असार २६ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राथमिक तहका पाठ्यपुस्तक बालबालिकाको सोच, आत्मपहिचान र सामाजिक व्यवहार निर्माण गर्ने महत्त्वपूर्ण माध्यम भएकाले तिनमा समावेश विषयवस्तुबारे गम्भीर बहस आवश्यक छ।
  • शिक्षाविद्हरूका अनुसार पाठ्यपुस्तकमा गरिने लैङ्गिक, जातीय र पेसागत चित्रणले बालबालिकाको मनमा समाजप्रतिको बुझाइ र धारणा निर्माणमा गहिरो प्रभाव पार्ने गर्दछ।
  • बाल तथा किशोर मनोचिकित्सक डा. उत्कर्ष कार्कीले विविधता र समानताको सम्मान गर्ने नागरिक तयार गर्न पाठ्यपुस्तकमा समावेश उदाहरणहरूको आलोचनात्मक समीक्षा हुनुपर्ने बताए।

२५ असार, काठमाडौं। बालबालिकाले ‘अ’ बाट अनार, ‘आ’ बाट आमा, ‘क’ बाट कछुवा भन्दै अक्षरारम्भ गर्छन्। उनीहरूका लागि वर्णमाला भाषा सिक्ने पहिलो खुड्किलो हो।

अक्षरसँगै प्रस्तुत गरिएका शब्द, चित्र र उदाहरणले बालबालिकालाई केवल भाषा मात्र सिकाइरहेका हुँदैनन्, समाजलाई बुझ्ने आधार पनि निर्माण गरिरहेका हुन्छन्।

कल्पना गरौँ, कुनै बालबालिकाले ‘क्ष’ को उदाहरणका रूपमा ‘क्षेत्रीय’ पढ्छ भने अर्कोले ‘ज्ञ’ को उदाहरण ‘ज्ञानी’ पढ्छ। पहिलो दृष्टिमा यी सामान्य शैक्षिक उदाहरणजस्ता देखिए पनि बालमनोविज्ञान र शिक्षाशास्त्रका दृष्टिले यस्ता शब्दले बालबालिकाको मनमा समाज, पहिचान, शक्ति र सम्मानबारे सूक्ष्म सन्देश पनि छाड्न सक्छन्।

यही कारण प्राथमिक तहका पाठ्यपुस्तकलाई अहिले केवल पढाइको सामग्रीका रूपमा मात्र लिइँदैन, बालबालिकाको सोच, आत्मपहिचान, सामाजिक व्यवहार र भविष्यको नागरिक चेतना निर्माण गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिन्छ। किनभने बालबालिकाले राज्यबाट औपचारिक रूपमा मान्यता प्राप्त ज्ञान पहिलो पटक यिनै पुस्तकमार्फत ग्रहण गर्छन्। पुस्तकमा समेटिएका शब्द, चित्र, पात्र र उदाहरणले उनीहरूको सोचमा गहिरो प्रभाव पार्ने विज्ञहरूको भनाइ छ।

नेपालका अधिकांश विद्यालयमा सिकाइको केन्द्र अझै पनि पाठ्यपुस्तक नै हो। शिक्षकले पढाउने विषयदेखि विद्यार्थीले गर्ने अभ्यास र परीक्षासम्म सबै पाठ्यपुस्तकमै केन्द्रित हुन्छ। जसले गर्दा एउटै पुस्तकले लाखौँ बालबालिकाको सोचमा समान प्रकारको प्रभाव पार्ने सम्भावना रहन्छ। यही कारण पछिल्ला वर्षहरूमा पाठ्यपुस्तकको विषयवस्तुभन्दा पनि त्यसले बोकेको सामाजिक सन्देशबारे बहस बढ्न थालेको छ।

आजको शिक्षाको उद्देश्य परीक्षा उत्तीर्ण गराउने वा रोजगारीका लागि जनशक्ति उत्पादन गर्ने मात्र होइन, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समानता, विविधताको सम्मान र जिम्मेवार नागरिकता विकास गर्नु पनि हो।

शिक्षानीति विश्लेषक होमराज आचार्यका अनुसार पाठ्यपुस्तकलाई केवल सूचना वा विषयवस्तु सिकाउने सामग्रीका रूपमा बुझ्नु ठूलो भुल हुनेछ। उनी ‘पाठ्यपुस्तक आफैँमा राज्यले औपचारिक रूपमा स्वीकृत गरेको ज्ञानको माध्यम हो, जसले बालबालिकालाई समाज, संस्कृति, इतिहास, लोकतन्त्र, नागरिकता र सामाजिक सम्बन्ध बुझ्ने आधार बनाउँछ’ भन्छन्।

‘पाठ्यपुस्तकले केवल सूचना दिँदैन, सोच्ने तरिका पनि निर्माण गर्छ। विद्यालयमा बालबालिकाले समाज, इतिहास, संस्कृति, लोकतन्त्र र नागरिकताबारे व्यवस्थित रूपमा बुझ्न यिनै पुस्तकबाट सुरु गर्छन्,’ उनी भन्छन्।

आचार्यका अनुसार शिक्षा कहिल्यै पूर्ण रूपमा तटस्थ हुँदैन। पाठ्यपुस्तकमा कसलाई कुन स्थान दिइएको छ, कुन समुदायको इतिहास समेटिएको छ, कसलाई आदर्शका रूपमा प्रस्तुत गरिएको छ र कुन उदाहरणलाई सामान्य बनाइएको छ भन्ने सबै पक्षले बालबालिकाको सोच निर्माणमा प्रभाव पार्छ।

शिक्षाशास्त्रमा यसलाई ‘हिडन करिकुलम’ (लुकेको पाठ्यक्रम) भनिन्छ। अर्थात्, पुस्तकमा प्रत्यक्ष रूपमा नलेखिएका सन्देश पनि चित्र, भाषा, पात्र, संवाद र उदाहरणमार्फत बालबालिकासम्म पुगिरहेका हुन्छन्।

आचार्य भन्छन्, ‘यदि एउटै समुदायलाई बारम्बार नेतृत्वदायी भूमिकामा र अर्को समुदायलाई सधैँ कमजोर वा सहयोगको अपेक्षा गर्ने पात्रका रूपमा देखाइयो भने बालबालिकाले त्यसलाई समाजको स्वाभाविक संरचना ठान्न सक्छन्। पुरुषलाई निर्णयकर्ता र महिलालाई घरभित्रको भूमिकामा मात्रै प्रस्तुत गरियो भने लैङ्गिक भूमिकाबारे पनि त्यही धारणा विकास हुन सक्छ।’

‘एजुकेसन इन एभ्री होम’ ले कक्षा २, ६ र १० को नेपाली र सामाजिक शिक्षा पुस्तकलाई नमुना बनाएर गरेको अध्ययनले पाठ्यपुस्तकमा सामाजिक, लैङ्गिक, जातीय कुराहरू विरोधाभासपूर्ण र गलत भएको देखाएको थियो। अध्ययनले ‘महिला, दलित वा पिछडिएका समुदाय र वर्गमाथि विभेदको सुषुप्त अंश भेटेको’ उल्लेख गरेको छ।

आचार्यका अनुसार प्राथमिक तह बालबालिकाको संज्ञानात्मक, सामाजिक र नैतिक विकासको सबैभन्दा संवेदनशील चरण हो। यही उमेरमा उनीहरूले ‘आफू को हुँ ? समाजमा आफ्नो स्थान कहाँ छ ? अरूसँग कसरी सम्बन्ध राख्ने र विविधतालाई कसरी बुझ्ने ?’ भन्ने आधारभूत चेतना विकास गरिरहेका हुन्छन्। त्यसैले यस तहका पाठ्यपुस्तकमा प्रयोग हुने प्रत्येक शब्द, चित्र र उदाहरण निकै जिम्मेवारीपूर्वक छनोट गरिनुपर्छ।

पाठ्यपुस्तकको गुणस्तर भाषिक शुद्धता वा तथ्यगत सत्यताले मात्र निर्धारण नहुने आचार्य बताउँछन्। त्यसले कस्तो नागरिक निर्माण गरिरहेको छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुन्छ। आजको शिक्षाको उद्देश्य परीक्षा उत्तीर्ण गराउने वा रोजगारीका लागि जनशक्ति उत्पादन गर्ने मात्र होइन, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समानता, विविधताको सम्मान र जिम्मेवार नागरिकता विकास गर्नु पनि हो।

पाठ्यपुस्तकले सबै बालबालिकालाई सम्मानित महसुस गराउने, प्रश्न गर्न प्रेरित गर्ने र फरक पहिचानप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने वातावरण सिर्जना गर्नुपर्छ। यही कारण पाठ्यपुस्तकको नियमित समीक्षा आवश्यक भएको आचार्यको भनाइ छ।

समाज परिवर्तनसँगै शिक्षा पनि परिवर्तन हुने भएकाले ‘कुनै समय उपयुक्त मानिएका शब्द, चित्र वा उदाहरण अहिले पनि त्यत्तिकै सान्दर्भिक छन् कि छैनन् ?’ भन्ने प्रश्न समय-समयमा उठाइनुपर्छ। उनको शब्दमा ‘पाठ्यपुस्तकको आलोचनात्मक समीक्षा गर्नु भनेको परम्परालाई अस्वीकार गर्नु होइन, बदलिँदो समाजअनुसार शिक्षालाई अझ समावेशी, न्यायपूर्ण र उत्तरदायी बनाउने निरन्तर प्रक्रिया हो।’

समावेशी पाठ्यपुस्तक किन आवश्यक ?

पाठ्यपुस्तकमा समेटिएका शब्द, चित्र र उदाहरणले बालबालिकालाई के सिकाउँछन् भन्ने प्रश्न अहिले विश्वभर शिक्षा क्षेत्रको महत्त्वपूर्ण बहस बनेको छ। कुनै समय विषयवस्तुको शुद्धतालाई मात्र प्राथमिकता दिइन्थ्यो भने अहिले ‘पुस्तकले समाजको विविधतालाई कति न्यायपूर्ण रूपमा प्रस्तुत गरेको छ’ भन्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

नेपालजस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा यो बहस अझ संवेदनशील छ। विद्यालयको पहिलो पुस्तकबाटै कुनै समुदाय, भाषा, संस्कृति वा पेसालाई बढी प्राथमिकता दिइयो भने त्यसले बालबालिकाको मनमा समाजबारे एकपक्षीय बुझाइ विकास गर्न सक्ने लेखक तथा अध्येता जेबी विश्वकर्मा बताउँछन्।

‘समावेशी पाठ्यपुस्तक भन्नाले कुनै समुदायको नाम उल्लेख गर्नु मात्र होइन, समाजको वास्तविक विविधतालाई स्वाभाविक रूपमा प्रस्तुत गर्नु हो,’ विश्वकर्मा भन्छन्। पुस्तकका कथा, चित्र, उदाहरण, पात्र, अभ्यास र भाषाभित्र हिमाल, पहाड र तराईका बालबालिका, विभिन्न भाषा बोल्ने समुदाय, फरक-फरक पेसा गर्ने मानिस तथा समाजका सबै वर्गले आफूलाई देख्न सक्नुपर्छ। त्यतिबेला मात्र बालबालिकामा ‘यो शिक्षा मेरो पनि हो’ भन्ने अपनत्व विकास हुन्छ।

विश्वकर्माका अनुसार शिक्षा प्रणालीले कसैलाई केन्द्र र कसैलाई किनारामा राख्ने होइन, सबैलाई समान अवसर र सम्मान दिने वातावरण सिर्जना गर्नुपर्छ। त्यसका लागि पाठ्यपुस्तक निर्माणदेखि समीक्षा प्रक्रियासम्म विषय विशेषज्ञसँगै बालमनोविज्ञ, समाजशास्त्री, भाषाविद्, शिक्षक तथा विभिन्न समुदायका प्रतिनिधिको सहभागिता आवश्यक हुन्छ।

शिक्षा कहिल्यै पूर्ण रूपमा तटस्थ हुँदैन। पाठ्यपुस्तकमा कसलाई कुन स्थान दिइएको छ, कुन समुदायको इतिहास समेटिएको छ, कसलाई आदर्शका रूपमा प्रस्तुत गरिएको छ र कुन उदाहरणलाई सामान्य बनाइएको छ भन्ने सबै पक्षले बालबालिकाको सोच निर्माणमा प्रभाव पार्छ।

बदलिँदो समाज, संविधानले सुनिश्चित गरेका समानता र समावेशिताका मूल्य तथा आधुनिक शिक्षाको उद्देश्यसँग मेल खाने गरी निरन्तर सुधार गर्ने प्रक्रिया भएको अध्येताहरू बताउँछन्। सार्वजनिक लगानीबाट तयार गरिएका पाठ्यपुस्तकले लोकतान्त्रिक मूल्य, मानव अधिकार, सामाजिक न्याय, लैङ्गिक समानता र विविधताको सम्मानलाई बलियो बनाइरहेका छन् कि छैनन् भन्ने मूल्याङ्कन समय-समयमा हुनुपर्ने विश्वकर्मा बताउँछन्।

सूचना प्रविधिको युगमा सूचनाको कमी छैन। तर आजको पुस्तालाई केवल सूचना दिएर पुग्दैन। विश्वकर्मा ‘उनीहरूमा प्रश्न गर्ने क्षमता, फरक विचारलाई सम्मान गर्ने संस्कार र सामाजिक उत्तरदायित्व विकास गर्नु पनि शिक्षाको दायित्व भएको’ बताउँछन्। त्यसैले पाठ्यपुस्तकले उत्तर मात्र दिने होइन, सोच्न प्रेरित गर्ने वातावरण पनि सिर्जना गर्नुपर्छ।

यही सन्दर्भमा उनी प्रारम्भिक कक्षाका साना उदाहरणलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताउँछन्। वर्णमालामा प्रयोग हुने शब्द सामान्य देखिए पनि बालबालिकाले त्यही शब्दबाट समाज बुझ्न सुरु गर्छन्।

‘हामीले वर्णमालामा प्रयोग गर्ने केही उदाहरणबारे पुनर्विचार गर्न आवश्यक छ। ‘क्ष’ को उदाहरण ‘क्षत्रिय’ दिँदा त्यसले जातीय पहिचानसँग जोडिएको सन्देश दिन सक्छ। त्यस्तै ‘ज्ञ’ को उदाहरण ‘ज्ञानी’ दिँदा ज्ञान कुनै निश्चित समूहको विशेषता हो भन्ने बुझाइ बन्ने जोखिम हुन्छ। बालबालिकाले यस्ता शब्दलाई केवल उच्चारणका लागि मात्र पढिरहेका हुँदैनन्, उनीहरूले त्यसबाट समाजबारे पनि सिकिरहेका हुन्छन्।’

विश्वकर्माका अनुसार यस्ता उदाहरणले सबै बालबालिकामा एउटै प्रभाव पार्दैनन्। तर फरक सामाजिक पृष्ठभूमिबाट आएका बालबालिकाले आफूलाई कसरी हेर्छन् भन्ने विषयमा यसले सूक्ष्म प्रभाव पार्न सक्छ।

समस्या वर्णमालामा मात्र सीमित छैन। माथिल्ला कक्षाका पाठ्यपुस्तकमा पनि कतिपय पेसा र समुदायको चित्रण सन्तुलित नभएको देखिन्छ। यदि चिकित्सक, इन्जिनियर वा पाइलटलाई मात्रै सफलताको प्रतीक बनाइयो र किसान, श्रमिक, सिकर्मी वा हस्तकला गर्ने मानिसलाई सधैँ गरिबी वा कठिनाइसँग जोडेर प्रस्तुत गरियो भने बालबालिकामा सबै पेसाप्रतिको समान सम्मान विकास हुँदैन। शिक्षाले श्रमको गरिमा सिकाउनुपर्छ, श्रमको श्रेणीकरण होइन।

शिक्षकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। पाठ्यपुस्तकमा भएका उदाहरणलाई जस्ताको तस्तै कण्ठ गराउने होइन, त्यसको ऐतिहासिक, सामाजिक र समसामयिक सन्दर्भबारे कक्षामा छलफल गराउनुपर्छ। यसो गर्न सके बालबालिकाले कुनै पनि कुरा अन्ध रूपमा स्वीकार गर्ने होइन, प्रश्न गर्ने र आलोचनात्मक रूपमा सोच्ने बानी विकास गर्न सक्छन्।

सानै उमेरमा बनेको धारणा किन महत्त्वपूर्ण हुन्छ ?

प्राथमिक तहका बालबालिकाले पढ्ने पाठ्यपुस्तक उनीहरूका लागि केवल अक्षर, शब्द वा वाक्य सिक्ने माध्यम मात्र होइन, संसारलाई बुझ्ने पहिलो झ्याल पनि हो। यही उमेरमा उनीहरूले ‘आफू को हुँ, अरू मानिस को हुन्, समाजमा कसको भूमिका के हो र कुन व्यवहार सही वा गलत हो ?’ भन्ने आधारभूत धारणा विकास गर्न थाल्छन्। त्यसैले पाठ्यपुस्तकमा प्रयोग गरिएका चित्र, पात्र, कथा र उदाहरणले उनीहरूको मनोविज्ञानमा दीर्घकालीन प्रभाव पार्न सक्छ।

बालबालिकाले प्रारम्भिक उमेरमा प्राप्त गरेका अनुभवलाई सहजै सत्यका रूपमा स्वीकार गर्ने प्रवृत्ति हुन्छ। उनीहरूले पाठ्यपुस्तकमा बारम्बार देखेका पात्र, पेसा, समुदाय वा व्यवहारलाई नै समाजको स्वाभाविक चित्र ठान्न सक्छन्। यही कारण प्रारम्भिक कक्षाका सामग्री तयार गर्दा विषयगत ज्ञानसँगै बालमनोविज्ञानलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन्।

बाल तथा किशोर मनोचिकित्सक डा. उत्कर्ष कार्कीका अनुसार बालबालिकाको मस्तिष्क प्रारम्भिक वर्षहरूमा अत्यन्त तीव्र रूपमा विकास भइरहेको हुन्छ। यही समयमा घर, विद्यालय र समाजबाट प्राप्त सन्देशहरूले उनीहरूको भविष्यको सोच, आत्मपहिचान र व्यवहारको आधार तयार गर्छन्।

किसान, श्रमिक, प्राविधिक, शिक्षक, चिकित्सक, कलाकार वा वैज्ञानिक सबै पेसाले समाज निर्माणमा समान रूपमा योगदान पुर्‍याउँछन् भन्ने सन्देश बालबालिकाले सानैदेखि पाउन आवश्यक छ।

‘बालबालिकाले विद्यालयमा सिक्ने पहिलो माध्यममध्ये पाठ्यपुस्तक पनि एक हो। वर्णमालादेखि नै प्रयोग गरिएका चित्र, सङ्केत र उदाहरणहरूले उनीहरूको सोच्ने तरिका र समाजलाई बुझ्ने दृष्टिकोण निर्माण गर्न मद्दत गर्छन्,’ डा. कार्की भन्छन्, ‘यदि कुनै पेसा, समुदाय वा व्यक्तिलाई बारम्बार एउटै ढाँचामा प्रस्तुत गरिन्छ भने बालबालिकाको मनमा त्यहीअनुसारको सामाजिक धारणा विकास हुन सक्छ।’

डा. कार्कीका अनुसार यस्तो प्रभाव तुरुन्तै देखिने मानसिक समस्या होइन। तर यसले बालबालिकाको आत्मविश्वास, सामाजिक बुझाइ र समाजप्रतिको दृष्टिकोणलाई बिस्तारै आकार दिन्छ। त्यसैले पाठ्यपुस्तकमा प्रयोग हुने प्रत्येक चित्र र उदाहरणलाई सामान्य विषय मानेर बेवास्ता गर्न नहुने उनी बताउँछन्।

उदाहरणका लागि, यदि पुस्तकमा चिकित्सक, इन्जिनियर वा पाइलटलाई मात्र सफल र सम्मानित व्यक्तिका रूपमा चित्रण गरियो, तर किसान, श्रमिक, सिकर्मी वा अन्य श्रममा आधारित पेसालाई सधैँ गरिबी वा कठिनाइसँग जोडेर देखाइयो भने बालबालिकाले सबै पेसालाई समान सम्मानका साथ हेर्न सिक्दैनन्।

डा. कार्की भन्छन्, ‘यदि एउटै प्रकारको चित्रण बारम्बार दोहोरिन्छ भने बालबालिकाले कुन पेसा प्रतिष्ठित हो र कुन कम प्रतिष्ठित हो भन्ने धारणा विकास गर्न सक्छन्। यो मानसिक रोगको विषय होइन, तर सामाजिक बुझाइ निर्माण हुने मनोवैज्ञानिक प्रक्रिया हो। त्यसैले सबै पेसा र समुदायलाई सम्मानजनक रूपमा प्रस्तुत गर्नु आवश्यक छ।’

पाठ्यपुस्तकले केवल अरूलाई हेर्ने दृष्टिकोण मात्र होइन, बालबालिकाले आफूलाई कसरी हेर्छन् भन्ने विषयमा पनि प्रभाव पार्छ। यदि कुनै समुदाय, भाषा वा संस्कृतिका बालबालिकाले आफ्नै पहिचानलाई पाठ्यपुस्तकमा सम्मानजनक रूपमा प्रतिनिधित्व भएको देख्दैनन् भने उनीहरूको आत्मविश्वासमा असर पर्न सक्छ। त्यसको विपरीत कुनै एउटा समुदायलाई मात्र सधैँ सकारात्मक रूपमा चित्रण गरियो भने श्रेष्ठताको गलत भावना पनि विकास हुन सक्छ।

उनी भन्छन्, ‘शिक्षाको उद्देश्य कुनै पनि प्रकारको हिनताबोध वा श्रेष्ठताबोध विकास गर्नु होइन, सबै बालबालिकामा समान सम्मान, आत्मविश्वास र सहअस्तित्वको भावना विकास गर्नु हो। सानै उमेरमा बनेको सामाजिक बुझाइ पछि परिवर्तन गर्न सजिलो हुँदैन। त्यसैले पाठ्यपुस्तकमा सबै समुदाय, भाषा, संस्कृति र पेसालाई सम्मानजनक रूपमा प्रस्तुत गर्नुपर्छ। बालबालिकाले विविधतालाई स्वाभाविक रूपमा स्वीकार गर्न सके भविष्यमा समाजमा पूर्वाग्रह र विभेद पनि कम हुँदै जान्छ।’

डा. कार्कीका अनुसार प्रारम्भिक शिक्षामा प्रयोग हुने सामग्री तयार गर्दा मनोवैज्ञानिक पक्षप्रति विशेष संवेदनशील हुनुपर्छ। किनभने बालबालिकाको मस्तिष्कमा बस्ने प्रारम्भिक सन्देशले उनीहरूको भविष्यको सोच र व्यवहारमा दीर्घकालीन प्रभाव पार्न सक्छ।

विशेषज्ञहरूको भनाइले एउटा साझा निष्कर्षतर्फ सङ्केत गर्छ- पाठ्यपुस्तकमा प्रयोग गरिने प्रत्येक शब्द, चित्र, पात्र र उदाहरण केवल शैक्षिक सामग्री होइनन्, भविष्यका नागरिकको सोच निर्माण गर्ने आधार पनि हुन्। त्यसैले शिक्षाको गुणस्तर सुधार गर्ने बहस अब केवल पाठ्यक्रम परिवर्तनमा सीमित नरही ‘पाठ्यपुस्तकले कस्तो सामाजिक सन्देश दिइरहेको छ’ भन्ने प्रश्नसम्म विस्तार हुन थालेको छ।

पाठ्यपुस्तक सुधारको बहस किन आवश्यक ?

पाठ्यपुस्तक सुधारको बहस अहिले केवल भाषिक वा विषयगत संशोधनमा सीमित छैन। यो शिक्षाको गुणस्तरसँगै भविष्यका नागरिक कस्ता बनाउने भन्ने प्रश्नसँग पनि जोडिएको विषय हो। विज्ञहरूका अनुसार पाठ्यपुस्तकले बालबालिकालाई केवल सूचना दिने होइन, समानता, समावेशिता, लोकतान्त्रिक मूल्य र आलोचनात्मक सोच विकास गर्ने वातावरण पनि सिर्जना गर्नुपर्छ।

किसान, श्रमिक, प्राविधिक, शिक्षक, चिकित्सक, कलाकार वा वैज्ञानिक सबै पेसाले समाज निर्माणमा समान रूपमा योगदान पुर्‍याउँछन् भन्ने सन्देश बालबालिकाले सानैदेखि पाउन आवश्यक छ।

शिक्षानीति विश्लेषक होमराज आचार्यका अनुसार पाठ्यपुस्तकको आलोचनात्मक समीक्षा गर्नु भनेको सबै कुरा हटाउने वा विगतलाई अस्वीकार गर्ने प्रयास होइन। यसको उद्देश्य सार्वजनिक लगानीबाट तयार गरिएका शैक्षिक सामग्रीले सबै बालबालिकालाई समान रूपमा सम्मानित महसुस गराउने, विविधतालाई स्वीकार गर्न सिकाउने र लोकतान्त्रिक मूल्यलाई बलियो बनाउने हो।

उनी भन्छन्, ‘समाज परिवर्तनसँगै पाठ्यपुस्तक पनि परिवर्तन हुनुपर्छ। त्यसका लागि विषय विशेषज्ञसँगै शिक्षक, बालमनोविज्ञ, समाजशास्त्री, भाषाविद्, चित्रकार तथा विभिन्न समुदायका प्रतिनिधिको सहभागितामा पाठ्यपुस्तक निर्माण र समीक्षा हुनुपर्छ। विद्यालयमा पुग्ने हरेक शब्द र चित्रले लाखौँ बालबालिकाको सोचमा प्रभाव पार्ने भएकाले त्यसको जिम्मेवारी पनि त्यत्तिकै ठूलो हुन्छ।’

लेखक तथा अध्येता जेबी विश्वकर्माका अनुसार पाठ्यपुस्तक सुधारसँगै शिक्षकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। पाठ्यपुस्तकमा भएका उदाहरणलाई जस्ताको तस्तै कण्ठ गराउने होइन, त्यसको ऐतिहासिक, सामाजिक र समसामयिक सन्दर्भबारे कक्षामा छलफल गराउनुपर्छ। यसले बालबालिकामा प्रश्न गर्ने, तर्क गर्ने र आलोचनात्मक रूपमा सोच्ने बानी विकास गर्छ।

विद्यालयले सबै पेसाको सम्मान, श्रमको गरिमा र सामाजिक समानताको मूल्य व्यवहारमै सिकाउनुपर्नेमा द्विविधा छैन। किसान, श्रमिक, प्राविधिक, शिक्षक, चिकित्सक, कलाकार वा वैज्ञानिक सबै पेसाले समाज निर्माणमा समान रूपमा योगदान पुर्‍याउँछन् भन्ने सन्देश बालबालिकाले सानैदेखि पाउन आवश्यक छ।

बाल तथा किशोर मनोचिकित्सक डा. उत्कर्ष कार्कीका अनुसार बालबालिकाको मनमा प्रारम्भिक उमेरमा बनेका सामाजिक धारणा दीर्घकालसम्म रहने भएकाले पाठ्यपुस्तक तयार गर्दा मनोवैज्ञानिक पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।

उनी भन्छन्, ‘बालबालिकाले सानै उमेरमा सिकेका धारणाले उनीहरूको आत्मविश्वास, सामाजिक सम्बन्ध र भविष्यको व्यवहारमा प्रभाव पार्न सक्छ। त्यसैले पाठ्यपुस्तकमा सबै समुदाय, भाषा, संस्कृति र पेसालाई सम्मानजनक रूपमा प्रस्तुत गर्नुपर्छ। कुनै पनि कामलाई ठूलो–सानो वा कुनै पनि समुदायलाई उच्च–निम्न देखाउने सामग्रीबाट जोगिनु आवश्यक छ। विविधतालाई स्वाभाविक रूपमा स्वीकार गर्ने वातावरण बनाउन सकियो भने बालबालिकामा पूर्वाग्रहभन्दा सहअस्तित्वको भावना बलियो हुन्छ।’

तीनै विज्ञका अनुसार प्राथमिक तहका पाठ्यपुस्तकलाई केवल विषयवस्तु सिकाउने साधनका रूपमा होइन, समानता, समावेशिता, मानव अधिकार, लोकतान्त्रिक मूल्य र आलोचनात्मक सोच विकास गर्ने माध्यमका रूपमा हेर्नुपर्ने आवश्यकता छ। त्यसका लागि पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन, शिक्षकको तयारी र कक्षाकोठाको सिकाइ एकअर्कासँग जोडिएर अघि बढ्नुपर्छ।

पाठ्यपुस्तकभित्र समावेश गरिएका शब्द, चित्र, कथा र उदाहरण साना लाग्न सक्छन्, तर तिनैले बालबालिकाको मनमा समाजको पहिलो चित्र कोर्छन्। त्यसैले पुस्तकमा कसलाई देखाइएको छ, कसलाई छुटाइएको छ र कसरी प्रस्तुत गरिएको छ भन्ने प्रश्न केवल शैक्षिक विषय होइन, सामाजिक उत्तरदायित्वको विषय पनि हो।

 

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?