२६ असार, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट बाहिरका ८ वटा औषधि पसल सिलबन्दी गरेको छ ।
बिपी प्रतिष्ठानभित्रबाट प्रहरीले बुधबार बिचौलिया भएको आरोपमा १२ जना पक्राउ गरी आवश्यक कारबाही र थप अनुसन्धानका लागि सात दिने म्याद थपेको विरोधमा औषधि व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।
पक्राउ परेकाहरुलाई विनासर्त रिहा गर्न दबाब दिंदै इलाका प्रहरी कार्यालयमा धर्ना दिएपछि औषधि व्यवस्था विभाग विराटनगर र सुनसरी जिल्ला प्रशासनबाट आएका संयुक्त अनुगमन टोलीले अचानक अनुगमन गरेर आठ औषधि पसलहरू सिलबन्दी गरेको हो ।
सिलबन्दी गरिएका औषधि पसलहरुमा सायांश मेडिकल हल, चाँदनी फार्मेसी, सबिन मेडिकल हल, वर्षा मेडिकल, स्काट मेडिकल हल, रितिशा फार्मेसी, सुजिता फार्मेसी र मिरियन मेडिकल हल रहेका छन् ।
अनुगमन टोलीले सायांश मेडिकल हल सञ्चालक सरोज लुइँटेल, चाँदनी फार्मेसीका राम नारायण चौधरी, सबिन मेडिकल हलका रबिन यादव, वर्षा मेडिकलका सचिन्द्र कुमार यादव, स्काट मेडिकल हलका भरुमत रासिद अली, रितिशा फार्मेसीका विकास कुमार यादव, सुजिता फार्मेसीका शरद किशोर यादव र मिरियन मेडिकल हलका घनश्याम श्रेष्ठलाई औषधि व्यबास्था विभाग विराटनगरमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्न औषधि व्यवस्था विभाग विराटनगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अनलाइनखबरसँग भने, ‘औषधि व्यवस्था विभाग र प्रशासनले संयुक्तरुपमा अनुगमन गर्दा प्रचलित कानुन, मापदण्ड तथा औषधि व्यवस्थासम्बन्धी नियमअनुसार सञ्चालन नगरेको पाएका औषधि पसल सिलबन्दी गरिएको हो ।’
उनकाअनुसार केही पसलमा सञ्चालक उपस्थित नभएको, औषधिको खरिद-बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, कानुन विपरीतका प्रतिबन्धित औषधि फेला परेको र पसल सञ्चालनका लागि आवश्यक कागजात दुरुस्त नपाइएका आधारमा ती औषधि पसलहरु सिलबन्दी गरिएको हो ।
प्रजिअ घिमिरेले बिपी प्रतिष्ठानलाई अनियमितता, बिचौलिया र अतिक्रमणमुक्त बनाउने अभियान निरन्तर जारी रहने बताए । उनले भने, ‘प्रतिष्ठानसँग सम्बन्धित समस्यालाई प्रशासनिक, अन्तर निकाय समन्वय तथा कानुनी प्रक्रियाअनुसार वर्गीकरण गरेर समाधानको उपाय खोज्ने काम अघि बढाइएको छ ।’
बिरामीलाई निजी मेडिकल मार्फत आर्थिक शोषण गर्ने बिचौलियामाथिको कारबाही अझ प्रभावकारी बनाइने पनि प्रजिअ घिमिरेले बताए । उनले बिपी प्रतिष्ठानको अतिक्रमित जग्गाको पहिचान, सीमाङ्कन तथा संरक्षणको काम तीव्र रूपमा अघि बढाइएको पनि बताए ।
प्रतिक्रिया 4