+
+
Shares

जब १४ वर्षीया किशोरीले रिस र आवेगमा घर छाडिन्…

कृष्ण सिंजाली कृष्ण सिंजाली
२०८३ असार २५ गते १२:५९

चार वर्षअघि होली पर्व आउनै लाग्दा १४ वर्षीया एक किशोरी रिस र आवेगमा घरबाट निस्किइन् । त्यतिबेला उनलाई थाहा थिएन, त्यो एउटा निर्णयले उनलाई आफ्नो देशबाट सयौं किलोमिटर टाढा पुर्‍याउनेछ भनेर । न परिवारसँग सम्पर्क भयो न आफ्नो भविष्यबारे कुनै निश्चितता ।

अपरिचित शहरमा अपरिचित मानिसका बीच उनले आफ्नो किशोरावस्थाका अमूल्य वर्षहरू बिताइन् ।

अहिले १८ वर्षको उमेरमा उनी आफ्नै देश फर्किएकी छिन् । आँखाभरि पछुतो, मनभरि आशा र ओठमा एउटा मात्र वाचा छ– ‘अब कहिल्यै यसरी घर छोडेर भाग्दिनँ । आमाबुबासँग माफी मागेर आफ्नै घरमा बस्छु ।’

होली पर्वको केही दिनअघि आमाबुबाले गाली गरेपछि रिसको आवेगमा नुवाकोटस्थित घर छाडिन् । कतै जाने निश्चित योजना थिएन । हिँड्दै–हिँड्दै उनी काठमाडौं पुगिन् ।

काठमाडौंमा उनको भेट २५–३० वर्ष उमेरका एक व्यक्तिसँग भयो । उनले कामको व्यवस्था गरिदिने आश्वासन दिए । त्यसपछि उनी रेलमार्ग हुँदै भारतको कोलकाता पुगिन् । त्यहाँ एउटा परिवारको घरमा घरेलु कामदारका रूपमा राखियो ।

त्यो घरमा श्रीमान्–श्रीमती र उनीहरूका दुई छोरा थिए । तर त्यहाँ पुगेपछि उनको मोबाइल फोन खोसेर राखियो । परिवारसँग सम्पर्क गर्ने कुनै माध्यम उनीसँग रहेन । उनी त्यही घरमा करिब डेढ वर्षसम्म बसिन् ।

पछि उनलाई अर्को एक महिलाको घरमा काम गर्न पठाइयो, जहाँ उनले करिब ६ महिनासम्म काम गरिन् । त्यसपछि पश्चिम बंगालको च्याङ्राबान्धा क्षेत्रमा पुगिन् र करिब दुई महिनासम्म त्यहीँ बसिन् ।

त्यही क्रममा उनलाई स्वास्थ्यमा समस्या देखियो । उपचारका लागि अस्पताल जानुपर्ने अवस्था आयो । स्वास्थ्यमा सुधार आएपछि उनी पुनः कोलकाता फर्किने तयारीमा थिइन् । तर बसपार्कबाट प्रहरीले उनलाई नियन्त्रणमा लियो । आवश्यक सोधपुछ र कानुनी प्रक्रिया पूरा भएपछि उनलाई शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्समा संरक्षणका लागि राखियो ।

करिब एक महिना १६ दिनसम्म संरक्षण गृहमा बस्दा उनको जीवनले नयाँ मोड लियो । त्यहाँ उनले फेरि विद्यालय जाने अवसर पाइन्, सुरक्षित वातावरणमा बसिन् र नयाँ जीवनप्रति आशा पलाउन थाल्यो । तर मन भने सधैं गाउँमै पुग्थ्यो । उनका ६ जना दिदीबहिनीको विवाह भइसकेको छ भने दुई जना दाजु छन् ।

परिवारबाट टाढा रहेर बिताएका दिनहरूले उनलाई घरको महत्व गहिरोसँग महसुस गरायो।

त्यसपछि नेपाल सरकार, भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास तथा नव अभियान नेपालको समन्वयमा नेपाल फिर्तीका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरियो । अन्ततः उनी सुरक्षित रूपमा नेपाल फर्किन सफल भइन् ।

हाल उनका आमाबुबा लिन आउन बाँकी रहेकाले उनी नवअभियान नेपालको संरक्षण गृहमा बसिरहेकी छिन् । तर अब उनको प्रतीक्षा पहिलेको जस्तो पीडादायी छैन । किनकि यसपटक उनी आफ्नै घर फर्किने निश्चित यात्रामा छिन् ।

भावुक हुँदै उनी फेरि भन्छिन्, ‘अब कहिल्यै यसरी घर छोडेर भाग्दिनँ । राम्रोसँग पढ्छु र आमाबुबाको विश्वास जित्छु ।’

मायाको कथा केवल एउटी किशोरीको कथा होइन । यो घर छोड्ने आवेगले बालबालिकालाई कति ठूलो जोखिममा पार्न सक्छ भन्ने चेतावनी हो ।

समयमै भएको उद्धार, संरक्षण तथा नेपाल–भारतबीचको समन्वयले हराउँदै गएको एउटा बाल्यकाललाई फेरि सुरक्षित रूपमा परिवारसम्म पुर्‍याउन सफल भएको एक कथा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?