सामाजिक सञ्जालमा यतिबेला विदेश जान लागेका एक व्यक्तिको तस्वीर भाइरल बनिरहेको छ । कलिलो उमेरमै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता आइपरेको दाबीसहितका भावुक पोस्टहरू अनगिन्ती भेटिन्छन् ।
एक वृद्धले १३–१४ वर्षजस्तो देखिने एक युवकलाई माला लगाइरहेका छन् । पृष्ठभूमिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिएकाले उनी विदेश जाँदैछन् भन्ने कुरामा कुनै दुविधा रहँदैन ।
सामाजिक सञ्जालमा फोटो निकै फैलियो । घरको बाध्यताले गर्दा नागरिकतामा उमेर बढाएर विदेश हिँडेको अनुमान धेरैले लगाए । कतिपयले भने उक्त फोटो एआई निर्मित हो पनि भनिरहेका छन् ।
धेरैजसो भने यसलाई साँचो ठानेर भावुक भइरहेका छन् ।
खास हो चाहिँ के त ?
अनलाइनखबरले भिजुअल अनुसन्धानका आधारमा त्यो फोटो र त्यसको वास्तविकता पत्ता लगाएको छ ।
उनी विदेश नै गएका हुन् । र, सञ्जालमा फैलिएको फोटो पनि वास्तविक नै हो । तर पोस्टहरूमा गरिएको एउटा दाबी भने सही होइन ।
०००
‘हाम्रो लहान राम्रो लहान’ नामको फेसबुक पेजबाट १८ असार साँझ ७:५० मा तस्वीर अपलोड भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि उभिएका र घाँटीमा नेपालको झण्डा बेरेका ती युवालाई एक जना वृद्धले कलेजी रङको खादा ओडाइरहेका हुन्छन् ।

उक्त पोस्टमा पारिवारिक बाध्यताका कारण सानै उमेरमा ती युवा मलेसिया जान बाध्य भएको दाबी गरिएको छ । पोस्टमा लेखिएको छ, ‘मलेसिया जान लागेको पारिवारिक आर्थिक बाध्यताले यति कलिलो उमेरमा जिम्मेवारीको यत्रो ठूलो पहाड’
सोही पेजले उनको उमेर १३ देखि १६ वर्षको मात्रै रहेको दाबी गरेको छ । खेल्ने र पढ्ने उमेरमा परिवारको पेट पाल्न मलेसिया जान बाध्य भएको जिकिर गरिएको छ ।
त्यस पेजबाट पोस्ट गरिएको उनको फोटो धेरै मधुरो हुन्छ । त्यसमाथि फोटोको गुणस्तर बढाएर पुन: फोटो पोस्ट गरिएको जस्तो देखिएकाले फोटो नियमित जस्तो देखिँदैन । त्यसमाथि ती व्यक्ति साँच्चै नै कम उमेरका र सोझा देखिन्छन् ।
यसले गर्दा एआई निर्मित तस्वीर हो कि भनेर सुरुमा अनलाइखबरले हाइभ मोडेरेसन, सिन्थ एआई, डिप एआई लगायत टुल प्रयोग गरेर जाँच्यो । सो क्रममा ती टुल्सहरूले फोटो एआई निर्मित नभएको संकेत गर्यो ।
अन्य सामाजिक सञ्जालहरूमा पनि यो फोटो प्रयोग गरी उही प्रकृतिहरूका भावुक पोस्टहरू गरिएको देखिन थाले।
त्यसपछि हामीले यस विषयमा थप खोज्न थाल्यौं । सोही क्रममा केही फेसबुक पेज तथा प्रयोगकर्ताहरूले ती युवाको नाम सुनील कुमार यादव रहेको र उनको उमेर २३ वर्ष भएको उल्लेख गरेको पाइयो । गत निर्वाचनमा म्यादी प्रहरीको रूपमा काम गरेको र उनले कक्षा १२ सम्मको अध्ययन गरेको समेत फेसबुक पोस्टहरू भेटियो ।
त्यसपछि हामीले (सुनिल कुमार, सुनिल यादव, सुनिल कुमार यादव) लगायतका कि–वर्डहरू राखेर गुगलसहित सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक) प्लेटर्फमहरूमा खोज्यौं । खोजी गर्दैगर्दा @sunildiljale321 युजर नेम भएको सुनिल यादव नामक टिकटक अकाउन्ट फेला पार्यौं । सुनिल यादव नाम गरेकै फेसबुक अकाउन्ट पनि भेट्यौं । यी दुवै अकाउन्टमा भएका फोटोहरू एकअर्कासँग तुलना गर्दा मिलेको देखियो ।

तर, फेसबुक अकाउन्ट खासै सक्रिय भेटिएन । टिकटक अकाउन्टमा भने सन् २०२२–९–९ गतेदेखि अहिलेसम्म सयौं पोस्टहरू गरिएको भेटियो । साथै, हालै अपलोड भएका टिकटकहरूमा उनी आफैले आफू मलेसिया आएको भिडियोहरू राखेको समेत पाइयो । अहिले उनले मलेसियामा काम गरिरहेको भिडियोहरू समेत हाल्न थालेका छन् ।
त्यस्तै, उनको टिकटक अकाउन्ट हेर्ने क्रममा हामीले सन् २०२६ जनवरी २९ मा भिडियो अपलोड गरेको भेट्यौं । जसमा उनले आफ्नो नाम र दर्ता नम्बर मार्क गर्दै आफू निर्वाचन प्रहरीमा चयन भएको भिडियो पनि अपलोड गरेका छन् । जसमा उनको नाम प्रस्ट सुनिल कुमार यादव भएको उल्लेख छ ।
तर, उनको उमेर र ठेगाना जान्नु पनि उत्तिकै महत्त्वपूर्ण थियो ।
सो पत्ता लगाउन हामीले उनको टिकटक भिडियोमा कमेन्ट र लाइक गरेका प्रोफाइलहरू हेर्न थाल्यौं । सो क्रममा @rabin.kr.sharma नामक टिकटक अकाउन्टबाट एउटा भिडियो पोस्ट पाएको पायौं । जहाँ भिडियोमा देखिने व्यक्तिले सुनिल आफ्नो भाइ पर्ने र उनी सहजौलि भन्ने ठाउँको रहेको मैथली भाषामा बताएका छन् ।
त्यसपछि हामीले सहजौलि कुन ठाउँमा पर्छ भनेर खोज्यौं । सहजौलि बाराको करैयामाई गाउँपालिका–१ मा पर्ने थाहा भयो । त्यसपछि सो वडाका जनप्रतिनिधि दिपक प्रसाद पासवानलाई हामीले सम्पर्क गर्यौं।
पासवानले आफू सुनिलको छिमेकी रहेको बताए । हामीले अहिलेसम्म संकलन गरेका जानकारीहरू उनलाई सुनायौं । ती सबै सत्य रहेको पासवानले बताए । उनका अनुसार सुनिल यादवका बुबाको नाम गगनदेव यादव हो । सुनिल उमेर २३ वर्ष आसपास गरेको पासवानले जानकारी दिए । सुनिल हेर्दामा मात्र सानो उमेरको देखिने देखिने उनले स्पष्ट पारे । उनी असार १७ गते मलेसिया उडेको पासवानले जानकारी दिए ।

त्यस्तै हामीले सो क्षेत्रमा रहेको श्री जन सामुदायिक माविका प्रधानाध्यापक रामबाबु प्रसाद यादवलाई पनि सम्पर्क गर्यौं । यादवले पनि सुनिल सलजौलिको भएको र उनी विदेश गएको बताए । सुनिलले यही विद्यालयबाट गतवर्ष मात्रै १२ कक्षा उत्तीर्ण गरेको जानकारी पनि प्रधानाध्यापक यादवले दिए ।
उनका अनुसार सुनिलहरू २ दाजुभाइ र १ बहिनी गरी जम्मा ३ जना छोराछोरी हुन् । अहिले दाइ पनि विदेशमै छन् भने आमा सुनिल सानो छँदा नै बितेका हुन् । हाल घरमा बुबा र बहिनी मात्र छन् । बहिनी सोही विद्यालयमा १२ कक्षामा पढिरहेकी छिन् । बुबा खेती किसानी गर्छन् ।
विदेश जान कति चाहिन्छ उमेर ?
नेपालको कानुन अनुसार १६ वर्ष उमेर पूरा भएपछि नागरकिता प्रमाण पत्र लिन पाइन्छ । नेपाली नागरिकता भएपछि आफ्नै नाममा साधारण (एडल्ट) पासपोर्ट बनाउन सकिन्छ ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार १८ वर्ष नपुगेका (नाबालक) नेपाली नागरिकलाई वैदेशिक रोजगारीका लागि पठाउन पाइँदैन ।
रोजगारीका लागि विदेश जान १८ वर्ष वा सोभन्दा बढी उमेर हुनुपर्छ । यसरी सुनिल १८ वर्ष भन्दा माथिका युवक भएको पुष्टि हुन्छ । सामाजिक सञ्जालमा दाबी गरिएजस्तो उनी कम उमेरका होइनन् ।
अहिले भने उनको नाममा अनेकन् नक्कली टिकटक अकाउन्ट बनाउने क्रम बढेको देखिन्छ । जसमा उनले हालेको भिडियो डाउनलोड गरेर पुन: अपलोड गर्ने अथवा फोटोहरू राखेर पोस्ट गर्ने गरेको पाइएको छ ।
प्रतिक्रिया 4