+
+
Shares

तरकारीहरूलाई विषादीरहित कसरी बनाउने ? धुने ३ सही तरिका

मधुसूदन पौडयाल मधुसूदन पौडयाल
२०८३ असार २३ गते १८:२१

बिक्रीमा राखिएका चम्किलो देखिने तरकारीहरू वास्तवमा विषले लपेटिएका हुन्छन् । यसलाई सामान्य पानीले हल्का धोएर खाँदा पनि शरीरमा विषादी प्रवेश गर्छ । यी रासायनिक विषादी हुन्, जसले दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीको क्षति, प्रजनन समस्या, र प्रतिरक्षा प्रणाली कमजोर बनाउने खतरा बढाउँछन् ।

फर्सीको मुन्टा, रायोको साग, गोलभेडा, काँक्रो जस्ता दैनिक खाने तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग गर्ने प्रचलन बढिरहेको छ । यसले गर्दा हाम्रो दैनिक भान्सा विषादीयुक्त बनिरहेको छ ।

किन यो गम्भीर छ ?

तरकारीमा विषादी छर्ने चलन अत्यन्तै भयावह छ । माथि उल्लेख गरिए जस्तै विषादी प्रयोग हुने भएकाले तरकारीहरू स्वास्थका लागि अत्यन्तै खतरनाक हुन्छन् । बजारमा राख्दा हरियो, आकर्षक देखिए पनि यस्ता तरकारीले बिस्तारै शरीरलाई विषाक्त बनाउँछन र विभिन्न रोग निम्त्याउँछन ।

बजारबाट ल्याइएको तरकारीलाई वैज्ञानिकले सिफारिस गरे बमोजिम पखालेर खाँदा धेरै मात्रामा सुरक्षित हुन सकिन्छ ।

कसरी धुने ?

तरकारी पकाउनुभन्दा अगाडि तपाईंले तरकारीहरूलाई मजाले बगेको पानीमा मिचेर पखाल्नुहोस । यसरी पखाल्दा चिसो पानीको मात्र प्रयोग गर्नुहोस्। विज्ञानले प्रमाणित गरेका तीन वटा निम्न भिजाउने विधिहरू अपनाउनुहोस जसले तरकारीहरूको सतहमा रहेको विषादी तथा रसायनहरूलाई निष्क्रिय पार्ने गर्दछ।

१. नुनपानीमा डुबाउने

चिसो पानीमा प्रतिलिटर एक चम्चाको दरले नुन हालेर मजाले घोल्नुहोस् । त्यसमा पहिले नै पखालेको तरकारीलाई करिब १०-१५ मिनेट भिजाउनुहोस् । नुनपानीको घोलले अस्मोटिक प्रेसर र आयोनिक अन्तरक्रियाका कारण ती विषहरू तरकारीबाट अलग भएर पानीमा पखालिन्छन् ।

यो नुनपानीले हटाउन सक्ने विषहरूमा जस्तै: अर्गानोफस्फेट ,क्लोरोपाइरिफस, मालाथियन, सिन्थेटिक पाइरोथ्रोवाइड्स जस्तै साईपरमेथ्रिन आदि पर्दछन् ।

यो विधिले जति पनि सम्पर्कमा आउने कीटनाशकहरू छन्, त्यस्तालाई हटाउन एकदमै मद्दत गर्ने पाइएको छ । र यो विधि काउली, बन्दा, ब्रोकाउली र विभिन्न सागपात आदिमा प्रयोग गर्न सकिन्छ ।

२. भिनेगरको घोलमा डुबाउने

यसका लागि करिब तीन भाग चिसो पानीमा एक भाग भिनेगर मिसाउने अनि यसमा तरकारी तथा फलफूललाई १०-१५ मिनेट डुबाएर राख्ने । अनि निकालिसकेपछि मज्जाले पखाल्ने ।

भिनेगर एसिडिक हुन्छ जसले एसिड हाइड्रोलाइसिस गराउँछ र कीटनाशक र ढुँसीनाशक औषधिको रासायनिक संरचनामा हुने इस्टर वोण्डलाई आक्रमण गरेर टुक्राटुक्रा पारिदिन्छ र निस्क्रिय बनाउँछ ।

भिनेगर पानीको घोलले टल्किने खालको फलफूलहरूमा हुने मैन आवरणलाई पनि पगाल्ने काम गर्दछ । त्यो भित्र रहेका विष आदिहरूलाई पनि यसले हटाउन मद्दत गर्दछ ।

भिनेगर पानीको घोलले हटाउन सक्ने केमिकलहरूमा डाइथियो कार्वामेट, म्यान्कोवेव र ग्लाइफोसेटहरू आदि हुन् । यो विधिबाट गोलभेडा, काँक्रो, भिडे खुर्सानी, अङ्गुर, स्याउ आदिलाई विषादीरहित बनाउन सकिन्छ ।

३. बेकिङ सोडाको प्रयोग

यो खाने सोडा हो । यसको रासायनिक नाम सोडियम वाईकार्बोनेट हो । यो बनाउन प्रतिलिटर पानीमा एक चम्चा बेकिङ सोडा हालेर राम्ररी घोल्नुहोस् ।

त्यसपछि मात्र त्यसमा तरकारीहरूलाई १०-१५ मिनेट डुबाउनुहोस् । सोडियम वाइकार्बोनेट अल्कालाइन प्रकृतिको हुन्छ, जसले गर्दाखेरि अल्कालाइन हाइड्रोलाइसिस गराउँछ । यी रसायनहरूको इष्टर वोण्ड साथसाथै फस्फेट वोण्डहरू, एसिडिक हाइड्रोलाइसिस भन्दा अझ प्रभावकारी ढङ्गले तोड्ने काम गर्दछ ।

खाने सोडाको घोलले विभिन्न कडा विषहरूलाई पनि हटाउन मद्दत गर्दछ । जस्तै क्लोरोपाइरिफस, मालाथियन र प्रणालीगत कीटनाशक जस्तै इृमिडाक्लोरपिड आदि । यो विधि बहुआयामिक विधि हो, जुन तरकारीका लागि पनि प्रयोग गर्न सकिन्छ । जस्तै: गोलभेडा, भन्टा, भिन्डी, करेला, गाजर, मुला, काउली, सबैका लागि यो विधि सर्वोत्तम मानिएको छ।

यी माथिका ३ वटा विधिले सतहमा रहेको विषादीलाई मात्र नष्ट गर्न मद्दत गर्दछन। प्रणालीगत रूपमा जराबाट भित्र पसेका विषादी जुन फल भित्र नै पसिइसकेका छन्, यस्ता विषादीहरूलाई यी विधिहरूबाट हटाउन सकिँदैन । त्यसैले सर्वोत्तम उपाय भनेको विषादीरहित तरिकाले उत्पादन गरिएका तरकारी तथा फलफूल सेवन गर्नु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?