+
+
Shares

छथरले सम्झियो साहित्यकार लीलबहादुर क्षेत्री

‘स्मृतिमा साहित्यकार लीलबहादुर क्षेत्री परिचर्चा तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम’ ले एक साहित्यकारलाई सम्झने काम मात्र गरेन, साहित्य, संस्कृति, शिक्षा र पर्यटनलाई जोड्दै समाजलाई आफ्नो मौलिक पहिचानप्रति गर्व गर्न सिकाउने प्रयास गर्‍यो ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ असार २१ गते १३:०८

२१ आसार तेह्रथुम । कहिलेकाहीँ एउटा व्यक्तिको जीवन केवल उसको समयको कथा हुँदैन, एउटा समाज, एउटा पुस्ता र एउटा भूगोलको कथा पनि बन्छ ।

नेपाली साहित्यमा यस्तै अमिट छाप छोड्ने साहित्यकार हुन् लीलबहादुर क्षेत्री । भारतको असम राज्यको गुवाहाटीमा जन्मिएका क्षेत्रीका पुर्खाहरू पूर्वी नेपाल तेह्रथुमको छथर सुदापबाट भारतको असाम पुगेका थिए ।

नेपाली समाजको यथार्थ, बसाइँसराइ, गरिबी र मानवीय संवेदनालाई केन्द्रमा राखेर लेखिएको उनको चर्चित उपन्यास ‘बसाइँ’ नेपाली साहित्यको कालजयी कृतिका रूपमा स्थापित छ । साहित्य अकादमी पुरस्कार, जगदम्बाश्री पुरस्कार तथा पद्मश्री सम्मानबाट सम्मानित क्षेत्रीको निधन १३ मार्च २०२५ मा गुवाहाटीमा भए पनि उनका कृतिहरूले उनलाई आज पनि नेपाली साहित्यमा जीवित राखिरहेका छन् ।

उनै साहित्यकारको स्मृतिमा तेह्रथुमको छथरमा दुई दिनसम्म साहित्य, संस्कृति र सिर्जनाको कार्यक्रम सम्पन्न भएको छ । ‘स्मृतिमा साहित्यकार लीलबहादुर क्षेत्री परिचर्चा तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम’ ले एक साहित्यकारलाई सम्झने काम मात्र गरेन, साहित्य, संस्कृति, शिक्षा र पर्यटनलाई जोड्दै समाजलाई आफ्नो मौलिक पहिचानप्रति गर्व गर्न सिकाउने प्रयास गर्‍यो ।

छथर साहित्यिक समाज, शुक्रबारेको आयोजनामा तथा छथर गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न कार्यक्रमले लीलबहादुर क्षेत्रीको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने, स्थानीय स्रष्टाहरूलाई सम्मान गर्ने र साहित्यिक वातावरण निर्माण गर्ने उद्देश्य बोकेको थियो ।

कार्यक्रमको पहिलो दिन सहभागीहरूले साहित्यिक यात्रामार्फत क्षेत्रीको पुर्ख्यौली गाउँ सुदापको भ्रमण गरे । उनले बाल्यकाल बिताएका परिवेश, उनका सिर्जनाका प्रेरणास्थल र गाउँको जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर पाए । जनकल्याण आधारभूत विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको थियो । विद्यार्थीहरूका सिर्जनात्मक प्रस्तुति र साहित्यप्रतिको उत्साहले नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण अझ जीवित रहेको संकेत दिएको थियो ।

साँझ आयोजित साहित्यिक–साङ्गीतिक कार्यक्रममा कविता वाचन, गीत–सङ्गीत तथा सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई साहित्यिक उत्सवमा रूपान्तरण गरिदिएको थियो । कार्यक्रममा १० जिल्लाका स्रष्टाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा माया मितु न्यौपाने, मुकुन्द प्रयास, कविता केशरी, ध्रुव एलेक्स, दीपा दीपहरि, वीरेन्द्र खड्का, प्रमोद दुलाल, तारा काफ्ले लगायतले रचना वाचन गरेका थिए ।

दोस्रो दिनको मुख्य आकर्षण परिचर्चा तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम रह्यो । कार्यक्रममा वक्ताहरूले लीलबहादुर क्षेत्रीको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै उनका कृतिहरू नेपाली समाजको जीवन्त दस्तावेज भएको बताए । विशेषगरी बसाइँ जस्ता कृतिहरूले नेपाली समाजको यथार्थ, गरिबी, विस्थापन र मानवीय संवेदनालाई विश्वसामु परिचित गराएको धारणा राखियो ।

कार्यक्रममा सहभागी हुन पहिलो पटक आफ्नो पुर्ख्याैली थलो पुगेकी साहित्यकार क्षेत्रीकी छोरी डा.कृष्णा क्षेत्री भावुक देखिइन् । ‘बुबाको सम्मान उहाँकै जन्मभूमिमा देख्न पाउँदा म अत्यन्त खुसी छु,’ उनले भनिन्, ‘हाम्रो जीवनको धेरै समय भारतको आसाम, गुवाहाटीमा बित्यो, तर आज यहाँ आएर उहाँको योगदानप्रति देखिएको सम्मानले गर्व महसुस भएको छ ।’

कार्यक्रममा छथर गाउँपालिका–५ ओख्रेकी तृप्ती भण्डारीलाई ‘नवसर्जक सम्मान–२०८२’ प्रदान गरिएको थियो । साथै साहित्य, कला, संस्कृति तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला, प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलाल, साहित्यकार लीलबहादुर क्षेत्रीकी छोरी डा. कृष्णा क्षेत्री तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, तेह्रथुमलाई सम्मान गरिएको थियो ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?