+
+
Shares

अमेरिकी ड्रोन खसालेको इरानी दाबी, कुवेतमाथि पनि क्षेप्यास्त्र आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते ११:०१

२४ असार, काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्वले पश्चिम एसियामा थप उग्र रूप लिन थालेको छ। अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ भने द्वन्द्वको असर छिमेकी राष्ट्र कुवेतसम्म पुगेको छ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहबीले इरानी वायु रक्षा प्रणालीले बुशेहर प्रान्तको खोरमुजमाथि उडिरहेको अमेरिकी एमक्यु-९ ड्रोनलाई खसालेको बताएका छन्।

अमेरिकी सेनाको हवाई अतिक्रमणपछि त्यसको जबाफमा उक्त ड्रोनलाई निसाना बनाएर खसालिएको मोहबीले स्पष्ट पारेका छन्।

कुवेतमा साइरनक्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रतिकार

यसैबीच, यस युद्धको बाछिटा कुवेतसम्म पुगेको छ। कुवेती सेनाले आफूहरूमाथि भइरहेको ‘शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोन आक्रमण’ को प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सरकारी समाचार एजेन्सी कुनाका अनुसार देशभर हवाई आक्रमणको साइरन बजाइएको छ।

सेनाले एक विज्ञप्ति जारी गर्दै देशभर सुनिएका विस्फोटका आवाजहरू ती क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गर्दा आएको प्रस्ट पारेको छ। साथै, नागरिकहरूलाई शान्त रहन र अधिकारीहरूले दिएका सुरक्षा निर्देशनहरू पालना गर्न अपिल गरिएको छ।

तेहरान विमानस्थलमा उडान सुचारु

आक्रमण र तनावका बीच तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका उडानहरू भने सुचारु भएका छन्। इरानी सरकारी प्रसारक आइआरआईबीका अनुसार स्थानीय समयानुसार बिहान ५ बजेदेखि विमानस्थलको उडान तालिका सामान्य अवस्थामा फर्किएको छ।

यो पछिल्लो घटनाक्रम अमेरिकाले इरानमाथि गरेको शृङ्खलाबद्ध हवाई हमलालगत्तै विकसित भएको हो। इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेकै बेला अमेरिकाले बुधबार बिहानै इरानका ८० भन्दा बढी सैन्य अखडाहरू (बन्दर अब्बास, केश्म टापु र सिरिक लगायत) मा आक्रमण गरेको थियो।

होर्मुज स्ट्रेटमा इरानले ३ वटा व्यावसायिक तेल ट्याङ्करमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेन्ट्रल कमान्डले उक्त हवाई कारबाही गरेको थियो।

अमेरिकाको उक्त आक्रमणलाई इरानले दुई देशबीचको युद्धविराम सम्झौताको ‘खुला उल्लङ्घन’ भन्दै यसको ‘विनाशकारी जवाफ’ दिने चेतावनी दिएको थियो।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?