News Summary
Generated by OK AI. Editorially reviewed.- प्राध्यापक संजीव उप्रेतीले आफ्नो पुस्तक 'संरचनात्मक लाभांश' सार्वजनिक गर्दै नेपाली साहित्यमा पुरुष लेखकहरूको वर्चस्व र 'ब्रोवाद' (ब्रो-कल्चर) को समस्यालाई उजागर गर्नुभएको छ।
- लेखकहरूले ब्रोवादी घेराभित्र रहेर पुरुष साथीहरूका रचना मात्र प्रवर्धन गर्दा महिला लेखकका गुणस्तरीय कृतिहरू ओझेलमा पर्ने गरेको तितो यथार्थ विभिन्न घटनाले पुष्टि गरेका छन्।
- पुरुषप्रधान सामाजिक संरचनाले गर्दा धेरै पुरुष लेखकहरू आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्कन नसकेको र लैङ्गिक असंवेदनशीलताप्रति गम्भीर नभएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
केही दिनयता, नेपालको सामाजिक सञ्जालमा संरचनात्मक लाभांश बारे खुबै चर्चा भइरहेको छ। यसको कारण, गत असार १४ गते आइतबार प्राध्यापक संजीव उप्रेतीले ललितपुरमा आयोजित डा. देवेन्द्रराज पाण्डे लेक्चर सिरिजमा दिएको मन्तव्य हो। त्यस दिन, उहाँको पुस्तक ‘संरचनात्मक लाभांश’को विमोचन समेत भएको थियो।
त्यसै समयमा उहाँले दिनुभएको प्रवचनका विषयहरूलाई लिएर कतै सकारात्मक, कतै व्यंग्यात्मक चर्चा–परिचर्चा भइरहेका छन्। यो पंक्तिकार उक्त कार्यक्रममा उपस्थित हुन नपाए पनि, त्यो दिनको भिडियो क्लिपहरू र त्यसपश्चात् संजीव उप्रेतीले हिमालखबरमा सुशान्त गुरुङसँग गर्नुभएको कुराकानी सुनेपछि यो आलेख नलेखी सकिएन।
प्रवचनको दिनमा उहाँको कार्यपत्रमा एउटा उप-शीर्षक रहेछ, ‘सांस्कृतिक पूँजी, ब्रोवाद र पितृसत्ता’। यही शीर्षकले गर्दा नै लेख्न उत्प्रेरित गरायो। त्यसमा पनि, यहाँ महिला लेखकहरूका बारेमा उहाँले बोल्नुभएका कुराहरूमा मात्र टिप्पणी गर्न चाहन्छु; किनकि आफ्नै अनुभव, सिक्दै गएको आधारमा जानेको कुरा के हो भने एउटा निश्चित व्यक्ति वा समुदायको भोगाइ, फरक व्यक्ति वा समुदायले भोग्ने व्यक्ति वा समुदायको जसरी महसुस गर्न कदापि सक्दैन।
त्यसैले सम्बन्धित व्यक्ति वा समुदायले आफूले भोगेको भेदभाव, दलन, पीडा आफैंले उठाउनुपर्दछ, अरूले त्यसलाई ऐक्यबद्धता जनाउँदै सकेको साथ र सहयोग गर्ने हो। यसको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु, एकपटक अन्तरधार्मिक सञ्जालको कार्यक्रममा विभिन्न धार्मिक आस्था राख्ने व्यक्तिहरू बसेर छलफल गर्दै थियौं; त्यहाँ धर्मको कारणले हुने विभेदको बारेमा कुरा उठ्यो।
मुस्लिम र क्रिस्चियन धर्म मान्ने महिला साथीहरू कार्यक्रमस्थलबाट निस्किसक्नुभएको थियो, हामी जो-जति त्यहाँ थियौं उहाँहरूको अनुभवबारे थाहा हुने कुरै भएन र थोरै जानकारीको आधारमा हामीले बोल्न सक्ने कुरा पनि भएन। त्यसैले भनेको, आफूमाथि भएको थिचोमिचो र भेदभावको बारेमा आफैंले बोल्न जरुरी हुन्छ।
प्राध्यापक उप्रेतीले त्यस दिन भन्नुभएको थियो, “यसैसँग जोडिएको अर्को समस्या छ- ‘ब्रोवाद’ (ब्रो-कल्चर) को सर्कल।
नेपाली साहित्यिक वृत्तमा पुरुष लेखक, पत्रकार, समालोचकहरूले ‘ब्रो’ हरू मात्र जम्मा भएका, खासगरी साँझका ‘रमाइलो’ भेटघाटहरूमा भनेको सुनेको छु- ‘नेपालमा महिला लेखक नै भएनन्, जो छन् तिनको स्तर निम्न छ। तीमध्ये केहीलाई त हाल लेखिरहेका महिला लेखक र तिनका रचनाबारे केही पनि थाहा हुँदैन।
प्रश्न उठ्छ: अधिकांश पुरुष लेखक/समालोचकले महिलाका कृति किन पढ्दैनन् ? किन उनीहरूलाई महिला लेखक र तिनका रचनाबारे पर्याप्त जानकारी छैन ? किन थुप्रै महिला लेखक तिनका दृष्टिको परिधि बाहिर पर्छन् ? के यो पनि संरचनात्मक असंवेदनशीलताको उदाहरण होइन ?
ब्रोवादी भेटघाटहरू पुरुष लेखक, पत्रकार, समालोचक, पाठक र अन्य बौद्धिकका लागि एकअर्कासँग मित्रताको सम्बन्ध दरिलो बनाउने, एकअर्काका रचना छलफल गर्ने अवसर पनि हुन्। यसको परिणाम- लेखक, पत्रकार, समालोचक, साहित्यिक कार्यक्रमका सञ्चालक आदिले एकअर्कालाई राम्ररी चिन्छन्। मित्रताका नाताले एकअर्काका लेख, उपन्यास, नाटक आदि प्रवर्धन गर्छन्।’
यो बोलेको भिडियो धेरैले सेयर गर्नुभएको देखें; विशेषगरी महिला लेखक तथा साहित्यकारहरूले; किनकि, ‘ब्रोवाद’लाई यो जरुरी नै हुँदैन। तर, ती ब्रोवादीहरू नै प्राध्यापक उप्रेतीले त्यो प्रवचन दिंदा अगाडि बसेर ताली ठोक्नेहरूमा पर्नुहुन्छ। आज उहाँहरूलाई यो पढ्दा, ‘यसले मलाई नै भनी !’ भनेर चस्स हुँदो हो।
साढे चार महिना अगाडिको एउटा उदाहरण पेश गर्न चाहें, पूर्व निर्वाचन आयुक्त इला शर्माबारे संस्मरणात्मक लेखको सँगालो विमोचन हुँदैथियो। कार्यक्रममा निमन्त्रणा गर्ने क्रममा, एक जना जानेमानेका लेखक, बृहत् नागरिक आन्दोलनमा विभेदको विरोधमा आवाज उठाउँदै हिंड्ने नागरिक अगुवा तथा करिब तीन दशकदेखि साँच्चै सकारात्मक भाव राख्दै आएकी व्यक्तिलाई निम्ता पठाएँ। उहाँले, म त काठमाडौंमा हुँदिन भन्नुभयो। तर पछि, सोही दिन भएको एक जना पुरुष साहित्यकारको पुस्तक विमोचनमा उहाँको हाजिरी मात्रै होइन, ती साहित्यकार र उहाँको पुस्तकको फोटो सहित उहाँलाई सामाजिक सञ्जालमै देख्न पाइयो। यति घनिष्ठ हुन्छ ‘ब्रोवाद’ !
केही दिन अगाडि, एक जना पुरुष प्रकाशकले आफ्नै प्रकाशनबाट निस्किएको पुस्तकहरूमध्ये एक जना पुरुष लेखकको पुस्तक, अब्बल र पढ्नै पर्ने (ऐतिहाससिक उपन्यास) भनेर प्रचार/प्रसार गर्नुभयो। जबकि, उहाँकै प्रकाशनबाट अर्की आख्यानकार, जो नेपालकै ठूलो भनिने पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको थियो; र, उहाँको पनि कृति सोही पब्लिकेसनले छापेको थियो; त्यसको चर्चा वा प्रचार गरेको देखिएन। यति बलियो छ, ‘ब्रोवाद’ !
प्रवचनकै क्रममा प्राध्यापक उप्रेतीले यो पनि भन्नुभएको थियो, “यसबाहेक लेखक, समालोचक आदिको ‘रमाइलो साहित्यिक भेटघाट’ प्रायः साँझ हुने गर्छ। अपवाद बाहेक जति नै प्रतिष्ठित भइसके पनि महिला लेखकहरूलाई घरायसी दायित्वको बाध्यता अझै रहेकाले तिनलाई यस्ता रमाइला सर्कलमा नियमित उपस्थिति जनाउन गाह्रै हुन्छ। त्यसैले गर्दा ‘साहित्यिक मेरिट’ को दौडमा तिनीहरू विस्तारै आफैं पछाडि छुट्दै जान्छन्।
यो कुनै सुनियोजित षड्यन्त्र होइन। पुरुष समालोचक, पत्रकार, लेखक आदिले “महिला लेखकलाई पछि पारौं, हामी दाजुभाइ मात्र अघि बढौं” भन्ने सोचेर कुनै योजना बनाएका हुँदैनन्। तर पुरुषप्रधान समाजको संरचना नै यस्तो छ कि त्यो आफैं हुँदै जान्छ। यही हो लैङ्गिक लाभांशको चुरो !

यसैले गर्दा कतिपय समालोचक, पत्रकार र आमपाठकका नजरमा महिलाका कृति अदृश्य हुन्छन् र “म त महिलाका कृति नै पढ्दिनँ किनभने तिनका रचना गुणस्तरीय हुँदैनन्” र “पारिजातपछि कुनै स्तरीय महिला लेखक जन्मेकै छैनन्” जस्ता भाष्य साहित्यिक वृत्तका जेन्डर्ड भाष्य बन्न पुग्छन्।”
यसको उदाहरण खोज्न त ‘ब्रोहरू’का पुस्तक र आख्यानहरूलाई दिलोज्यानले प्रचार/प्रसारमा पुर्याउने, शनिवारे साहित्यिक परिशिष्टाङ्कका संयोजकहरूको उठबस र उनीहरूले संयोजन गर्ने पत्रिका तथा म्यागाजिनहरूमा छापिने लेखहरूको सँगालोको सूक्ष्म अध्ययन गरे थाहा भइहाल्छ।
कुनै पुरुष साहित्यकार/आख्यानकारहरूको कृति प्रकाशित हुन लागेको छ भने, केही हप्तादेखि नै मिडिया जगतका सम्बन्धित बिटका ‘ब्रोहरू’ सल्बलाउन थाल्नुहुन्छ; लेखक/साहित्यकारको अन्तर्वार्ता छाप्ने हो कि, विमोचन हुन लागेको कृतिमाथि फूलबुट्टा भरेर चर्चा दिलाउने हो कि, के गरेर हुन्छ, हाइलाइटमा ल्याउने हो शुरु भइसकेको हुन्छ। त्यही ठाउँमा, महिलाको कृति छ भने, मिडियासँग पहुँच पुर्याउनै गाह्रो। एकताका, केही विद्वान परिचित पत्रकारहरू हुनुहुन्थ्यो, उहाँहरूलाई महिलाले पनि लेख्छन्; उनीहरूको पनि तर्क र आवाज हुन्छ भन्ने सोच नै हुँदैनथ्यो। तर, आजका दिनमा उहाँहरू आफूलाई महिलावादी भन्न रुचाउने व्यक्तिहरूभन्दा पनि बढी ‘महिलावादी हुँ; उनीहरूको आवाजको कदर गर्छु’ भने जसरी, ‘पहुँचधारी महिलावादीहरू’सँग काँध मिलाएर हिंड्नुहुन्छ; भलै उहाँहरूको व्यक्तिगत व्यवहारले ठिक उल्टो देखाइरहेको होस् !
फेरि, संजीव उप्रेतीको भनाइमै जाउँ। उहाँले भन्नुभएको थियो, “सबै पुरुष लेखकहरू पुरातनवादी, महिलाद्वेषी पक्कै हुँदैनन्। खास गरेर मैले भेटेका अधिकांश समालोचक, पत्रकारहरू महिला अधिकारको बारेमा सचेत भेटेको छु। यति हुँदाहुँदै पनि समाजको पुरुषप्रधान संरचना, उक्त संरचनाभित्र झ्याँगिएको महिला र पुरुषका अलग भूमिका र अपेक्षा बारेका सामाजिक मान्यताले गर्दा थाहै नपाई उनीहरू ब्रोवादी परिधिमा सीमित भइरहेका हुन्छन्।”
उनीहरू त्यस परिधिभित्र बसेर राजनीतिक छलफल गर्दा कहिलेकाहीं महिला अधिकारबारे समेत विचार-विमर्श गर्छन्। तर उक्त वृत्तमा “म कसरी परें ? कुनै महिला लेखक, समालोचक, पत्रकार किन सामेल हुन सकेनन् ?” भनेर आत्मालोचनात्मक प्रश्न सोध्दैनन्।
जबसम्म हामी पुरुषहरूले आफैंलाई यस्ता कठिन प्रश्न सोध्ने हिम्मत गर्न सक्दैनौं, तबसम्म हामी जतिसुकै उदारवादी भए तापनि आ-आफ्ना “कम्फर्ट जोन” बाट बाहिर निस्कन सक्दैनौं। हामीभित्र जेन्डरसित गाँसिएका संरचनात्मक असंवेदनशीलताहरू मौलाइ नै रहन्छन्।”
उहाँको यो तर्कमा पनि मेरो गजबका अनुभवहरू छन्; म यहाँ व्यक्तिको रूपमा नबुझिदिनुहोला, यसलाई प्रतिनिधि घटनाको रुपमा हेरिदिनुहोला!
मेरो पहिलो पुस्तक, ‘हजुरआमाका कथा’ विमोचन हुने दिन। वक्तामध्येका एक, त्रिभुवन विश्वविद्यालय, एन्थ्रोपोलजी विभागका तत्कालीन प्रमुख प्राध्यापक डम्बर चेम्जोङले भन्नुभयो, “मलाई आज यहाँ बोल्न नबोलाएको भए शायद, म यो किताब पढ्दिनथें होला !”
एउटा लेखकको नाताले योभन्दा ठूलो खुशी के होला कि, उहाँले त्यो किताब पढेकै कारणले, उहाँकै कार्यकालमा त्रिवि, मानवशास्त्र एमफिल (पहिलो सेमेस्टर)को, ‘एन्थ्रोपोलजी, जेन्डर रिलेसन एण्ड फेमिनिज्म’को पाठ्यक्रममा समेटियो। यो २०७९ साउनको कुरा थियो; अहिले त छ कि छैन पनि थाहा छैन। तत् पश्चात् उक्त पुस्तक, केही लेखकहरूले नाम नै दिएर, ‘सन्दर्भ सामग्री’को रूपमा प्रयोग पनि गर्नुभएको छ।
हुनत, उक्त पुस्तकको मुस्किलले तीन वटा समीक्षा आयो; अझ, विमोचनको केही दिन अगाडि, अग्रज पत्रकार किशोर नेपालले, ‘म तिम्रो किताबको समीक्षा लेख्छु, किताब पठाइदेऊ !’ भनेर सार्वजनिक रूपमै मागेपछि दौडादौड गरेर पुर्याउन पठाएको किताबको आजसम्म कतै अत्तोपत्तो छैन। यदि कुनै ‘ब्रो’को भएको भए त्यसै गरिन्थ्यो त ?
नियमित लेखन क्षेत्रमा भएकै कारणले आफ्नो अनुभव र गुनासो व्यक्त गर्दा ‘मपाईंत्व’ देखाएको नठानियोस्; यति हक त राख्न सक्छु भनेरै उपरोक्त उदाहरणहरू उल्लेख गर्दैछु। किनकि, मिडियामा पहुँच नभएका महिलाहरू, जो संरचनात्मक लाभमा हामी पछाडि पर्यौं वा पारियौं भन्ठान्नुहुन्छ, उहाँहरूभन्दा कुनै हालतमा हामी अगाडि छैनौं।
अर्को एउटा घटना पनि नलेखी सकिएन; आफ्नै दोस्रो पुस्तक, ‘मिडिया, महिला र म’को विमोचन हुने केही दिन अगाडि, कान्तिपुर टेलिभिजनको समाचार प्रमुख साथीलाई निमन्त्रणा पठाएँ। त्यतिबेला, आफू भर्खरै स्तन क्यान्सरको उपचार सकेर बसेकी थिएँ; आफू जीवित हुँदै किताब प्रकाशन गर्ने धोको थियो, त्यसैले किताबको कभरेज होस् भन्ने आग्रह पालेकी थिएँ।
उहाँले, घरमै बाइट लिन क्यामेरा सहित रिपोर्टर पठाइदिनुभयो। रिपोर्टर आएर अन्य अन्य विषयमा धेरै कुरा सोध्नुभयो र बिट मारेर जान लाग्नुभयो। म अचम्ममा परेर सोधें, ‘तपाईं त मेरो प्रकाशित हुन लागेको किताबबारे कुराकानी गर्न आउनुभएको होइन र ?’ उहाँलाई त किताबबारे कुनै जानकारी नै रहेनछ; शायद, उहाँलाई पनि महिलाले पनि किताब लेख्छन् र, उनीहरूका पनि कुरा हुन्छन् र भन्ने थाहा नै थिएन !
यो उदाहरणले के पनि देखाउँछ भने, पहुँच भएका भनिएकाहरू पनि लाभांश पाउने विषयमा पछाडि पारिन्छन्। ‘ब्रोहरू’का किताब निस्कने भएको भए, सम्बन्धित विषयमा जानकारी लिएर कुराकानी गर्न पुग्थे होलान्!
मैले माथि नै उल्लेख गरिसकेकी छु, यहाँ महिला लेखनसँगका विषयवस्तु बारे मात्रै चर्चा गरिनेछ। संरचनाको पिंधमा हुनेहरूको समस्या त विकराल नै छ, त्यसबारेमा न त यो पंक्तिकार त्यति जानकार छु; न सबै कुरा बुझ्न र लेख्न सक्ने डिग्री नै हासिल गरेकी छु। यहाँ उठाउन खोजेको मुख्य कुरा भनेको, पुरुषहरूले पुरुष भएकै कारणले पाएका ‘लैंगिक लाभांश’प्रति अधिकांश पुरुषहरू नै पनि कति सचेत हुनुहुन्छ भन्ने हो र शायद, संजीव उप्रेतीले उठाउन खोज्नुभएको तथ्य पनि त्यही हो।

तर, यही कुरा पुरुष लेखक/साहित्यकारहरूले नै नबुझ्नुभएको हो कि, बुझेर पनि बुझपचाउनुभएको हो, सञ्जालमा आएका कमेन्ट र व्यंग्यहरू पढेर बुझ्नै सकिएन।
प्राध्यापक उप्रेतीको उपरोक्त भनाइप्रति आफ्नो विचार राख्दै काठमाडौं युनिभर्सिटीकी ‘भिजिटिंग फ्याकल्टी’ डा. अमिना सिंह आफ्नो धारणा यसरी राख्नुहुन्छ, “हालसालै डा संजीव उप्रेतीले लेख्नुभएको संरचनात्मक लाभांश बारेको पुस्तक सार्वजनिक भएको थियो। संरचनात्मक लाभांशको बारेमा ठ्याक्कै यही वाक्यांश नभने पनि नेपालमा नारीवादी चिन्तक लेखकहरूले विभिन्न दृष्टिकोणले प्रश्न उठाएकै, बहस गरेकै विषय हो यो। त्यसैले समाजशास्त्रको यो डिस्कोर्ससँग परिचितहरूका लागि संजीवजीको कुरा त्यति नौलो नलागे पनि, यहाँ कसले यो कुरा उठायो, कसले बोल्यो र प्रश्न राख्यो भन्ने कुरा अर्थपूर्ण हुन्छ होला।”
हुनत, यो समाजमा संरचनात्मक लाभांशको बारेमा यसरी बोल्न र लेख्न पाउनु, अनि सो कुरा बौद्धिकहरू माझ स्वीकार्य हुनु, उत्कृष्ट भनेर प्रशंसा पाउनु पनि संरचनात्मक लाभांशकै देन हो। मैले एउटा सभामा उच्च शिक्षा सम्बन्धी महत्वपूर्ण बहस भइरहेकै बेला समावेशिताको सन्दर्भ पारेरै यो भेलामा पुरुषहरूको बाहुल्य कसरी र महिलाको उपस्थिति कसरी यतिको न्यून ? महिलाहरू किन सहभागी भएनन् वा बोलाइएन ? भनेर प्रश्न गर्दा, उपस्थित विद्वानहरूमध्ये कसैले यसलाई हाँसेर उडाए, केहीले अलि अपमानित महसुस गरे जस्तो गरे तर, समग्रमा यो विषयमा उदासीन प्रतिक्रिया पाएपछि छलफलको बीचमै त्यो सभा नै छोडेर हिंडेकी थिएँ।
शायद मैले त्यो ठाउँमा त्यसरी प्रश्न सोध्नु नै गलत थियो। शायद यो आत्मालोचनाको विषय भएकैले कसले कसरी कसलाई प्रश्न गर्न हुने भन्ने कुरा पनि होला। जो लाभांशको लाभग्राही, उसैले प्रश्न गर्दा बरु प्रश्नको वजन, सम्मान र औचित्य रहने हो कि ?’ यहाँ पनि फेरि उही जब्बर ‘ब्रोवाद’कै कुरा आउँछ। सके महिलालाई दबाउन खोज्यो, दबिने परेनन् भने लाञ्छना लगाउन खोज्यो, त्यतिले पनि सकिएन भने फोरममा छिर्नै नदियो; यसै गरी चल्छ यहाँको ‘ब्रोवाद’ !
यहाँनेर अपवादको कुरा चाँडै, नधकाई र नलजाई एउटा के स्वीकार्नुपर्छ भने, केही महिलाहरू ‘ब्रोवादी’हरूको प्रिय हुनुहुन्छ र हात्तीको देखाउने दाँतको लागि उहाँहरूको प्रयोग पनि बेलाबखत भइरहन्छ। उहाँ, महिलाहरू पनि आफूले पाएको अवसरलाई रौं बराबर छुटाउन चाहनुहुन्न।
डा. अमिना संरचनात्मक लाभांशको कडी हालसालै नियुक्त उपकुलपतिहरूको प्रसंगसँग जोड्दै भन्नुहुन्छ, “त्यही भएर महिला किन उपकुलपति भएनन् भनेर प्रश्न गर्नु भन्दा उच्चशिक्षाको क्षेत्रमा संरचनात्मक लाभांश कसलाई कसरी प्राप्त हुन्छ ? यो प्राज्ञिक ‘योग्यता’ सँग कसरी गाँसिएको छ ? यसले विश्वविद्यालय भित्र कसरी काम गर्छ ? कस्तालाई माथि उचाल्छ र कस्तालाई तलै वा विश्वविद्यालयको परिधि बाहिरै पारिरहन्छ ? त्यो प्रश्न सोध्न मिल्नेहरूले सोधखोज गर्दा जवाफ आउँछ होला ! हो, पुरुष भएरै जन्मनु पाप होइन, कथित उच्चजात/वर्गमा जन्मनु पनि पाप हैन। तर संरचनात्मक लाभांशबाट लाभान्वित हुनेहरूको नैतिक उत्तरदायित्व केवल प्रश्न गर्नुमै सीमित हो ? अरू पनि केही गर्नुपर्ने हो ?”
फेरि अर्को एउटा उदाहरण, गत जेठ महिनाको ९ र १० गते, अन्तर्राष्ट्रिय नेपाली समाज, केन्द्रीय कार्यसमितिको आयोजना तथा कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा, नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भयो। सो सम्मेलनको लागि नेपाल लगायत अन्य देशहरूबाट पनि लेखक, पत्रकारहरू निम्त्याइएको थियो। तर, कार्यक्रमको विशेष अतिथि, अमेरिका निवासी, मदन पुरस्कार विजेता डा. नीलम कार्की निहारिकालाई बनाइएन; बरु, नेपालदेखि निम्त्याइएको पुरुष साहित्यकारलाई नै बनाइयो। ‘ब्रोहरू’, यहाँ कसैको व्यक्तिगत विरोध या समर्थन गरेको होइन; ‘ब्रोवादी’ सोचको उदाहरण मात्रै दिन खोजेको हो।
त्यसैले, ‘ब्रो’हरू आफूहरूको जमातले पुरुष भएकै कारणले के कति लाभांश पाउनुभएको छ यसो सोच्ने गर्नुहोला; न कि ‘महिलाहरूका लेखाइ स्तरीय छैनन्/हुँदैनन् !’ भनेर पढ्दै नपढी, उनीहरूलाई प्रकाशन, प्रचारमा उपयुक्त मौका नै नदिई न्यायाधीश बन्ने काम गर्नुहोला! यति त लेख्ने छुट होला नि, ‘ब्रोवादी’हरू !
प्रतिक्रिया 4