News Summary
Generated by OK AI. Editorially reviewed.- नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलअघि सम्पूर्ण दबाब इंग्ल्यान्डमाथि रहेको बताएका छन् ।
- आइतबार हुने खेलमा इतिहास रच्दै पहिलो पटक अन्तिम आठमा पुगेको नर्वेले उपाधि दाबेदार मानिएको इंग्ल्यान्डको सामना गर्नेछ ।
- इंग्ल्यान्डका खेलाडीले हालान्डको यस अभिव्यक्तिलाई 'माइन्ड गेम'का रूपमा हेर्दै टोलीको पूर्ण क्षमताप्रति सतर्कता अपनाएका छन् ।
२६ असार, काठमाडौं । नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलअघि सम्पूर्ण दबाब इंग्ल्यान्डमाथि रहेको बताएका छन् । उनले सञ्चारमाध्यमलाई इंग्ल्यान्डमाथि सकेसम्म धेरै दबाब सिर्जना गर्नसमेत आग्रह गरेका छन् ।
आइतबार बिहान हुने क्वार्टरफाइनलमा नर्वेले इंग्ल्यान्डको सामना गर्दैछ । सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको नर्वे यसपटक इतिहास रच्दै पहिलो पटक अन्तिम आठमा पुगेको हो ।
समूह चरणमा दोस्रो स्थानमा रहँदै नकआउट पुगेको नर्वेले त्यसपछि आइभरी कोस्ट र पाँच पटकको विश्वविजेता ब्राजिललाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
अर्कोतर्फ, इंग्ल्यान्ड पछिल्ला तीन विश्वकपमा लगातार क्वार्टरफाइनल वा त्यसभन्दा माथि पुगेको टोली हो । तर सन् १९६६ पछि भने उपाधि जित्न सकेको छैन ।
खेलअघि पत्रकार सम्मेलनमा बोल्दै हालान्डले दबाबको विषयमा सोधिएको प्रश्नमा हाँस्दै भने, ‘हो, सम्पूर्ण दबाब इंग्ल्यान्डमाथि छ । उनीहरू नै उपाधिका प्रमुख दाबेदारमध्ये एक हुन् ।’
उनले थपे, ‘तपाईंहरू सबैले इंग्ल्यान्डका खेलाडीमाथि सकेसम्म धेरै दबाब सिर्जना गर्नुहोस् । उनीहरूका समर्थकले पनि टोली क्वार्टरफाइनल पार गर्नेमा विश्वस्त हुनुपर्छ, किनकि त्यो इंग्ल्यान्ड हो ।’
विश्वकपमा नर्वेको प्रदर्शनले आफैं आश्चर्यमा
२५ वर्षीय हालान्डले यस विश्वकपमा खेलेका चार खेलमा सात गोल गरिसकेका छन् । अन्तिम १६ को खेलमा ब्राजिलविरुद्ध दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका उनी लगातार १४ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सफल भएका छन् ।
विश्वकपमा नर्वेको प्रदर्शनले आफूलाई समेत आश्चर्यमा पारेको उनले स्वीकार गरे । ‘साँच्चै भन्नुपर्दा, नर्वेसँग विश्वकपको क्वार्टरफाइनल पुग्छु भन्ने मैले पनि सोचेको थिइनँ । ब्राजिललाई हराएर अहिले विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग खेल्नु हाम्रो लागि अविश्वसनीय अनुभव हो’ उनले भने ।
उनले नर्वेमा विश्वकपको अहिलेको उत्साह असामान्य रहेको उल्लेख गर्दै यस क्षणको आनन्द लिन चाहेको बताए ।

अमेरिकामा पनि हालान्डको क्रेज
यस विश्वकपमा हालान्डको लोकप्रियता अमेरिकामा पनि निकै बढेको छ । आइभरी कोस्टलाई हराएको केही घण्टापछि उनी डलासमा काउबोय टोपी र बुट किन्न पुगेका थिए । उनले त्यसको भिडियो आफ्नो युट्युब च्यानलमा राखेका थिए, जसलाई पाँच दिनमै ६० लाखभन्दा बढी पटक हेरिएको थियो ।
यसबाहेक उनले स्टान्ली कप फाइनल हेर्नुका साथै ब्राजिललाई हराएपछि टोलीसँग ‘भाइकिङ रो’ उत्सव मनाएको भिडियो पनि चर्चामा छ ।
‘मलाई रमाइलो गर्न मनपर्छ । मजाक गर्नु मेरो जीवनको हिस्सा हो । राम्रो प्रशिक्षण, राम्रो तयारी र पूर्ण ध्यान त आवश्यक हुन्छ नै, तर त्यससँगै हाँस्न र क्षणलाई रमाइलोसँग बिताउन पनि जान्नुपर्छ । अहिले हामी विश्वकप खेलिरहेका छौं, त्यसैले हरेक पलको आनन्द लिनुपर्छ । केही पनि सधैं रहँदैन’ उनले भने ।
इंग्ल्यान्डको प्रतिक्रिया : माइन्ड गेम हुन सक्छ
हालान्डको अभिव्यक्तिपछि इंग्ल्यान्डका लेफ्ट ब्याक तथा उनका म्यानचेस्टर सिटीका सहकर्मी निको ओ’राइलीले यसलाई सम्भावित ‘माइन्ड गेम’को संज्ञा दिएका छन् ।
‘सायद यो मानसिक खेल हुन सक्छ । तर नर्वे उत्कृष्ट टोली हो । उनीहरूले प्रतियोगिताभर त्यो प्रमाणित गरिसकेका छन् । हामी केवल हालान्डबाट होइन, समग्र टोलीबाट सचेत हुनुपर्छ’ ओ’रिलीले भने ।
उनले हालान्डलाई विश्वकै खतरनाक स्ट्राइकरमध्ये एक भनेका छन् । ‘उनी पेनाल्टी क्षेत्रभित्र अत्यन्त घातक छन् । उनलाई बल पुग्न नदिनु नै हाम्रो मुख्य चुनौती हुनेछ’ ओ’रिलीले भने ।
इंग्ल्यान्डका सहायक प्रशिक्षक एन्थोनी ब्यारीले पनि नर्वेलाई केवल हालान्डको टोलीका रूपमा नहेर्न आग्रह गरे ।
‘उनीहरू सेटपिसमा निकै बलिया छन् । अग्रपंक्तिमा धेरै उत्कृष्ट खेलाडी छन् । मार्टिन ओडेगार्डजस्ता विश्वस्तरीय खेलाडी टोलीमा छन् । ब्राजिललाई हराएर क्वार्टरफाइनल पुगेको टोलीलाई संयोगवश यहाँ पुगेको भन्न मिल्दैन । उनीहरू हाम्रो पूर्ण सम्मानका हकदार छन्’ ब्यारीले भने ।
-बीबीसीबाट
प्रतिक्रिया 4