+
फिफा विश्वकप २०२६ :

एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनलमा

२०८३ असार  २६ गते ३:४५ २०८३ असार २६ गते ३:४५

पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

२५ असार, काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन् २०१८ को विजेता तथा साविक उपविजेता प्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।

चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो ।

त्यही खेलको रिम्याचको रुपमा यस पटक प्रान्स र मोरक्को क्वाटरफाइनलमै भेट हुँदा अफ्रिकी टिम मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो ।

पहिलो हाफमा एमबाप्पे सहित फ्रान्सलाई रोक्न सफल भएपनि दोस्रो हाफमा भने मोरक्कोले दुई गोल बेहवर्‍यो ।

यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

बोनोको बचाउ

खेलको पहिलो हाफमा मोरक्कोका गोलकिपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गरे । उनले पेनाल्टीसहित तीन सेभ गरे । फ्रान्सका कप्तान एमबाप्पेले पहिलो हाफमा २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए ।

२५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो ।

एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए ।

फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गोलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे । खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए ।

यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।

गोल मेसिन एमबाप्पे

पहिलो हाफमा पेनाल्टीमा गवल गर्न असफल भएमा एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । उनले खेलको ६०औं मिनेटमा डिजायर डुएको पासमा गोल गर्दै प्रान्सलाई अग्रता दिलाएका थिए ।

यस विश्वकपमा एमबाप्पे गोल मेसिनको रुपमा देखिएका छन् र सर्वाधिक गोलकर्ताको होडमा पनि अघि छन् ।

उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी समान ८ गोल गरेका छन् । डेम्बेलेको गोलमा असिस्ट समेत गरेका एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरेका छन् । जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसी भन्दा अगाडि रहेका छन् ।

मेसीको  ८ गोल र १ असिस्ट छ ।  यस्तै एमबाप्पेले विश्वकपमा समग्रमा २० गोल पुर्‍याएका छन् । जुन मेसीको भन्दा एक गोल कम हो ।

यस्तै एमबाप्पेले गोल गरेको ६ मिनेटपछि उसमान डेम्बेले गोल गर्दै फ्रान्स अग्रता दोब्बर पारे । उनले कप्तान एमबाप्पेको पासमा गोल गरेका हुन् ।

यस विश्वकपमा डेम्बेलेको यो पाँचौ गोल हो र उनी सर्वाधिक गोल गर्नेमा पनि पाँचौ स्थानमा छन् ।

दोस्रो हाफमा फ्रान्सले गोल गर्ने अन्य अवसर पनि बनाएको थियो तर सदुपयोग गर्न सकेन ।

 

 

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय