News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण आधारशिविर पदयात्रामा यो आर्थिक वर्षमा मात्र ४२ हजारभन्दा बढी पर्यटक पुगेका छन्।
- अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका अनुसार यस क्षेत्रमा १२ हजार ५९० सार्क देशका र ३० हजार ४७ अन्य देशका पर्यटक सहभागी छन्।
- बढ्दो पर्यटकीय चाप र वातावरणीय चुनौतीलाई व्यवस्थापन गर्न प्रभावकारी नीति तथा दिगो संरक्षणको आवश्यकता रहेको छ।
अन्नपूर्ण आधारशिविर (एबीसी) विश्वभरका अधिकांश पदयात्रीको सपनाको शिखर बन्दै गएको छ। हिमालको काखमा बसेर सूर्योदयसँगै अन्नपूर्ण हिमशृङ्खलाको भव्यता नियाल्ने अभिलाषाले हरेक वर्ष हजारौं पर्यटकलाई यहाँ तानिरहेको छ। विदेशी मात्र होइन, अहिले आन्तरिक पर्यटकको समेत रोजाइमा अग्रस्थानमा देखिन्छ एबीसी।
पोखराबाट झिनुडाँडासम्मको जीप यात्रापछि शुरु हुने ट्रेकिङ (पदयात्रा) मार्फत एबीसी पुग्ने पर्यटकको सङ्ख्या बढ्दो क्रममा देखिन्छ। प्राकृतिक सुन्दरता, सहज पहुँच र विविध संस्कृतिको अनुभव एकै यात्रामा पाउन सकिने भएकाले एबीसी अहिले नेपालको सबैभन्दा लोकप्रिय ट्रेकिङ गन्तव्यमध्ये एकका रूपमा स्थापित भएको छ।
हालै सार्वजनिक तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। तीमध्ये उल्लेख्य हिस्सा पोखरा पुग्ने र त्यहाँबाट एबीसी जस्ता पदयात्रा मार्ग रोज्ने गरेका छन्। समग्रमा नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको चरणमा छ र त्यसको केन्द्रबिन्दुमा एबीसी जस्ता गन्तव्यहरू नै प्रमुख रहेका छन्।
पर्यटक आगमनमा वृद्धि

कोभिड–१९ महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र पुनः लयमा फर्कंदै जाँदा अन्नपूर्ण क्षेत्र पुनः पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। पछिल्ला वर्षहरूमा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ। विशेषगरी वसन्त र शरद याममा होटल तथा लजहरू भरिभराउ हुने गरेका छन्।
पोखराको झिनुडाँडाहुँदै शुरु हुने ‘अन्नपूर्ण बेस क्याम्प ट्रेक’ अहिले नेपाली युवादेखि युरोप, अमेरिका तथा एशियाली देशका पर्यटकसम्मको रोजाइ बन्न पुगेको छ। प्राकृतिक सौन्दर्य र साहसिक यात्राको अद्वितीय संयोजनले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार आन्तरिक पर्यटनमा पनि उल्लेख्य वृद्धि भएको छ। यसले ग्रामीण क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउँदै स्थानीय रोजगारी सिर्जना र जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) का विदुरप्रसाद पोखरेलका अनुसार, यो आर्थिक वर्षमा मात्र ४२ हजार बढीले अन्नपूर्ण आधारशिविर पदयात्रा गरेका छन्। जसमा सार्क देशहरूबाट १२ हजार ५९० र अन्य देशहरूबाट ३० हजार ४७ रहेका छन्। आन्तरिक पर्यटकहरू पनि यो क्षेत्रमा उत्तिकै पुग्ने गरेका छन्।
सार्क देशहरूमध्ये यो आर्थिक वर्षमा सबैभन्दा धेरै भारतीय पर्यटकको आगमन भएको एक्यापले जनाएको छ। ४,१३० मिटर उचाइमा अवस्थित यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ, जहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिन्छ।
प्राकृतिक सौन्दर्य, विविध भौगोलिक बनावट र सहज पदमार्गका कारण एबीसीले विश्वभरका यात्राप्रेमीलाई आकर्षित गर्दै आएको छ। यस वर्ष पर्यटक थप बढ्ने अपेक्षा गरिए पनि मध्यपूर्वको तनावका कारण तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने उल्लेख्य रूपमा बढ्न नसकेको अनुभव छ।
स्थानीय अर्थतन्त्रमा टेवा

अन्नपूर्ण आधारशिविर पदयात्राले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय टेवा पुर्याएको छ। गण्डकी प्रदेश सरकारले समेत अन्नपूर्ण पदमार्गमा आर्थिक गतिविधि बढाउने गरी कार्यक्रमहरू सञ्चालनलाई प्राथमिकतामा राखेको छ। यो पदमार्ग अन्तर्गत पर्ने चोम्रोङ, सिनुवा, बाम्बो, दोभान, देउराली, हिमालय, माछापुच्छ्रे आधारशिविर जस्ता ठाउँहरूमा होटल, रेस्टुरेन्ट, गाइड तथा पोर्टर (भरिया) सेवा मार्फत धेरै स्थानीय प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध भएका छन्।
त्यसो त पदयात्रा गर्न नसक्ने तर हिमाली दृश्य नजिकबाट हेर्न चाहने कतिपय पर्यटक घान्द्रुक पुगेर फर्कने गरेका छन्। यसले घान्द्रुकको पर्यटकीय गतिविधिमा समेत टेवा पुगेको छ। घान्द्रुकबाट समेत पदयात्रा तय गर्न सकिन्छ। घान्द्रुक गाउँको आतिथ्यतासँगै अन्नपूर्ण आधारशिविरको यात्रा तय गर्नेहरू पनि धेरै छन्।
अहिले झिनुडाँडामा रहेको प्राकृतिक तातोपानीको कुण्ड समेत व्यवस्थित गरिएको छ। पदयात्राबाट फर्कने र जाने पदयात्रीहरू तातोपानी कुण्डमा समेत पुग्ने गरेका छन्। पर्यटकको बढ्दो आगमनसँगै स्थानीय उत्पादनको माग समेत वृद्धि भएको छ। विशेषगरी भीरमौरीको महलगायत परम्परागत तथा घरेलु उत्पादनहरूको बिक्री बढ्दै गएको छ, जसले स्थानीय व्यवसायलाई थप चलायमान बनाएको छ। अन्नपूर्ण आधारशिविर पदयात्राले प्राकृतिक सौन्दर्यको अनुभव मात्र नभई स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
मौसम, जोखिम र सुरक्षाको चुनौती

अन्नपूर्ण क्षेत्रमा मौसम छिटो परिवर्तन हुने भएकाले ट्रेकिङ सधैं सहज हुँदैन। हिमपात, वर्षा आदिले दुर्घटनाको जोखिम हुनसक्ने भएकाले यस्तो क्षेत्रको भ्रमण गर्नुअघि तयारी गर्नुपर्ने र उक्त क्षेत्रको जानकारी लिनुपर्ने विज्ञहरूको भनाइ छ। विशेषगरी जाडोयाममा हिमपहिरोको जोखिम बढ्ने भएकाले सतर्कता आवश्यक रहेको उनीहरूको सुझाव छ।
खासगरी अहिले नेपाली र भारतीय पर्यटकको सङ्ख्या समेत बढ्दै जाँदा, कतिपय पर्यटकले स्थानीय नियमहरूको पालना नगर्दा समस्या भएको स्थानीयको तितो अनुभव छ। यता उद्धार कार्यका लागि हेलिकप्टर सेवा उपलब्ध भए पनि सबै क्षेत्रमा सहज पहुँच नहुँदा समयमै सहयोग पुर्याउन चुनौती देखिन्छ। यी समस्याका बाबजुद पनि अन्य पदमार्गको तुलनामा यो धेरै सुरक्षित र व्यवस्थित पदमार्ग भएको त्यहाँ पुग्ने अधिकांश पदयात्रीको अनुभव छ।
पूर्वाधार विकास र पहुँच विस्तार

अन्नपूर्ण आधारशिविर पदयात्रा मार्गमा भएको पूर्वाधार विकासले पदयात्रालाई थप व्यवस्थित, सुरक्षित र पहुँचयोग्य बनाएको छ। पोखराबाट नयाँपुल हुँदै झिनुसम्म सडक विस्तार भएसँगै पदयात्रा शुरु गर्ने बिन्दुसम्म पुग्न समय र खर्च दुवै घटेको छ। यसले आन्तरिक तथा विदेशी दुवै पर्यटकको आगमनलाई सहज बनाएको छ।
पदयात्रा मार्गमा पनि विभिन्न सुधारका कामहरू भएका छन्। चोम्रोङ, देउराली जस्ता प्रमुख वासस्थानहरूमा ढुङ्गे भर्याङ, सुरक्षित पदमार्ग, फलामे पुल तथा विश्रामस्थल निर्माण गरिएको छ। यसले वर्षायाम वा चिप्लो मौसममा पनि पदयात्रीलाई सुरक्षित रूपमा यात्रा गर्न सहयोग पुर्याएको छ। बाटोमा सङ्केतचिह्न र सूचनापाटीहरू राखिंदा पदयात्रा थप व्यवस्थित बनेको छ।
ऊर्जा र सञ्चारको क्षेत्रमा पनि सुधार हुँदै गएको छ। धेरै ठाउँमा सौर्य ऊर्जाको प्रयोग, मोबाइल नेटवर्कको विस्तार र इन्टरनेट सेवाले पदयात्रीलाई सम्पर्कमा रहन तथा आफ्नो अनुभव बाँड्न सजिलो बनाएको छ। यसले पर्यटनलाई आधुनिक बनाउँदै लगे पनि पहाडी क्षेत्रको परम्परागत जीवनशैलीमा केही परिवर्तन ल्याएको अनुभव स्थानीयको छ।
सडक विस्तारसँगै पदयात्राको मौलिकता घट्ने चिन्ता पनि उत्तिकै छ। पहिले पदयात्रा मार्फत पुग्नुपर्ने स्थानमा अहिले सवारीसाधन पुग्न थालेको छ। अहिले झिनुडाँडाबाट पैदलयात्रा शुरु हुन्छ। पैदल हिंडेर मात्र पुगिने गाउँसम्म अहिले सवारी साधन पुग्दा दैनिक उपभोग्य सामग्रीको मूल्य त घटेको छ, तर यसले पदयात्राको समय घट्ने मात्र होइन, प्राकृतिक वातावरणमा पनि असर पर्ने भन्दै पर्यटन व्यवसायीहरूको चिन्ता बढेको छ। सडक निर्माणले वातावरणीय असर, पहिरोको जोखिम, धुलो र प्रदूषण समेत बढाउन सक्ने चिन्ता पनि थपिएको छ।
एबीसी पदमार्गमा पूर्वाधार विकास आवश्यक भए पनि यसको सन्तुलित र दिगो व्यवस्थापन अझ महत्त्वपूर्ण देखिन्छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पदयात्राको वास्तविक अनुभव जोगाउँदै पूर्वाधार विस्तार गर्ने नीति अवलम्बन गर्न सकेमा मात्र एबीसी पदयात्रा दीर्घकालीन रूपमा आकर्षक र टिकाउ बन्न सक्ने पर्यटन क्षेत्रका जानकारहरूको मत छ।
वातावरणीय दबाब र संरक्षण चुनौती

पर्यटकको सङ्ख्या बढेसँगै वातावरणीय दबाब पनि बढ्दै गएको अनुभव स्थानीयको छ। पर्यटक धेरै पुग्ने सिजन वसन्त र शरदमा हजारौं पर्यटक एकै समयमा पदमार्गमा पुग्दा फोहोर व्यवस्थापन, प्राकृतिक स्रोतको प्रयोग र जैविक विविधताको संरक्षणमा चुनौती थपिन सक्छ। अहिले कतिपय पर्यटकले स्पिकर बजाएर हिंड्ने गरेको गुनासो स्थानीय र पर्यटन क्षेत्र संरक्षणमा काम गर्दै आएकाहरूको छ। सार्क क्षेत्रबाट आउने पर्यटकले यस क्षेत्रमा पदयात्रा गर्दा लागू गरिएका कतिपय नियमको उल्लङ्घन गर्ने गरेको उनीहरूको गुनासो छ।
यद्यपि यसलाई समाधान गर्ने प्रयास भने हुँदै आएको छ। फोहोर व्यवस्थापनको चुनौती सामना गर्न ‘पर्यटक आफूले ल्याएको फोहोर आफैंले फर्काएर लैजाने’ अवधारणा लागू गर्ने प्रयास पनि थालिएको छ। धेरै स्थानमा फोहोर जम्मा गर्ने कामहरू पनि भएका छन्। तर दुर्गम भूगोल, फोहोर सङ्कलन र व्यवस्थापनका लागि सीमित स्रोतका कारण दीर्घकालमा असर पर्नसक्ने चिन्ता छ। मानव गतिविधि बढेसँगै वन्यजन्तुको वासस्थानमा अवरोध उत्पन्न हुनसक्ने चिन्ता पनि उस्तै छ।
त्यसैले यस क्षेत्रमा संरक्षणका लागि ‘अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना’ (एक्याप) ले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। फोहोर व्यवस्थापन, वातावरणीय सचेतना, वैकल्पिक ऊर्जाको प्रयोग सँगसँगै समुदायमा आधारित संरक्षण गतिविधि परियोजना मार्फत हुँदै आएका छन्। पर्यटक र पर्यटन व्यवसायीहरूको अनुभव अनुसार दीर्घकालीन समाधानका लागि अझ प्रभावकारी र कडाइका साथ लागू हुने नीति आवश्यक छ। पदमार्गको लोकप्रियता व्यवस्थापनका लागि चुनौती नबनोस् भनेर समन्वयात्मक रूपमा काम हुँदै आएको छ। यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको उनीहरूको अनुभव छ।
पदयात्रीको अनुभव : कठिनाइभित्रको आनन्द

पदयात्रीका लागि अन्नपूर्ण आधारशिविरको यात्रा गन्तव्यमा पुग्नुमा मात्र सीमित छैन; यो प्रकृतिको गहिरो सम्बन्धसँग जोडिएको यात्रा समेत भएको उनीहरूको अनुभव छ। यात्राको सुरुआतदेखि नै उकालो-ओरालोले भरिएको पदमार्ग, ढुङ्गे भर्याङ, झोलुङ्गे पुल र घना जङ्गल हुँदै अघि बढ्दा शरीर थाके पनि मन उत्साहित हुँदै जाने यस क्षेत्रका पदयात्रीहरूको भनाइ छ। हरेक पाइला कठिनाइसँग जुध्ने प्रक्रिया जस्तो लागे पनि यसले यात्रालाई अर्थपूर्ण बनाउने गरेको अनुभव अधिकांश पदयात्रीले सुनाएका छन्।
चोम्रोङमाथिको उकालो, देउराली आसपासको चिसो मौसम र माछापुच्छ्रे बेसक्याम्प हुँदै एबीसीतर्फको अन्तिम चरण पदयात्रीका लागि सहनशीलताको वास्तविक परीक्षा हुने गाइडहरूको भनाइ छ। चिसो हावा र कहिलेकाहीं अचानक बदलिने मौसमले यात्रालाई चुनौतीपूर्ण त बनाउँछ नै; तर यस्तो कठिनाइ पार गर्दै अगाडि बढ्नु नै पदयात्राको उपलब्धि जस्तो महसुस हुने गरेको पदयात्रीले अनुभव साटेको गाइडहरू बताउँछन्।
चारैतिरबाट हिमालले घेरिएको खुला मैदानमा उभिंदा प्रकृतिको विशालता वर्णन गर्न कठिन हुन्छ। बिहानको सूर्योदयसँगै अन्नपूर्ण शृङ्खलामा पर्ने सुनौलो किरण, चिसो हावासँग मिसिएको शान्त वातावरण— यो क्षण पदयात्रीहरूले पदयात्रापछि पनि लामो समय सम्झन्छन् होला नै ! हिमाली वातावरण, व्यवस्थित पदमार्ग, उकालो-ओरालो, मनोरम प्राकृतिक वातावरण; यी सबैले यो यात्रा साहसिक सँगसँगै भावनात्मक पनि भएको अनुभव जो-कोहीले पनि पक्कै गर्छ नै।
नीति, नियम र व्यवस्थापन
अन्नपूर्ण क्षेत्रमा प्रवेशका लागि पर्यटकहरूले ‘एक्याप परमिट’ तथा ‘टिम्स कार्ड’ अनिवार्य रूपमा लिनुपर्छ। पदयात्रीलाई पदमार्गमा प्रवेशका लागि यो अनिवार्य गरिंदा यसले संरक्षण क्षेत्र प्रवेश गर्ने पर्यटकको नियमनमा सहजता ल्याउनुका साथै उनीहरूको सुरक्षा र तथ्याङ्क व्यवस्थापनमा समेत सहयोग पुगेको छ। दर्ता प्रणालीले आपत्कालीन अवस्थामा खोज र उद्धारमा सहयोग गरेको छ।
गाइड विना आउने सार्क राष्ट्रका कतिपय पर्यटकले नियमको उल्लङ्घन गर्न थालेपछि ‘अनिवार्य गाइड’ नीति लागू गर्ने विषयमा समेत छलफल भइरहेको एक्यापले जनाएको छ। यसले पदयात्रीको सुरक्षा बढ्ने, रोजगारी सिर्जना लगायत फाइदा हुने ठानिएको छ। यद्यपि स्वतन्त्र पदयात्रीको स्वतन्त्रता सीमित हुने, पदयात्रीको लागत बढ्दा सङ्ख्यामा कमी आउन सक्ने चुनौतीमा समेत ध्यान दिनुपर्ने अन्नपूर्ण पदमार्ग पर्यटनको क्षेत्रमा काम गरिरहेकाहरूको भनाइ छ।
बाटोमा स्पिकर बजाउन नपाइने, बाहिर खाना पकाउन नपाइने लगायत धेरै नियम भए पनि कडाइका साथ कार्यान्वयन गर्न चुनौतीपूर्ण देखिएको छ। त्यसैले निगरानी संयन्त्र बलियो बनाउनुपर्ने विषयमा छलफल जारी रहेको उक्त क्षेत्रमा रहेर काम गरिरहेका एक्यापका प्रतिनिधि विदुरप्रसाद पोखरेलको भनाइ छ।
अन्नपूर्ण पदमार्गमा नीति, नियम र व्यवस्थापन खासगरी अनुमतिपत्रमा सीमित रहनुभन्दा पनि दिगो सुरक्षा, स्थानीय अर्थतन्त्र र पदयात्रीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले दीर्घकालीन सोचका साथ नीति-नियम बनाउनु र त्यसको कार्यान्वयन गर्नु आवश्यक देखिन्छ।
भविष्य : दिगो पर्यटनतर्फको यात्रा

अन्नपूर्ण आधारशिविरको पदयात्रा हिमाल हेर्ने गन्तव्य मात्र होइन, यो नेपालको पर्यटनको सम्भावना, चुनौती र अवसरको सङ्गम पनि हो भन्दा अन्यथा हुँदैन। पछिल्ला वर्षहरूमा बढ्दो पर्यटक चापले एबीसीको लोकप्रियता प्रमाणित गरेको छ। तर यससँगै अर्कोतर्फ व्यवस्थापन, संरक्षण र दिगोपनका प्रश्नहरू पनि छन्।
कोभिड–१९ महामारीपछि नेपाल आउने पर्यटकहरूको बसाइ अवधि केही लम्बिएको देखिए पनि उनीहरूको दैनिक खर्च घट्दै गएको अनुभव पर्यटन व्यवसायीहरूको छ। यसले पर्यटकको सङ्ख्या बढ्नु मात्र पर्याप्त होइन भन्ने देखाउँछ। सङ्ख्या बढ्दै जाँदा पर्यटकहरूले खर्च गर्ने वातावरण सिर्जना गर्नु पनि उत्तिकै आवश्यक छ।
एबीसी जस्ता पदमार्गहरू अवसरका रूपमा रहेका छन्। पदयात्रालाई सांस्कृतिक अनुभव, स्थानीय खानपान, परम्परा र साहसिक गतिविधिसँग जोड्न सके पर्यटकको बसाइ लम्ब्याउन मात्र होइन, उनीहरूको खर्च गर्ने प्रवृत्तिमा पनि सकारात्मक वृद्धि ल्याउन सकिन्छ।
स्थानीय सांस्कृतिक कार्यक्रम, हिमाली खेलकुद सँगसँगै नयाँ पदमार्ग विस्तार जस्ता गतिविधिले पर्यटनलाई बहुआयामिक बनाउन सक्छन्। पर्यटनबाट हुने आम्दानी स्थानीय तहसम्म पुग्ने र संरक्षणमा पुनः लगानी हुने चक्र स्थापित गर्दा त्यो दीर्घकालीन हुन सक्छ। नेपालका प्रमुख पदमार्गहरू पर्यटक तान्ने माध्यम मात्र होइनन्, यस्ता पदमार्गहरू देशको पर्यटन रणनीतिको मेरुदण्ड समेत हुन्। यदि बढ्दो आकर्षणसँगै प्रभावकारी व्यवस्थापन, सन्तुलित विकास र वातावरणीय संरक्षणमा ध्यान दिनसके अन्नपूर्ण क्षेत्र भविष्यमा पनि विश्वकै उत्कृष्ट र दिगो पदयात्रा गन्तव्यका रूपमा रहन सक्छ।

प्रतिक्रिया 4