News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका पहाडी भेगमा परदेशिएका युवाहरूको विरह र बाध्यतालाई लोकभाका र सङ्गीतका माध्यमबाट विभिन्न पुस्ताले जीवन्त रूपमा प्रस्तुत गर्दै आएका छन्।
- पहाडी समाजमा २०५८ सालमा ३.३ प्रतिशत रहेको परदेशिने दर २०७८ सम्म आइपुग्दा ७.५ प्रतिशत पुगेको छ, जसले सामाजिक संरचनामा गम्भीर असर पारेको छ।
- राज्यको गलत नीति र रोजगारीको अभावमा नेपाली युवापुस्ता परदेशिन बाध्य छन्, जसले गर्दा गाउँहरू संस्कृतिविहीन बन्दै सामाजिक टाटपल्टाइको अवस्थामा पुगेका छन्।
यतिबेला स्वरहरूमा गुन्जिने पालो कुशल बेलबासेको छ। मध्यपहाडको गोरेटोमा घाँस-दाउराको डोकोसँगै, चियापसलका साना कटेरामा चिया-नास्ता सँगै, अनि ईभी बस र सज्जिएर पहाड धान्ने बोलेरोसँगै गाउँ गुन्गुनाउँछ–
‘भोलि त गैहाल्छु रेलैमा,
जोगाइराख सिन्दुर प्यारी फर्कन्छु बेलैमा !‘
गाउँ कुशल बेलबासे जत्तिकै सुमधुर हुन खोज्छ! कोइलीदेखि झ्याउँकिरीले पार्श्वमा सङ्गीत थपिदिन्छन्। हाम्रा कहानीहरू यस्तै छन् यहाँ! दुःख र घाउका नयाँ वेदनाका सङ्गीतहरू आइराख्छन्। हामी स्वर थपिराख्छौं। खेम सेन्चुरीको ‘कपालु कोरेर’ होस् या गणेश पराजुलीको ‘पासपोर्ट हरियो’ ! परदेशिने विरहका लयमा गाउँ सधैं सुक्सुकाउँछ।
त्यसैले एक जुगअघि नारायण रायमाझीको ‘राम्दी पुल तर्ने बित्तिकै’ र ‘राम्दी पुल तर्ने’ जस्ता कालजयी रचनाले खोतलेको आँसुको गोरेटो आजको मितिसम्म शायदै खाली छ !
रत्यौली, रोइला, सालैजो, कौरा, सोरठी, देउसी, रेलिमाई, झ्याउरे, असारेदेखि ठाडो भाकासम्म; जहींतहीं परदेशी विरहका भाव अटाएका छन्। ती जबजब गाइन्छन्, सुनिन्छन्; हामीलाई आफ्ना परेलीहरू भिजेको पत्तो हुँदैन।
त्यसैले शर्मिला गुरुङले ‘राम्दी पुल तर्ने बित्तिकै’ गाइदिंदा हाम्रो मुटु छिनिन्छ। पुरुषोत्तम न्यौपानेको ‘सररर पानी घट्टमा’ बज्दा हाम्रा विगत आँसुमा बल्झन्छन्। बीमाकुमारी दुराको ‘फुल्यो निमपत्ता’ सुनिदिंदा हाम्रो आङ सिरिङ्ग हुन्छ।
विमलराज क्षेत्रीको ‘जापान टोकियो’ सुन्दा स्मृतिका पानाहरू पल्टन्छन्। जीवनदेखि मृत्युसम्म; साहित्यदेखि सङ्गीत अनि कलासम्म ! परदेशी विरहसँग हाम्रो अटुट साइनो छ। हाम्रा सुख-दुःख, सपना, बाध्यताका सबै खाले लहराहरू यिनै परदेशी विरहमा बाँधिएका छन्। र, सामाजिक संरचना भन्नु यिनै बन्धन मात्र न हुन्।
विश्वयुद्धमा लड्न पुगेका हजुरबुवा पुस्तादेखि रहर र बाध्यताको युद्धमा लड्न परदेशिने आजको नाति पुस्तासम्म आइपुग्दा हामीलाई हाम्रा परिस्थिति र दुःखहरूमा धाप दिने यिनै लोकभाका मात्रै हुन्। त्यसैले झलकमान गन्धर्वको ‘हे बरै’ हुँदै आज ‘भोलि त गैहाल्छु रेलैमा’ सम्मका पीडा एकै हुन्। आँसुको नुनिलोपन एकै हो। र, यो क्रम कहिलेसम्म ? आउने कति पुस्तासम्म ? हरिया पहाडका थुम्काहरू माझ यी प्रश्न वर्षौंदेखि असरल्ल छरिएका छन्।
तर यो सोझो गाउँलाई प्रश्नहरूको अस्तित्वको चेत छैन। उसले उत्तर खोज्दैन ! नियतिको काँधमा दोष थुपारेर परदेश भासिन ऊ अभिशप्त छ। यहाँ सधैं यस्तै हुँदै आइरहेको छ। गाउँ सोझो छ। त्यसैले ऊ ठगिंदै-ठगिंदै सास्ती पाइरहेको छ।
२०५८ सालमा देशको जनसङ्ख्याको ३.३ प्रतिशत परदेशिने आँकडा २०७८ को जनगणनासम्म आइपुग्दा ७.५ प्रतिशतमा पुगेको छ। र, योसँगै जोडिएर आउँछन् सम्बन्धविच्छेद र मानसिक समस्याहरूको उकासिंदो तथ्याङ्क ! बसाइँसराइदेखि बदलिंदो सामाजिक संरचना पनि यसैका उपज हुन्। खहरेले खोतलेको खोल्सा जसरी हाम्रा समाजहरू फराकिलो हुँदै उजाडिंदै छन्।
विश्वयुद्ध लड्न जाँदा भाक्सु धर्मशालामा अडिएका लाहुरेलाई गाउँमै भए जस्तै लाग्ने पहाडिया किस्साहरू गाउँमा बिराना भइसकेका छैनन्। आधा शताब्दीअगाडि तिब्बतमा शाही नेपाली महावाणिज्य दूतका रूपमा काम गरेका डोरबहादुर विष्टलाई ल्हासा काठमाडौं जस्तै लाग्थ्यो रे! उनी न्यालमका भूबनोटहरूमा कहिले उत्तरी डोल्पा त कहिले लिमी उपत्यकाको झल्को खोज्थे। कहिले तिब्बतको भूबनोटहरूमा मुस्ताङ र लोमान्थाङ खोज्थे।
तिब्बतमा छिमेकी गाउँका कुकुर भुक्दा नेपालका पहाडी गाउँको यादमा रात बिताएको कुरा ‘रिपोर्ट फ्रम ल्हासा’मा उनले लेखेका छन्। समयलाई बिट मारेर २०८३ सालतिर आइपुग्दा, जापान बस्ने मेरो साथीलाई आज नागासाकी पोखरा जस्तै लाग्छ रे!
घरको साइनो र झल्को खोज्ने यो क्रम अविरल चलेको छ। सपना बोकेर जवानी उदाउँछ। न्यास्रो बोकेर जवानी अस्ताउँछ। त्यसैले आज अरबका समुद्रहरूमा आँधीखोलादेखि अरुणखोलासम्मका नदीको झल्को खोज्नेहरू कति होलान् ? हाम्रा हर-हिसाब अल्झिएर बिग्रिएका छन्। त्यसैले यो राज्य र प्रत्येक राज्यसत्तासँग हाम्रो भावनाको गणित मिल्दैन।
घरको जस्तापातादेखि सन्तानको ज्यामिती बक्ससम्म! पेटको भोकदेखि मनको आवश्यकतासम्म ! पहाडका गाउँ-शहर पेन्सन र रेमिट्यान्समा मात्रै त अडिएका छन्। अतः जतिपटक दोहोर्याउँदा पनि अतिशयोक्ति हुँदै नहोला, राजनीतिले एक शताब्दीमा लगाउन नसकेको गुन हामीलाई अरब ट्रेन्डले एक दशकमा लगाएको छ।
तर यसको मूल्यमा पहाडले धेरै कुरा चुकाएको छ। खुसी, साथीभाइ, प्रेम, गाउँ, घरपरिवार, सपना, रहरदेखि मुस्कानसम्म ! बाध्यता र परिस्थितिको धितोमा हाम्रा धेरै पुस्ताको जीवन लिलाम भइसकेको छ।
त्यसैले रेमिट्यान्स उपार्जनको मूल्यमा पहाडले आफ्नो जीवन गुमाएको छ। पाखुराहरू गाउँमा नअडिएपछि हिजोआज रोधीका बसाइहरू रित्तिएका छन्। झ्याउरे र सालैजो सीमित भएका छन्। खेतीलाई पुग्ने बल परदेश भासिएपछि अर्मपर्म र मेलासँग जोडिएको संस्कृति हराउँदो छ। न गुन्यु-चोलोमा सज्जिने तरुनीहरू रहे, न गुन्यु-चोलोलाई आँखा मार्ने तरुनाहरू रहे।
यही क्रम आउने दशकसम्म चलिरहे हामी सामाजिक संस्कृतिको रिक्ततामा पुग्नेछौं। जहाँ अँगाल्नुपर्ने संस्कृति र शैली हाम्रा लागि नयाँ हुनेछन्। त्यसैले हामी आज ब्रेन ड्रेनको अवस्थामा मात्रै छैनौं, हामी सांस्कृतिक टाटपल्टाइमा पनि छौं। र पनि, राज्य र प्रत्येक राज्यसत्तासँग हाम्रो भावनाको गणित मिल्दैन।
पहाडबाट पर छुट्नेहरूका जस्तै पहाडमै एक्लै छुट्नेका पिरमर्का पनि उस्तै चर्का छन्। सघाउनलाई साथहरू छुटेपछि ! समाउनलाई हातहरू छुटेपछि ! सुख र दुःखको अन्तरहरू मेटिंदो छ। न मुस्कानहरूको साक्षी बाँकी छन्, न आँसुहरूको साथी बाँकी छन्। कतै बसाइ सार्न उडेको कर्याङकुरुङको हुल जस्तो !
ती फेरि भेटिंदा सँगै साथमा पूरै भेटिंदैनन्। यसरी हाम्रा स्वअस्तित्वहरू यहाँ बाँडिएका छन्। परदेशिने र पहाडमै छुट्नेहरूको ताल मिलाउन मादलले वर्षौंका दशैं र तिहार कुर्नुपर्ने हुन सक्छ। तर ती आँसु र हाँसोका भाकाहरू साथमा नभेटिन पनि सक्छन्।
यसरी यो बाध्यताको कहरहरूमा हाम्रा दौंतरीहरू खोसिएका छन्। जसको पूर्ति कुनै वैभवमा पनि अपुग हुन्छ। गाउँका मूलहरूलाई परदेशको कुनै दोभानमा छुटिनैपर्छ। नछुटिनलाई कुनै धरै छैन। अन्न-पोषको यहाँ भरै छैन।
गुडेर जाने रेलदेखि उडेर जाने जहाजसम्मको कथा ! विश्वयुद्धमा लड्न जाने हजुरबुवा पुस्तादेखि आजको नाति पुस्तासम्मको कथा त्यसैले दुरुस्तै छन्। परदेश भासिने सबैले परदेशमा पहाड खोजिरहे। यतै पहाडमा छुट्नेले दौंतरीहरू खोजिरहे। गाउँ सोझो छ, यिनै अलमल्याइमा उसले मुस्कुराउन खोज्यो। प्रश्न र उत्तरहरू खोजेन। बरु भाकाहरू खोज्यो। त्यसैले शर्मिला गुरुङले,
‘जाने बेला भएन र, भाले बासेन र मायालु ?’
गाइदिंदा निर्दोष आँखाहरू पूरै रसाएर आउँछन्। हाम्रो रीत यही हो।
गाउँ-शहरको आँगनमा फेरि नयाँ कलिलो पुस्ता पनि त हुर्कंदैछ। अघिल्लो पुस्ताको कसरतमा उसले थोरबहुत प्रविधि पायो। शिक्षा पायो। सेवा-सुविधा पायो। केही हदसम्मका सुखसयल पायो। तर विडम्बना, पहाडले आफ्नो नियति त्यो पुस्तालाई हस्तान्तरण गर्न पालो पर्खेर बसेको छ।
नवपुस्ताको सपना, रहर, साथीभाइ र दुःखसुखमा राज्य संरचनाका उपजरूपी बाध्यताले छिट्टै हस्तक्षेप गर्न पालो पर्खी बसेका छन्। त्यसैले गाउँमा सङ्घर्षले एसईई दिएको एउटा युवा शहरमा अलग्गै सङ्घर्षले प्लस टु सकाउँछ।
नतिजा, क्षमता र प्रतिभाको मापनहरूलाई कतै अनकण्टारमा छोडेर उसलाई पासपोर्ट लिने लाममा समयले धकेल्छ। जीवनका अनगिन्ती लामहरू उसले देख्नु, भोग्नुपर्नेछ। बाकसमा घर फर्किएन भने गाउँ, समाज र देशले उसको रेमिट्यान्स ‘सेलिब्रेट’ (उत्सव) गर्नेछन्। बाँकी बीचमै छुटेका सपना, सम्भावना र जीवनको हिसाबकिताब कहाँ हराउँछ ? राज्यलाई चासो छैन। पहाडलाई पत्तो छैन।
लीलबहादुर क्षेत्रीले ‘ब्रह्मपुत्रको छेउछाउ’मा आफ्ना किताबका पात्र आसाम भासिने पहिलो पुस्ताको नेपाली मानवीर कार्कीको मृत्युवरणमा एउटा घतलाग्दो वाक्यांश लेखेका छन्, ‘ऊ अझ आसाममा राम्ररी भिजिसकेकै थिएन, जब उसको देहको अवशेष ब्रह्मपुत्रले बगाएर लग्यो।’
त्यतिबेलाको समय, परिवेश, स्थान, परिस्थितिहरू भन्दा आजको युग कैयौं गुणा बदलिंदो छ। वर्ग, भूगोल, प्रविधि, जीवनशैली र संस्कृतिका अन्तरहरू पलैपिच्छे फराकिंदै गएका छन्। त्यसैले दुःखका अनेकौं परिवेशमा भिज्दानभिज्दै हाम्रो जवानीको बल रित्तिन्छ।
आज पहाडमा प्लस टु पास गरेर बसेको युवाले हिजोको मानवीर कार्कीको भन्दा कैयौं धेरै परिवेशमा आफूलाई भुल्नुपर्ने हुन्छ, भिज्नुपर्ने हुन्छ। हाम्रा शताब्दी अगाडिका पीडाहरू आजको दिनमा आइपुग्दा झन् बाक्लिएर थपिएका छन्।
हरिया पहाडका फाँटहरूमा, नमिलेका बारी र मोटर बाटोमा रम्ने, घुम्ने, हाँस्ने, दौडिने र क्रिकेट, फुटबल, भलिबल खेल्ने पहाडका भाइहरू जीवनको दुःखको बाँधमा हेलिन बाँकी नयाँ युगका मानवीर कार्कीहरू हुन्; जसको अगाडि दुःखका अनगिन्ती हिमालहरू अग्लिएर बसेका छन्।
त्यसैले भर्खरै गाउँमा प्लस टु पास गरेर बसेको एउटा युवाको जीवनलाई समयले छिट्टै फेरो हाल्नेछ। जीवन फेरिन कत्तिबेर लाग्नेछैन। मखमली फूलको माला र रातै अक्षतामा ती घरबाट छुट्नेछन्। आँखाभरि आँसु र सपना बोकेर ती गाउँघरबाट ओझेल हुनेछन्। र,
‘जुन दिन चढें विदेशको पेलेन मनमा कुरा यति त खेलेन’
जस्ता नयाँ शब्दका पुराना भाका र लयका टुक्कामा तिनका दुःख टिकटकमा ‘रिल्स’ बनेर छल्किनेछन्।
हाम्रा अनगिन्ती हिमालका कथाहरू फेसबुकका पोस्ट र रिल्समा सुषुप्त भेटिनेछन्। तिहारमा बहिनीको हातबाट सयपत्रीको माला लगाउने दाइलाई एअरपोर्टमा खादा लगाइदिन एकै वसन्तको बेर लाग्नेछ। हाम्रा दुःखका अनगिन्ती हिमालहरू पछ्याउन हामीले के छोड्दैनौं र यहाँ ?
एउटा आम मान्छेको जीवन र यौवनबाट छुट्न सक्ने सबै चिजका सीमा र मापनहरूमा जे-जति अट्न सक्छन्; ती सबै छुट्छन् ! जीवनबाट टुट्न सक्ने जति सबै टुट्छन्। हामी आफ्नै पहाडका लागि बटुवा ! हामी आफ्नै घरका लागि पाहुना ! हामी आफ्नै परानीका लागि बिरानी !
त्यसैले आज गाउँमा ब्याट समातेर खुसीमा जमघट हुने भाइहरूको आँखाका निश्चल कहानीहरूले मलाई बिझाइराख्छन्। ती कलिला सम्भावनाहरू, निर्दोष जीवनहरूको जमघट अनगिन्ती हिमालका अगाडि सबै छुट्नेछन्। धेरथोर पाएको प्रविधि, शिक्षा, सेवा र सुविधा सबै फिक्का बन्नेछन्।
हाम्रो आँसुहरूको यहाँ कुनै मोल छैन। एउटा जीवन सुटकेसमा ओसारिएर सकिनेछ। एउटा जीवन नारायण रायमाझीको ‘डोरी फुर्काले’ गीत जस्तै भएर सकिनेछ जहाँ ‘मन घुम्छ चर्खा झैं तिम्रै सुर्ताले।’
हामीले बाँचेको प्रविधिको युगको यति मात्रै त अन्तर हो- हाम्रो बुवा र हजुरबुवा पुस्ताले आँसु र दुःख हुलाकमा बिसायो, आजको हाम्रो युवापुस्ताले फेसबुक र टिकटकका रिल्स र पोस्टमा पीडा बिसाउँदै छ। आउने पुस्ताहरूलाई नियति र विकल्पहरूको रोजाइ खै ? पहाडले राज्यसँग झ्याउँकिरी बनेर अविराम प्रश्नमा बाझिनुपर्नेछ। होइन भने हाम्रा दुःखका अनगिन्ती हिमालहरू प्रत्येक पुस्तासँगै झन् अग्लिंदै जानेछन्।
र अन्तमा, आजका ‘देश बनाउने टोली’, सम्पूर्ण माननीय र बौद्धिक वर्गलाई यो देशको आँसु, पीडा, मर्म र नियति बुझिराख्नु छ भने पश्चिम पहाडको कुनै विकट र बिरानो गाउँमा पुगिदिनू ! र, एक चरण शर्मिला गुरुङको ‘राम्दी पुल तर्ने बित्तिकै’ सुनिदिंदा तिनको निर्दोष मुहार र निश्चल आँखामा आउने भाव पढिदिनू ! तिनै आउने आँसुका थोपा र भावनाले यो देश बोल्छ। यो देश खोल्छ।
बाँकी पहाडलाई सधैं झैं रुनु त छँदैछ ! ऊ परदेशी प्रेयसीको विरहमा बताससँग लय मिलाउँदै देउरालीमा एक्लै सुसाउँदै जीवन कटाउनेछ ! नारायण रायमाझी र शर्मिला गुरुङ झैं एक्लै गुन्गुनाउनेछ;
सँगै बस्न कहिल्यै नि जुटेन
तिम्रो फोटो साथैमा छुटेन
राम्दी पुल तर्ने बाँचे त हौंला भेट
मरे के गर्ने….।
प्रतिक्रिया 4