विगत दुई-तीन दशकअघिसम्म नेपाली समाजको मूल परिचय सामूहिकता, पारिवारिक निकटता, सांस्कृतिक सहअस्तित्व र प्रकृतिसँगको सहज सम्बन्ध थियो। व्यक्तिको सफलता केवल उसको व्यक्तिगत उपलब्धिबाट होइन, परिवार र समुदायको सम्मानसँग जोडिएर मापन गरिन्थ्यो। गाउँका चौतारीहरू संवादका केन्द्र थिए, छिमेकीहरू सुख-दुःखका साझेदार र परिवार रगतको सम्बन्ध मात्र नभई जीवनको आधार थियो।
तर २१औं शताब्दीमा आइपुग्दा यो सामाजिक संरचना तीव्र गतिमा रूपान्तरण भइरहेको छ। आज नेपाली समाजको स्वरूप बदल्ने तीन प्रमुख शक्ति बनेका छन्- बाध्यात्मक वैदेशिक रोजगारी, अव्यवस्थित शहरीकरण र चौबीसै घण्टा मानिसको चेतनालाई प्रभावित गरिरहेको सामाजिक सञ्जाल।
यी तीनवटै तत्त्वले आर्थिक अवसर, उपभोग क्षमता र जीवनशैलीमा अभूतपूर्व परिवर्तन ल्याएका छन्। तर, यही परिवर्तनले समाजलाई एउटा यस्तो भौतिकवादी प्रतिस्पर्धातर्फ पनि धकेलेको छ, जहाँ साधन प्राप्त गर्ने दौडमा मानिसले जीवनको मूल उद्देश्य र सम्बन्धहरूको मूल्य बिर्सिन थालेको छ। वैदेशिक रोजगारी, शहरीकरण र सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण हामी भौतिक समृद्धिको दौडमा अन्धाधुन्ध कुदिरहेका छौं। तर, यो दौडले हाम्रा पारिवारिक मूल्य, आत्मिक शान्ति र सामाजिक सद्भावलाई खियाइरहेको छ।
यस सङ्कटको सबैभन्दा पहिलो र प्रत्यक्ष प्रहार परिवारमाथि भएको छ। रेमिट्यान्स (विप्रेषण) ले देशको अर्थतन्त्र धानेको छ, गरिबीको रेखाबाट परिवारहरू माथि उठेका छन्। कर्णालीका विकट गाउँदेखि मधेशका फाँट र पहाडसम्मै पक्की घरहरू ठडिएका छन्। तर, तिनै कङ्क्रिटका घरहरूभित्र भावनात्मक शून्यता मौलाउँदैछ। लाखौं युवा खाडीको मरुभूमिमा पसिना बगाउँदै गर्दा घरमा एउटा पुस्ता अभिभावकको सामीप्य विना नै हुर्कन बाध्य छ।
श्रीमान्-श्रीमती लामो समयसम्म अलग बस्नुपर्दा सिर्जना भएको अविश्वासले सम्बन्धविच्छेद बढ्दो छ। गत वर्ष देशभर करिब २४ हजार ५२२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए, जुन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या हो। बालबालिकाले बुबाको काँध र आमाको काख पाउनुको साटो महँगा बोर्डिङ स्कूलको होस्टलमा हुर्किंदैछन्। वृद्ध आमाबुबाहरू गाउँका रित्ता घरहरूमा वा शहरका आधुनिक घरमा भावनात्मक शून्यता र एक्लोपनमा बाँचिरहेका छन्। परिवारमा भौतिक समृद्धि आए पनि परिवारको आन्तरिक सम्बन्ध र भावना छिन्नभिन्न हुँदैछ।
अर्कोतर्फ; फेसबुक, इन्स्टाग्राम र टिकटकले मानिसलाई अरूको जीवनको सम्पादित संस्करण देखाउँछन्। सफलता देखिन्छ, सङ्घर्ष देखिंदैन। उपलब्धि देखिन्छ, असफलता लुकाइन्छ। अर्थशास्त्री रिचर्ड इस्टरलिनको अध्ययनले पनि यही देखाएको छ- मानिसको सन्तुष्टि उसको वास्तविक आयभन्दा अरूको तुलनामा ‘आफू कहाँ छु’ भन्ने अनुभूतिसँग बढी सम्बन्धित हुन्छ। परिणामस्वरूप, मानिस आफ्नै जीवनसँग सन्तुष्ट हुन छाड्छ।
प्रविधिकै कारण मानवीय सम्बन्धहरू पहिलेभन्दा धेरै जोडिएका देखिन्छन्, तर भावनात्मक रूपमा झनै टाढिएका छन्। संवादका माध्यमहरू विस्तारित भएका छन्, तर आत्मीयताको दायरा साँघुरिएको छ। सम्पर्कहरूको सङ्ख्या बढेको छ, तर सम्बन्धहरूको गहिराइ झनै कमजोर बन्दै गएको छ।

गाउँहरू क्रमशः रित्तिंदै गएका छन्, शहरहरू अव्यवस्थित रूपमा फैलिरहेका छन्। सामाजिक सञ्जालले वास्तविक जीवनभन्दा आभासी संसारलाई बढी आकर्षक र प्रभावशाली बनाइदिएको छ। यसको प्रत्यक्ष प्रभाव व्यक्तिको मनोविज्ञानमा देखिन थालेको छ। तुलना, असन्तुष्टि, मानसिक तनाव र एक्लोपन आजका साझा सामाजिक समस्याका रूपमा उभिएका छन्।
बाहिरबाट हेर्दा परिवार र समाज सम्पन्न, आधुनिक र विकसित देखिए पनि भित्रभित्रै सम्बन्धहरूको क्षय, मानवीय मूल्यहरूको ह्रास र आत्मिक शून्यताको सङ्कट गहिरिंदै गएको छ। यही कारण आजको सबैभन्दा ठूलो चुनौती आर्थिक समृद्धि हासिल गर्नु मात्र होइन, मानवीय संवेदना, सामाजिक सद्भाव र सम्बन्धहरूको न्यानोपनलाई जोगाइराख्नु पनि हो।
जीवनको सन्तुष्टि के हो ? सफलता के हो ? धन, पद, प्रतिष्ठा, शक्ति, सम्मान वा खुसी के हो ? यी प्रश्नहरू जति पुराना छन्, उत्तर त्यति नै जटिल। दार्शनिकदेखि आधुनिक मनोवैज्ञानिकसम्म, धार्मिक ग्रन्थदेखि समकालीन अनुसन्धानसम्म; सबैले आ-आफ्नै ढङ्गले जीवनको सफलता र सन्तुष्टिको सम्बन्धलाई व्याख्या गरेका छन्।
यद्यपि आज, २१औं शताब्दीको तीव्र प्रतिस्पर्धात्मक संसारमा यो प्रश्न झनै गम्भीर बनेको छ। किनकि इतिहासमा पहिलो पटक मानव जातिसँग यति धेरै अवसर, सुविधा र सम्पत्ति छ, तर त्यति नै धेरै असन्तुष्टि, तनाव, भावनात्मक शून्यता र एक्लोपनमा मानव जीवन अल्झिएको छ।
यस सम्बन्धमा विश्वप्रसिद्ध लेखक युभल नोआ हरारीले आफ्ना पुस्तकहरू ‘सेपियन्स’ र ‘होमो डेउस’ मा गम्भीर तर्क उठाएका छन्। उनका अनुसार मानव सभ्यताले धेरै उपलब्धि हासिल गर्यो, तर के मानिस पहिलेभन्दा बढी खुसी भयो त ? विज्ञानले मानिसलाई शक्तिशाली बनायो, तर जीवनको अर्थबारे स्पष्ट उत्तर दिन सकेन। यही कारणले आधुनिक मानिस सफल देखिए पनि भित्री रूपमा असन्तुष्टि र एक्लोपन बढ्दो छ।
आधुनिक समाजले सफलताको एउटा निश्चित बिम्ब निर्माण गरेको छ- उच्च शिक्षा, राम्रो जागिर, आकर्षक तलब, ठूलो घर, महँगो गाडी र सामाजिक प्रतिष्ठा। यो बिम्ब यति शक्तिशाली छ कि अधिकांश मानिस आफ्नो जीवनलाई यही मापदण्डले मूल्याङ्कन गर्छन्। यदि उच्च शिक्षा, राम्रो जागिर, आकर्षक तलब, ठूलो घर, महँगो गाडी र सामाजिक प्रतिष्ठा पर्याप्त हुन्थ्यो भने किन संसारका धेरै धनी, प्रसिद्ध र शक्तिशाली मानिसहरू पनि मानसिक तनाव, अवसाद (डिप्रेसन) वा असन्तुष्टिको शिकार हुन्छन् ? कसैले यस्ता प्रश्नहरूको जवाफ खोज्दैन।
दोस्रो विश्वयुद्धका बेला नाजी यातना शिविरमा बाँचेका मनोचिकित्सक भिक्टर फ्राङ्कलले आफ्नो पुस्तक ‘म्यान्स सर्च फर मिनिङ’ मा लेखेका छन्- ‘मानिसको मूल आवश्यकता सुख होइन, अर्थ हो।’ फ्राङ्कलको निष्कर्ष सरल तर गहिरो छ। जसले आफ्नो जीवनको उद्देश्य फेला पार्छ, उसले दुःख र सङ्घर्षलाई पनि सहन सक्छ।
तर, जसले जीवनको अर्थ बुझ्दैन, उसले सफलता पाएर पनि एक्लोपन र शून्यता महसुस गर्छ। हामी ‘के बन्ने?’ भन्ने प्रश्नमा केन्द्रित छौं, तर ‘किन बन्ने?’ भन्ने प्रश्न ओझेलमा परेको छ। फलस्वरूप, लक्ष्य प्राप्त भएपछि पनि नयाँ असन्तुष्टिहरू जन्मिएका छन्।
विश्वकै सबैभन्दा लामो मानव विकास अध्ययन मानिने ‘हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट’ ले हाम्रो सोचमाथि गम्भीर प्रश्न उठाएको छ। ८५ वर्षभन्दा बढी समयसम्म सयौं व्यक्तिहरूको जीवनलाई विश्लेषण गरिएको यस अध्ययनले एउटा महत्त्वपूर्ण निष्कर्ष निकालेको छ- ‘दीर्घकालीन सुख, सन्तुष्टि र स्वस्थ जीवनको आधार धन, प्रसिद्धि वा व्यावसायिक सफलता होइन, बरु गुणस्तरीय मानवीय सम्बन्ध हो।’
यसले आधुनिक जीवनशैलीको कमजोरी उजागर गर्छ। हामी सफलताको खोजीमा सम्बन्धहरू तोडिरहेका छौं। करिअर बनाउँदै गर्दा परिवार, समाज र सम्बन्ध गुमाइरहेका छौं। सम्पत्ति जोड्दै गर्दा मित्रता, आत्मीयता र आफ्नोपन तोडिरहेका छौं।
यसै कारण भौतिक सुख र सुविधाका साधनहरूको थुप्रोमाथि उभिएको आधुनिक मानव इतिहासमै सबैभन्दा बढी मानसिक रूपमा अशान्त, एक्लो र अलमलिएको छ। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कले संसारभर झन्डै ३० करोड मानिस डिप्रेसन र तीव्र तनावको शिकार भइरहेको देखाएको छ।
यसले स्थापित भौतिकवादी दौडमाथि एउटा गम्भीर दार्शनिक र तार्किक प्रश्न खडा गरेको छ- हामी जेलाई सफलता ठानेर दौडिरहेका छौं, के त्यसले साँचो अर्थमा जीवनमा सन्तुष्टि दिइरहेको छ? वा हामी साधनलाई नै साध्य मानेर एउटा कहिल्यै नसकिने भ्रमको दुश्चक्रमा फसेका छौं?
अर्थशास्त्रको स्थापित मान्यता के छ भने आयस्तरको वृद्धिले मानिसको जीवनस्तर र सुखलाई बढाउँछ। तर, सन् १९७४ मा अर्थशास्त्री रिचर्ड इस्टरलिनले प्रतिपादन गरेको ‘इस्टरलिन विरोधाभास’ ले यो स्थापित मान्यतालाई स्वीकार गरेको छैन। उनका अनुसार, एउटा निश्चित बिन्दुसम्म, जहाँ मानिसका आधारभूत आवश्यकताहरू जस्तै: गाँस, बास, कपास र स्वास्थ्य सेवा सहजै पूरा हुन्छन्, त्यहाँसम्म पैसाले खुसी र सन्तुष्टि बढाउन निर्णायक भूमिका खेल्छ।
तर, जब व्यक्ति मध्यमवर्गीय वा सोभन्दा माथिल्लो आर्थिक स्तरमा पुग्छ, त्यसपछि आम्दानी जतिसुकै गुणाले बढे पनि उसको जीवनप्रतिको समग्र सन्तुष्टिको ग्राफ माथि जाँदैन, बरु त्यो एक ठाउँमा पुगेर स्थिर बस्छ।
अर्का नोबेल पुरस्कार विजेता अर्थशास्त्री ड्यानियल काहनेम्यान र एङ्गस डिटनको प्रसिद्ध अध्ययनले पनि अमेरिकी समाजको सन्दर्भमा ‘एउटा निश्चित वार्षिक आम्दानीको सिलिङ पार गरेपछि व्यक्तिको दैनिक भावनात्मक सुखमा पैसाले कुनै थप योगदान दिन नसकेको’ निष्कर्ष निकालेको छ। यसको अर्थ पैसाले अभावको पीडा त कम गर्न सक्छ, तर यसले आफैंमा सन्तुष्टिको ग्यारेन्टी गर्न सक्दैन।
अन्त्यमा, हाम्रो जीवन क्रमशः यान्त्रिक (रोबोटिक) बन्दै गएको छ, जहाँ भावनाको गहिराइभन्दा कार्यक्षमता र व्यस्तताको गति बढी महत्त्वपूर्ण बनेको छ। बिहानदेखि रातिसम्मको दौडधुप काम, लक्ष्य र जिम्मेवारीमा मात्र केन्द्रित छ। हामीलाई घरपरिवार, साथीसङ्गी वा समुदायसँग बसेर मन खोलेर कुरा गर्ने फुर्सद कम हुँदै गएको छ। बाहिरी जीवन हेर्दा सबै जना अत्यन्त व्यस्त, सक्रिय र सफल देखिन्छन्, तर भित्री मनमा असन्तुष्टि, एक्लोपन र निराशाका भावहरू बढिरहेका छन्।
अतः हाम्रो जीवनको वास्तविक सफलता भौतिक समृद्धि मात्र होइन मानवीयता, सम्बन्ध, मूल्य र आत्मिक शान्तिलाई जोगाइराख्नु पनि हो। हामी कति सफल भयौं भन्नेभन्दा पनि हामीले आफ्नो जीवनलाई कति अर्थपूर्ण र सन्तुष्टिपूर्ण ठान्यौं भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। जीवनको अर्थ र मूल्य उपलब्धिको सूचीबाट होइन, मनको सन्तुष्टिबाट प्राप्त हुन्छ।
हामीले के पायौं भन्नेभन्दा पनि हामीले आफ्नो जीवनलाई कति सार्थक बनायौं भन्ने कुराले हाम्रो वास्तविक सन्तुष्टि निर्धारण गर्छ। अतः जीवनको अर्थ र अस्तित्व भनेको ‘तपाईं कति सफल हुनुभयो’ भन्दा पनि ‘तपाईं कति सन्तुष्ट र अर्थपूर्ण जीवन बाँच्नुभयो’ भन्ने नै हो।
प्रतिक्रिया 4