+
+
Shares
रास्वपाका नवनिर्वाचित महामन्त्रीसँग वार्ता :

`महाधिवेशनले वैचारिक प्रस्थानबिन्दु तय गर्‍यो, झन् जिम्मेवार बन्छौं’

यो महाधिवेशनका प्राविधिक र व्यवस्थापकीय पक्षमा कमजोरीहरू हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको छोटो इतिहासमा यो एउटा ‘माइलस्टोन मोमेन्ट’ हो । यो ऐतिहासिक अधिवेशनले पार्टीलाई संस्थागत वैधानिकता दिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते २२:१३

रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक बाटो तय गरेको छ । एक साता लगाएर भएको महाधिवेशनबाट नयाँ केन्द्रीय सदस्य र पदाधिकारीहरू चयन भएका छन् ।

यसै सन्दर्भमा पार्टी संगठनको महत्त्वपूर्ण काम गर्ने महामन्त्री पदमा नवनिर्वाचित विपिनकुमार आचार्यसँग अनलाइनखबरका दिनेश गौतमले गरेको कुराकानी :

पार्टीको महामन्त्रीजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको छ। यो ठुलो जिम्मेवारी काँधमा आइपुग्दै गर्दा कस्तो महसुस गरिरहनुभएको छ ?

साँचो भन्नुपर्दा, यो परिणाम र यसको गम्भीरता अहिले नै पूर्ण रूपमा ‘सिङ्क इन’ (मनमा भिज्न) हुन बाँकी नै छ। मैले अघि भने जस्तै, देशको एउटा प्रमुख र ठूलो पार्टीको निर्वाचित महामन्त्री हुनु आफैँमा एकदमै गहकिलो जिम्मेवारी हो।

अहिले त खुसीभन्दा पनि जिम्मेवारीको चेत बढी भइरहेको छ। यो जिम्मेवारी राम्रोसँग बहन गर्न सक्छु कि सक्दिनँ, कतै म यो भूमिकामा खरो उत्रिन चुक्ने त होइन भन्ने कुराले मनमा अलिकति डर पनि पैदा गरेको छ। समग्रमा भन्नुपर्दा, अहिले मैले अनुभव गरिरहेको मुख्य कुरा ‘जिम्मेवारी बोध’ नै हो।

तीन दिनमा सक्ने भनिएको महाधिवेशन झन्डै एक हप्ता लम्बियो। समग्रमा यो महाधिवेशन कस्तो रह्यो ? यसको संक्षिप्त समीक्षा गरिदिनुस् न।

यसलाई हामीले मुख्य गरी तीनवटा पाटा (च्याप्टर) बाट हेर्नुपर्छ जस्तो लाग्छ।

पहिलो पाटो– राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूको अभूतपूर्व उत्साह । यो प्रचण्ड गर्मीको समय, त्यसमाथि मानो रोपेर मुरी फलाउने (असारको) चटारोका बीच पनि देशैभरिबाट साथीहरू जुन उत्साहका साथ आउनुभयो, त्यो कमालको थियो।

उहाँहरूको त्यो ऊर्जा देख्दा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा बलियो र विशाल संगठनका रूपमा स्थापित भइसकेको स्पष्ट अनुभव हुन्छ।

दोस्रो पाटो– हाम्रो व्यवस्थापकीय कमजोरी । इभेन्ट म्यानेजमेन्टमा हामीसँग बलियो योजना भएन। कारण प्राविधिक होस् वा अप्राविधिक, नेतृत्वले ‘हामीले यस्तो गर्न खोजेका थियौँ तर यस्तो भइदियो’ भनेर उम्किन पाउँदैन। महाधिवेशनका केही प्रक्रियाहरूमा त्रुटिहरू देखिँदा त्यसलाई द्रुत गतिमा समाधान गर्न हामी कताकति असक्षम देखियौँ।

यो ढिलाइ र कमजोरीले हामीलाई आगामी दिनमा थप सचेत र जिम्मेवार रहनका लागि एउटा ठूलो पाठ सिकाएको छ। पहिल्यै सोचेर त्यसको आकस्मिक योजना पनि सँगै बनाउनुपर्छ भन्ने हाम्रो दोस्रो पाटोको आत्मसमीक्षा हो।

अब रह्यो तेस्रो पाटो। सामान्य परिस्थितिमा यदि यो कार्यक्रम अन्य कुनै दल वा पक्षको हुन्थ्यो भने, सायद त्यहाँ उपस्थित मानिसहरूले आफ्नो धैर्यता गुमाइसकेका हुन्थे।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूमा जुन तहको विनम्रता र संयमता देखियो, त्यसले हामी नेतृत्वलाई अझ बढी लज्जाबोध गरायो।

जुन पार्टीका सदस्यहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि यति धेरै धैर्य रहन सक्छन्, हामीले कतै उहाँहरूको त्यो धैर्यताको गलत फाइदा त उठाएनौँ भन्ने प्रश्न पनि उठ्छ। महाधिवेशनको इभेन्ट व्यवस्थापनसँग जोडिएका पहिलो, दोस्रो र तेस्रो पक्षहरू यिनै हुन्।

तर यसको अर्को महत्त्वपूर्ण पाटो पनि छ। राजनीतिक दलको जीवनमा जब एउटा महाधिवेशन सम्पन्न हुन्छ, त्यसले पार्टीलाई संस्थागत गर्छ र लोकतान्त्रिक वैधानिकता दिन्छ।

त्यो दृष्टिकोणबाट हेर्दा, यो महाधिवेशनका प्राविधिक र व्यवस्थापकीय पक्षमा कमजोरीहरू हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको छोटो इतिहासमा यो एउटा ‘माइलस्टोन मोमेन्ट’ हो । यो ऐतिहासिक अधिवेशनले पार्टीलाई संस्थागत वैधानिकता दिएको छ।

त्यस्तै, रास्वपाको वैचारिक स्पष्टता र जुन विधानको परिधिभित्र पार्टी बाँधिनुपर्ने हो, त्यसमा स्पष्टता ल्याउन यो अधिवेशन सफल भएको छ। सभापतिज्यूको राजनीतिक प्रतिवेदनमार्फत अब पार्टीको राजनीतिक लाइन के हो र रास्वपा कुन दिशामा अघि बढ्छ भन्ने कुरालाई धेरै हदसम्म प्रस्ट पार्ने काम यसै महाधिवेशनबाट भएको छ।

त्यो सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टी कस्तो पार्टी बन्न चाहन्छ ? यसका आधारभूत स्तम्भहरू के-के हुन् ? र यो पार्टी कस्तो विधिमार्फत चल्न चाहन्छ भन्ने कुरालाई यस ऐतिहासिक महाधिवेशनले पारित गरेको विधानले प्रस्ट पारेको छ।

महाधिवेशनले पार्टीको राजनीतिक लाइनलाई प्रस्ट पारेको भन्नुभयो। रास्वपाको त्यो स्पष्ट राजनीतिक लाइन अब के हो ? आम जनताले रास्वपालाई अब कस्तो विचार बोकेको पार्टी भनेर चिन्ने ?

यसलाई हामीले यसरी बुझ्नुपर्छ होला— एउटा गतिशील राजनीतिक दलको सुन्दरता नै के हो भने, यसले हिजोभन्दा आज र आजभन्दा भोलि समाजलाई अझ बढी गहिराइमा बुझ्दै जान्छ।

त्यसैले कुनै कालखण्डमा बोलिएका वा लेखिएका ‘वाद’ हरू पार्टी हुर्कँदै जाँदा कताकता असान्दर्भिक वा बेमेलजस्ता लाग्न सक्छन् ।

तपाईँहरूले याद गर्नुभएको होला, स्थापनाकालदेखि नै हामीले हाम्रो विधानमा पार्टीले अवलम्बन गर्ने राजनीतिक विचार ‘संवैधानिक समाजवाद’ हुनेछ भनेका थियौँ।

शब्दका रूपमा, यसको मर्म र अन्तर्यका रूपमा अथवा यसले समाजलाई दिशाबोध गर्ने कुरामा अहिलेको लाइनसँग धेरै समानताहरू होलान्। तर, यो महाधिवेशनले विचारको तहमा एउटा ठूलो प्रस्थानबिन्दु समातेको छ। रास्वपा अब ‘सामाजिक लोकतन्त्र’ को मौलिक सिद्धान्त र मूल्य-मान्यतालाई आत्मसात् गर्दै अघि बढ्नेछ। विचारको यो स्पष्ट मार्गचित्र नै यस महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि हो।

रास्वपाले लिएको यो ‘सामाजिक लोकतन्त्र’ को विचारलाई परम्परागत राजनीतिको ‘लेफ्ट’ वा ‘राइट’ कित्तामध्ये कुनमा राखेर हेर्ने? पार्टीलाई यसमा कसरी उभ्याउनुहुन्छ?

अहिलेका लागि यसलाई ‘लेफ्ट’ वा ‘राइट’ भनेर सजिलो बाटोबाट वर्गीकरण गरिहाल्नु उपयुक्त हुँदैन होला। पार्टीले सुरुको ‘संवैधानिक समाजवाद’ को अवधारणाबाट ‘सामाजिक लोकतन्त्र’ तर्फ जुन प्रस्थान गरेको छ, त्यो विचारको एउटा मौलिक र सैद्धान्तिक प्रस्थानबिन्दु हो।

तपाईँले हाम्रो सभापतिज्यूको राजनीतिक प्रतिवेदन हेर्नुभयो भने, अथवा चाँडै सार्वजनिक हुने पार्टीको विधानको अन्तिम दस्तावेज हेर्नुभयो भने, त्यसमा सामाजिक लोकतन्त्र र यसका पाँचवटा आधार स्तम्भहरूलाई एकदमै मिहिन ढङ्गले व्याख्या गरिएको पाउनुहुनेछ।

अहिले नै मैले यी सबै कुराहरू विस्तृत रूपमा भन्दै गर्दा, त्यो आधिकारिक दस्तावेज पूर्ण रूपमा सार्वजनिक भइनसकेकाले कतिपय कुराहरू अहिले नै खोल्न नमिल्ला। तर केही दिनभित्रै विधानको अन्तिम प्रति यहाँहरूमाझ आउनेछ।

त्यसपछि त्यो विधानमा समेटिएका पार्टीका दर्शन मार्गनिर्देशक सिद्धान्त र हाम्रो आगामी यात्राका मौलिक मूल्य-मान्यता का विषयमा तपाईँ र म बसेर फेरि विस्तृत रूपमा गफगाफ गरौँला।

महाधिवेशन सकिएर प्रतिनिधिहरू घर फर्किसक्दा पनि उहाँहरूको हातमा विधान परेको छैन भनिँदै छ।

तपाईँ आफैँ विधान संशोधन समितिको संयोजक भएर काम गर्नुभएको थियो, आखिर यो विधान अहिलेसम्म किन प्रतिनिधिको हातमा नपुगेको? यसलाई सार्वजनिक गर्न किन ढिलाइ भइरहेको छ?

ऐतिहासिक महाधिवेशनको बन्दसत्रले विधानलाई पूर्ण रूपमा अनुमोदन (पारित) गरिसकेको छ। महाधिवेशन भर्खरै मात्र सम्पन्न भएकाले अब हामी त्यो अनुमोदित विधानलाई मुद्रण (प्रिन्ट) गर्ने प्रक्रियामा छौँ।

प्रिन्ट भइसकेपछि त्यो आधिकारिक दस्तावेज हाम्रा पार्टी सदस्यहरूमाझ वितरण गरिनेछ। साथै, प्रिन्टेड डकुमेन्ट हातमा पर्नुअगावै हाम्रा सबै सदस्य र शुभचिन्तकहरूले पढ्न पाउनुहोस् भनेर पार्टीको आधिकारिक वेबसाइट र मोबाइल एपमा यसको पीडीएफ भर्सन पनि छिट्टै उपलब्ध गराइनेछ।

रास्वपाभित्र सङ्घीयता, धर्मनिरपेक्षता र प्रदेश संरचनाका विषयमा पनि बारम्बार प्रश्न उठ्ने गरेको छ। महाधिवेशनबाट तपाईँहरूले ‘प्रदेश खारेजी’ को प्रस्ताव पास गर्नुभयो भन्ने चर्चासँगै बाहिर असन्तुष्टिका आवाजहरू पनि आउन थालिसकेका छन् नि?

त्यस्तो होइन, यसलाई अलि फरक ढङ्गले बुझिएछ। महाधिवेशनको बन्दसत्रमा मुख्य गरी तीन-चारवटा दस्तावेजहरू प्रस्तुत भएका थिए । जस्तै सभापतिज्यूको राजनीतिक प्रतिवेदन, उपसभापतिज्यूको प्रतिवेदन, महामन्त्रीको साङ्गठनिक प्रतिवेदन र विधान संशोधनको दस्तावेज।

यदि कतै अन्य प्रतिवेदनहरूमा केही फरक मत वा परिमार्जनका कुरा आएका छन् भने पनि, सैद्धान्तिक रूपमा सभापतिज्यूले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको मूल भावना नै पार्टीको आधिकारिक ‘लाइन’ हुन्छ। र, त्यो सन्दर्भमा सभापतिज्यूको प्रतिवेदनले प्रदेश खारेजी होइन, बरु प्रदेश संरचनाको ‘पुनर्संरचना’ गर्ने कुरा गरेको छ।

ती संरचनाहरूलाई कसरी पुनर्संरचना गर्ने भन्ने विषयमा आगामी दिनमा हामी अझ बढी घनीभूत रूपमा छलफल गर्नेछौँ। त्यसैले, प्रदेश नै खारेज गर्ने विषय अहिले पार्टीमा प्रवेश गरेको होइन।

तपाईँले सभापतिज्यूको प्रतिवेदन ध्यानपूर्वक पढ्नुभयो भने त्यहाँ स्पष्ट रूपमा खारेजी होइन, पुनर्संरचनाकै कुरा गरिएको प्रस्ट देख्नुहुनेछ।

अब यहाँ पार्टीको महामन्त्री बन्नुभएको छ। राजनीतिक दलमा संगठनलाई गतिशील बनाउने र समग्र पार्टीलाई हाँक्ने मुख्य दायित्व र जिम्मेवारी महामन्त्रीकै काँधमा हुन्छ। अब यो पार्टीलाई तपाईँ कसरी अगाडि बढाउनुहुन्छ? यसको नेतृत्व कसरी गर्नुहुन्छ?

पहिलो कुरा त, सभापतिज्यूले विधानअनुसार चाँडै नै अर्को एकजना महामन्त्री मनोनीत गर्नुहुनेछ, जो मेरो सहयात्री हुनुहुनेछ। हामी दुईजना महामन्त्रीहरू पूर्ण समन्वय र तादात्म्यतामा रहेर काम गर्नेछौँ। हामी कार्यविभाजनलाई व्यवस्थित गर्नेछौँ र राष्ट्रिय स्वतन्त्र पार्टी जुन पवित्र उद्देश्यका साथ स्थापना भएको थियो, त्यसको प्राप्ति तर्फ दृढताका साथ अघि बढ्नेछौँ।

हाम्रो सम्पूर्ण कार्यशैली स्थापित विधिमा रहेर, विधिमा टेकेर र पूर्ण पारदर्शितालाई मुख्य जीवन-मूल्य बनाएर अगाडि बढ्नेछ।

फोटो/भिडियो : कमल प्रसाईं अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?