१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणदेखि चुनावी रणनीतिसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका संस्थापक नेता विपिनकुमार आचार्य पार्टीको महामन्त्री बनेका छन् ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा निकटतम् प्रतिद्वन्द्वी मनिष झालाई पराजित गर्दै उनी रास्वपाको पहिलो निर्वाचित महामन्त्री बनेका हुन् । महामन्त्रीका लागि मनिष झा, गणेश कार्की र सागर ढकाल प्रतिस्पर्धी थिए ।
मतदान सुरू हुनुअघि महामन्त्रीका आकांक्षीहरू कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, रन्जु दर्शना र गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।
नवनिर्वाचित महामन्त्री आचार्य प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी दाङ–२ बाट नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई २८ हजारभन्दा बढी मतले पछि पार्दै सांसद चुनिएका थिए ।
आचार्य ४३ हजार ५५९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा एमाले नेता पोख्रेलले १५ हजार २८ मत पाएका थिए । तेस्रो भएका नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरेले ११ हजार ५५८ र चौथो भएका नेकपाका नेता निर्मल आचार्यले सात हजार ८३ ल्याएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको वाचापत्र तयार पार्नेदेखि विधानको प्रारम्भिक संरचना (प्राइमरी फ्रेमवर्क) निर्माण र पार्टीको मोबाइल एप विकाससम्ममा आचार्यले सक्रिय भूमिका खेलेका थिए ।
रास्वपाको संगठनात्मक र नीतिगत आधार तयार पार्ने टोलीका सदस्यका रूपमा उनको भूमिका महत्वपूर्ण मानिन्छ । पार्टी स्थापनाकालदेखि नै नेतृत्वसँग निकट रहेर काम गरेका आचार्यले अघिल्लो कार्यकालमा सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
प्रथम राष्ट्रिय महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएसँगै उनी पार्टीको संगठन, नीति कार्यान्वयन र आन्तरिक व्यवस्थापनको नेतृत्व गर्ने प्रमुख पदमा पुग्न सफल भएका छन् ।
४० वर्षको उमेर नपुग्दै महामन्त्रीको जिम्मेवारीमा पुगेका आचार्यलाई रास्वपाभित्र संगठन निर्माण, डिजिटल प्रणाली विकास र चुनावी रणनीति निर्माणमा नेताका रूपमा हेरिन्छ ।
पार्टीलाई छोटो समयमै राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गराउने प्रारम्भिक टिमका ‘आर्किटेक्ट’ मध्ये उनी एक मानिन्छन् । आचार्यसमेतको जोडबलमा रविले पार्टीलाई छिटो स्थापित गर्न सकेको कतिपयको दाबी छ ।
२०४६ सालमा दाङको तुलसीपुरस्थित टरिगाउँमा जन्मिएका आचार्य बायोटेक इन्जिनियर हुन् । उनले २०५८ सालमा दीपशिखा आवासीय विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका थिए ।
त्यसपछि उनले भारतबाट बायोटेक इन्जिनियरिङ अध्ययन पूरा गरेका थिए । नवनिर्वाचित महामन्त्री आचार्यले २०६९ सालमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका थिए ।
राजनीतिमा आउनुअघि उनले केही समय ग्यालेक्सी फोरके टेलिभिजनमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए । त्यही क्रममा तत्कालीन सञ्चारकर्मी रवि लामिछानेसँग उनको निकट सहकार्य रह्यो ।
ग्यालेक्सी टेलिभिजनको समयदेखि नै रविका विश्वासिला सहकर्मी मानिएका आचार्यपछि रास्वपा स्थापनाका प्रमुख योजनाकारमध्ये एक बन्न पुगेका थिए ।
रास्वपाले सहमहामन्त्रीको जिम्मेवारीमा रहेका आचार्यको नेतृत्वमा महाधिवेशनका लागि विधान संशोधन समिति गठन गरेको थियो । आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरू गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की र सुशान्त वैदिक सदस्य थिए ।
संशोधित विधानअनुसार पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिकपछि आयोगले पदाधिकारी चयनका लागि गरेको दोस्रो चरणमा मतदानमा आचार्य विजयी भएका हुन् ।
विधानअनुसार ६ पदाधिकारीका लागिमात्रै दोस्रो चरणको निर्वाचन भएको थियो । एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भएको हो ।
पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन् । बाँकी रहेका १८ मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मनोनीत हुने निश्चित छ ।
रास्वपामा उपसभापति तीन (खुला, महिला र मनोनीत एक–एक जना), महामन्त्री दुई (एक मनोनीत), सहमहामन्त्री पाँच (दुई खुला, एक महिला, दुई मनोनीत), प्रवक्ता एक (मनोनित), सहप्रवक्ता तीन (एक महिलासहित सबै मनोनीत) रहने वैधानिक व्यवस्था छ ।
यस्तै एक जना कोषाध्यक्ष र दुई जना सहकोषाध्यक्ष पनि समावेशी सिद्धान्तअनुसार मनोनीत गर्ने व्यवस्था रास्वपाले विधानमा गरेको छ ।
प्रतिक्रिया 4