News Summary
Generated by OK AI. Editorially reviewed.- इसिमोडले हिन्दूकुश हिमालय क्षेत्रमा हिउँको मात्रा दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको र यसले एसियाका नदी बेसिनहरूमा पानीको संकट निम्त्याउने खतरा बढेको बताएको छ।
- हिउँको कमीले करिब दुई अर्ब मानिसको कृषि, जलविद्युत र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने र सिँचाइ तथा जलविद्युत उत्पादनमा कमी आउने अनुमान गरिएको छ।
- इसिमोडले तापक्रम वृद्धि नियन्त्रण, पूर्वतयारी योजना सक्रिय बनाउन र सीमापार जल व्यवस्थापनमा सहकार्य सुदृढ गर्न सम्बन्धित मुलुकहरूलाई आग्रह गरेको छ।
११ वैशाख, काठमाडौं । एसियाको जीवनरेखा मानिने हिन्दूकुश हिमालय क्षेत्रमा हिउँको मात्रामा गिरावट आएको छ । यो गिरावटले एसियाका प्रमुख नदी बेसिनहरूमा पानीको संकट निम्त्याउने खतरा बढेको विज्ञहरूले जनाएका छन् ।
नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले बिहीबार सार्वजनिक गरेको ‘स्नो अपडेट २०२६’ अनुसार यस वर्ष हिउँको तह दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको छ । यो दुई दशकयताकै कम र लगातार चौथो वर्ष हिउँको मात्रा सामान्यभन्दा कम रेकर्ड गरिएको हो ।
हिउँमा आएको यो कमीले आउँदो वसन्त र ग्रीष्म ऋतुमा खानेपानीको अभाव हुनसक्ने संकेत गरेको छ । र, हिन्दूकुश हिमालय क्षेत्रमा रहेका झन्डै दुई अर्ब मानिसको कृषि, जलविद्युत र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने अनुमान छ ।
त्यसैले बढ्दो जल संकट सामनाको पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि सुदृढ जल व्यवस्थापन, पूर्व सूचना प्रणाली एवं एकीकृत क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड दिइएको छ ।
प्रतिवेदनमा के छ ?
प्रतिवेदन अनुसार सन् २०२१–२२ देखि २०२५–२६ सम्मका पाँच हिउँदहरूमध्ये चारवटामा लगातार सामान्यभन्दा कम हिउँ परेको देखिएको छ । सन् २०२५–२६ को हिउँदमा ऐतिहासिक रूपमा न्यून अर्थात् २७.८ प्रतिशत कम हिउँ परेको रेकर्ड छ । सन् २०२४–२५ मा २३.६ प्रतिशत कम हिउँ परेको रेकर्ड थियो ।
हिन्दूकुश हिमालय क्षेत्रबाट बहने १२ वटा प्रमुख नदी प्रणालीमध्ये १० वटामा यस वर्ष हिउँको उपलब्धता सामान्यभन्दा निकै कम छ । विशेषगरी मेकोङ नदीमा ५९.५ प्रतिशत, तिब्बती पठारमा ४७.४ प्रतिशत र साल्वीन नदीमा ४१.८ प्रतिशतसम्म हिउँ घटेको छ । मेकोङ, तारिम र तिब्बती पठारमा २४ वर्षयताकै सबैभन्दा कम हिउँ रेकर्ड गरिएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ ।
पहाडी क्षेत्रमा हिउँ पग्लिएर हुने बहाव जलस्रोतको मुख्य आधार हो । हेलमण्ड बेसिनको ७७.५ प्रतिशत र अमु दर्याको ७४.४ प्रतिशत वार्षिक बहाव हिउँमा निर्भर रहन्छ । हिउँ कम हुँदा सिंचाइ, जलविद्युत् लगायतका क्षेत्रमा गम्भीर असर पर्ने छ ।
सिन्धु, हेलमण्ड र अमु दर्या बेसिनका किसानहरूले सुरुवाती खेतीको समयमा सिँचाइ अभाव झेल्नुपर्ने अनुमान छ ।
यसैगरी मेकोङ, ब्रह्मपुत्र र चीनको थ्रीगर्जेज बाँध रहेको याङ्त्जे नदीमा जलविद्युत उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ ।
साथै जमिन मुनिको पानी र माटोको चिस्यान पुनर्भरण नहुँदा भविष्यमा खडेरीको प्रभाव झन् कडा हुने चेतावनी दिइएको छ ।
जाेखिममा हिमालय
इसिमोडको प्रतिवेदनका लेखक शेर मोहम्मदका अनुसार, यो वर्षको तथ्यांकले हिमालय क्षेत्र ‘ब्रेकिङ प्वाइन्ट’ (खतरनाक मोड) मा पुगेको पुष्टि गरेको छ ।
‘हामीले वर्षैपिच्छे मौसमी हिउँको भण्डार खुम्चिँदै गएको देखेका छौँ, जसले झन्डै २ अर्ब मानिसको पानीको स्रोतलाई प्रत्यक्ष असर गर्छ,’ उनले भनेका छन् ।
क्षेत्रीय स्तरमा संकट देखिए पनि नेपाल र आसपासको क्षेत्र समेट्ने गंगा नदी बेसिनमा हिउँको मात्रा १६.३ प्रतिशतले बढेकाे देखिएको छ । त्यस्तै इरावदी बेसिनमा २१.८ प्रतिशतले हिउँ बढी छ ।
यद्यपि, यी दुई बेसिनको सुधारले समग्र क्षेत्रीय संकटलाई टार्न नसक्ने प्रतिवेदनको ठहर छ ।
हिन्दूकुश हिमालय क्षेत्रले नेपाल, चीन, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश र म्यानमारलाई समेट्छ ।
हिन्दूकुश हिमालय क्षेत्र किन संवेदनशील छ ?
यो क्षेत्र पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म ३ हजार ५०० किलोमिटर लम्बाइमा फैलिएको छ । यस क्षेत्रलाई प्राय: ‘तेस्रो ध्रुव’ अर्थात् ‘थर्ड पोल’ भनिन्छ । किनभने उत्तर र दक्षिण ध्रुवपछि सबैभन्दा बढी हिउँ र बरफ यही क्षेत्रमा छ ।
विश्वका सबैभन्दा अग्ला सगरमाथा, माउन्ट केटुसहित लगायतका हिमाल यही क्षेत्र पर्दछन् । यहाँबाट एसियाका करिब एक दर्जन ठूला नदी प्रणालीहरू सुरु हुने भएकाले यसलाई एसियाको जलभण्डार (वाटर टावर) पनि भनिन्छ ।

हिन्दूकुश हिमालय क्षेत्रको कुल नदी बहावमा हिउँ पग्लिएर आउने पानीको औसत योगदान करिब २३ प्रतिशत छ । यहाँबाट उत्पन्न नदीहरू एशियाका विशाल मैदानहरूमा पुग्छन् । यी नदीका किनार र आसपास बस्ने मानिसहरूको संख्या करिब २ अर्ब रहेको अनुमान छ । उनीहरुको जीवन तिनै नदीहरूमा आश्रित छ ।
गंगा र ब्रह्मपुत्र नदीमा नेपाल, भारत र बंगलादेशका करोडौं मानिस यसमा आश्रित छन् । पाकिस्तान र भारतको ठूलो जनसंख्या सिन्धु नदीमा आश्रित छ । याङ्त्जे र ह्वाङ होले चीनको ठूलो हिस्सा समेट्छ । यसैगरी दक्षिण–पूर्वी एशियाका देशहरू भियतनाम, थाइल्याण्ड, लाओस आदि मेकोङ नदीमा आश्रित छन् ।
यी नदीहरूले पिउने पानी मात्र होइन, खेतीका लागि सिँचाइ, जलविद्युत र उद्योगका लागि समेत पानी उपलब्ध गराउँछन् । त्यसैले हिमालयमा हिउँ घट्दा यसले सिधै पहाडमा बस्ने करिब २४ करोड जनसंख्या र तल मैदानमा बस्ने १ अर्ब ६५ करोडभन्दा बढी मानिसको जीवनचक्र (खाद्य सुरक्षा र आर्थिक गतिविधि) लाई प्रभावित गर्छ । यही कारणले हिन्दूकुश हिमालय क्षेत्रलाई ‘एसियाको जीवनरेखा’ पनि भनिन्छ ।
हिउँ किन घट्यो ?
हिन्दूकुश हिमालय क्षेत्रमा हिउँको मात्रा घट्नुका पछाडि वातावरणीय र जलवायुजन्य कारणहरू रहेको विज्ञहरु बताउँछन् ।
खासगरी विश्वव्यापी तापक्रम वृद्धि मुख्य कारण हो । पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा हिमालहरूमा पर्ने हिमपातको प्रकृति बदलिएको छ । पहिले हिउँ पर्ने उचाइमा अहिले पानी पर्न थालेको छ ।
साथै, जमेको हिउँ पनि चाँडो पग्लिन थालेको छ । हिमालय क्षेत्रको तापक्रम विश्वको औसत तापक्रमभन्दा तीव्र गतिमा बढिरहेको छ ।
सन् २०१७ मा नेपालको जल तथा मौसम विज्ञान विभागले निकालेको रिपोर्टमा नेपालमा प्रतिवर्ष औसतमा ०.०५६ डिग्री सेल्सियसले अधिकतम तापक्रम बढिरहेको देखिएको छ र तापक्रम वृद्धिको अवस्था तराईको तुलनामा हिमालय क्षेत्रमा बढी देखिएको छ । त्यसले पनि हिउँ पगाल्न भूमिका खेलेको छ ।

हिन्दूकुश हिमालयको पश्चिमी र मध्य भाग (जस्तै अफगानिस्तान, पाकिस्तान र पश्चिम नेपाल) मा हिउँ पर्ने मुख्य स्रोत पश्चिमी वायु हो । भूमध्य सागरबाट आउने यो ओसिलो हावा कमजोर भएमा हिउँदमा पर्याप्त हिमपात हुँदैन । जलवायु परिवर्तनले वायुमण्डलीय चक्रमा पारेको प्रभावका कारण यो प्रणाली अस्तव्यस्त बनेको छ ।
यसैगरी सन् २०२४ देखि २०२६ सम्मको अवधिमा ‘एल निनो’ को प्रभाव शक्तिशाली देखिएको छ । एल निनो यस्तो समुद्री प्रक्रिया हो जसले विश्वभरको मौसममा फेरबदल आउँछ । यसले दक्षिण एसियामा हिउँदको वर्षा र हिमपातलाई कम गराइदिन्छ, जसको सिधा असर हिमालमा पर्दछ ।
तल्लो तटीय क्षेत्रमा हुने प्रदूषण, डढेलो र कलकारखानाको धुवाँबाट निस्कने ‘ब्ल्याक कार्बन’ उडेर हिमालसम्म पुग्छ । जब यो कालो कण सेतो हिउँमा बस्छ, यसले सूर्यको ताप सोस्न थाल्छ । सेतो हिउँले सूर्यको प्रकाश परावर्तन गर्छ, तर कालो कणले ताप सोस्ने हुनाले हिउँ तीव्र गतिमा पग्लिन्छ ।
तत्काल कदम चाल्न आग्रह
हिमालमा हिउँ घट्दा हिमनदीहरूले नयाँ बरफ पाउन सक्दैनन् र हिमनदीहरू खुम्चिँदै गएर सुक्ने खतरा हुने विज्ञहरु बताउँछन् ।
त्यसैले इसिमोडले सम्बन्धित मुलुकहरूलाई तापक्रम वृद्धि नियन्त्रण, विपदका पूर्वतयारीका योजनाहरू तत्काल सक्रिय बनाउन सुझाव दिएको छ ।
साथै पानी सञ्चय र उपयोगमा दक्षता बढाउँदै सीमापार जल व्यवस्थापनमा सहकार्य सुदृढ गर्न आग्रह गरेको छ । ‘अब आपतकालीन प्रतिक्रियाबाट अघि बढेर विज्ञानमा आधारित शासन पद्धतिमा जानु जरुरी छ,’ इसिमोडले भनेको छ ।
इसिमोडले हिन्दूकुश हिमालय क्षेत्रलाई दुई दशकभन्दा बढी समयदेखि निगरानी गर्दै आएको छ । प्राकृतिक स्रोतसाधनले धनी हिन्दूकुश हिमालय क्षेत्र विश्वकै अमूल्य सम्पदा मानिन्छ । तर जलवायु परिवर्तनका असर, वातावरण मैत्री नभएका विकास निर्माण लगायतका कारण यो क्षेत्र खतरामा परेको छ । विश्वकै स्वास्थ्य जाँच्न मिल्ने हिन्दूकुश हिमालय क्षेत्र निर्बल हुँदै गएको इसिमोडका वैज्ञानिकहरुको निष्कर्ष छ ।
त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. सुदीप ठकुरी खासगरी तिब्तेतियन क्षेत्रमा हिउँ धेरै घटेकाे देखिन्छ । उनी भन्छन्, ‘हामीलाई तत्काल धेरै असर पर्ने देखिदैन । तर दीर्घकालमा पर्ने असरका लागि सतर्कता भने आवश्यक छ ।’
प्रतिक्रिया 4