News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध एयरले उडान सेवाबाट अवकाशप्राप्त एटीआर७२-५०० सिरिज जहाजको फ्युसलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
- सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बुद्धका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सो फ्युसलेज सैनिक उपरथी अनुपजंग थापालाई बुझाए ।
- यो फ्युसलेज विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विपद् व्यवस्थापन र आपत्कालीन अवस्थाको पूर्वतयारी प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।
२६ जेठ, काठमाडौं । उडान सेवाबाट अवकाशप्राप्त एटीआर७२-५०० सिरिज जहाजको ‘फ्युसलेज’ बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
फ्युसलेज भनेको जहाजको बीचमा रहने प्रमुख भाग हो जसमा पाइलट बस्ने ककपिट, यात्रु बस्ने भाग र कार्गो राख्ने कम्पार्टमेन्ट हुन्छ । जहाजको मुख्य बडी फ्युसलेजले पखेटा, इन्जिन र पुच्छर अड्याउने काम पनि गर्छ ।
सोमबार त्रिभुवन विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युसलेज नेपाली सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरे ।
उक्त जहाजले ७० हजार साइकल पूरा गरेपछि केही महिनाअघि नै बुद्धले उडान सेवाबाट अवकाश दिएको थियो । हस्तान्तरण समारोहमा बुद्धका कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेना विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति-सुरक्षा तथा राष्ट्रिय हितका हरेक जिम्मेवारीमा निरन्तर खटिँदै आएको उल्लेख गर्दै यस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु बुद्धका लागि गर्वको विषय भएको बताए ।

बस्नेतले हस्तान्तरण गरिएको जहाजको फ्युसलेज, विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्धि गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार यो फ्युसलेज नेपाली सेनाले विमानस्थल आपतकालीन योजना अन्तर्गत विभिन्न सतर्कता स्तरका प्रशिक्षणमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बुद्ध एयरले प्रदान गरेको फ्युसलेजले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका थ्रेट सामना गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने बताए ।
बुद्धले नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर सुरक्षा सहकार्य गर्दै आएको उल्लेख गर्दै ठाकुरले यस कार्यलाई उदाहरणीय पहलका रूपमा प्रशंसा गरे ।

प्रतिक्रिया 4