+

नेपाली मोटरस्पोर्ट्सको ऐतिहासिक सफलता, अन्तर्राष्ट्रिय स्वर्णदेखि सरकारको पुरस्कारसम्म

२०८३ साउन  ९ गते १४:०९ २०८३ साउन ९ गते १४:०९

नेपालमा मोटरस्पोर्ट्स सुरु भएको डेढ दशकमा नेपाली ड्राइभरले प्राप्त गरेको यो उच्चतम सफलता हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिपमा स्वर्ण पदक विजेता आशिष भारती (रोनी) लाई नेपाल सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।
  • अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जितेका रोनीलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा सम्मान गरिएको हो, जुन नेपाली मोटरस्पोर्टसको इतिहासमा ऐतिहासिक सफलता मानिएको छ ।
  • सीमित स्रोत र साधनका बाबजुद रोनीले जापान, अष्ट्रेलिया र भारत जस्ता देशका दक्ष ड्राइभरलाई पछि पार्दै नेपाली खेलकुदको गरिमा उच्च बनाएका छन् ।

नेपालमा पनि कार रेसिङ गरेर सरकारी नगद पुरस्कार पाउन सफल भएका छन् आशिष भारती (रोनी) ।

मन्त्रिपरिषद्ले हालै गरेको निर्णय अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक प्राप्त गर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्दा नेपाली मोटरस्पोर्टसका खेलाडी आशिष भारती (रोनी)ले पनि सरकारबाट नगद पुरस्कार प्राप्त गर्दै गौरवपूर्ण इतिहास लेख्न लेखाउन सफल भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषदको सिफारिसमा एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिपमा स्वर्ण जितेका रोनीलाई ५ लाख पुरस्कार प्रदान गरेको हो । सरकारी पुरस्कार पाउनु नेपाली मोटरस्पोर्टस् मात्र नभई विश्वकै मोटरस्पोर्टसको इतिहासमा ऐतिहासिक सफलता मान्न सकिन्छ ।

नेपालमा मोटरस्पोर्ट्स सुरु भएको डेढ दशकमा नेपाली ड्राइभरले प्राप्त गरेको यो उच्चतम सफलता हो । आर्थिक, प्राविधिक पूर्वाधार कमजोर रहेको नेपाल जस्तो देशमा मोटरस्पोर्टसलाई पहिचान दिनका लागि विभिन्न प्रयास भइरहेको छ । रोनीले प्राप्त गरेको सफलता र नेपाल सरकारबाट प्राप्त नगद पुरस्कारमा सम्पूर्ण खेलाडी, प्रमोटर, अफिसियल लगायतले गर्व गर्ने क्षण बनेको छ ।

यसमा प्रतियोगितामा सहभागी गराउने आयोजकदेखि नेपाल सरकार, मन्त्रालय, राखेप सबैप्रति नासा नेपालले आभार व्यक्त गरेको छ ।

साथै गत वर्ष सेप्टेम्बरमा भएको च्याम्पियनसिपका समग्र नेपाली टिम तथा टिम म्यानेजरलाई समेत हामी बधाई दिन चाहन्छौं ।

एपिएमसी अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसनको आधिकारिक र एक मात्र एसिया प्यासीफिक च्याम्पीयनसिप हो । जसको अघिल्लो संस्करण २०२३ मा मलेसियामा भएको थियो भने आउदो सांस्करण २०२६ मा थाइल्याण्डमा हुने घोषणा भइसकेको छ ।

चर्चा मोटरस्पोर्ट्सको : सफलता रोनीको

रोनीको यो सफलताले अब नेपाली ड्राइभर (खेलाडी)हरू अन्तर्राष्ट्रिय इभेन्ट हेर्न र सिक्न मात्र जाने होइन प्रतिस्पर्धा समेत गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ ।

डेढ दशकमै सही नेपाली मोटर्सले एउटा पोस्टर ब्वाई पनि त प्राप्त गरेको छ । त्यही बेसमा रहेर नेपाली ड्राइभहरूका लागि आगाम दिनमा त्यस्तै सफलताको लागि बाटो खुलेको छ र खुसी सँगसँगै चुनौती पनि थपिएको छ । यस खेलमा रोनीको सफलतासँगै नेपालमा मोटरस्पोर्टसको लोकप्रियता र नेपाल सरकारले गरेको विश्वासको विषयमा केन्द्रित रहेको छ ।

नेपालमा मोटरस्पोर्टस् शब्द सुन्दा समेत अचम्म लाग्ने त्यो अवस्थावाट आज नेपाली ड्राइभरहरूको सफलता विश्वमै लोभलाग्दो बन्दै गएको छ । कोलम्बोमा प्राप्त यो सफलतासँगै नासा नेपालले एशिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट एचिभर्स फेडेरेसनको अवार्ड प्राप्त गरेको छ ।

एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप -एपएिमसी २०२५ मा रोनीले अटोजिमखाना सोलोमा स्वर्ण पदक प्राप्त गर्दै जापान, अष्ट्रेलिया, भारत र कोरिया जस्ता दोशका विश्वस्तरिय र दक्ष ड्राइभरहरूलाई समेत पछाडि पारे । जुन नेपाली मोटरस्पोर्टसको लागी मात्र नभई समग्र नेपाली खेलकुदको लागी समेत गर्वको क्षण हो । यो उपलब्धि अबको केही वर्षसम्म नेपालको लागि रहिरहनेछ ।

स्वर्ण पदक विजेता रोनी आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली मोटरस्पोर्ट्सको एउटा महत्वपूर्ण कोशेढुंगा मान्छन् । ‘नेपाली मोटरस्पोर्ट्समा एउटा माइलस्टोन बन्न सकेकोमा आफूलाई भाग्यमानी ठान्छु । यो एक दशक लामो मेहनत र निरन्तरताको परिणाम हो । यस सफलताका लागि नासा नेपाल र मेरा सम्पूर्ण टिम प्रति म आभारी छु’ रोनीले भने, ‘नेपाल सरकारलाई पनि धन्यवाद, तर मैले किन १० लाख नभई ५ लाख मात्रै पुरस्कार पाएँ भन्ने प्रश्न भने सधैं रहनेछ । नेपाली मोटरस्पोर्ट्सका टिक्न र बिक्न साँच्चिकै साहस चाहिन्छ, किनकि नेपाली अटोमोबाइल तथा कर्पोरेट क्षेत्रले गरेको बेवास्ता दिक्कलाग्दो छ ।’

टिम म्यानेजर आशिष रौनियारले रोनीको स्वर्ण पदक नेपाली मोटरस्पोर्ट्सको इतिहासमा एउटा नयाँ अध्याय भएको बताए । ‘नेपाली मोटरस्पोर्ट्स इतिहासकै सर्वाधिक ठूलो सफलताको साक्षी बन्न पाउनु मेरा लागि गौरवको कुरा हो । यो सफलता रोनीको निरन्तर मेहनत, नासा नेपालको दीर्घकालीन प्रयास र एफआईएको सहयोगको परिणाम हो । यसलाई नेपाली मोटरस्पोर्ट्सको एउटा ऐतिहासिक माइलस्टोनका रूपमा लिन सकिन्छ ।’

एफिया प्यासीफिक क्षेत्रका न्यूजिल्याण्ड देखि उज्वेकिस्तान सम्मका २८ देशमा अफिसियल्ली मोटरस्पोर्टस् हुने गर्दछ । ती मध्ये १७ वटा देश सहभागी रहेको च्याम्पियनसिपको समूह विजेता फिलिपिन्स र उपविजेता श्रीलंका बन्न सफल भए ।

नेपालले कुल ३ वटा विधामा ६ खेलाडी र एक अफिसियल समावेश गरेको थियो, जसमा आशिष भारती, राजकुमार कार्की र विपास्ना तामाङ्ग अटो जिमखानामा, रविन सुनुवार र जयप्रताप मास्के क्रसकार अटोक्रस तथा रोशन अधिकारी ईन्स्पोर्टमा तथा टिम म्यानेजरमा आशिष रौनियार रहेका थिए ।

च्याम्पियन्स अवार्ड

विश्वमा अत्यन्तै व्यवसायिक बनेको मोटरस्पोर्टस् नेपालमा भने राष्ट्रिय संघ, स्थानिय क्लवहरू तथा खेलाडीहरूका भरमा मात्रै सञ्चालन भइरहेको छ । दर्जनौं अटोमोबाइल कम्पनीहरूले अझैसम्म मोटरस्पोर्टसलाई आत्मसात् गर्न सकेका छैनन् । यद्यपी नेपाली मोटरस्पोर्टस्को लोकप्रियताले विश्वव्यापी चर्चा कमाएको छ, चाहे त्यो चारचक्के होस् या दुइचक्के ।

रोनीको सफलताको लागि नासा नेपालले २०८२ चैतमा नगद १ लाख सहित २०२५ को च्याम्पियन्स अवार्ड समेत प्रदान गरेको थियो ।

नेपाली खेलकुदको विडम्वना, सरकारी तहबाट प्राप्त गर्नुपर्ने नगद पुरस्कार समेत निकै लामो समयसम्म पनि प्राप्त गर्न नसकिरहेको अवस्थामा संघले सो नगद पुरस्कार प्रदान गरेको हो । अहिले सरकारले पनि सम्मान गरेर खेलाडीलाई हाम्रो हो भन्ने सन्देश दिएको छ ।

एक दशकदेखि संस्थागत र आधिकारीक मोटरस्पोर्टसमा प्रवेश गरेका रोनी अटोमोवाइल इन्जिनियरिङ्ग अध्ययन गर्दा नै ब्रेक, स्टेरिङ्ग, एक्सिलेटर र टायरसँग परिचित थिए । टोयोटा नेपालमा कार्यरत रहदा उनका सिनियर प्रवेश पौडेल मार्फत नासा नेपालमा जोडिएका रोनी आज महादेशीय च्याम्पयन बन्न सफल भएका छन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसनले सन् २०२४ देखि च्याम्पियन्स अर्वाड सुरु गरेको हो । पहिलो वर्ष ९ जना खेलाडीलाई सो अर्वाड दिइएको थियो भने यस वर्ष उक्त अवार्डलाई विशेष रुपमा रोनीको यो गौरवमय उपलब्धीलाई प्रदान गरीएको हो ।

मोटरस्पोर्टसमा मेडल : सक्रियता र निरन्तरताको संयोजन

सन् २००८ मा स्थापना भएको नासा नेपालको यो नै सर्वाधिक ठूलो मेडल हो, जसले नेपाली मोटरस्पोर्टस् कै शान, मान र अलिअलि अभिमान समेत बढाएको छ । अब खाँचो छ आवश्यक दाम, काम र सम्मानको । सरकार बल्ल साझेदार जस्तो बनेको आभाष भएको छ ।

खासमा नेपाल शाहसिक खेलकुद मैत्री भुगोल र वातावरण भएको देश हो । त्यसबाट उपलब्धि लिन नसकेको या नजानेको मात्रै हो । यद्यपी मोटरस्पोर्टस् मैत्री ऐन कानून र व्यवस्था भएको देश भने नेपाल होइन ।

यसअघि पनि बंगलादेश, थाइल्याण्ड, भारत र ताइवान लगायतका देशबाट समेत विभिन्न पदक प्राप्त नभाएका होइनन् तर त्यसको उच्चतहको उपलब्धि हो रोनीको गोल्ड मेडल ।

इतिहासको सम्झना

नेपाली मोटरस्पोर्टसको इतिहास त्यति लामो छैन जती भलिबल, फुटबल र क्रिकेटजस्ता खेलको छ । २०२६ साल तिर विजयगजानन्द वैद्य जस्ता पौरखीले काठमाडौं–पोखरा रुटमा मोटरसाइकल कुदाएको भन्ने सुनिन्छ ।

हिस्टोरिकल एण्ड क्लासिकल भेहिकल एसोसिएसन, मोरङ्ग एलिट क्लब, नेपाल मोटर स्पोर्टस् क्लव सिलिगुडी, जस्ता समूहहरूले नै फाट्टफुट्ट केही र्‍याली सुरु गरेका थिए । विदेश जाने नेपाली र नेपाल आउने विदेशीले नै मोटरस्पोर्टस् तथा समग्र मोटरिङ्गबारे प्रचारप्रसार गरे भने टेलिभिजनमा हेरिने रेसिङ तथा काठमाडौंमा उपलब्ध भारतीय अटोम्यागेजिनहरूले त्यसमा थप गति दिए ।

छिट्टो कुदाउने ड्राइभरलाई फर्मुला ड्राइभर भन्ने दशकौं देखिको चलन पनि तिनैले चलाए होलान् ।

जब सन २००८ अर्थात १८ वर्ष अघि संस्थागत मोटरस्पोर्टस्को संघ स्थापना भयो, नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसनको नाममा । त्यसपछि मात्रै संगठित, व्यवस्थीत र विधिसम्मत रेसिङ्ग, रयाली र टुरिङ्गका इमेन्टहरू सुरु गरिए ।

एउटा मानिसको लागी १८ वर्ष निकै लामो अवधी हो तर तर एउटा संगठनको लागी त्यति समय काफी हुदो रहेनछ किनकी नेपालको आर्थिक, सामाजिक तथा प्राविधिक र पूर्वाधारको अवस्थानै कमजोर छ । यिनै १८ वर्षमा सयांै राष्ट्रिय स्थानिय इभेन्ट भए संगै दर्जनौ अन्तराष्ट्रिय इभेन्टमा समेत नेपाली ड्राईभर/राईडर सहभागी भए मात्र होईन पदक समेत जित्ने हैसियतमा पुगे ।

नेपालमा मोटरस्पोर्टस् : दुइचक्के, चारचक्के हुदै वाटरस्पोर्टस् र ड्रोनसम्म

रेसिङको दुनियामा कार, बाइक र अक्वा बाइकसम्मका इभेन्टहरू विश्वमा सयौं छन् । नेपालमा भने सम्भावना बोकेका विशेषत ५ प्रकारका मोटरस्पोर्ट्स विधा छन्, अटो–जिमखाना, अटो–क्रस, ई– स्पोर्टस्, टिडीएस र्‍याली र कार्टिङ । खासगरी यो चारचक्केको कुरा भो । दुई चक्केमा पनि रोड रेसिङ्ग, मोटोक्रस, फ्लाट रेसिङ्ग, टिडीएस र्‍याली र क्रसकन्ट्री पपुलर छन् ।

अटो–जिमखाना खासगरी एसियाली देशबाट सुरु भएको स्पेशल इभेन्ट हो । सानो सर्किट या ढलान र पिच गरिएको सार्वजनिक स्थान या ठुला ठुला पार्किङमा खेल्न सकिने छरितो र कम खर्चिलो कलात्मक खेल हो । विगत एक दशक देखि मात्रै यसको एशियन स्तरिय तथा चार वर्ष अधिबाट मात्रै अटोस्लालम नाममा विश्वस्तरीय प्रतिस्पर्धा हुदै आएको छ । नेपालमा पनि नेसनल र खुला गरी वार्षिक दुईवटा इभेन्ट भइरहेका छन् ।

त्यस्तै अटो–क्रस पिच तथा अफरोड दुवै तिर कुदाउन मिल्ने गरी बनाइएको अग्लो काररबग्गीको प्रतिस्पर्धा अत्यन्तै कलात्मक, रोमाञ्चकारी र चुनौतिपूर्ण हुन्छ । नेपालमा यसको नियमित रूपमा च्याम्पियनसिप भइरहेको छ । २०२५ एपिएमसीको अटो–क्रस पहिलो पटक क्रसकार गाडीमा खेलाइएको थियो । श्रीलंका एसियाकै पहिलो एफआइए ग्राण्टको क्रस कार निर्माता कन्ट्री हो । हालसम्म भारत र हङकङ लगायतका देशले समेत क्रसकार निर्माण सुरु गरेका छन् । नेपालमा पनि सपनलाई विपनामा परिणत गर्ने अहिलेको एक मात्र मिसन हो ।

ई–स्पोर्टस् अर्थात सिम–रेसिङ नेपाली खेलाडीको लागी सम्भावनाको खले हो । गत केही वर्ष अधिबाट विश्वमै लोकप्रिय बनेको इस्पोर्टस्लाई मोटरस्पोर्टस्मा सिम रेसिङ भनेरे समेत बुझिन्छ । आकर्षक ढंगले बनाइएको, उच्च प्रविधिक रेसिङ फर्म्याटको सिम रेसिङ अबको नासा नेपालको समेत मुख्य खेल माध्यम हो । विश्व पहिलो ओलम्पिक ईस्पोर्टस् सिरिजमा समेत नेपालको पहिलो सहभागिताको रेकड यस संघमा छ । अबको एक महिना भित्र विश्वस्तरिय सिम रेसिङ्गको उपकरण ल्याई नेपालमा नियमित प्रशिक्षण र प्रतियोगिता गर्ने योजना छ संघको ।

टाइम डिस्ट्यान्स स्पिड (टिडिएस) र्‍याली सडक सुरक्षा, नेभिगेसन, समय व्यवस्थापन र सटीक ड्राइभिङ सीपको संयोजन भएको मोटरस्पोर्ट्स विधा हो । यसमा चालक र सहचालक (को–ड्राइभर) ले पूर्वनिर्धारित मार्गमा निश्चित समय र औसत गतिलाई कायम राख्दै यात्रा गर्नुपर्छ । यो तीव्र गति मात्र भन्दा पनि अनुशासन, समन्वय र रणनीतिमा आधारित प्रतिस्पर्धा भएकाले दैनिक प्रयोग हुने सवारी चालकको सीप अभिवृद्धि गर्न समेत प्रभावकारी मानिन्छ । नेपालमा विगतदेखि नै आयोजना हुँदै आएको यस विधाले मोटरस्पोर्ट्सको आधार विस्तार गर्न महत्वपूर्ण योगदान दिएको छ ।

कार्टिङ विश्व मोटरस्पोर्ट्सको आधारभूत र सबैभन्दा लोकप्रिय प्रवेश विधा मानिन्छ । सानो आकारका विशेष रूपमा निर्मित कार्टमार्फत बन्द सर्किटमा खेलाइने यस प्रतिस्पर्धाले चालकको नियन्त्रण क्षमता, गति, ब्रेकिङ, रेसिङ लाइन र निर्णय क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ । विश्वका अधिकांश सफल फर्मुला–वान तथा अन्तर्राष्ट्रिय रेसिङ चालकहरूले आफ्नो करियर कार्टिङबाट नै सुरु गरेका छन् ।

कार्टिङ्गमा मुलत दुइवटा विधा छन् स्लालम र स्प्रीन्ट । नेपालमा स्लालम तत्काल गरिरहेको खेल हो भने स्प्रिन्टको लागी निकै ठुलो पुर्वाधारको चाहिन्छ । नेपालमा पनि कार्टिङप्रति युवाको आकर्षण बढ्दै गएको छ र भविष्यका अन्तर्राष्ट्रिय स्तरका चालक उत्पादन गर्ने आधारका रूपमा यसलाई हेरिएको छ ।

नेपालको मोटरस्पोर्ट्सँगै मरिन स्पोर्ट्स भनिने पावरबोटिङ, जेटस्की, अक्वाबाईक र मोटोसर्फ जस्ता इभेन्टका पनि नेपालमै सम्भावना रहेको छ । साहसिक खेलसँगै दिगो पर्यटनको लागि पनि नेपाल अब नेपाली खेलकूद र पर्यटकीय क्षेत्र त्यता जानैपर्छ ।

ड्रोन अर्को इन्जिनियरिङ खेल हुनसक्छ नेपालमा । जहाँ शिक्षित युवाको ठुलो आकर्षण छ । ड्रोनको ट्रेनिङ एकेडेमी, नेशनल च्याम्पियनशिप र भर्टीकल मोबिलिटी मा समेत नेपाल अटोमोबाइल्स एसोसिएसनले आफ्नो वैधानिक, प्राविधिक र व्यावहारिक कार्य अगाडि बढाएको छ ।

इन्जिनियरिङ र मेकानिकल अनि अटोमोबाइल यि तीन को समग्र संयोजन हो विश्वकै मोटरस्पोर्ट्स ।

साहसिक खेल : नेपालको शान

नेपाल सानो देश हो भलै विश्वमानचित्रमा यो ठुलै देश मानिन्छ । सीमित साधनस्रोत र पूर्वाधार विना दर्जनौं अझ सय हाराहारिका खेल व्यवस्थापन गर्न अत्यन्तै कठिन छ । आधारभुत खेल स्थानीय तह र स्कुल कलेजलाई दिने तथा साहसिक र पर्यटकीय खेलमा नीतिगत सहयोग र सहजीकरण मात्रै गरिदिने र प्रतिस्पर्धात्मक खेलमा मात्रै ध्यान दिँदा मात्रै सुखद परिणाम आउला अन्यता अहिलेकै जस्तो अवस्था हो ।

अर्कोतर्फ नेपाली साहसिक खेलकुदको स्तर र खेलाडी स्वयम विश्वस्तरका छन् त्यसमा संघ महासंघ र निजी तथा पर्यटकीय श्रेत्रलाई अघि सार्नै पर्छ तब मात्र रोनीहरू जन्मन्छन् । सानोबाबु र मिरा राईको उदय हुन्छ । सुनमाया र राममाया बुढाहरू मिथक बन्छन् । किनकी यी यस्ता सबैमा सरकारी कम संघसंसथा र निजी क्षेत्रको ज्यादा लगानी र मेहेनत छ ।

सरकारदेखि खेलकुद परिषद् र पर्यटन बोर्ड लगायतका सरकारी निकायले नेपाली खेलकुदको बारेमा बुझ्नै पर्छ । समय फेरियो, सरकार फेरियो । अब बुझाई र कार्यशैली फेरिन बाँकी छ ।

एसयुभी गाडी भनेर, रेसिङ बाइकको भाषण गरेर, अनि कहिलेकाहीँ त नेपाली खेलकुदमा चोचोमाचो मिलाए पनि नेपाली अटोमोबाइल र कर्पोरेट क्षेत्रलाई रोनीको यो सफलताले केही धक्का पक्कै दिएको छ ।

हुन त आफ्नै गाडी र मोटरसाइकल, टायर र लुब्रिकेन्टस् समेतमा विश्वास नहुने हाम्रा नेपाली साहुजीलाई नेपाली ड्राइभरको अन्तर्राष्ट्रिय सफलताप्रति विश्वास गर्न पनि कठिन होला । बुझाई र गन्तव्य नै गलत भएपछि खुशी हुन पनि कठिन होला ।

नेपाली अटोमोबाइल क्षेत्रको बेवास्थाका बाबजुद रोनीको यो सफलताले नेपाली मोटरस्पोर्टसको प्रारम्भिक चरण पुरा भएको विश्वास छ । छोटो समयमै सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडी तथा संघको सक्रियताले अबको हाम्रो ट्रयाक क्लिएर छ भन्ने सन्देश दिएको छ ।

ड्राइभर दक्ष र योग्य तथा संघलाई व्यवस्थित बनाउन सके नेपालको भरपर्दो र आशालाग्दो खेलमा मोटरस्पोर्टस पनि हो भन्ने चेतना सम्बन्धित सबैमा फैलाउन अब रोनी उदाहरणको रुपमा छन् ।

मोटरस्पोर्टस् वैकल्पिक खेल होइन मुख्य खेल हो भनेर प्रमाण पेश गरिरहन नपर्ने बनाइदिएकोमा सरकारलाई पनि धन्यवाद ।

(नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईसँग कुराकानीमा आधारित)

नेपाली मोटरस्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय