+

जर्मनीको प्रशिक्षकमा योर्गेन क्लोप नियुक्त

२०८३ साउन  ८ गते १९:५२ २०८३ साउन ८ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
  • क्लोपले सन् २०३० सम्मको सम्झौता गरेका छन् र उनको पहिलो खेल सेप्टेम्बर २४ मा नेदरल्यान्ड्सविरुद्ध हुनेछ ।
  • क्लोपले भने, 'यदि मेरो परिवारलाई दुःख दिने काम भयो भने म आफैं यो पद छाडिदिन्छु ।'

८ साउन, काठमाडौं । योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रिमियर लिग क्लब लिभरपुल छाडेको दुई वर्षपछि उनले पुनः प्रशिक्षणमा फर्किँदै सन् २०३० को फिफा विश्वकपसम्मको सम्झौता गरेका हुन् ।

५९ वर्षीय क्लोपले शुक्रबार औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दै आफू जर्मनीलाई थप बलियो टोली बनाउने लक्ष्यका साथ आएको बताए । तर उनले जर्मन सञ्चारमाध्यमलाई परिवारको गोपनीयताको सम्मान गर्न कडा चेतावनी पनि दिएका छन् ।

उनले पूर्व प्रशिक्षक जुलियन नागेल्समानले मिडियाबाट अत्यधिक आलोचना र दबाब खेप्नुपरेको प्रसंग उल्लेख गर्दै आफू त्यस्तो अवस्था स्वीकार नगर्ने स्पष्ट पारे । केही दिनअघि सम्पन्न फिफा विश्वकपमा जर्मनी राउन्ड अफ ३२ बाटै बाहरिएपछि नागेल्समानले राजिनामा दिइसकेका थिए ।

क्लोपले भने, ‘मलाई राम्रो पारिश्रमिक दिइनेछ। यदि भोलि म असफल भएँ भने म हट्नेछु । जर्मन फुटबल संघ (डीएफबी) ले सम्झौता अन्त्य गर्ने निर्णय गर्‍यो भने पनि म स्वीकार्छु । तर यदि मेरो परिवारलाई दुःख दिने काम भयो भने म आफैं यो पद छाडिदिन्छु ।’

उनको नेतृत्वमा जर्मनीले पहिलो खेल सेप्टेम्बर २४ मा युइएफए नेसन्स लिगअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

क्लोपले सन् २०२४ मा लिभरपुल छाड्दा आफू ‘ऊर्जाविहीन’ भएको बताएका थिए । उनले लिभरपुलमा नौ वर्षको अवधिमा प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, दुई लिग कप, क्लब विश्वकपसहित कुल छ उपाधि जिताएका थिए ।

लिभरपुलपछि उनले केही समय विश्राम लिएर रेड बुल समूहको ग्लोबल फुटबल प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसक्रममा उनले क्लब फुटबलमा पुनः फर्कने इच्छा नभएको बताएका थिए ।

क्लोपसँगै उनका पुराना सहायक प्रशिक्षक पेप लिजेन्डर्स र पिटर क्राभिट्ज पनि जर्मनीको प्रशिक्षण टोलीमा रहनेछन् । पूर्व जर्मन अन्तर्राष्ट्रिय स्वेन बेन्डर पनि प्रशिक्षक समूहमा समावेश छन् ।

यस्तै, आन्द्रेयास रेटिगको स्थानमा पूर्व जर्मन डिफेन्डर पेर मर्टेसाकर आगामी जनवरीदेखि जर्मनीको खेल निर्देशक बन्नेछन् ।

-स्काइ स्पोर्ट्सबाट

जर्मनी फुटबल योर्गन क्लोप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय