News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि हरप्रित सिंह भाटियाको कप्तानीमा यूएईले १५ सदस्यीय टोली घोषणा गरेको छ।
- नियमित कप्तान मुहम्मद वासिम टोलीमा नअटाएको यस टोलीमा भारतका पूर्वक्रिकेटर अक्षदीप नाथले पनि निरन्तरता पाएका छन्।
- यूएईले अगस्ट ३ देखि स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र क्यानडासँग प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक गरिएको छ।
८ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने आगामी त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि यूएईले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
टोलीको कप्तानी ब्याटर हरप्रित सिंह भाटियाले गर्नेछन् भने नियमित कप्तान मुहम्मद वासिम टोलीमै परेका छैनन् । वासिम ओडीआई भन्दा टी-२०आई का विशेषज्ञ ब्याटर हुन् ।
यसअघि यूएईले नेपालमा आएर शृङ्खला खेलेको थियो जहाँ ४ मध्ये २ खेलमा जित निकाल्दा २ मा पराजित भएको थियो । भाटियाले सोही शृङ्खलामा यूएईका लागि डेब्यू गरेका थिए ।
उनी भारतमा रणजीदेखि आईपीएल खेलिसकेका खेलाडी हुन् । भारतकै पूर्वक्रिकेटर अक्षदीप नाथ पनि टोलीमा निरन्तरता पाएका छन् । उनले पनि नेपालमै आएर डेब्यू गरेका थिए ।
लिग २ अंकतालिकामा यूएई २४ खेलमा १४ अंकसहित पुछारमा छ ।
यूएईको टोली शनिबार जर्सी प्रस्थान गर्नेछ । त्यहाँ जर्सीसँग जुलाई २७ र २९ मा दुई अभ्यास एकदिवसीय खेल खेलेपछि टोली स्कटल्यान्ड जाने कार्यक्रम छ ।
स्कटल्यान्ड पुगेपछि यूएईले जुलाई ३१ मा स्कटल्यान्ड ‘ए’ विरुद्ध अभ्यास खेल खेल्नेछ ।
विश्वकप लिग–२ अन्तर्गत यूएईले पहिलो खेल अगस्ट ३ मा घरेलु टोली स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि अगस्ट ५ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो चरणमा अगस्ट ९ मा पुनः स्कटल्यान्डसँग र अगस्ट ११ मा क्यानडासँग खेल्दै यूएईले शृङ्खला समाप्त गर्नेछ ।
सबै खेल स्कटल्यान्डको डुन्डीस्थित फोरफारशायर क्रिकेट क्लब मैदानमा हुनेछन् ।
यूएईको टोली : हरप्रित सिंह भाटिया (कप्तान), आयान अफजल खान, अदीब उस्मानी, अक्षदीप नाथ, आर्यंश शर्मा, ध्रुव पराशर, जुनेद सिद्दिकी, मुहम्मद अरफान, मुहम्मद जवादुल्लाह, मुहम्मद शाहदाद, मुहम्मद मोहसिन, राहुल चोपरा, सिम्रनजीत सिंह, सोहेब खान र तनिश सुरी।
प्रतिक्रिया 4