+
+
Shares
फ्राइडे प्लेलिस्ट :

चिसो, यो हावालाई, कहिले आउँछौ ?…

पोखराबाट संगीतकर्ममा लागिरहेका शैलु राई मनलाई शान्त बनाउने, उही समयमा मन हल्लाउने गीतका लागि फ्यानहरूमाँझ चिनिएका छन् ।

सापेक्ष सापेक्ष
२०८३ साउन १५ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक विक्की गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीसँग सहकार्य गर्दै लामो प्रतीक्षापछि \'यो हावालाई\' शीर्षकको नयाँ प्रेमिल गीत सार्वजनिक गरेका छन्।

विक्की गुरुङ – यो हावालाई

मरिजाउँ फेम्ड विक्की गुरुङले नयाँ गीत यो हावालाई लिएर आएका छन् । विगत ६ महिनादेखि उनले यो गीतबारे प्रचार गर्दै आइरहेका थिए । त्यो लामो प्रतीक्षा अब सकिएको छ । गीतमा गुरुङ सदावहार सुनिएका छन् । यो गीतमा विशेष गरी उनले कम्पोजिनसमा राम्रो काम गरेका छन् । गीत कतै लाउड छैन, शान्त, स्थिर र सुकोमल छ । एउटा विछोड गाइएको यो गीतलाई प्रेम, विछोड र एउटा निश्चल पर्खाइको भावुक अनि मार्मिक अभिव्यक्ति मान्न सकिन्छ । गीतको म्युजिक भिडियोका लागि गुरुङले यसमा अभिनेत्री उपसना सिंह ठकुरीसँग सहकार्य गरेका छन् ।

आफैंलाई सोधी हेर, नहेर है अरू कतै
तिम्रो मनलाई थाहा छ है
मैले गर्छु कति माया, सुम्पेर मेरो सबै
साथ मात्र मागेको थिएँ
समय हेर, आज छुट्टिएर कस्तो टाढा
भएँ अझै प्रतीक्षामा तिम्रो माया
बसिराछु जहाँ थिएँ, तिम्रो आसमा
भोलि कतै संजोगले, भेट भए नचिने झैं नगरिदिनू माया यसै,
यो हावालाई लैजाउन देऊ, यो हावालाई लैजान देऊ
मेरो माया तिम्रै तिर….

चुम्बक – चिसो

पछिल्लो समयमा रक विधामा राम्रो गरिरहेको पूर्वेली ब्यान्ड चुम्बकले ‘उसका लागि एउटा गीत’ उपमा दिँदै नयाँ गीत लिएर आएको छ । ब्यान्डको आइरहेको इपी ‘नेपाली गतिविधि’ मा संलग्न यो दोस्रो गीत हो । यो गीतले प्रेमपछिको विछोड, मनभित्रको अशान्ति र एउटा विरक्त लाग्दो बाध्यतालाई व्यक्त गरेको छ । प्रेमी/प्रेमिका भौतिक रूपमा नजिक नभए पनि एकअर्काको उपस्थिति र यादहरू मनबाट कहिल्यै नबिलाउने र नहराउने सत्यलाई गीतमा गाइएको छ । गीतमा चुम्बकले आफ्नो सिग्नेचर पनि छाडेको छ भने यसले एउटा रक विधालाई भरपूर न्याय गरेको छ ।

बिलाउँदैनौ तिमी जहाँ भए पनि
मन चिसो हुन्छ
तिम्रो यादले पोल्दा
हराउँदैनौ तिमी
नजिक नभए पनि
मनमा शून्य छाउँछ
तिम्रो यादमा बोल्दा
जाऊ जाऊ जाऊ तिमी उतै जाऊ
जाऊ जाऊ मैले नदेख्ने ठाउँमा जाऊ…

ऋषद राई – सपना

नेपाली संगीतमा नयाँ–नयाँ नै रहेका ऋषदले पछिल्लो ४ वर्षमा केही ओरिजिनल गीतहरू निकालेका छन् । तिनमा उनले आफ्नो खुबी देखाइसकेका थिए । यसपटक सपनामा झन् उनी उम्दा भएर निस्केको भान हुन्छ । उनको यो गीत प्रेमको सुरुवाती चरणमा हुने आकर्षण, अलमल र समर्पणको सुन्दर अभिव्यक्ति बन्न गएको छ । मीठो स्वर, मुस्कान र नशालु सुन्दरतामा अल्झिएर आफू पूर्णरूपमा मोहित र घायल भएको कुरा यहाँ पोखिएको छ ।

सपनामा भए पनि दुई जना मिलेर एउटा सानो घर, साना बालबच्चा र सुन्दर भविष्यको परिकल्पना गर्दा जुनैभरिलाई प्रेमको साथ पाइयोस् भन्ने चाहना झल्किन्छ । ती शब्दहरू दैन्दिनमा प्रयोग गर्ने सामान्य खालका भएता पनि ऋषदले कम्पोजिसनमा मात्र ती हरेकलाई न्याय गरेका छन् । तपाईं नयाँ स्वर खोजिरहनु भएको छ भने यो गीत नयाँ प्लेलिस्टमा थपिन सक्छ ।

तिमी मेरो को हौ ?
भनी देऊ न आज मलाई
व्यक्त गर्न सक्दिन म
तिमीलाई यो भावना
मिठो तिम्रो स्वर सुन्दा
सोच्ने गर्छु, कतै जुनीभरिलाई
तिम्रो मुस्कानमा अल्झी
नशालु तिम्रो सुन्दरता,
घाइते भएँ, लट्ठी गएँ म…

सौगात हमाल – कहानी

लोक भाकामा आधारित रहेर सौगात हमालले ल्याएको नयाँ गीत कहानीले जीवन, प्रेम, गाउँ, शहर, साथीभाइ, संघर्ष सहित विविद विषयमा बोल्छ । अत्यन्तै छोटा वाक्य संरचनामा लेखिएको यो गीतको कम्पोजिसनमा पनि सामान्य छ । बाजाहरू अत्यन्तै थोरै प्रयोग गरिएका छन् । सारङ्गी र ढोलकको साउन्ड यहाँ विशेष छ । लोकभाका भएता पनि अन्तिम भागतिर सौगातले विधामा खेलेका छन् ।

कहानी हाम्रो
सोचेरै राम्रो
सोचमै रमाइलो
ढल्केरै गयो सँझको घाम
साथैमा जिन्दगी
माँझीको जीवन
खोलाको लेउमा
खोलाकैको बगर
हात्तीलाई फ्याक्यो
जागिर नै पाक्यो
अस्तेको सहर
समय फर्की आउँदैन साथी
रमाउँ यो जिन्दगी…

अ साउन्ड फ्रम भोइड – ल जाउँ है

यो गीत झरना जस्तै छ । हुन पनि काठमाडौंमा आधारित नवीन यो ब्यान्डले मोहिनी झर्नाको सौन्दर्यबाट प्रेरित भएर बनाएको गीत हो यो । यो गीतले हामीलाई प्रकृति र जीवनको सरल सुन्दरताको उत्सव मनाउन सिकाउँछ । निकै ऊर्जाले भरिएको यो गीत इन्स्ट्रुमेन्टलको फ्यानका लागि फिट हुन सक्छ ।  गीतमा शब्द, संगीत दुवै हाबी छ । तर, सन्तुलन बनेर । गीतमा मोनोलग छ । त्यो कुनै सुन्दर प्रवर्चनभन्दा कम छैन । बिल्कुलै नयाँ स्वर सुन्न खोजिरहनु भएको छ भने यो ब्यान्ड र ब्यान्डको यो गीत पक्कै पनि खुराक हुन सक्छ ।

झरनाको गर्जनसँग ऊ शब्द साट्छ रे
हावाको गतिसँग ऊ दौड लगाउँछ रे
पहाडको आवाजमा प्रतिबिम्ब भेटी
विशाल आकाशमा तरङ्ग फैलाउँछ रे
ल जाउँ है
बोलाइ रहेको छ

अफ विक

मानिया – मेला

राहुल कुमार मण्डल उर्फ मानिया मैथिली भाषाका र्‍यापर हुन् । २०१८ देखि यो फिल्डमा सक्रिय उनले मैथिली भाषामा थुप्रै गीतहरू निकालिसकेका छन् । उनको नयाँ गीत गैर मैथिली भाषीलाई बुझ्न गाह्रो हुने भएता पनि उनले यो गीतमार्फत जुन ऊर्जा र माहौल दिन खोजेका छन्, त्यो महसुस गर्न सकिन्छ । र्‍यापमा सबैभन्दा फरक पार्ने भनेको बिट हो- यो गीतको गीतले कम्तिमा सुन्ने मान्छेलाई झुमाउँछ । नचाउँछ । फरक शैलीको र्‍याप सुन्न खोजिरहनु भएको छ भने तपाईंले मानियालाई सुन्न सक्नुहुन्छ ।

 

ओएमजी स्पार्क – उठ्यो बस्यो

ओएमजी स्पार्क म्युजिक प्रोड्युसर हुन् । उनी मुलत: आफूले बनाउने संगीतहरूमा नेपाली बाजाका धुनहरू मिसाउन खुब रुचि मान्छन् । उनले आफ्नो यो गीतमा यसको भरपूर प्रयोग गरेका छन् । नेपाली बाजाको नयाँ स्वाद लिन उनको यो साढे २ मिनेटको गीत पर्याप्त छ । र्‍याम भर्सनमा भएता पनि यसको भाइब्सले हामीलाई पक्कै रम्न बाँध्य पार्छ ।

ग्रन्चिज – टाढा जाऊ

तपाईं रक जन्‍राको फ्यान हुनुहुन्छ भने ग्रन्चिजको यो गीत तपाईंको प्ले लिस्टमा थपिन सक्छ । यो गीतमा ब्यान्डले आफ्नो सिङ्नेचर शैली छोड्नुका साथै स्वरमा मिहिन तरिकाले काम गरेको छ । गीतले एउटा ऊर्जा प्रवाह गर्छ । गीतमा एकदमै हाई नोटमा भोकल सुनिन्छ भने गितार, ड्रमको प्लेइङ नि उत्कष्ट नै छ । ती सबैले तपाईंलाई गीतमा झुम्न कायल बनाउँछ ।

शैलु राई – कहिले आउँछौं ?

पोखराबाट संगीतकर्ममा लागिरहेका शैलु राई मनलाई शान्त बनाउने, उही समयमा मन हल्लाउने गीतका लागि फ्यानहरूमाँझ चिनिएका छन् । उनको नयाँ गीतले पनि यी दुवै सामर्थ्य राख्छ । गीतको शब्द, अरेन्जमेन्ट र मिक्स सबै यति राम्ररी गरिएका छन् कि तिनले पूर्ण गीतलाई लुपमा राखिरहन बाध्य पार्छ ।

यी बाहेक परिचयको ओख्ला, अप्रित मुखियाको कुरिरहेँ म, एकदेम लिम्बुको फनफनी, मिस्टर डीको जादू, दिलमा ठाउँ छ (बेहुली फिल्म), सपना हरायो (गौथली फिल्म), प्रतीक खड्काको सजिलै बिर्सिदेऊ लगायतका गीतहरू सुन्न सक्नुहुन्छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?