जीवन माया – पूर्ण राई
विगतमा निकालिरहेको आफ्नो सेफ जोन विधाभन्दा बाहिर निस्किएर पूर्ण राईले ल्याएको यो नयाँ गीतले जीवनबारे धेरै बोल्छ । जीवनमा सुख र दुःखका क्षणहरू सँगसँगै अस्तित्वमा रहन्छन् भन्नेदेखि वर्तमानमा रमाउँ भन्नेसम्मको कुरा यो गीतमा सुन्न सकिन्छ । समग्र गीतको कुरा गर्ने हो यसमा कुनै रफ्तार छैन । शब्दको ओत जे छ, त्यसलाई सुहाउँदो कम्पोजिसन छ ।
हाँसेरै बिताइ जाउन
क्षणिकै हो यो जीवन
मरे सम्झना
तर बाँचे भेट होला
मै मरी गए तिमीलाई
छाडि दिउँला सम्झना
हाँस्नलाई खुसी अनि
रुनलाई दु:ख छँदै छ
घर कहाँ पर्यो – स्वप्न सुमन
झ्याउरे भाका हाबी भएको यो गीतमा स्वप्न सुमनले निखितासँग सहकार्य गरेका छन् । पछिल्लो समय उनी यस प्रकारको गीत उत्पादन गर्न लागि परेको देखिन्छ । जुन सामान्यत: स्वप्नको नियमित विधाभन्दा परको हो । यद्यपि यो खालको शैलीमा पनि उनी पोख्त भएर निस्किँदै गइरहेका छन् । गीतको मात्र कुरा यहाँ एउटा आशक्त प्रेम गाइएको छ ।
मायालुको सम्झना मलाई रोकिँदैन
यो ज्यानै नजलाई
रातो चन्द्रामा त्यो डाँडामाथि
जीवनमा चाहिएकै मन मिल्ने साथी
नचिनेको मान्छे नि आफ्नो झैं लाग्ने
सपनीमै चिनजान भएको थ्यो कि राति
मायालु तिम्रो घर कहाँ पर्यो ?
मैले माया लगाउने मन गर्यो
गुरुङनी कान्छी – झुमा लिम्बु
करिब ६ महिनाको अन्तरालपछि झुमा लिम्बु रैथाने धुन लिएर आएकी छिन् । यसमा उनी सागर आलेलाई फिचर्ड छिन् । गीतमा गुरुङ भाका, संस्कृतिलाई समेटिएको छ । यसमा विशुद्ध दोहोरी शैली सुनिन्छ । त्यस क्रममा स्थानीय बिम्बहरूको प्रयोग गरिँदै कुराकानीहरूलाई अघि बढाइएको छ। यसको म्युजिक भिडियो पनि संस्कृतिप्रमुख छ । संस्कृतिपरक गीतहरू मनपर्छ भने यो तपाईंको नयाँ प्लेलिस्टमा थपिन सक्छ ।
आहै सोल्टी छ्याजालो
गाउँकै माया उज्यालो
माथि हिमाल दरबार
तल हाम्रो घरबार
चट्टै छोडी बिन्ती नजाऊ न
पिरतीले मलाई सजाऊ न
भिजायो – सुगम पोखरेल
लामो अन्तरालमा सुगमले नयाँ गीत लिएर आएका छन् । यो गीत असार विशेष छ । खेतमा धान रोप्दाको क्षणहरूलाई सुन्दर तरिकाले उनले गाएका छन् । मुलत: यस प्रकारको गीत रक शैलीमा खासै आएको देखिँदैन । त्यसमा सुगमले केही प्रयोग गर्न खोजेको देखिन्छ ।
भिजायो लौन भिजायो
असारे झरीले भिजायो
रुझायो लौन रुझायो
दर्के यो झरीले रुझायो
मायामा म हराएँ – विक्रम संवाद
२०१८ मा स्थापना भएको यो ब्यान्डको नयाँ गीतमा हामीले केही क्लासिकल, केही इन्डी र केही आधुनिक शैली सुन्न सक्छौं । शास्त्रीयदेखि आधुनिक बाजाहरू प्रयोग गरिएको यो गीतमा विधाहरूको मिश्रण भएको सुन्न मन पराउनेका लागि नयाँ प्ले लिस्टमा थपिन सक्छ । यसमा केही बाहेक केही भागमा इन्स्ट्रुमेन्टल पनि छ ।
मायामा
हराएँ मायामा
सानो सानो पाइला सार्दै आएँ
कहिँकतै तिमीमै हराएँ
रंगहरूले रंगाइ सजाइदिएँ
असारे पानी, साउने झरी – राम चन्द्र काफ्ले
यो महिना खेतीकिसानीको हो । अघिल्लो पुस्तालाई नवपुस्ताले त्यही खेती किसानीको महिमागान गाइएको, कामको बखान गरिएको अथवा सान्दर्भिकता गाउँदैनन् कि भन्ने चिन्ता छ । त्यो चिन्ता चटक्कै मेटिने गरी दीपक प्रधानको शब्द, सहन प्रधानको संगीत र रामचन्द्र काफ्लेको स्वरमा यो गीत आएको छ । यो गीत पक्कै पनि लोकमा आधारित छैन । तर, यसलाई समसामयिक बनाउन भरपूर प्रयास गरिकएको छ ।
असारे पानी, साउने झरी त्यो भदौरे भेल
ए सानी नानी मायामा पारी नगर न झेल
छुपुमा छपु धान है रोप्नू
हिलोमा खेल्दै धान है रोप्यौं
खेतको आली आली
मदेखि टाडा भागी नजाउ
लैजान्छु यसपाली
सोच – मुस्ताङ नेपाल
हिमाली पहिचान र युरोपेली एक्सपेरिमेन्टलबीचको पुलको काम गर्ने भनेर हालै मात्र यो नयाँ ब्यान्ड खोदिएको छ । सोच, उनीहरूको पहिलो गीत हो । जीवनले जतिसुकै कडा प्रहार गरे पनि, हामी अगाडि बढिरहनु पर्छ भन्ने कुराबाट सोच तयार भएको ब्यान्डको भनाइ छ । यो गीतमा तपाईंले रक विधाको मज्जा लिँदै मुस्ताङको झल्को दिने गरी भाइब्स पनि लिन सक्नुहुन्छ ।
नहुँदो रहेछ सोचे जस्तो केही
नहुँदो रहेछ भने जस्तै सबै
नहुँदो रहेछ संसार देखे झैं
नहुँदो रहेछ सही जति गरे पनि
सोचेको हुन्छु, भइदिन्छ अर्को
देखेको हुन्छ सपना, ब्युझन्छु विपनामा
यी बाहेक तपाईंले पवन गिरीको भारी, सज्जनराज वैद्यको जुनकिरी, असल ब्यायको सिकाइदेउ, आकाश खड्काको फर्किन्थे होला, लिल झोलाको बाजा लगायतका गीतहरू सुन्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4