+
+
Shares

टेलर स्विफ्ट र ट्राभिस केल्सेले न्यूयोर्कमा गरे विवाह

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १२:३६

पपस्टार टेलर स्विफ्ट र ट्राभिस केल्से अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । नेपाली समयानुसार शनिबार बिहान सम्पन्न वैवाहिक समारोहमा मोबाइल फोन प्रयोग गर्न नपाइने नीति रहेको बताइए पनि कार्यक्रममा सहभागी केही अतिथिले म्याडिसन स्क्वायर गार्डेनमा आयोजित निजी समारोहका विभिन्न विवरण सार्वजनिक गर्न थालेका छन् ।

स्विफ्ट र केल्सेले हालसम्म विवाहबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्, तर एएमसी थिएटरका सीइओ एडम एरन, गायिका मारेन मोरिस तथा गुड मर्निङ अमेरिकाका प्रस्तोता रोबिन रोबट्र्स, जर्ज स्टेफानोपुलोस र माइकल स्ट्राहानले समारोहमा देखेका अनुभव सार्वजनिक गरेका छन् ।

समारोहको सजावट कस्तो थियो ?

एरनले सामाजिक सञ्जाल एक्समा समारोहबारे विस्तृत विवरण लेखेपछि उक्त पोस्ट हटाएका थिए ।

उनले लेखेको अनुसार भुइँ, भित्ता र छत सबैलाई पीच र सेतो रङले सजाइएको थियो । टेलर र ट्राभिसको एक वर्षको उमेरदेखि किशोरावस्थासम्मका प्रत्येक वर्षका ठूला तस्वीर प्रदर्शनमा राखिएका थिए ।

उनले थपे, ‘म्याडिसन स्क्वायर गार्डेनको एउटा सानो भागलाई पूर्ण रूपमा छुट्याइएको थियो, जहाँ पहिले बास्केटबल वा हक्की खेल हुने स्थान थियो भन्ने कुनै अनुभूति नै थिएन । कसैले हरियालीले भरिएको ग्रामीण बगैंचाजस्तो वातावरण सिर्जना गरेको थियो । यसपटक हरियो र सेतो सजावट थियो । वास्तविक फूल र सम्भवतः कृत्रिम रूखले करिब ७५ वटा कुर्सी भएका १५ पङ्क्तिलाई स्वागत गरिरहेका थिए । करिब एक हजार अतिथि रहेको भनिए पनि समारोह आश्चर्यजनक रूपमा निकै आत्मीय र सानो महसुस भएको थियो । सबै कुरा निकै नजिक थियो ।’

आफ्नै वाचा साना पुस्तकबाट पढे

शनिबार प्रसारित गुड मर्निङ अमेरिका कार्यक्रममा जर्ज स्टेफानोपुलोस, रोबिन रोबट्र्स र माइकल स्ट्राहानले विवाह समारोहमा देखेका क्षणबारे चर्चा गर्दै स्विफ्ट र केल्सेले आफ्नै विवाह वाचा लेखेको र ती ‘साना पुस्तक’ बाट पढेको बताएका छन् ।

स्टेफानोपुलोसले समारोहलाई ‘म्याडिसन स्क्वायर गार्डेनमा सम्भव भएसम्मको सबैभन्दा आत्मीय विवाह’ भएको बताए ।

उनले भने, ‘गार्डेनभित्र अर्को एउटा बगैंचा बनाइएको थियो । सबै कुरा अत्यन्तै सुन्दर थियो । यति ठूलो स्थान र यति धेरै चर्चित व्यक्तिको उपस्थितिमा पनि विवाह यति व्यक्तिगत र आत्मीय महसुस हुनेछ भन्ने कल्पना गर्न गाह्रो थियो ।’

उनले एबीसी न्यूजलाई दिएको वक्तव्यमा विवाह वाचाबारे भने, ‘तपाईंले अपेक्षा गरेजस्तै सबै कुरा थियो । वास्तविक, संवेदनशील, गम्भीर र रमाइलो ।’

संगीत, भावना र विशेष प्रस्तुति

रोबिन रोबट्र्सले समारोहअघि सार्वजनिक भएका खबरअनुसार स्टिभी निक्सले प्रस्तुति दिएको पुष्टि गरिन् ।

उनका अनुसार, ‘यो कार्यक्रम वास्तवमै आत्मीय थियो र तपाईं आफैं उपस्थित हुने कुनै पनि सामान्य विवाह समारोहजस्तै महसुस हुन्थ्यो । त्यहाँ छिमेकीहरू र हाईस्कुलका साथीहरू पनि थिए ।’

माइकल स्ट्राहानले भने, ‘यो उनीहरूको सपनाको विवाह थियो र वास्तवमै अविस्मरणीय रह्यो । दुवैलाई बधाई ।’ गायिका मारेन मोरिसले इन्स्टाग्राममा विवाहमा सहभागीलाई उपलब्ध गराइएको एउटा रुमालको तस्बिर सार्वजनिक गरिन् ।

स्विफ्टकी फुपूले सुनाइन् समारोहका क्षण

बेलायती डिजिटल रेडियो स्टेशन ीद्यऋ ल्भधक ले शुक्रबार राति म्याडिसन स्क्वायर गार्डेनबाट बाहिरिँदै गरेकी स्विफ्टकी फुपू रोबिन जेन्ट्रीसँग छोटो कुराकानी गरेको थियो।

उनले विवाह समारोहबारे भनिन्, ‘उनीहरू रोए, हाँसे, नाचे, अँगालो हाले र चुम्बन गरे ।’

अन्य सार्वजनिक भएका विवरण

जर्ज स्टेफानोपुलोसका अनुसार, एडम स्यान्डलरले समारोह सञ्चालन मात्र गरेनन्, उनले स्विफ्ट र केल्सेको प्रेमकथामा आधारित मौलिक गीत पनि प्रस्तुत गरे, जुन हास्यपूर्ण र भावुक दुवै थियो । यो जानकारी स्रोतलाई उद्धृत गर्दै टीएमजेडले जनाएको हो ।

टीएमजेडका अनुसार, जेसन केल्सेका छोरीहरूले फ्लावर गर्लको भूमिका निर्वाह गर्दै स्विफ्ट गलैँचाबाट अघि बढ्दा फूलका पातहरू छरेका थिए । त्यसबेला स्विफ्टकै एउटा गीत स्ट्रिङ वाद्ययन्त्रमार्फत बजाइएको थियो ।

उक्त मिडिया स्रोतका अनुसार स्वागत समारोहको सजावट ‘एलिस इन द वन्डरल्यान्ड’ र ‘द विजर्ड अफ द ओट’बाट प्रेरित थियो । पिपुल पत्रिका स्रोतले भने समारोहस्थल फर्न र रूखले भरिएको जंगलजस्तै देखिएको र एरिनाका सिट सेतो कपडाले ढाकिएको बताएका छन् ।

पिपुलका अनुसार, स्टिभी निक्ससँगै पल म्याककाट्र्नीले पनि प्रस्तुति दिएका थिए । उनले द बिटल्सको चर्चित गीत ‘आई वान्ट टु होल्ड योर ह्यान्ड’ गाएका थिए ।

पिपुलले उद्धृत गरेको स्रोतका अनुसार, स्विफ्ट र ट्राभिस केल्सेले सुनौलो पुस्तकबाट आफ्ना विवाह वाचा पढ्न करिब २० मिनेट समय लगाएका थिए ।

टीएमजेडका अनुसार, स्वागत समारोहको भोजन ‘जिरो बन्ड’ बाट ल्याइएको थियो । पिपुलका अनुसार, इटालियन परिकार पनि उपलब्ध थिए र समारोहस्थलभर विभिन्न बारको व्यवस्था गरिएको थियो ।

बाहिरबाट देखिएका सजावटका झलक

म्याडिसन स्क्वायर गार्डेन बाहिर खटिएका सञ्चारकर्मीले शनिबार बिहान समारोहका सजावट सामग्री बाहिर निकालिँदै गरेको दृश्य पनि देखेका थिए ।

उनीहरूले देखेको सजावटमा क्रीम, डस्टी रोज र सेज हरियो रङको संयोजन प्रयोग गरिएको थियो । त्यहाँ कार्निभल र आर्केड खेलका सामग्री पनि देखिएका थिए । साथै, ‘जस्ट एन्ड टि म्यारिड’ लेखिएको नम्बर प्लेट भएको एउटा क्लासिक कार पनि देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?