News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको मौलिक संस्कृतिको अभिन्न अङ्ग मानिने असारे भाका कृषि प्रविधिमा आएको आधुनिकीकरण र नयाँ पुस्ताको अरुचिका कारण लोप हुने अवस्थामा पुगेको छ।
असार महिनाको एउटा मुख्य विशेषता वर्षा हो । वर्षाले यो महिनामा धेरै थोक लिएर आउँछ । त्यो मध्ये किसानहरूलाई खेतसम्म पुर्याउनु एउटा हो । मुरी फलाउनका लागि मानो रोप्ने समय हो यो । एक अर्थले किसानहरूको उत्सवको समय पनि हो ।
वर्षभरि खाने अन्नको उब्जाउनका लागि कडा परिश्रम गर्ने र परिश्रमसँगै रमाउने, खुसी साट्ने । यो महिनामा गाउँतिरका फाँटमा दिनहुँजसो कसै न कसैको खेतमा रोपाइँ चलिरहेको हुन्छ ।
हिलाम्मे गरामा गोरु जोत्दै गरेका हली, बाउसे गर्दै गरेका जवान र लस्करै धान रोप्दै गरेका रोपाहारहरूले एउटै लयमा असारे भाका हाल्दा त रोपाइँ उल्लासमा बन्छ ।
असारे भाकामार्फत उनीहरू खेतीपातीका कुरा गर्छन् । परदेशिएका प्रियतमको विरह, घर-व्यवहारको दुःख र प्रेमका ठट्यौलीहरू गाउँछन् । उस्तै परे समसामयिक विषय माथि पनि भाका लगाउँछन् ।
तर अचेल गाउँघरमा त्यस्तो रौनक सुनिँदैन । सबैको हातमा मोबाइल छ । इन्टरनेट छ । यसले गर्दा हाम्रा पुराना रैथाने धुनहरू हराउँदै गएका छन् । त्यसमा असारे भाका पनि पर्छ ।
पोखरामा बसेर लोक संगीतमा काम गरिरहेकी वरिष्ठ गायिका हरिदेवी कोइराला अचेल असारे गीत गाउने मान्छे भेट्नै मुस्किल हुने बताउँछन् । ‘अहिले रोपाइँका बेला खेतमा असारे गीत गाउँने मान्छे नै भेटिँदैन, कसैले यस्ता गीत रेकर्ड पनि गर्दैनन्’ कोइराला भन्छिन् ।

उनले भने जस्तै संख्यामा पनि असारे गीतको रेकर्डिङ कम छ । खेतमै गाउने प्रथा त करिब इतिहास भइसकेको अवस्था छ ।
पहिलेका असार महिनाको रौनक उनको स्मृतिमा ताजै छ । पहिले–पहिले असार महिना लाग्नु भनेको एउटा चाड समान हुन्थ्यो ।
घरमा आमाबुबाले पनि नयाँ चोलो, पछ्यौरा र पटुका किनेर दिन्थे । दुई महिनासम्म खेतमै समय बिताउनु पर्ने भएकाले त्यसो गरिएको उनी सुनाउँछिन् । अर्मपर्मको परम्परा थियो । छिमेकीहरूलाई ‘आज हाम्रो असार हो, खाजा खान आउनु’ भनेर निम्तो दिने र बाँडेर खाने गरिन्थ्यो।
त्यसैक्रममा उनले धेरै जनाबाट असारे भाका सुन्न पाएकी थिइन् । विशेषगरी सानो छँदा खेतमा खाजा लिएर जाँदा खेतालाहरूले गाउने मौलिक र मिठा असारे गीतहरू अहिले पनि उनको स्मृतिमा ताजै छ ।
तर, आजको समयमा यो कुरा करिब इतिहास भइसकेको उनको अनुभव छ ।
असारे गीत
लोक गीतको एउटा विशेषता के हो भने यो समय अनुसार गाइन्छ । पुस्तान्तरण हुँदै जान्छ । असारे गीत पनि एक प्रकारको लोक गीत हो । खेतीको कुरा गर्दै असार महिनामा गाइने भाकाहरू असारे गीत कहिन पुगे ।
एउटा दृष्टिकोणबाट असारे गीतहरू तत्कालीन समाजको मनोरञ्जनको श्रोत थियो । असार महिनामा किसानहरूलाई खाना, खाजा खाने समय निकाल्न पनि निकै मुस्किल पर्छ । थकान त्यस्तै हुन्छ । कामको बीचमा गाइने गीतहरूले ताजकी दिन्थ्यो तर, असारे गीत रमाइलोका लागि गाइने गीत होइन भन्ने यस क्षेत्रमा लागेकाहरूको मत छ ।

असारे गीत काम गर्दा धपेडी र थकान बिर्सिने माध्यम भएको उनीहरू सुनाउँछन् । पक्कै पनि, दिनभर पानीमा रुझ्दै, हिलोमा निहुरिएर धान रोप्नु सजिलो काम होइन । ढाड दुख्दा र खुट्टा गल्दा हालिने भाकाले पक्कै पनि काम गरेको पत्तै हुन दिँदैन ।
नेपालको भूगोल अनुसार असारे गीत गाउने शैली पनि फरक-फरक छ । पूर्वतिर गाइने लय र पश्चिमतिर गाइने लय मिल्दैन । पहाड र तराईंमा गाउने लय मिल्दैन । जात, भूगोल अनुसार पनि भाकामा फरक हुन्छ ।
असारे भाकाका गीत गाउने शिव नारायण जोशी अहिले ७७ वर्ष पुगे । उनका अनुसार कतैकतै असारे गीतलाई ‘रसिया’ भनिन्छ भने कतै ‘हाकपारी’ भनिन्छ । तराईतिर र केही पहाडी जिल्लामा यसलाई ‘सवाई’ र ‘प्रेम लहरी’ पनि भनिन्छ । ‘रसिया गीतको सम्बन्ध भने पौराणिक कृष्णलीलासँग जोडिन्छ। कृष्णको विरहमा गोपिनीहरूले गाएको भाका पछि परिमार्जन भएर रसिया बनेको मानिन्छ’ उनी भन्छन् ।

कतिपयलाई घाँसे गीत र असारे गीत एउटै लाग्ने भएकाले उनले आधारभूत भिन्नता सुनाए । त्यस्तै उनले घाँस काट्दा गाइने घाँसे गीत र धान रोप्दा गाइने असारे गीत हो । घाँसे गीत बाह्रै महिना गाइने र यसको कुनै निश्चित ताल नहुने तर असारे गीत भने रोपाईँको एउटा निश्चित गति र तालमा बाँधिएको हुने उनको भनाइ छ ।
उनका अनुसार असारे गीत गाउँदा ‘होहरी, हो’ जस्ता शब्दहरू धेरै प्रयोग गरिन्छ । हिलो सम्याउँदा र बीउ रोप्दा यी शब्दले काम गर्नेहरूलाई छुट्टै जाँगर दिने उनको भनाइ छ ।
यसका साथै दोहोरी शैलीको हुने भएकाले असारे गीत रसिक पनि हुने सुनाउँछन् । बाउसेले हिलो सम्याउँदै गीतको टुक्का झिक्ने र रोपाहारहरूले त्यसको जवाफ फर्काउने गर्छन् । यसरी खेतमै गीतको जुहारी पनि चल्ने उनको भनाइ छ ।
उनी उदाहरण सुनाउँछन्-
बाबा र जी को गैरी खेतमा पानी झैँ टल्कने
असारको रोपा हो देख्दा खेरी मन मेरो कल्पने
किन हराउँदै छ असारे भाका ?
तर, यति सुन्दर भाका कृषिमा आएको आधुनिकरण, प्रविधिको सर्वसुलभता, शहरीकरण जस्ता कारणले हराउन थालेको छ । शिव नारायणका अनुसार असारे भाका हराउनु वा यसको मौलिकता मासिँदै जानुका विविध कारण छन् ।
त्यसमा उनी असारे गीत गाउने पुराना मान्छेहरूको अभाव हुनु र नयाँ पुस्ता यस क्षेत्रमा नआउनुलाई प्रमुख कारण मान्छन् । नवपुस्तामा यो भाका सिक्ने र यसलाई निरन्तरता दिने चासो नहुनु अझ नराम्रो कुरा भएको उनको भनाइ छ ।
‘अहिलेका धेरैजसो गीतहरू पैसा कमाउने धन्दामा मात्र सीमित भएका छन्’ जोशी भन्छन्, ‘बजारमा आएता पनि तिनमा मौलिकता र रसिलोपनको अभाव छ ।’
त्यसमा असारे भाकाका वास्तविक ज्ञाता र बुढापाकाहरूको मृत्यु ठूलो क्षति भएको उनको बुझाइ । यसले गर्दा मौलिक शैली पनि हराउने निश्चित भएको उनी सुनाउँछन् ।
त्यस्तै हरिदेवी असारे भाका भाका हराउनुलाई दुर्भाग्य नै मान्छिन् । गाउँवस्तीहरू उजाड हुनु र खेतीपाती गर्ने चलन कम हुँदै जानुलाई उनी उसको प्रमुख कारण मान्छिन् ।
‘पहिले खेती हुने ठाउँहरूमा अहिले घरहरू भरिएका छन् । रोपाईँ पनि पहिले जस्तो हुन छाडेको छ । यसो हुनुलै नै गीतहरूको सान्दर्भिकता घट्दै गएको छ’ उनी भन्छन् ।

यसका साथै सञ्चार माध्यमको पहुँच सरल र व्यापक भएपछि अन्य गीतहरूले बढी प्राथमिकता पाउँदा असारे गीतहरू स्वत: कमजोर बन्न पुगेको उनको विश्लेषण छ । त्यसमा कुन मौसममा कस्तो गीत गाउने भन्ने अनुशासन हराउनुलाई पनि कारण मान्छिन् ।
यसरी खेतीसँग जोडिएको असारे गीत खेती नै नहुने भएपछि अथवा भएता पनि नवीन शैली भित्रिए पछि पक्कै हराउने भयो । तर, यसको संरक्षण गर्ने अथवा नवपुस्तालाई प्रोस्ताहित गर्ने काम पनि त्यति धेरै भएको देखिँदैन ।
जोगाउने चुनौती
असारे गीत हाम्रो पहिचान हो । त्यसमाथि नेपाल कृषिप्रधान हुँदा यसको महत्त्व छुट्टै छ । असारे गीतलाई काम गर्दा गाइने भएकाले कर्म अथवा श्रम गीत पनि भन्न उचित हुने हिरादेवी कोइराला बताउँछिन् । उनी यी गीतहरूलाई हाम्रो मौलिकपन र हाम्रो बहुमूल्य सम्पत्तिको रूपमा लिन्छिन् । तर, यसलाई जोगाएर राख्न नसक्दा भोलि यो हराएर जाने ठूलो डर छ ।
यसको स्वर-लिपि कतै लेखेर राखिएको छैन । व्यक्तिगत रूपमा केही कलाकारहरू आफैंले संरक्षण, अभिलेखनको काम गरेका छन् । हरिदेवीले आफूले गाएका गीतहरूको सङ्कलन गर्नुका साथै उनले किताब नै निकालेकी छिन् । राज्यस्तरबाट भने यसमा काम भएको पाइँदैन ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्ले प्रतिष्ठानमा असारे भाका संरक्षणको काम भएको आफूलाई जानकारी नभएको सुनाउँछन् । उनका अनुसार केही वर्षअघि लोक भाका सम्बन्धी कार्यक्रम भने भएको थियो । तर, असारे भाकालाई नै केन्द्रमा राखेर कुनै काम भएको छैन।

यो परिस्थिति देखेर पुराना कलाकारहरू चिन्ता व्यक्त गर्छन् ।
‘अबको १० वर्षपछिको पुस्ताले यो गीत गाउन जान्दैनन् । त्यसैले यसलाई रेकर्ड गरेर र लेखेर राख्नुपर्छ’ हरिदेवी सुनाउँछिन् । यसका स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । यदि सरकारले कलाकारहरूलाई असारे भाका सङ्कलन/रेकर्डिङ गर्न आर्थिक पाटोमा केही सहयोग गरे सकारात्मक नतिजा आउने उनको विश्वास छ ।
तर, यदि समयमै आफ्नै माटोको गीत जोगाउन सकेनौँ भने भोलि असारे गीत किताबमा मात्र सीमित हुने यस भाकामा काम गरेका उनै हिरादेवी, शिव नारायणहरू बताउँछन् ।
प्रतिक्रिया 4