हतकडी (डायमण्ड) : भिटेन
युवापुस्तामाँझ रुचाइएका र्यापर हुन्, भिटेन । आफ्नो र्यापमा उनी जस्तो प्रकारको विषय, शब्द र शैली प्रयोग गर्छन्, त्यही नै उनको शक्ति र गल्ती हुँदै आइरहेको छ । विगत ९ वर्षदेखि उनी निरन्तर जसो नयाँ–नयाँ र्याप लिएर आइरहेका छन् । नयाँ र्यापमा भिटेन त्यति आक्रमक सुनिएका छैनन् । उनका प्रशंसकका लागि यो राम्रो/नराम्रो दुवै हो । बरू यो र्यापमार्फत उनले जीवन दर्शनका केही कुरा भन्न खोजेका छन् ।
उनले यो र्यापलाई ‘अँध्यारो संघर्षदेखि उज्याला दिनहरूसम्मको यात्रा’ भनेका छन् । जीवनको चरम निराशा र कठिन मोड भोग्ने प्रत्येक व्यक्तिले यसमा आफ्नोपन पाउन सक्ने भनेका छन् ।
जीवनका गह्रौँ साङ्ला र दुःखहरूलाई एक चम्किलो हिरामा बदल्न सिकाउने भनेका छन् । यो गीतमा भिटेनले अन्य र्यापहरूमा झैं साथीसङ्गती, लागुऔषध, पश्चाताप लगायतका विषयवस्तु उठान गरेका छन् ।
को मान्छे को पराई
सबै मेरो हो
जे कुरा थिएन मेरो, त्यो नै आज मेरै भो
समस्या धेरै, तर छैन दु:ख देखेको
हुन्छु म रिल्याक्स
अरू त्यस्तै हो
दुनियाँ फोहोर
मलाई चोर भन्ने धेरै भो…
म त हारेँ, नसाले
खुसी मैले चाहेँ
सक्दो खुसी बाँडे
म त हारेँ, नसाले…
काग दाजै : दी फिरन्ते
दि फिरन्ते आफ्नो फरक खालको संगीतका लागि चर्चामा रहँदै आएको ब्यान्ड हो । यो ब्यान्डले आफ्नो गीत र त्यसमार्फत दिने सन्देशमा सधैं प्रयोग गर्दै आइरहेको छ । यस पटक पनि यो ब्यान्डले बाल गीत ‘काग दाजै’लाई रेन्डरिङ गर्दै आफ्नोपन थपेको छ । यो गीतमार्फत ब्यान्डले स्वेदेश छाडेर विदेशिएकाहरूलाई देश फर्कन विनम्र अनुरोध गरेको छ । फन्क, फोल्क, इलेक्ट्रोनिकको पूरापुर भाइब्स भएको यो गीत पछिल्लो समय आइरहेकामध्ये फरक देखिन सफल छ ।
काग दाजै काग दाजै खबर पुर्याइदेऊ
दाजु र दिदीलाई घर फर्काइदेऊ
बुढाबुढी बाबुआमा बाटो हेर्दै छन्
केटा केटी यता उता खै के गर्दैछन्
छैन केही रङ रस शून्य भयो गाउँ
खाई खेलेको भाइ झेलेको फर्क आफ्नै ठाउँ
काग दाजै काग दाजै खबर पुर्याइदेऊ
दाजु र दिदीलाई घर फर्काइदेऊ
फर्क हे फर्क अब घर फर्क …
हक्कु व चाकु : जेम्स प्रधान
नेवारी भाषामा अनेकन् शैलीका गीत आएका छन् । त्यसमा जेम्स प्रधान उम्दा भएर निस्के । उनले नेवारी भाषाको र्याप निकालेका छन् । यो गीतभर उनले नेवारी भाषामा र्याप हान्छन् । गैरभाषीहरूलाई भाषा बुझ्न गाह्रो हुन्छ । तर, यो गीतमार्फत उनले जुन शक्ति प्रवाह गर्न कोसिस गरेका छन्, त्यो भने महुसस गर्न सकिन्छ ।
गीतको म्युजिक पनि मिश्रित छ । कहिले नेवारी बाजा र कहिले ड्रम र गीतार । यसरी जेम्सले आफ्नो रैथाने बाजा र पश्चिमा बाजाशैलीलाई राम्ररी ब्लेन्ड गर्न सकेका छन् । फरक अनुभवका लागि तपाईंले यो गीतलाई आफ्नो प्ले लिस्टमा राख्न सक्नुहुन्छ । म्युजिक भिडियो पनि यसको हेर्न लायक नै छ ।
ए हाकु, तँलाई भेट्नलाई कस्तो गाह्रो, ए हाकु
ए हाकु, तँसँग गाँथ लिन कति गाह्रो, ए हाकु
हिरो : बसन
हिरो अर्थात् नायक । जब कोही कसैको नायक बन्न सक्दैन, उसमा कस्तो भावना आउँछ । ऊ के गर्छ ? के ठान्छ ? के सोच्छ ? यी भावनाहरू नै बसनको नयाँ गीत ‘हिरो’को मुख्यविषयवस्तु हुन् । पूरा गीतभर बसनले त्यो पश्चाताप, ग्लानी र पीडालाई एकत्रित गर्न सफल भएका छन् ।
असमर्थता, विवशता र आत्म-ग्लानीको विषयमाथि बनेको यो उत्कृष्ट गीत हो । रक, सोल मुख्य विधा भएको यो गीतले अवश्य पनि एउटा भावमा राखिराख्न सक्छ ।
तिम्ले चाहेको त्यो अन्तिम समयमा
चाहेर पनि आउन सकिनँ
तिम्ले सम्झेका घडीहरूमा
समयसँग म चल्न सकिनँ
तिम्ले हारेको अधुरो जिन्दगीमा
सँगसँगै दौडी जित्न सकिनँ
तिम्ले दिएका अर्थहरूमा
रंगिएर रङ बन्न सकिनँ
बन्न सकिनँ तिम्रो हिरो…
माया बसेछ : आदेश पोखरेल
यदि तपाईंले आदेशको ’साइली’ सुन्नुभएको छ भने यो पङ्क्तिबाटै सुन्नलाई विनम्र अनुरोध छ । त्यो गीतमा उनले आफ्नो गायकी प्रमाणित गरेका छन् । तर, त्यो गीत आएको लामो समयसम्म आदेशले कुनै सिर्जना लिएर आएनन् ।
तर, अब त्यो प्रतीक्षाको घडि सकिएको छ । उनले हामीलाई सर्प्राइज्ड गिफ्ट दिएका छन्- माया बसेछ । यो रोमान्टिक गीत छ । कसैलाई मन पराइसकेपछि उसको मनोभाव कस्तो हुन्छ ? उसले के-कस्तो योजना बुन्छ ? के विनय गर्छ ? जस्ता भावहरू गीतभर प्रष्ट पाइन्छ । झ्याउरे शैलीको यो गीत पक्कै पनि तपाईंको प्लेलिस्टलाई रिफ्रेसिङ बनाउने नयाँ नम्बर बन्न सक्छ ।
अब नजाऊ पर
आऊ वर वर
तिम्रो बानी बसेछ
हिजो अस्ति जस्तो म त छैन त्यस्तो
लौन माया बसेछ
लौन माया बसेछ
रहरसँगै जोडौंला घरबार
थामी हात गरिदिनु भर
जन्मौं उस्तै, प्रिती गाँसौला
बसिदिनू मेरै वरपर….
सम्झना : रञ्जित श्रेष्ठ
उनी नेपाली संगीतका लागि नयाँ नै हुन् । केही गीत यसअघि निकाले पनि ती त्यति धेरै श्रोतासामु पुग्न सकेको थिएन । यो पटक रञ्जितले म्युजिक भिडियोसहित नयाँ गीत लिएर आएका छन् । उनको यो गीतले असफल प्रेमको पीडालाई गाउँछ । जहाँ आफूले माया गरेको मान्छे छैन । अंगालो खाली छ । छ त मात्र पीडा । रक, फन्क शैली यो गीतमा केही लाउड सुनिँदैन । मेलोडियस छ गीतको लय । केही ठाउँमा गितारको रिफ पनि असाध्यै मिठो सुनिन्छ ।
मेरो माया होइन
तिमी मेरो होइन
सजाय भोग्नै पर्ने मायाको
जून तारा साक्षी थ्यो तिम्रो मेरो
तिम्रो सम्झनामा कति तड्पुँ भन
तिमी छैनौ अंगालोमा
दुख्छ मन तिम्रो सम्झनामा
कति तड्पुँ भन…
तुन्ना बेल थापाको ‘आखिर के का लागि’ (रअ भर्सन), अनिल गुरुङको ‘साथी अनस्पोकन लभ’, जिजिविषाको ‘कहल’ (सुकुल सिजन), बाकेमोनो गुरुङ (सागर टी प्रोडक्सन)को ‘तकसेरा’ (अफिसियल लिरिकल भिडियो), एड्रिन प्रधानको ‘तिम्रो मेरो सम्बन्ध’ (नयाँ भर्सन), सुस्किको ‘इम्पोस्टर सिन्ड्रोम’ एल्बम लगायतका गीतहरू समेत आफ्नो प्लेलिस्टलाई राख्न सक्नुहुन्छ ।
(फ्राइडे प्लेलिस्ट अनलाइन खबरको साप्ताहिक श्रङ्खला हो । यसमा पछिल्ला साताहरूमा रिलिज भएका नयाँ गीतको चर्चा गरिन्छ । कलाकारहरूबारे जानकारी दिइन्छ । ती गीतलाई तपाईंले आफ्नो प्लेलिस्टमा राख्न सक्नुहुन्छ । यो श्रङ्खला सम्पूर्ण श्रोतामा सम्पर्पित छ ।)
प्रतिक्रिया 4