
News Summary
Generated by OK AI. Editorially reviewed.- आशिष गुरुङले ‘दर्हा कर्हा’ एल्बम र अंग्रेजी गीतहरू निकालेका छन्, तर कम सुनिएका छन्।
- बसन श्रेष्ठ र बसन्त चण्डले नयाँ गीतहरू सार्वजनिक गरेका छन्, तर लोकप्रियता फरक छ।
- सुसन थाम्सुहाङ र सौगात शर्मा जस्ता कलाकारहरूले पाश्चात्य र अनौठो शैलीमा गीत प्रस्तुत गरेका छन्।
आजकल गीत होइन, म्युजिक भिडिओ बनाउने, त्यसमा आएको भ्युज गन्ने दौड छ । अनि तीमध्ये जुनलाई बढी हेरिन्छ, तिनकै सर्जकलाई गन्ने/मान्ने मानिन्छ । यसका अलावामा एफएम, रेडियोदेखि युट्युब, टिकटक, इन्स्टासम्म केही गीतहरू लगातार बजिरहन्छन् । यी सबै हेर्दा लाग्छ-नेपाली संगीत त उनीहरूको मात्रै हो ।
तर यस तहभन्दा तल त्यस्ता धेरै स्वरहरू हुन्छन्, जो संगीतको साधनामा लिप्त हुन्छन् । ती सुन्न लायक हुन्छन् । ती आफैँमा जादुयी हुन्छन् । अनि धेरै परसम्म पुग्ने तागत पनि हुन्छन् । तर ‘लाइक र भ्युज’को संसारमा तिनीहरू ओझेलमा परिरहेका हुन्छन् ।
आशिष गुरुङ
धेरै गीत निकालेर कम सुनिएका गायकमा आशिष गुरुङ पनि पर्छन् । उनले ‘दर्हा कर्हा’ (२०२४) नामको एल्बम र केही एकल गीतहरू निकालेका छन् । उनका गीमा हामी इन्डी र पप शैली सुन्न सक्छौँ । उनले नेपालीबाहेक अङ्ग्रेजी भाषामा समेत गीत आएका छन् । ‘दिस इजन्ट लभ’, ‘एन्ड अफ मी’, ‘इन माइ लाइफ’ केही टाइटल हुन् ।
नेपाली भाषामा भने ‘इच्छ्या’, ‘अन्त छैन’, ‘डाँडा काँडा’ लगायतका उनका गीत बढी सुनिएको छ ।
बसन
पुरा नाम बसन श्रेष्ठ । स्ट्रिमिङ प्लेटफर्ममा बसन । सफ्ट रक, पप, इन्डी शैलीका गीत सुन्न रुचाउनेहरूलाई उनको गायन जादुयी लाग्न सक्छ । अहिलेसम्म उनले दर्जन जति गीत सार्वजनिक गरिसकेका छन् । ती मध्ये युट्युबमा भने ‘मेरो गीत’, ‘माया जादु’ जस्ता गीतले बढी भ्युज पाएका छन् । तर उनका सबै गीतहरू सुन्नलाई नयाँ र फरक छन् ।
बसन्त चन्द
महेन्द्रनगरका बसन्त चन्द नेपाली संगीतको आकाशमा झुल्किँदै गरेका नयाँ तारा हुन् । युट्युबमा दुई महिनाअघि मात्र आएका उनले हालसम्म दुईवटा मात्र गीत सार्वजनिक गरेका छन् । तर विभिन्न स्थानहरूमा उनले सांगितिक प्रस्तुति भने दिँदै आइरहेका छन् । रक विधा मन पराउनेका लागि अहिलेसम्म सार्वजनिक भएका उनका ‘दिन जब’ र ‘एकोहोरिए’ मन नपर्ने भन्ने सायद हुँदैन ।
बृहत पहारी
काठमाडौंका बृहत पहारीले अहिलेसम्म एउटा मात्र ईपी ‘एक क्षणमा’ निकालेका छन् । यसमा ६ वटा गीत संलग्न छन् । पहारीका ती गीतमा रक, फोक, इलेक्ट्रोनिकजस्ता शैलीहरूको प्रभाव सुन्न सकिन्छ । हालसम्म उनले निकालेका गीतहरू मध्ये ‘आगो’, ‘बिहीबार’ बढी सुनिएका छन् ।
मनिष अधिकारी
संगीतको साधनामा लागिरहेका मनिष अधिकारी धेरै माझ सुनिन सकेका छैनन् । अहिलेसम्म उनले १६ बढी गीत रिलिज गरिसकेका छन् । ती सेन्टिमेन्टलदेखि जोल्ली भाइब्सका छन् । ती मध्ये पनि ‘कालो रात’, ‘कतै टाढा’, ‘ल्याङ ल्याङ जिन्दगी’ जस्ता गीत बढी सुनिएका छन् ।
सान्चो गुरुङ
अहिलेसम्म उनले ‘हराउँदै जाग्दै’ (२०२२), ‘आवाज आयो’ (२०२३) र ‘यादहरू’ (२०२४) गरी तीन वटा एल्बम निकालिसकेका छन् । यसबाहेक केही एकल गीत पनि निकालेका छन् । तर उनका गीतले त्यति धेरै श्रोता पाउन सकेको छैन । शैलीको कुरा गर्दा उनका गीतमा रक, पप, पन्क, इलेक्ट्रिक सबै अटाएका छन् । ‘हराउँदै’, ‘आवाज आयो’, ‘सुनसान सम्झना’ केही उनका चलेका गीत हुन् ।
सुसन
फिदिम, पाँचथरका सुसन थाम्सुहाङले आफूलाई सांगितिक संसारमा सुसन मात्र नामले चिनाउँदै छन् । उनको यहीँ नामको युट्युब च्यानल पनि छ । जसमा उनले रअ र स्टुडिओ भर्सनका आफ्नो ओरिजिनल कम्पोजिसन राखेका छन् । हालै भने उनले आफ्नो ब्यान्डसँग पनि काम गर्न थालेका छन् । ‘बोलन प्रकृतिसँग’ उनले ब्यान्डमार्फत निकालेको गीत हो । यो बाहेक ‘लुकेका भावना’, ‘फेरि’ बढी सुनिएको उनको गीत हो ।
सिम्मा राई
सन् २०१४ बाट नेपाली गीत-संगीतमा डेब्यु गरेकी सिम्मा राई कम्प्युटर इञ्जिनियरिङको करिअर छाडेर संगीत आएकी हुन् । नेपाली लोकब्यान्ड ‘नाइट’सँग जोडिएर विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत उनले प्रस्तुति दिइसकेकी छिन् । अहिलेसम्म निस्केका मध्ये ‘उड तिमी’, ‘माया फेरि, ‘सम्बन्ध’ जस्ता गीत बढी सुनिएका छन् । यी बाहेक उनले आफ्नो युट्युब च्यानलमा अन्य गीतको कभर पनि राखेकी छिन् ।
शौर्य बास्तोला
बास्तोलाले अहिलेसम्म नेपाली भाषाका जम्मा दुईवटा गीत सार्वजनिक गरेका छन् । ‘बतासिँदै’, ‘आँखामा’ बोलका ती गीत नेपाली बजारमा चलेका धारभन्दा बिल्कुल भिन्न छन् । बेलायतमा लामो समय बसेका उनमा पाश्चात्य संगीतको गहिरो छाप छ । यहीँ शिल्पलाई नै उनले नेपाली गीत बनाउन प्रयोग गरेका छन् । जसले गर्दा उनको गीत संगीत पारखीका लागि फरक स्वाद बनेको छ । आफ्नै नामको युट्युब च्यानलमा उनले अङ्ग्रेजी भाषाका ओरिजिनल गीत पनि राखेका छन् ।
सौगात शर्मा
उनले आफूलाई सुगत (suuugat) भनेर चिनाउन रुचाउँछन् । यही नामबाट युट्युब, स्पोटिफाई, एप्पल म्युजिक जस्ता स्ट्रिमिङ प्लेटफर्ममा उनले गीत निकालेका छन् । विशेष गरी उनका रअ भर्सनका गीतहरू बढी सुनिएका छन् । उनका गीतहरूमा इन्डी, अल्टरनेटिभ रकको स्वाद पाउन सकिन्छ । ‘कति सुहाएको’, ‘प्रश्न’, ‘निद्रा रानी’ जस्ता गीतहरू उनका केही हिट नम्बर हुन् ।
प्रतिक्रिया 4