+
+
Shares
नाटक :

प्रेमको राजनीति अर्थ्याउने जोलिन

प्रेम पाउनका लागि आफैंलाई मारेर अर्कै व्यक्ति बन्न खोज्नु मानवीय संवेदनाको सबैभन्दा ठूलो त्रासदी हो ।

सापेक्ष सापेक्ष
२०८३ साउन १४ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक ऋषभले नाटकमा प्रेमलाई एक प्रकारको राजनीति र व्यक्तिको स्व पहिचानमा आउने सङ्कटका रूपमा चित्रण गरेका छन्।

… ही केम फ्रम द सनसेट
ही केम फ्रम द सी
ही केम फ्रम माइ सोरो
एन्ड क्यान लभ वन्ली मी…

मञ्चमा यताउता डुल्दै बोनी बिचरको यो गीत (कम वान्डर विथ मी) जोलिनले गाउँछिन् । गीत गाइरहँदा उनि जति उन्मुक्त देखिन्थिन्; गीत गाइसकेपछि त्यस्ती रहँदिनन् । उनी यस गीतमा भेटिने दुःख र शोकसहितको आत्मीय प्रेमको कथा जस्तो देखिन्छिन् ।  र, यो कुरा नै यस नाटकको खासियत बनेको छ ।

नाटक हो, कौसी थिएटरमा मञ्चरत जोलिन । विशुद्ध प्रेम विषयमा आधारित रहेर बनाइएको यो नाटकमा प्रेमको आयामिक पक्ष देखाउन खोजिएको छ । त्यस्तो आयाम जुन हर कसैले सायदै चाहन्छ । त्यस्तो आयाम जुन हर कसैले सायदै चाहँदैन । यही विरोधाभाषहरू नै जोलिन मा देखिन्छ ।

नाटकको केन्द्रमा मीरा, माधव र जोलिन छन् । मीरा गृहिणी हुन्छिन् । उनको अस्तित्व श्रीमान् माधवसँग जोडिएको छ । उनी माधवबाट माया पाउन अथवा ध्यान पाउन अनेक गरिरहन्छिन् । आफैंलाई चोट दिन पनि तयार हुन्छिन् । 

अर्कोतिर माधवमा मीराप्रति त्यति लगाब हुँदैन, जति जोलिनप्रति छ । जोलिन घरबाहिर माधवले सम्बन्ध राखिरहेकी पात्र हुन् । सबै अर्थबाट माधव जोलिनसँग अधिक लगाबमा देखिएका छन् । यो उनको रहस्य पनि हो । जसलाई उनले मीराबाट लुकाउन हरसम्भव कोसिस गरिरहेका हुन्छन् ।

व्यापारको सिलसिलामा सधैं घर बाहिर नै हुने श्रीमानले अर्कैसँग सम्बन्ध राखिरहेको छ भन्ने कुरा मीरालाई पत्तो हुँदैन । तर, चाँडै नै उनले सत्य थाहा पाउँछिन् । त्यो दिनदेखि उनीहरू जीवनमा अँध्यारो र डरलाग्दो मोड आउँछ । र, कथा अघि बढ्दै जान्छ ।

यस नाटक प्राविधिक रुपमा पनि धेरै अर्थबाट अब्बल बन्न गएको छ । तिनको चर्चा गर्नुअघि केही वैचारिक कुरा गरौं।

नाटकको सबैभन्दा बलियो पक्ष अवधारणा हो, मायाको झ्यालखाना । सामान्यतया प्रेमलाई मुक्ति वा आश्रयका रूपमा हेरिन्छ । तर यहाँ पात्रहरू स्वेच्छाले मायाको झ्यालखानामा थुनिन्छन् । जुन कुरा उनीहरूलाई पत्तो हुँदैन । बाहिरबाट हेर्नेले मात्र त्यो बन्धन देख्न सक्छ । माधव र मीरा दुवै जोलिनको स्मृतिको झ्यालखानामा यसरी कैद हुन्छन् कि उनीहरूका लागि बाहिरी संसारको अस्तित्व नै समाप्त भएको छ । 

अर्कोतर्फ यो नाटकले पहिचानको सङ्कटलाई निकै निर्मम ढङ्गले उठाएको छ । मीराको आफ्नो कुनै स्वतन्त्र अस्तित्व छैन; उनको पहिचान माधवससँग अविभाज्य छ । जब माधवको प्रेम जोलिनतर्फ मोडिन्छ, मीराले माधवको प्रेम पाउनका लागि आफ्नै मौलिकतालाई मार्दै जोलिनको स्वरूप धारण गर्ने प्रयास गर्छिन् । आफ्नै अस्तित्व मेटाउने यो प्रक्रिया प्रेमको एउटा यस्तो एक्सट्रिम रूप हो, जहाँ व्यक्ति अर्को बन्ने होडमा आफ्नो वास्तविक स्व को हत्या गर्न पुग्छ । मीराले गर्ने दोस्रो मर्डर अरु कसैको नभई आफ्नै पहिचानको मर्डर हो । 

तर, निर्देशकले यो पहिचानको सङ्कट अथवा हत्याको कारणलाई भने थप पुष्टाइँ गर्न सकेका छैनन् । उनको उद्देश्य नतिजा देखाउनु मात्र रहेकाले सायद कारणमा चुकेका हुन सक्छन् । किन माधव मीरालाई छाडेर जोलिनप्रति आकर्षिक भएका छन् ? मीरामा के खोट छ ? जोलिनमा त्यस्तो खास के छ ?  कारण नाटकमा खुल्दैन । पात्रहरूको आधारमा हामीले केही अनुमान गर्न सक्छौं । 

जस्तो; जब जोलिन र मीरा एकआपसमा भेटिन्छन्; त्यसबेला लाग्छ – मीरा गाउँले सोझी र जोलिन आधुनिक हुन् । के माधव आधुनिकताले आकर्षिक भएको हो ? यसको जवाफ भेटिँदैन । 

धेरै प्रश्न मञ्चमै छुटछन् – के मीराको प्रेम अपुग थियो र माधवलाई ? माधवले जोलिन खोज्नुमा के शारीरिक सुख कारण हो ? कोही कसैलाई यति धेरै किन चाहन्छ ? कोही कसैलाई प्रेम नै किन गर्न चाहन्छ ? 

अर्को, हामी भन्न सक्छौं – जब प्रेमबाहेक अर्को व्यक्तिको अरु कुनै उद्देश्य हुँदैन । त्यस्तोमा सारा कुरा मिहिन बनाएर कोही प्रेमलाई सफल बनाउन लागि परिरहन्छ । के यो कुरा माधव, मीरा र जोलिन सबैमा लागू भएको हो ? यसको पनि नाटकमा ठोस जवाफ मिल्दैन । 

सारा कुरालाई पन्छाएर प्रेमको पिछा गर्दा के नतिजा हुन्छ ? नाटकले त्यो मात्र देखाउँछ । 

नाटकबारे कुरा गरिरहँदा निर्देशक ऋषभले रोचक कुरा सुनाए । उनको परिभाषामा प्रेम एउटा राजनीति हो । र उनले यही कुरा नाटकमा देखाउन खोजेका हुन् । यो अर्थमा भने उनी पूर्ण सफल छन् । हामीले नाटकभर प्रेमको राजनीति देख्छौं ।

राजनीतिमा शक्तिको ठूलो मूल्य हुन्छ । सम्बन्धमा पनि सम्बन्धित पक्षहरूसँग शक्ति हुन्छ । त्यो शक्ति सन्तुलन कसरी एकबाट अर्कोमा सर्छ ? अथवा कसरी सन्तुलनमा रहिरहन्छ भन्ने मात्र हो । यही कुरा यो नाटकको मूल विषय बन्न गएको छ । किनकि नाटकमा कहिले माधव शक्तिशाली देखिन्छन् त कहिले जोलिनको अभावमा कमजोर बन्छन् त कहिले मीरा । यसरी कसले कसलाई बढी नियन्त्रण गर्ने र कसको प्रेम पाउन कुन हदसम्म आफूलाई रूपान्तरण गर्ने भन्ने दाउपेच नै यस नाटकको मेरुदण्ड बन्न गएको छ।

खैर, नाटकको अर्को महत्वपूर्ण पक्ष पात्रहरूलाई जज नगर्नु हो । नाटकले सही र गलतको परम्परागत नैतिक कसीलाई चुनौती दिएको छ । नाटक हेरिसक्दा हामीलाई लाग्दैन यो पात्र चाहिँ ठीक, यो पात्र गलत !

निर्देशक ऋषभले भनेका थिए– उनको उद्देश्य पात्रहरूलाई अपराधी वा पीडित करार गर्नु होइन, बरु त्यो मान्छे किन त्यस्तो भयो ? भन्ने कुराको गहिराइमा पुग्नु हो । र, यो अर्थमा पनि निर्देशक सफल साबित हुन गएका छन् ।

नाटकले अर्को आधारभूत प्रश्न गर्छ – कति प्रेम गर्नुलाई धेरै प्रेम गर्नु मानिन्छ ? 

यो प्रश्नले हाम्रो सामान्य जीवनका स-साना र निर्दोष लाग्ने त्यागहरूलाई कठघरामा उभाउँछ । हामी कसैको प्रेम पाउन वा कसैलाई खुसी पार्न अक्सर आफ्ना रुचिहरू बदल्छौं । जस्तै; कसैलाई मन पर्ने पर्फ्यूम लगाउनु, कसैका लागि फुटबल वा ब्याडमिन्टनमा रुचि देखाउनु वा अर्को व्यक्तिलाई मन पर्ने लुगा र चस्मा रोज्नु  । तर, जब यी स-साना सम्झौताहरूलाई एक्सट्रिम तहमा पुर्‍याइन्छ, तब त्यसले कस्तो भयावह रूप लिन्छ भन्ने कुरा जोलिनले मीराको पात्रमार्फत देखाउँछ ।

भनिहालुँ – प्रेम पाउनका लागि आफैंलाई मारेर अर्कै व्यक्ति बन्न खोज्नु मानवीय संवेदनाको सबैभन्दा ठूलो त्रासदी हो । यसो गर्दा एउटा व्यक्ति अर्को व्यक्तिको स्मृतिको प्रतिलिपि बन्न पुग्छ । दु:ख त यहाँ छ कि यो प्रेमको आधारभूत सर्त हो ।

यसो हुनाले जोलिन कतिपय दर्शकका लागि आफ्नै जीवनको ऐना बन्न सक्छ । निर्देशकले उनीहरूका लागि प्रश्न छाडिदिएका छन् – के म पनि मीरा वा माधव जस्तै कसैको प्रेम वा स्मृतिको झ्यालखानामा कैद त छैन ? 

नाटकमा माधव जोलिनको स्मृतिको कोठामा कैद छन् भने मीरा ईर्ष्या, तुलना र माधवकै प्रेमको झ्यालखानामा थुनिएकी छिन् । र, यो विवाहइतर सम्बन्धको समस्या देखाउने नाटक पनि हो ।

प्राविधिक पाटो

वैचारिकीमा जति अब्बल भयो यो नाटक, प्राविधिक अर्थबाट पनि उत्तिकै हुन गएको छ ।

नाटकको सेट भव्य छ । हामीलाई मीरा र जोलिनको कोठाबाट कथा भनिन्छ । कोठाको माहौल दिन भरपुर प्रप्सको प्रयोग गरिएको छ । सेटलाई सकेसम्म यथार्थ देखाउन प्रयास गरिएको छ । रङ संयोजनले त्यसमा मिठासको काम गरेको छ ।

यद्यपि नाटक हेरिरहँदाको समयमा भव्य सेट नै नाटकका लागि केही कमजोरी बन्न गएको छ । दृश्य परिवर्तन गर्नु पर्दा दर्शकले गफ गर्ने मौका पाएका छन् ।

अर्कोतिर संवाद, संगीत अर्को बलियो पाटो हो यो नाटकको ।

संवाद बनिबनाउ छैन । सामान्य जीवनमा बोलिने जस्तो लाग्छन् । यद्यपि केही ठाउँमा पात्रहरू यति सानो स्वरमा बोल्छन् कि उनीहरूको कुरा सुन्न गाह्रो पर्छ । अर्कोतर्फ सुरवाती समयमा घटनाक्रम अघि बढाउन संवादलाई अलि बढी प्रयोग गर्दा कथाको विकास सुस्त बन्न गएको लाग्छ ।

अर्कोतर्फ यसको क्षतिपूर्ति भने भिटामिन सेक्स ब्यान्डले गरेको छ । यो नाटकमा लाइभ म्युजिक बजाउने ब्यान्ड हो । जब जोलिनको मृत्युको अनुसन्धान गर्न राष्ट्र प्रहरी माया विभागको प्रवेश हुन्छ, त्यसरी नाटक विधा परिवर्तन हुँदै पूरै सांगीतिक बन्न गएको छ । उनीहरूले संगीतबाटै कथा पनि भनेका छन् । नाटकलाई अघि पनि बढाएका छन् ।

पछिल्लो समय काठमाडौंका थिएटरहरूमा चलिरहेको नाटकहरूको साउन्डको तुलनामा भिटामिन सेक्सको साउन्ड अब्बल ठहरिन गएको छ ।

निर्देशकबारे केही

फिल्म ब्याकग्राउन्डबाट आएका ऋषभको यो पहिलो नाट्य निर्देशन हो । उनी आफ्ना सिर्जनामा सम्बन्धहरूको जटिलता देखाउन रुचि राख्छन् । प्रेम र यसको पागलपनको विषयमा जीवनभर ५-६ वटा काम गर्ने उनको योजना छ । जोलिन त्यसकै एउटा नतिजा हो ।

झापामा जन्मे हुर्केका उनको संगीतमा विशेष रुचि छ । नाटकमा भिटानमिन सेक्सले दिने सांगीतिक प्रस्तुती उनकै कम्पोजिन हो । र, उनी यो ब्यान्डका एक सदस्य पनि । उनले यो नाटकमा एउटा निर्देशकले पाउने एब्सोलुट फ्रिडम सकेसम्म प्रयोग गरेका छन् । जुन उनले चाहेर पनि फिल्ममा गर्न पाउँदैनन् । अर्कोतर्फ फिल्म ब्याकग्राउन्ड हुँदा नाटक सिनेम्याटिक र संगीतमय बन्न गएको छ । 

यो नाटकका लागि उनले ३ महिना बढी रिहर्सल गरेका थिए । अर्कोतर्फ नाटक निर्माणका लागि क्राउड फन्डिङको समेत प्रयोग गरेका थिए । अहिले पनि उनको यो सिर्जनात्मक कामलाई इच्छुकले गो फन्ड मी  मार्फत सहयोग गर्न सक्छन् । उनी नाटक निर्देशकलाई फुटबल कोच र कलाकारहरूलाई खेलाडीसँग तुलना गर्छन् । उनको भनाइमा अब जोलिनको जितका लागि भूमिका खेल्न मैदानमा खेलाडी अर्थात् कलाकारहरू दगुरिरहेका छन्।

बस् ! उनी नेपथ्यमा बसेर सुनिरहेका छन् –

जलेर जान्छ मइनको धागो
छुनलाई खोज्छ, तेइ पनि आगो

मायामा कसको के काबु, मायामा कसको के काबु, मायामा कसको के काबु मायामा

सुल्झिन खोज्छु, अल्झिन थाल्छ
सकिन खोज्छु, सल्किन थाल्छ
बलेर खान्छ दन्किॅदै रांको
छुनलाई खोज्छ, तेइ पनि आगो

मायामा कसको के काबु, मायामा कसको के काबु, मायामा कसको के काबु ?

नाटक : जोलिन
थिएटर : कौशी थिएटर, टेकु
निर्देशक : ऋषभ
नाटककार : बुद्धि पोख्रेल
मञ्चमा : मीरा खड्का (मीरा), अनोज पाण्डे (माधव) तारा (जोलिन), निशान खत्री, ऋषिकेश बस्याल, जीवन गौतम, निशान्त महत, तुफान थापा
मञ्चन अवधि : ८ देखि २९ साउनसम्म (मङ्गलबार बाहेक)

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?