News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको जिरीमा वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिकाको आयोजनामा प्रथम बाग्मती पर्या साहित्य महोत्सव सम्पन्न भएको थियो ।
- महोत्सवमा प्रकृति, साहित्य र दिगो भविष्यका विषयमा विभिन्न सत्रहरू सञ्चालन गरी पर्यावरण संरक्षण र साहित्यको महत्त्वबारे छलफल गरियो ।
मूलबाटो
लामो न लामो एउटा चौतारा
चौतारामाथि अजङ्गको लाकुरी
त्यसभन्दा तल
सलल सलल बग्ने सङ्लो खोला
जिरी सिक्री खोला ….
कवि टेकबहादुर जिरेल ज्यूको कविता संग्रह ‘जिरीसिक्रीको सुसेली’ बाट माथिका केही पंक्ति कवितालाई लिएर जिरीको बयान गर्न मन लाग्यो । गत चैत महिना २७,२८ र २९ गते २०८२ मा ‘प्रकृति, साहित्य र दिगो भविष्य’ भन्ने नाराकासाथ प्रथम बाग्मती पर्या साहित्य महोत्सवमा जिरी जाने अवसर मिल्यो ।
वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिका, दोलखाको आयोजनामा सम्पन्न प्रथम पर्या साहित्य साँच्चै नै प्रसंशनीय रह्यो । यो सारा कार्यक्रमलाई हाँक्न चितवनका डिभिजन वन अधिकृत श्री विष्णु प्रसाद आचार्यज्यूले कार्यभार सम्हाल्नु भएको रहेछ । उहाँलाई सहयोग गर्न अर्का व्यक्ति कवि तथा जैविक विविधता संरक्षक श्री डा. रोशन शेरचन, त्यस्तै राजकुमारी खत्री, साबिन्द्रा खड्का अनि भोला खतिवडा मुख्य रुपले खट्ने व्यक्तिहरू हुनुन्थ्यो । बाँकी प्रत्यक्ष अप्रत्यक्ष सबै स्थानीयको कडा मिहिनेतमा त्यो भव्य समारोह बडा शालिनताकासाथ सम्पन्न भयो ।
काठमाडैंबाट दर्जन साहित्यकारहरू लगेर स्थानीय विकास, पर्यावरण र पर्यटकीय स्थलको जानकरी गराउन सक्नु चानचुने कुरा होइन । यो झन्झटकै कारण सरकारी तहबाट बजेट छुट्याइए पनि काम गर्न गाह्रो भएकाले यस्तो जोखिमयुक्त कार्यहरू कमै हुन्छन् । यो पल्ट भने डि.एफ.ओ विष्णु आचार्य अघि बढ्न तयार भएछन् । साथै विभिन्न स्थानबाट वन कार्यलयका पदाधिकारीहरूको पनि उपस्थिति रह्यो । वन अधिकृत अशोक विरहीसँग मेरो चिनजान भयो । अन्नपूर्ण, भोजपुर, दिल्पा सबैतिरको नालीबेली बताएर मलाई चकित बनाइदिए । कुनैबेला त्यता कार्यस्थल परेको रहेछ ।
काठमाडौंको जडीबुटीबाट ६ वटा विद्युतीय गाडीमा बिहानको ८ बजेतिर करिब बाटो लाग्यौं । मेरा लागि जिरी पहिलो यात्रा थियो । एकदम उत्साहित, एकदम उत्सुक । कसैले ‘जिरीमा त समुन्द्र पनि छ’ भने पनि पत्याउने मेरो स्थिति थियो । मैले पातला लुगाहरू बोकें । अरूले त जीउमा, झोलामा टन्नै लुगा बोकेको देख्दा म झसङ्ग भएँ । महावीर पुन आविष्कार केन्द्र फुड डिपार्टकी प्रमुख विष्णुकला बहिनीले म हिँड्ने अघिल्लो दिन अचम्म लाग्दो फेसनवाला लुगा ल्याइदिइन् । त्यही लुगा लगाएर गएँ । साथीहरूले भेट्नासाथ लेखक कुमार नगरकोटीकी बहिनी भनेर खुबै गिज्याए ।
घिरौंला खिरिला साना, लौका तिघ्रे भए किन
सुन्तला सुन झैं राम्रा, कोदो कालै रहे किन ।
छन्दकवि भवानी खतिवडाले यात्राभरि छन्दवद्ध कविता सुनाइन् । अगाडि सिटमा बस्नुभएका वरिष्ठ पर्वतीय साहित्यकार प्रतिक ढकाल दाइले बेलाबेला सही थपेर झन् रमाइलो भएको थियो यात्रा । यात्राभरि गीत गाउने कविता भन्ने क्रम चलिरह्यो ।
जिरी पुगेको साँझ को–को कता–कता बस्ने भन्ने मै सीमित भइयो । बन्द हुनै लागेको पसलमा जरुरी वस्तु किन्न गए झैं म पहिलोपटक जिरी पुगेको मान्छे समसाँझमा आँखा फारेर जिरी हेर्नमै मस्त भएँ । देख्दा झण्डै–झण्डै सिक्किम गान्धीरोडको झल्को आउने, झण्डै झण्डै खोटाङ–भोजपुर मेरो गाउँको झल्को आउने यो ठाउँलाई अमेरिकन भूगर्भशास्त्री नागरिक टोनी हागनले सन् १९५३ मा ‘स्वीटजरल्याण्डजस्तो’ भनेछन् । मझौला डाँडाहरूको बीचमा समथर जमिन । त्यसैमा बसेको बजार, अलि तल अस्पताल र त्यो भन्दा तल एयरपोर्ट, गाई फार्म ।
कवि तथा सञ्चारकर्मी दिपक सापकोटाले चलाएको कार्यक्रम ‘हिजोको जिरी, आजको जिरी र भोलिको जिरी’ शीर्षक छलफलमा जिरीबारे झन् धेरै चर्चा भयो । यसैको आधारमा मैले यति लेख्न सक्ने भएँ ।
ऊ बेला पैदल सगरमाथा जानेहरू जिरी, सोलु हुँदै जान्थे र त्यही क्रममा हेगन पनि जिरीमा बास बस्न पुगेका थिए रे । त्यो ठाउँ मन परेर उनैको सक्रियतामा फार्म, अस्पताल अनि एयरपोर्ट हुँदै धेरै विकास भएको रहेछ । जिरेलको बाक्लो बसोबास भएकाले नै ठाउँको नाम जिरी भएको रहेछ ।
अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेतजीले चलाएको सेसनमा स्थानीय आदिवासीहरूसँग गरेको कुराकानी पनि स्मरणयोग्य बन्यो । आदिवासीकै थातथलोमा पुगेर उनीहरूको विचार सुन्ने कार्यक्रमको एउटा सेसन बन्नु पनि त्यो महोत्सवको मुख्य भूमिकाकै रुपमा लिन सकिन्छ ।
काठमाडौ बाहिर जाँदा जहाँ पनि खानेकुरामा मेरो एउटै गनगन हुन्छ, स्थानीय परिकार चाख्न पाइएन । जिरीको कालो आलु, चौंरीको घ्यू, आलो छुर्पी यस्तै केके नौला खानेकुराबारे पढेथें कवि केदार सङ्केतको पुस्तकमा । तर खान पाइएन । उही थिए काठमाडौंका दुरुस्त खानेकुरा ।
पुरुष वन्धुहरू कता पसे थाह भएन । भोलिपल्ट रमाइलो किस्सा सुनियो– ‘तिमी कर्मचारीहरू राज्यको पैसाले जाँड खाने ? म भिडियो खिचेर हाल्छु’ भन्दै एक स्थानीयले भने रे । तर हाम्रा साथीहरू कर्मचारी पनि थिएनन् र राज्यको पैसाले जिरीको तोङ्बा किनेको पनि होइन । त्यहाँ ‘तोङ्बा’ भन्न नजानेर ‘तुम्बा’ भन्नेहरू पनि थिए । कवि भैरवीले पनि ‘तुम्बा तानेर आको’ भनेर कविता सुनाइन्–
प्रिय पृथ्वी
के छ खबर ?
हृदयभरि लालीगुराँस फक्राएर
मलाई पर्खिरहेकी तिमी
केही बाल्यकाल तिमीमाथि
रित्ता गोडाले कुदेपछि
ममा तिम्रा स्पर्शको अन्तिम के छ सोच्दै छु …।
त्यो साँझको माहोलमा सिर्जना वाचनको तय गरिन छन्द कवि भवानी खतिवडा बरालजीले । कवि सृजना अर्यालले जिरीकै लागि समर्पित कविता सुनाइन्–
भूस्वर्गमा टेकेपछि
गुराँसका बुटा बुटा फुलेर – मुस्कुराउँछ
र चित्त चित्तमा जिरी डुलेर – मुस्कुराउँछ…।
त्यहाँ आठजना महिला थियौं । हेटौडाबाट सहभागी सुमी पोख्रेलले गजल सुनाइन् :
पर्ख एकछिन रमाइलो लाग्छ
प्रेमको विष अलिक ढिलो लाग्छ….।
रचना सुनाउने भन्दाभन्दै जीवन भोगाइ सुनाउने क्रम चल्यो । अनिता कोइरालाले लेखन क्षेत्रमा आउनुको कारण सुनाइन् । डिग्री सकेर जब घरपरिवारको सेवामा लाग्दा ‘बुहारीले डिग्री सकेर क्यै गर्दिन । घरै बस्छे ।’ भन्ने गुनासो आएपछि ‘डिग्रीवाली गृहिणी’ शीर्षकको लेख सेतोपाटीमा छपाएको कहानी विस्तृतमा सुनाउँदा कम रोचक लागेन ।
उनैको कवितांश:-
जब तृष्णा जवान बन्छ
हिमाल पनि काँप्छ
भोगको तातो लाभाले
धर्तीको छाती चिरिन्छ …।
अब, पालो आयो भारती न्यौपानेको । उनको पनि जीवन कहानी बडो घतलाग्दो रहेछ । पढाइ छोडेर बसेकी, बच्चालाई स्तनपान गराइरहँदा ‘बच्चाले मामु तिमी पढ’ भनेजस्तो लागेर फेरि पढाइ सुरु गरी माष्टरर्ससम्मको कथा प्रेरणादायी थियो । विशेषतः कविता लेख्न मन पराउने भारतीको कविता एक अंश:
हिराको श्रीपेच लगाएर
हाँसी हाँसी बाँचेको छ हिमाल
जसरी हाँस्छ
कोक्रोबाट नवजात शिशु
आमाको आगमनमा ….. ।
त्यसपछि त्यो माहोलकी आयोजक भवानीजीले आफ्नो कथा यसरी सुनाइन कि, सबैको कहानीलाई फिका बनाइदियो ।
‘मेरो दुःख ठूलो’ सबैलाई लाग्छ तर उनले पार गरेको दुःख र संघर्षको बाटो झनै ठूलो रहेछ । उनका हजुरबा काजी साहेबका घरबगान बाढीले बगाएर एक्कसी (उनकै शब्दमा) पाजी हुन पुगेका खानदानको कथा दुःख, हाँसो, आँसु सबैथोकले भरिपूर्ण थियो ।
तथापि हाल कृषि प्रसार अधिकृतजस्तो गरिमामय स्थानसम्म पुग्दाको कथाले हिजोका दुःखलाई आज रमाइलो कहानीमा परिणत गरिदिएको पाइयो । विशेषतः छन्दमा लेख्न रुचाउने भवानीका रमाइला कविता ‘घिरौंला…’ माथि उद्धृत भइसकेको छ ।
कविता भन्ने पालो मेरा आयो । युद्धको विरुद्धमा छोटो कविता सुनाएँ–
सुकाइदिन्छु आफ्नै रजस्वला
भत्काइदिन्छु आफ्नै पाठेघर
र, यो चलिरहेको संसार यहीं ठप्प रोकिदिन्छु
किन कि,
मान्छेहरू बारुदमा भुटिनुभन्दा
मान्छे नजन्माउनु कम अपराध लाग्छ मलाई …।
अब, कविता भन्ने पालो थियो रमी प्रियाको । बजारमा हल्ला नगरी खुरुखुरु कविताकर्म गरिरहने एक शालिन कवि हुन् रमी श्रेष्ठ ।
छोइएर शीतका उष्ण लहरले
सधैं हर्षले पग्लिदिने हिमाल
आज पर्खंदा पर्खंदै उही स्पर्श
खसालिरहेछ तातो आँसु
र वेदनाको तलाऊ जमिरहेछ
त्यतै कतै … ।
हामी काठमाडौंबाट गएका समूहमध्ये लुमन्ती चित्रकारले चाहिँ भोलिपल्ट कार्यक्रममा मात्र कविता सुनाइन्–
बिहानीको शान्त वातावरणमा
सारा संसार ब्युँझन्छ
जब, सूर्यको किरण क्षितिजमा
फैलिन्छ
आकाशलाई आशाको रङमा
रंगाउँछ …।
रातको १ बजिसकेको थियो । लजाउँदै बोल्ने एक किशोरी थिइन् सुशीला श्रेष्ठ । तर तिनले हिँडेको बाटो झन् कठोर रहेछ । आँसु थामिएन । भावना पनि गज्जपले उतार्दिरहिछन्–
हर दिन झस्काउँछ, फेरि तड्पाउँछ मलाई
भित्तामा चित्र छ आमाको अनुहारजस्तो…..।
हाम्रो गाडीचालक अरुका भन्दा चलाख परेछन् । काठामाडौंबाट सँगै हिडेका साथीहरू जडीबुटीतिरै जाममा फसेर बसेका बेला हामीलाई भने सर्टकर्टको बाटो छिराएर सबैभन्दा अगाडि पारे । जहाँ पनि अगाडि पुग्नुको मज्जै बेग्लै ।
त्यो माहौलकी अन्तिम कवि सृजना अर्यालको कविता थियो:
जिरेल सभ्यता सँगै लिएर हाँस्छ यो जिरी
अनेक जाति एकता लिएर बाँच्छ यो जिरी …।
मुख्य आयोजक विष्णु आचार्य सहजकर्ता रहेको सेसनमा प्रतीक ढकाल, भवानी खतिवडा र म वक्ता थियौं । मैले बोल्नुपर्ने शीर्षक, ‘पर्यावरण र संस्कृति’ भन्ने थियो । प्रतीक दाइले नै बनाइदिनु भएको शीर्षक । मैले सुरुमै एउटा आदिवासी चुट्किलाबाट सुरु गरें, ‘टन्टलापुर घाम लागिरहेको दिन रेडियोले भरे साँझ पानी पर्छ भनेको सुनेर स्थानीयले पानी पर्न सक्ने सम्भावनाबारे रेडियो प्राविधिकलाई सोध्दा पर आदिवासीहरूले दाउरा बटुलिरहेको प्रमाण पेश गरे अरे ।’ यसको मतलव आदिवासी संस्कृतिमा पर्यावरण सम्बन्धी धेरै ज्ञान हुन्छ भन्ने देखाउँछ ।

त्यो बेला भनेको थिएँ आदिवासीहरूको हरेक नाच एन्टीक्लक घुम्छ । किन कि प्रकृतिका हरेक लहराहरू थाँक्रोमा दाहिनेबाट देब्रेतिर घुम्छ । आदिवासीहरू बोल्दा आवाज मधुर हुन्छ । लजाए झैं, धकाए झैं, डराए झैं सुनिन्छ । त्यसो हुनुको कारण हो मान्छेका आवाजले पर्यावरणमा नराम्रो असर नगरोस् । मान्छेका आवाजले कुनै जीवजन्तु, चराचुरुङ्गी नतर्सून् ।
भवानी खतिवडाले ‘शिखरमा सारा मानवजातिको साझा देवता रहन्छन् । सबैले यात्रा गर्नुपर्छ, र यात्राबारे लेख्नुपर्छ,’ भन्नुभो ।
प्रतीक ढकालज्युले हिमालको विषयमा हरेक नेपालीले जान्नैपर्ने कुराको जानकारी दिनुभो ।
उहाँकै शब्दमा:
जापानको सर्वोच्च चुचुरो ‘माउण्ट फुजी’ को उचाइ समुन्द्री सतहबाट ३७७६ मिटर, फ्रान्सको सर्वोच्च चुली मो ब्लाँ ४८०६ मिटर, स्वीट्जरल्याण्डको मोन्ते रेसा ४६३४ मिटर र मलेसियाको माउण्ट किनाबालुको उचाइ केवल ४०९५ मिटर रहेको छ । तर नेपालमा चाहिँ ५८०० मिटरभन्दा कम उचाइ भएको चुलीलाई ‘हिमाल’ नै मानिँदैन । विश्वका ११ देशहरूको सूचीमा बरु नेपाल एक्लो छैन, त्यहाँ अरू पनि १० वटा देश साथमै छन् । तर हिमालको कुरो गर्दा त नेपाल विश्वमै एक यस्तो एक्लो ‘नायक’ हो जसको विश्व रङ्गमञ्चमा कुनै प्रतिस्पर्धी नै छैन ।
विश्व पर्वतारोहण संघले प्रकाशन गरेको विश्वका ‘टप–टेन’ हिमालको सूचीमा रहेको सर्वोच्च चुली, सगरमाथा (८८४९ मिटर), तेस्रो, कञ्चनजङ्घा (८५८६), चौथो, ल्होत्से (८५१६), पाँचौँ, मकालु (८४६३), छैटौँ, चोयु (८२०१), सातौँ, धवलागिरि (८१६७), आठौं मनास्लु (८१६३) र दशौँ, अन्नपूर्ण (८०९१ ) गरी दशमध्ये आठ चुली त नेपालमै रहेका छन् । नेपालमा नरहेका भनेका जम्मा दुई चुली मात्र हुन्— दोस्रो वरियतामा रहेको माउण्ट केटु (८६११) र नवौँ चुली नङ्गा पर्वत (८१२५) मात्र हुन् जो पाकिस्तानमा रहेका छन् ।
विश्व पर्वतारोहण संघले दिएको मान्यता अनुसार ८००० मिटरभन्दा बढी उचाइ भएका हिमालहरू यो संसारमा जम्मा नै १४ वटा छन् जसमध्ये नेपालमा आठ वटा पर्दछन् । तर गणनामा छुटेका ८००० मिटरभन्दा बढी उचाइ भएका अरू ६ वटा ठूला हिमाललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्छ । तर त्यसैका आसपासमा रहेका अरू चारवटा चुलीहरू यालुङ्काङ (८५०५ मि), अनि कञ्चनजङ्घाकै दक्षिणी चुली (८४७६ मि), मध्य चुली (८४७३ मि) र पश्चिमी चुली (८०७७ मि) पनि हिमाल गणनामा समावेश हुनुपर्छ । ल्होत्से हिमाल विश्वको चौथो उच्च हिमालको मर्यादाक्रममा रह्यो तर त्यसकै छेउमा लहरै रहेका ल्होत्से शार (८४१३) र ल्होत्से मिडल (८४००) लाई गणना गर्न छुटेको छ ।
प्रतीक दाइले हिमालको गौरवबारे भनिसकेपछि मैले पनि कुनैबेलाको अनुभव सुनाएँ:- जापान, कोरिया चाइनाका नागरिकले मलाई ‘तिमीहरूको देशमा समुन्द्र छैन के खाएर बाँच्छौ ?‘ भनी प्रश्न गर्दा म भन्थें, ‘तिमीहरूको देशमा हिमाल छैन । के हेरेर बाँच्छौ ?’
त्यो साँझ कवि भूपिनले हाम्रो कुरामा विमति जनाए, ‘हामीसँग हिमाल छ भन्दैमा त्यसरी धाक लगाउनु राम्रो भएन ।’ मैले ङिसिक्क हाँसेर उत्तर दिएँ, ‘प्रतिरक्षा गर्न त पाइयो नि कवि ! सिधै हेपेर धाक लगाउन पो पाइएन ।’ तर जे होस्, भूपिनका कविता ज्यादै मर्मस्पशी थियो, ‘माटोखाने केटी’ आफू गर्भमा हुँदा आमाले माटो खाएको कुरालाई जोडेर (कविताकी पात्र विदेश गएपछि) शिक्षक(कवि)लाई माटोको बास्ना, स्पर्श भिडियो खिचेर पठाइमागेको भूपिनको कविता मलाई मात्र होइन; सबैलाई मन परेको हुनसक्छ।
कार्यक्रम उद्घाटनको दिन बिहानै गुराँसे डाँडाको यात्रा तय थियो । पुरै चिमालको कोलोनी रहेछ । त्यहाँ पुगेर कविता लेख्ने कार्यक्रम भए तापनि फोटा मात्र खिचेर फर्कियौं । मौसम निक्कै चिसो थियो । स्थानीय विभिन्न साँस्कृतिक झाँकीका साथ हाट डाँडाबाट जिरी बजारसम्म र्याली भयो ।
उद्घाटन कार्यक्रम साथै डा. सञ्जीव उप्रेती, रमेश भुसालको भाषण निक्कै रोचक लाग्यो । उप्रेती सरले भने, ‘प्रकृतिको दोहनजस्तै स्त्रीहरूमाथि पनि उत्तिकै दुर्व्यवहार भइरहेको छ ।’
मानिसभन्दा लाखौं वर्ष जेठो पृथ्वीको बारेमा नयाँ कथा ‘छालबाटो’ कृतिका लेखक श्री रमेश भुसालजीले भने– ‘पृथ्वीको उमेर साढे चार अर्ब वर्षको छ । हाम्रो पूरा आयुलाई सय वर्ष आसपास मान्ने हो भने पृथ्वीको उमेर झन्डै साढे चार करोड गुणा जेठो छ ।
पृथ्वीमा मानिसले बिताएको पूरै समय हिसाब गर्दा पृथ्वीको उमेरको जम्मा ०.०००७ प्रतिशत मात्र हुन आउँछ । यो अति लामो समयलाई बुझ्न लेखक डेभिड क्रिस्चियनले निकै रोचक तरिका निकालेका छन् । उनले ब्रह्माण्डको १३.८ अर्ब वर्षको इतिहासलाई १३ वर्ष आठ महिनाको काल्पनिक समयरेखामा ढालेका छन् । यसै हिसाबले सौर्य प्रणाली बनेको जम्मा ४ वर्ष ६ महिना भयो ।
६० करोड वर्षअघि ठूला जीवको उत्पत्ति भएको समयलाई मानिसको समयरेखामा झार्दा जम्मा सात महिना अघिको कुरा भयो । साढे ६ करोड वर्षअघि डाइनोसर लोप भएको घटना त यो पात्रोमा जम्मा २४ दिनअघि मात्र भयो । अब चिम्पाञ्जीबाट मानिसको हाँगा छुट्टिएको समय साढे दुई दिन मात्र भयो ।
होमोसेपियन्स–मानिसको रुप बनेको समय जम्मा १०० घण्टा अनि मानिसको सभ्यता र सहरको इतिहास जम्मा साढे दुई मिनेट अघिको कुरा हो ।’
यी माथिका रोचक कुराबारे सायद हामी धेरैले पहिलोपटक जान्यौं होला ।
राजकुमार बानियाले प्रकृति र साहित्य विषयमा अर्चना थापा, दधि सापकोटा अर्का विज्ञसँग बडा फन्नी टाइपका प्रश्नहरू गरेको सेसन स्वादको थियो । प्रश्न, ‘कुनै टापुमा गएर उपन्यास लेख्नु भो भने तपाई बाघ भालु हात्ती कसलाई प्रकाशक, संपादक राख्नुहुन्छ होला?’
अर्चना थापाले भन्नुभो, ‘जीव जनावरको बीचमा उपन्यास लेख्नै पर्दैन । उनीहरू यसै अनुशासित हुन्छन् ।’ यस्तै केही भन्नु भो । दधि सापकोटाजीले यसको मिठो उत्तर दिए, ‘म हात्तीलाई सम्पादक राख्थें । किन कि उसले बच्चाको रक्षा गर्न भालेहरूलाई रेकी राख्छ । बाघलाई प्रकाशक राख्थें, किन कि बाघले डमरुलाई शिकार गर्न सिकाएपछि भाले डमरुलाई आफूबाट टाढा पठाउँछ र पोथी डमरुलाई आफू बसेको ठाउँ छोडिदिन्छ । अनि माहुरीलाई कार्यकारी सम्पादक । किन कि, माहुरीले कोशौं टाढा घुमेर मह जम्मा गर्ने उसको साहस र मिहिनेतलाई कसैले उछिन्न सक्दैन ।’
रोशन शेरचनजीले चलएको सेसन ‘विद्यालयको शिक्षा कति व्यवहारिक छ र हुनुपर्छ,’ भन्ने विषय निकै व्यवहारिक थियो । महोत्सवका अधिकांश कार्यक्रम उनैले सञ्चालन गरे ।
अरु कार्यक्रमसँग मिसाएर कविता वाचनलाई राख्दा कविताले स्वाद त फेर्यो तर रक्सीको सितन साग भएजस्तो कविताहरूको स्वादमा टट्कारोपन हरायो । डिस्कोमा भाषण गरेजस्तो अलिक असुहाउँदो ।
रुपक वनबासीको रचनाको याद भइरहेछ:
मानिसहरू चन्द्रमामा बस्ती बसाल्ने कुरा गर्छन्
तर पृथ्वीको कुरै गर्दैनन् ।
स्थानीय कविहरूको पनि बाक्लो सहभागिता थियो । त्यता धेरै कि गजल लेखिन्छन् कि त छन्दमा कविता । गजल र छन्दको स्वाद भरपूर लिन पाईयो । अर्का सृजना पनि दिमागमा बसेको छ–
कृषिप्रधान देशमा के भोकै मर्नु
बरु खाएर रोगैले मरियोस् ।
सेलीब्रेटी लेखक कुमार नगरकोटीलाई सुन्न भन्दा पनि हेर्न धेरै त्यहाँ उत्सुक देखिन्थे । उनले सुनाएका तीन कविताहरूमध्ये ‘औंलाहरू’ शीर्षकको कुरा पछिसम्म पनि भइरह्यो । बाँकी दुई कविता थिएनन्, मात्रै ढर्रा थियो भनेर माहौलमा गुनगुन सुनियो ।
रमी प्रियाले किशोरहरूको मनोभाव सुन्ने खालको सेसन चलाइन् । अभिभावकले सन्तानको विश्वास नगरेको वक्ताहरूबाट गुनासो आयो । ९ कक्षामा अध्ययनरत किशोरको एउटा कुराले श्रोताको मन छोयो । उनले भने, ‘म गीता पढ्छु । योगज्ञान लिन्छु । अहिले यहाँ कसैको ध्यान एकीकृत छैन, किन कि ध्यान गर्ने बानी कसैको छैन ।’ यो कुरा मलाई चित्त बुझ्यो ।
अन्तमा, दुई दिनसम्म लगातार विभिन्न बहस छलफल भएको विषयहरूको केही प्रतिशत मात्र यहाँ लेख्न सकें । त्यहाँ बहस हुन छुटेको कुरा लाग्यो, जिरीले काठमाडौंलाई के–के कुरा बेच्ने ? के सहरको सामान मात्र जिरीले किन्ने हो ? अबको सरकारले स्थानीय वस्तुको बिक्री वितरणमा बिचौलियाको भर नपरोस् । सिधै जिरीबाट काठामाडौं ओसार्ने व्यवस्था मिलाओस् ।
प्रतिक्रिया 4