+
+
Shares

गाजामा हतियार बिसाउने सहमतिप्रति पाकिस्तानको स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा बनेको शान्ति योजना अनुसार हमास केही सर्तसहित हतियार बिसाउन तयार भएको छ । यस कदमको पाकिस्तानले स्वागत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १५:४३

१६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा बनेको शान्ति योजना अनुसार हमास केही सर्तसहित हतियार बिसाउन तयार भएको छ । यस कदमको पाकिस्तानले स्वागत गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्समा यस कदमको स्वागत गरेका हुन् ।

‘पाकिस्तान गाजा शान्ति योजनाअन्तर्गत हतियार छाड्ने प्रक्रिया लागु गर्ने दिशामा बोर्ड अफ पिसअन्तर्गत भएको प्रगतिको स्वागत गर्दछ,’ प्रधानमन्त्री सरिफले लेखेका छन्, ‘अमेरिका, इजिप्ट, कतार र टर्कीसहित मध्यस्थकर्ता देशहरूले यो प्रगति हासिल गर्न गरेका प्रयासका लागि विशेष प्रशंसाका हकदार छन् । राष्ट्रपति ट्रम्पको साहसी नेतृत्वमा यो बोर्ड अफ पिसका लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो ।’

सरिफले यी प्रयासहरूबाट अन्तर्राष्ट्रिय नियम र संयुक्त राष्ट्रसंघका प्रस्तावहरू अनुसार निश्चित समयमा प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरे । यसबाट प्यालेस्टिनी जनतालाई आफ्नो भविष्यको निर्णय आफैं गर्ने अधिकार मिल्ने उनले बताए ।

‘यस प्रक्रियामार्फत १९६७ भन्दा अघिको सीमाका आधारमा एक स्वतन्त्र र सार्वभौम प्यालेस्टिन देशको स्थापना हुनुपर्छ। यो देशको राजधानी अल–कुद्स अल–सरिफ (जेरुसेलम) हुनुपर्छ,’ उनले भने ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘बोर्ड अफ पिस’ ले गाजामा हमास र अन्य सशस्त्र समूहहरूसँग सम्झौता गरेको बताएका थिए । त्यो सम्झौता अनुसार उनीहरू हतियार बिसाउन तयार भएका हुन् ।

हमासका एक वरिष्ठ अधिकारीले गाजामा पूर्ण रूपमा हतियार बिसाउने ‘बोर्ड अफ पिस’ को प्रस्तावमा संगठन सहमत भएको कुरा बीबीसीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?