+
+
Shares
इतिहास :

७५ वर्षअघि विदेशीले देखेको रहस्यमय नेपाल

अमेरिकी जीवशास्त्री तथा लेखक एस डिलन रिप्लीले ७५ वर्षअघि नेपाल भ्रमण गरेका थिए । राणा प्रधानमन्त्रीको अनुमति लिएर अनुसन्धानमा आएका उनले १०६ वर्षदेखि हराइरहेको ‘स्पाइनी ब्याब्लर’ काँडे भ्याकुर नेपालको जंगलमा भेट्दा उनले ठूलो विजय उत्सव मनाए ।

सुबास कार्की सुबास कार्की
२०८३ भदौ ६ गते ७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९५० को नेसनल जियोग्राफीमा अमेरिकी लेखक एस डिलन रिप्लीले नेपाललाई ‘लुकाइएको मुलुक’ भन्दै चरासम्बन्धी अनुसन्धान र यात्रा विवरण छापेका थिए।
  • रिप्लीको टोलीले मोहन शमशेरबाट अनुमति लिएर काठमाडौँबाहिर पुगेको यात्रामा पश्चिम नेपालमा १०६ वर्षदेखि हराइरहेको काँडेभ्याकुर फेला पारेको थियो।
  • त्यही अंकमा नेपालका हिमाल, पहाड, दरबार र कोशी बाँधलगायतका तस्बिर र विवरणले तत्कालीन नेपालको प्राकृतिक र राजनीतिक अवस्थालाई देखाएको थियो।

रहस्यका कथाहरू संसारभरी हुन्छन। तर कमै मात्र रहस्य भेटिन्छन्। नेपाल यस्तो ठाउँ रहेछ, जहाँ रहस्य भेटिन्छ। लोप भइसके भनिएका जीवजन्तु यहाँ भेटिएका छन् ।

कलेजको एउटा शोधपत्रका लागि अनुसन्धान गर्दै जाँदा म नेसनल जियोग्राफीको पुराना अंकहरूको भकारीभित्र छिरेको थिएँ।

मेरा अनेक चासोमध्ये विदेशीले नेपालीलाई कसरी चिन्दा रहेछन् भन्ने जान्नु थियो। नेसनल जियोग्राफीका पुराना अंकहरूले मलाई अर्कै लोक पुर्‍याए।

त्यो लोक नेपाल देश थियो।

नेशनल जियोग्राफिक म्यागेजिनको जनवरी १९५० को अंक

तर अहिलेको नेपाल होइन। यो आजभन्दा ७५ वर्षअघिको नेपाल हो।

भर्खरै विश्वयुद्ध सकिएको यो त्यो समयको कथा हो, संसारभर राज गरेको बेलायती उपनिवेशवाद गोधुलीको घामझैँ डुब्न लागेको अवस्थामा थियो।

नेपालको सबैभन्दा नजिकको बेलायती उपनिवेश ‘इष्ट इण्डिया कम्पनी’ ढलेको एक वर्षपछि अमेरिकी जीवशास्त्री तथा लेखक एस डिलन रिप्लीले नेपाल भ्रमण गरेका थिए।

यो त्यो समयको कथा हो, पश्चिमा देशहरू र तिनका औपनिवेशिक देशमा परिसकेको विकासको असर नेपालसम्म पुगेकै थिएन। काठमाडौँमा थोरथोरै सडक बनेका थिए, तर गाडी खासै भित्रिइसकेको थिएन। यो त्यो समयको कथा हो, करिब सय जना भरियाले जर्मनीमा बनेको मर्सिडिज गाडी कलकत्ताबाट भीमफेदी हुँदै बोकेर काठमाडौँ पुर्‍याएका थिए।

यो बाहिरी विश्वले फोटोग्राफीमार्फत् देखेको प्रारम्भिक नेपाल हो।

भूगोलमा पुरानै इतिहास भएपनि पहिचानमा नेपाल व्यापक भइसकेको थिएन। अनि यो त्यही समयको कथा हो, नेपाल र बाहिरी दुनियाँबीचको ढोका लगभग बन्द थियो। र, यो त्यो समयको कथा हो, विश्वयुद्धपछि राणा महाराजाहरूलाई बाहिरी दुनियाँप्रति चासो बढ्न थालेको थियो।

क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहप्राध्यापक प्रवीण क्षेत्रीसँग एउटा अनुसन्धान पत्र तयार पार्ने क्रममा म नेपालको वातावरण र पर्यावरणबारे रुचि राख्दै गर्दा नेसनल जिओग्राफी म्यागेजिनको अभिलेख भण्डारणमा पुगेको थिएँ।

केहीअघि, अमेरिकाको लसएन्जलसस्थित मेरा सबैभन्दा नजिकका छिमेकी ९४ वर्षीय वेदभक्त जोशीको घरमा पुराना म्यागेजिनहरूको चाङमा नेपालबारे दुर्लभ तस्बिरसहित छापिएको १९५० को एउटा अंकमा ध्यान पुगेको थियो।

मन फोरेर सापटी मागौँ कि झैँ लागे पनि आफूसँग सधैँ राख्ने रहरले मैले त्यो अंक मागिनँ।

बरु म त्यो कहाँ पाइन्छ भनी खोज्न थालेँ।

म संसारको पश्चिमी ध्रुवको पश्चिमी तटमा बसेर पुराना नेसनल जियोग्राफी म्यागेजिनहरू मगाइरहेको छु। काखीमा कागजपत्रको चाङ बोकेर हिँडेको ‘युएसपीएस’ कर्मचारी देख्नेबित्तिकै घरको हुलाक बाकसतिर दगुरिहाल्छु। जब उसको हातमा म्यागेजिनजस्तो लाग्यो भने म उत्साहसाथ भनिहाल्थेँ, ‘त्यो मैले मगाएको नेसनल जियोग्राफी म्यागेजिन हो। त्यहाँ नेपालका पुराना चित्रहरू सँगै लेख लेखिएको छ।’

कोही विदेशी भेट्दा नेपालबारे भएभरका कुरा एकैखेपमा खन्याउनु हामी धेरैको सामूहिक बानीजस्तै हो। यसमा म अलग हुने कुरा थिएन।

‘तिमीलाई नेपाल भन्ने देश थाहा छ? सगरमाथा, गौतम बुद्ध नि?’ एकैसासमा निस्केको बोली घाँटीमै गुडुल्कियो, जब ‘हेडफोन’ लगाएर स्पेनी भाषामा कुरा गर्दै गरेको उसले मेरो उत्साहमा कुनै प्रतिक्रिया जनाएन।

यहाँ हामी दुई आप्रवासी उभिइरहेका छौँ। जसको बेग्लै भाषा छ। भाषा बिर्सने हो भने परको मान्छेको आँखामा हामी एउटै छिमेकका सँधियारेजस्तो देखिन सक्छौँ।

हामीमा जति समानता छ, उति नै फरकपना पनि। हामीलाई एकअर्काबारे उति थाहा छैन।

उसले काखीमा च्यापेका सानाठूला खामहरूका चाङको सिरानमा राखेको साना खामहरूको चाङ छुट्यायो र घरको ठेगानाअनुसारका बाकसमा हाल्न थाल्यो।

उसले मेरो घर नम्बर अंकित बाकसमा हाल्नेबित्तिकै म खाम बोकेर घरभित्र दगुरेँ र हतारहतार खाम खोलेँ।

अनुपम नेपाल, प्रकृतिप्रेमीको स्वर्ग

जति हामी आफ्नाबारे भन्न रुचाउँछौँ, अरुले हाम्राबारे के भनेका रहेछन् भन्ने जान्न पनि उत्तिकै उत्साहित हुन्छौँ।

हामी चाहन्छौँ, हाम्राबारे हामीले भन्दा अरु कसैले भनिदेओस। बल्ल हामीलाई हाम्रा चिजहरूको महत्वको आभास झन् सघन हुन्छ। पत्रिका मगाउँदा र घरसम्म आउँदाबीचको समयमा म एउटै कुरा खेलाएर बसेको थिएँ, नेपाल उत्कृष्ट छ भनेर बाहिरी दुनियाँलाई कसले भन्यो होला ?

लेखको शीर्षकले भन्छ– अनुपम नेपाल, प्रकृतिविद्हरुका लागि स्वर्ग।

हामीले पहिले भन्न थाल्यौँ कि अरुले पहिले भनेको होला? नेपालको कथा बाहिरको दुनियाँलाई सुनाउनेहरू को होलान् ? ७५ वर्ष उति परको समय होइन, सन् १९५० को नेसनल जियोग्राफी म्यागेजिन पढ्दै गर्दा लेखकको वर्णन र तस्बिरले नेपाल एउटा आदिम समयको कथा हो भनेझैँ वर्णन गर्छ।

लेख पढिसकेपछि प्रश्न जन्मियो- नेपाल सुन्दर छ भन्न सक्ने अवस्थामा हामी पुगिसकेका थिएनौँ त? नत्र त नेपालको पहिचान काठमाडौँ उपत्यकाबाट बाहिर निस्कन पाएकै थिएन।

अमेरिकी लेखक एस डिलन रिप्लीद्वारा लिखित यो लेख मात्र होइन, वन्यजन्तु र प्रकृतिका कला उतार्ने प्रसिद्ध अमेरिकी कलाकार वाल्टर वेबरको चित्र कला पनि यहाँ समावेश छ।

४० पृष्ठ लामो लेखमा थप ३० वटा नेपाल चिनाउने तस्बिरहरू समेटिनु लेखको अर्को महत्वपूर्ण पाटो हो, जसले नेपाललाई कुनै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यति धेरै फोटोहरूले नेपालको रंगिन चित्र विशेष महत्त्वसहित छापेका हुन्। (त्यसो त १९२०मा छापिएका ब्ल्याक एण्ड ह्वाइट तस्बिर सहितको अंक पनि मैले हात पारेको छु।)

यी ऐतिहासिक तस्बिरहरू भोल्कमार वेन्त्जलले खिचेका हुन्। जसमा तत्कालीन नेपालको यथार्थ छ।

वेबरको चित्रमा भने यथार्थ र कल्पना दुबै छ। यसमा नेपालको प्राकृतिक विविधताको सम्मानमा कलाकारको कल्पना मिसिएको छ।

तर यो स्वैर–कल्पना भने होइन। यहाँ धेरै यथार्थहरू मिसिएर आएका छन् र यो लेखको रहस्य यसैभित्र छ। र यो चित्रमा समेटिएको कुरा नै लेखकले आफ्नो भ्रमणको सबैभन्दा चामत्कारिक उपलब्धि मानेका छन्।

र, यो कथाको मुटु नै त्यही चरा हो।

म्यागेजिनमा प्रकाशित  लेखको अन्तिम पृष्ठमा छापिएको उही पेन्टिङ

यो चित्रमा फरक फरक रङका पाँचवटा चराहरू ढकमक्क फुलेको लालीगुराँसका हाँगामा प्रफुल्ल मुद्रामा बसेका छन्।

पारिपट्टी रमाइलो मानिरहेको हिमाल देख्न देखिन्छ। बीचमा गमक्क परेको पहाड पनि छ।

एउटै फ्रेममा नेपालको एकसरो प्राकृतिक विविधता अटाउने यस्तो दृश्य नेपालका हिमाल र पहाडबारे चासो लाग्नेहरूलाई सजिलोगरी बुझाउन सक्ने चित्र हो यो।

यो त्यो समयको कथा हो, विश्वयुद्धको असर जब नेपालसम्म आइपुग्यो।

राणा प्रधानमन्त्री बाहिरी दुनियाँसँग सम्बन्ध खुकुलो बनाउन चाहन्थे। रिप्लीको समयसम्म जम्मा दुई सय युरोपेली र ३० अमेरिकीले काठमाडौँ छिर्ने अनुमति पाएका थिए।

तीमध्ये बेलायती सेनाका उच्च पदस्थ र उनीहरूसँगै आएका कलाकार, वैज्ञानिक तथा सहयोगी पर्थे। र, यो चराले त्यसमध्ये सय वर्षअघि नै नेपाल पुगेका बेलायती जीवशास्त्रीको कथा पनि उधिन्छ। र, यो चित्र पश्चिमाहरूलाई मोहित पार्ने हिमालका रहस्यमयी कथाहरूका पछाडि कल्पना होइन यथार्थ हो भन्दा पनि फरक पर्दैन।

यो चित्रले वास्तवमा पारीको रहस्यमयी हिमालको कथा भन्दा पनि सबैभन्दा अगाडि देखिएको चराहरूलाई रहस्यको रुपमा उतारेको छ।

सबैभन्दा विशेष त यसले १०० वर्षको फरकमा नेपाल भ्रमण गरेका एस डिलन रिप्ली र इष्ट इण्डिया कम्पनीका कर्मचारी सर ब्रायन हज्सनलाई समेत एकै फ्रेममा समेटेका छन् ।

रिप्लीले यो भ्रमणकथा उनै हज्सनप्रति समर्पण गरेझैँ भावमा सम्मान दिएका छन्। अर्को शब्दमा भन्नुपर्दा हज्सनले सुरु गरेको कथा रिप्लीको टोलीले पूरा गर्‍यो।

चर्चित अनलाइन बिक्रेता इबेमा पुराना म्यागेजिनहरू खोज्दै जाने क्रममा यो थाहा भयो कि, यो चित्रलाई कलाका बिभिन्न माध्यममा उतारिएका रहेछन् । भेटिएमध्ये ध्यान तान्ने एउटा पेन्टिङ टिनको पातामा बनाइएको पुरानो समय झल्काउने रङ पोतिएको थियो।

यो आफ्नो रुचिअनुसार ‘एन्टिक’ तथा ‘भिन्टेज’ सामग्रीहरू संग्रह गर्नेहरूले महँगो मूल्यमा खरिद गर्छन्।

वास्तवमा भन्ने हो भने नेसनल जिओग्राफीको यो अंक नेपालीहरूका लागि मात्र होइन बाहिरी देशका मानिसहरूकालागि नेपालबारे जान्न खुल्दुली जगाउने अंक रहेछ।

तर बाहिरका थुप्रै देशका मानिसहरू दुनियाँ चाहारिसक्दा पनि नेपालीहरू भने अझै पनि बन्द अवस्थामै थिए। थुप्रै देश घुमिसकेका थुप्रै विदेशीहरू पनि हत्तपत्त नेपाल जान पाउँदैनथे।

चराले आकाशबाट हेरेझैँ लेखक हाम्रा लागि ऊ बेलाका कथा सुनाउँदै जान्छन्।

चराको आकाश हुन्छ, मान्छेको हुँदैन। मानिसहरूलाई सीमानाले रोक्छन्। नेपाल अध्ययन गर्न चाहने अमेरिकी वैज्ञानिकहरूको टोलीले अनुमति लिनुको कारण थियो, उही चरा।

सय वर्षअघिको चरा, जुन संसारबाट एक्कासी हरायो। जीवशास्त्रीहरूलाई लाग्यो, अर्को एउटा प्रजाति लोप भयो। तर वैज्ञानिकहरूको चासो कहिल्यै सकिँदैन। कतिपयलाई पत्ता लगाउनुसँगै कीर्तिमान बनाउनु बढी रहर हुन्छ।

‘लुकाइएको मुलुक नेपाल ‘

नेपालसम्म उनको यात्रा आफैँमा अर्कै लोक गएझैँ लाग्ने रोचक वर्णन छ। त्यो यात्रा आफैँमा खोज हो भने त्यो चराले उनलाई कीर्तिमानी दिलायो। (उनले यसबारे सन् १९५२ मा किताबै लेखेका रहेछन्। अनलाइनमा किनिसकेको ७३ बर्षअघि प्रकाशित त्यो किताब ल्याइदिने युपीएसका कर्मचारीलाई कुरिबसेको छु।)

तर राणा शासनकालमा जसरी नेपालका मानिसहरू बाहिर निस्कन सक्दैनथे, त्यसरी नै बाहिरका मानिसहरू नेपाल छिर्न सक्दैनथे। यो देशभन्दा बढी रहस्य लुकेको ठाउँ हो र यो ठाउँलाई बडो मेहनतले बाहिरी दुनियाँबाट लुकाइएको छ। त्यसले पनि जीवशास्त्री लेखकले प्राकृतिक विविधतालाई मात्र होइन, नेपालको भूगोल आफैँ पनि रहस्यमयी छ भनी देखाउँछन् ।

त्यसैले उनी भन्छन्, ‘नेपाल लुकाइएको मुलुक हो।’

नेपाली पहिचान अहिलेजस्तो नेपालभर बस्ने मानिसहरूको बनिनसकेको समय हो यो।

‘नेपाल’ त्यतिबेलासम्म काठमाडौँभित्रै कैद थियो र नेपाल राष्ट्र बनिसकेको थिएन। आधुनिक राजनीतिको भाषामा भन्नुपर्दा बरु त्यहाँ कयौँ ‘राष्ट्र’हरू थिए। नेपाल त्यतिबेलासम्म काठमाडौँ मात्र थियो र त्यसले साझा पहिचान बोकिसकेको थिएन। यसको आधारमा भन्न सकिन्छ, नेपाल पनि काठमाडौँभित्रै लुकेको थियो।

लेखमा लेखकले वर्णन गरेझैँ ‘तपाईँ नेपाली हो’ भनेर सोध्दा उतिबेलाका नेपालीहरू अचम्म मान्थे रे। उनीहरू ‘मगर’, ‘गोरखा’, ‘नेवार’, ‘थकाली’, ‘गुरुङ’, ‘भोटे’ जस्ता जातिवाचक या क्षेत्रीय नामले चिनाउँथे।

यसको आधारमा हामीले बहुसंख्यक मान्छेहरूको आस्था जोडिएको राष्ट्र र राष्ट्रियतासम्बन्धि पहिचानहरूको तरल विशेषतालाई जनाउँछ।

पहिले नेपाल भनेको काठमाडौं मात्रै ठानिने गरेको इतिहास हामीले पढेकै हौ। हामी हुर्कँदासम्म गाउँतिरबाट काठमाडौं हिँडेकालाई बुढापाकाले नेपाल जाने भन्ने गरेको सुनिन्थ्यो।

आम नेपालीले नै नेपाली भनेर चिनाउन नजानिसकेका बेला बाँकी विश्वमा भने नेपालबारे चर्चा भइसकेको पाइन्छ। त्यसैका केही प्रमाण हुन – द नेशनल जियोग्राफिक म्यागेजिनका यी सुरक्षित अंकहरू।

सन् १९५० मा छापिएको भए पनि लेखकको टोलीले नेपाल भ्रमण गरेको समय त्यसको दुई वर्षअघि हो। अघि भनेझैँ नेपाल र बाहिरी देशबीचको ढोका बन्द भए पनि एउटा मुख्य ढोका दिल्लीमा थियो। विदेशीका लागि नेपालसम्म छिर्ने यात्रा दिल्लीबाट सुरु हुन्थ्यो।

अमेरिकी लेखक रिप्ली एक अभियानका क्रममा दिल्लीमा थिए। अमेरिकी मिसन प्रमुख जर्ज मर्रेलले उनलाई सुझाव दिए– तिमी यस्तो देश जाउ, जहाँ जान करिब प्रतिबन्ध छ। त्यो देश हो अलि माथिको–नेपाल।

मर्रेल नेपालसँग कूटनीतिक सम्बन्ध बढाउन भर्खर नेपाल भ्रमणबाट फर्किएका थिए। त्यसैले अनुमान गर्न सक्छौँ कि, मर्रेलले कति कथाहरू सुनाए होलान् जसले रिप्लीको कौतुहलता झन् बढाएको थियो।

यात्रा गर्न रुचि राख्नेका लागि यस्ता कुरा मुख्य आकर्षक हुन्। लेखअनुसार भारतमा चराहरूको अनुसन्धान गरिरहेका रिप्लिलाई लाग्यो यो नै उपयुक्त समय हो। चराहरू अध्ययन गर्नेहरूका लागि चासोको महत्वपूर्ण पक्ष हो, चराहरूको बसाइँसराइ ।

चराहरूका लागि नेपाल र भारत फरक देश थिएनन्। उनलाई भारत र नेपाल आइजाइ गर्ने चराहरू र नेपालभित्र मात्र पाइने रैथाने चराहरूबारे थप अनुसन्धान गर्ने रहर लाग्यो।

१०६ वर्षअघि नै ‘इष्ट इण्डिया कम्पनी’मा कार्यरत बेलायतका नागरिक ब्रायन हज्सनको अनुसन्धानले उनको बाटो खनिदिएको थियो।

हज्सनको टोलीले त्यतिबेला ५६३ चराहरूको अभिलेखिकरण गरेको थियो।

जुन चरा यो यात्राको रहस्य हो, ती चारवटा भेटिएका थिए। तर मृत अवस्थामा। त्यतिबेला मरेका चराहरूसमेत थप अनुसन्धानका लागि बेलायत पठाइएको लेखमा उल्लेख छ।
लण्डनको ब्रिटिस म्युजियममा ती कस्तो अवस्थामा होलान भनेर लेखकले आश्चार्य समेत जनाएका छन् ।

राणा प्रधानमन्त्रीबाट अनुसन्धानको निम्तो

वास्तवमा हज्सन नेपालका प्राकृतिक विविधताबाट लोभिएर नेपाल गएका भने थिएनन्।

सायद मौसमी बिरामीका कारण उनी सन् १८३० तिर भारतबाट काठमाडौँ उक्लिएका थिए।

काठमाडौँको हावापानीले उनको स्वास्थ्य सप्रिएपछि, मौसमी सहजताका लागि सन् १८३३ देखि १८४३ सम्म बेलायती प्रतिनिधिको रुपमा नेपालमा राणाहरूका दरबारमा बसेका थिए।

यसैक्रममा उनले स्थानीय सहयोगी तथा सिकारीहरूको सहयोगमा नेपालका बिभिन्न पहाड, झरना, जंगल तथा खोँचहरूबाट चराहरूको नमुना संकलन गरेका थिए।

लेखमा रिप्लीले भनेअनुसार हज्सनकै अनुसन्धानले भारतीय उपमहाद्विपमा पाइने चराहरूलाई वैज्ञानिक नाम दियो।

हज्सन आफैँ अनुसन्धानका लागि काठमाडौँ बाहिर गएका भने थिएनन्।

त्यसैले रिप्लीको टोलीको यात्रा झन् महत्त्वपूर्ण किन छ भने उनीहरू आफैँ नेपालका सुदूर पहाडहरू पुगेर अनुसन्धान गरेका थिए। नत्र त जति पनि अनुसन्धान हुन्थे, काठमाडौँभित्र या वरपर मात्र सीमित थिए।

त्यो चरा उही सुदूर पहाडमा भेटिएका थिए। जुन यो अनुसन्धानको मुख्य उपलब्धि हो।

तर अनुसन्धानका लागि मात्र होइन, प्रवेशका लागि मात्र पनि नेपाल आउनका लागि विशेष अनुमति चाहिन्थ्यो। दिल्लीस्थित अमेरिकी प्रतिनिधिको सहयोगमा राणा प्रधानमन्त्रीलाई तार पठाइन्छन्।

तार भनेको फोन र इन्टरनेट नभएको समयमा सबैभन्दा छिटो सम्पर्क गर्ने माध्यम ‘टेलिग्राम’ हो।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ मोहन शमसेरमार्फत् अनुसन्धानका लागि अभूतपूर्व निम्तो प्राप्त हुन्छ।

लेखकले यो यात्रामा धेरै अभूतपूर्वक क्षणहरू वर्णन गरेका छन्, यो त एउटा सुरुवाती मात्र हो।

दिल्लीदेखि काठमाडौंसम्मको यात्रा

दिल्लीदेखि काठमाडौँसम्मको यात्रामा यस्ता थुप्रै क्षणहरू भएका छन्, जुन लेखकले मेसैसित वर्णन गरेका छन।

पाँच हप्ताका लागि अनुमति पाएपछि भ्रमण टोलीमा येल विशविद्यालयका संग्रहालय सहायक एडबर्ड मिगडाल्स्की, विश्वविद्यालयमै अध्ययनरत दुई जना जीव संकलक हावर्ड वीभर र रिचर्ड म्याक, नेशनल जियोग्राफिका ‘स्टाफ फोटोग्राफर’ भोल्कमार वेन्त्जेल र भारतीय सेनामा कार्यरत एक अंग्रेज युवा फ्रान्सिस लिसन पनि रिप्लीका सहायकका रुपमा सहभागी थिए।

उनीहरू भारतको कलकत्ताबाट रक्सौल हुँदै नेपाल उक्लिएका थिए।

लेखअनुसार रक्सौलमा नेपाल र भारतका आ–आफ्नै विश्राम गृह थिए।

सन् १९२७ मा बनेको ‘नेपाल गभन्र्मेन्ट रेल्वे’ ४७ किलोमिटर साँघुरो लिकमा गुड्ने रेल मार्फत रक्सौलबाट नेपालको अमलेखगञ्ज ओर्लिएका थिए।

यो त्यही रेलमार्ग हो, जुन बेलायतीहरूले नेपालबाट भारततीर काठ ओसार्ने माध्यम बनाएका थिए।

टोली अमलेखगञ्जबाट भीमफेदी आइपुग्छ। कहिले घोडा त कहिले डोली चढ्दै एउटा ठूलो ढुंगा भएको विश्रामगृह पुग्दा त्यहाँ बिजुली बलेको उल्लेख छ।

यो काठमाडौँसम्मको यात्रा हो। इतिहासमा काठमाडौँलाई लिएर चन्द्रागिरी डाँडोले पाएको विभिन्न प्रख्याति लेखकले पनि वर्णन गरेका छन्। आफ्नै शब्दमा। जुन आफैँमा मनमोहक छ।

विकशित पूर्वी नेपाल

तर त्यसअघि पूर्वी पहाडबारे लेखकले गरेको वर्णनबारे चर्चा गरौँ। पश्चिमी पहाड त यो खोजको केन्द्र भइहाल्यो, जहाँ एउटा चराले चामत्कारिक भूमिका खेलेको छ।

पश्चिमी नेपालको तुलनामा पूर्वी नेपाल विकसित भइसकेको थियो। यहाँ विकसित शब्द सापेक्षिक रुपमा तुलना गरिएको हो। अहिलेको समयको आधारमा भने होइन।

विराटनगरमा औद्योगिक केन्द्र बन्दै गर्दाको समय हो। त्यहाँ एउटा जुटमिल सञ्चालनमा थियो र अर्को निर्माणाधीन। यो कारखानामा दैनिक बीस टन अर्थात् १७,२८० वटा बोरा तयार हुन्थे।

त्यहाँ केही कपास कारखाना र चिनी मिलसहित अरु स–साना घरेलु उद्योग र एउटा बिजुली उत्पादन गृह थियो।

नेपालमा आयकर नलाग्ने र भन्सारको सहज व्यवस्था भएकाले भारतीय लगानीकर्ताहरूले नेपाल सरकारसँगको सहमति अनुसार लगानी गरेका थिए। कामदारहरू पनि अधिकांश भारतीय नै हुन्थे।

नेपालको सरकारका लागि राजनीतिक र प्रशासनिक चुनौति पनि थियो। त्यसैले नेपाली श्रमिकहरूको संख्या बढाउने चर्चा पनि चल्दै थियो।

विकासको प्रारम्भिक चरणमा रहेको नेपालबारे छुटाउनै नहुने उदाहरण हो, त्यतिबेला बन्दै गरेको कोशी बाँध।

रिप्लीको भनाइमा यो विशाल योजना पूरा भए सन् १९३० मा बनेको अमेरिकाको प्रसिद्ध बाँध ‘हुभर ड्याम’भन्दा अग्लो हुनेछ।

उनले यो अमेरिकाको त्यो बाँधसँग तुलना गर्नुको समान कारण थियो– बाढी नियन्त्रण। कोशीको बाढीका कारण भारतले ठूलो प्रकोप खेप्थ्यो।

अमेरिकी इन्जिनियरहरूको सहयोगमा बनेको बाँधले बाढी नियन्त्रण गर्ने मात्र नभई सिँचाइ र बिजुली उत्पादनमा पनि सघाउनेछन् भनी लेखकले चर्चा गरेका छन्।

लेखकले यो कुरालाई चर्चा गर्नुमा उनको व्यक्तिगत विचार मात्र नभइ नेपाल र भारतका शासकहरूको प्रचार उद्देश्य कल्पना गर्न कठिन हुँदैन्।

तर रिप्लीले आधुनिकताको सपनाको मूर्त रुप जन्मिँदै गरेको सपना देखाएका छन्। रिप्ली लेख्छन्, ‘यदि यो पूरा भयो भने, पूर्वी नेपालले आधुनिक रुप लिनेछ, सडक, रेल, बिजुली, र आधुनिक सुविधासहितको समुदायमा रूपान्तरण हुनेछ।’ कोशी बाँधले कुन देशलाई बढी फाइदा पुर्यायो भन्नेबारे थप बहस जरुरी नहोला।

यसरी नेपालको हरेक पक्षको चर्चा गर्दा भारत नछुटेझैँ भारत हुँदै चन्द्रागिरीसम्म पुगेको रिप्ली नेपाललाई अहिलेसम्म स्वतन्त्र राखिराख्न नेपालको भौगोलिक अवस्था नै सबैभन्दा ठूलो शक्ति भएको ठान्दछन्।

तराईका भूभाग आवतजावतका लागि सहज भए पनि फरक भूगोल र हावापानीमा हुर्किएका मानिसका लागि मलेरियाजस्ता रोगका कारण बसोबास गर्न कठिन थियो। पहाडहरू आफैँमा रक्षाकवच भइहाले। यसो भन्दै गर्दा भारत त्यतिबेला बेलायतको अधिनमा रहेको स्मरण हुन्छ।

भारतसम्म पुगेका धेरै पश्चिमाहरूलाई तिब्बतप्रति पनि उत्तिकै चासो थियो। तर तिब्बत जाने असहजताका कारण उनीहरू नेपालतिर बढी चासो राख्थे।

अर्कातिर दोस्रो विश्वयुद्धपछि अमेरिका शक्तिशाली हुनु, बेलायत शक्तिहीन हुँदै जानु र त्यसको असर छिमेकी देश भारतमा पर्ने भएकाले तत्कालिन राणा प्रधानमन्त्री पद्मसमशेर बाहिरी दुनियाँप्रति सजग हुन थालेका थिए।

यसैको असर स्वरुप रिप्लीको टोली नेपाल यात्रा नेपालको आधुनिक समयमा बाहिरी दुनियाँसँगको सुरुवातकालिन भेट थियो। जसले नेपालको पहिचान विविधता हो भन्ने प्रचार गर्न सघायो।

नेपाललाई ‘नेचर ल्याब’ नाउँ दिएका रिप्लीले प्राकृतिक विविधताको बखान गर्न उनले वनस्पति र हावापानीलाई उदाहरण बनाएका छन्।

अमलेखगञ्ज हुँदै भीमफेदी, चन्द्रागिरी र काठमाडौँसम्मको यो यात्रामा उनले हरेक तीन किलोमिटरमा फरक हावापानी अनुभव गरे। सानो देश भइकन एकैदिनमा धेरै किसिमको मौसम भएको नेपालका हिमाल पहाडबारे चर्चा गर्दा सगरमाथा छुट्ने कुरै भएन।

यसको एउटा रोचक कुराचाहिँ लेखकले सगरमाथाको उचाइ ८८३९.८१ मिटर उल्लेख गरेका छन। जुन हामीले पढ्दै आएभन्दा ८–९ मिटर होचो हो। झन् रोचकचाहिँ धेरै नेपालीहरूलाई सगरमाथाको बारेमा खासै जानकारी नै थिएन।

नेपालीले सगरमाथालाई असंख्य पर्वतहरूमध्ये एक पर्वत भनी मात्रै चिन्ने गरेको लेखमा उल्लेख छ । हुनत, नेपाल पहिचान नै व्यापक नभइसकेको समयमा सगरमाथा पहिचानको अंग बन्ने कुरै भएन।

लेखअनुसार यो यात्रा नयाँ कुरा उधिन्नमा थियो, न कि परिवर्तन हुँदै गरेको नेपाल। तर उनले नयाँ ठाउँमै परिवर्तन भइरहेको देख्छन्। यो परिवर्तन मानिसहरूले आश्रयका लागि संघर्ष गर्दै गर्दा त्यसले वातावारणमा पारेको असरसँग सम्बन्धित छ।

ती गर्ने जमिन विस्तार हुँदै हिमाल मुन्तिरसम्म पुग्दै गरेको, गाईवस्तु १२ हजार फिट उचाइसम्म चरिरहेको, वन घट्दै गएको र सिकार हुने जनावर र चराहरू मासिँदै गएको, खोलानदीका बीचमा गाद जम्मा भएर किनारको माटो कटान हुँदै गरेको देख्छन् ।

वातावरण संरक्षणको बहस सघन नभइसकेको समयमा उनको यो अवलोकनलाई नेपालको वातावारणीय प्रभावको अनुसन्धानका लागि सुरुवाती आधार बन्न सक्छन् ।

नेपाल : ‘अ ल्याण्ड अफ अल्माइटी रिभर्स’

तर यो पनि भन्न छुटाउँदैनन्– नेपालका हरेक मोडमा विज्ञानका नयाँ कथा भेटिन्छन् । सँगै नेपाललाई ‘अ ल्याण्ड अफ अल्माइटी रिभर्स’ अर्थात् महान नदीहरूको देशको संज्ञा दिएका छन्। तर यो देश अहिलेको परिभाषाअनुसार प्रयोग गरिएको भने होइन।

उनले लेखमा यो विषयमा धेरै चर्चा नगरे पनि लेखसँगै जोडिएर आउने चित्रहरूले भने धेरै कुरा भन्छन। देशको प्राकृतिक विविधतासँगै नेपालीहरूको इतिहास भन्ने चित्रमध्ये एउटा प्रख्यात चित्र हो, भीमफेदीबाट लेखकले भनेझैँ बेहुलीझैँ गाडी बोकेर काठमाडौँ ल्याएको तस्बिर, जुन नेपालीहरूको त्यतिबेलाको अवस्था देखाउने चित्र हो।

लामा काठहरू जोडेर डोलीजस्तो बनाइ त्यसमाथि गाडी बोक्दा मानिसहरू सामूहिक रुपमा गीत गाउँथे रे। जसले उनीहरूलाई ऊर्जा दिन्थ्यो। यसले नेपालीहरूको संघर्ष र सामूहिक भावनालाई बुझाउँछ। चित्रमा रिप्लीका शब्दहरू पार्श्वधुनीझैँ सुनिन्छन।

योभन्दा बढी लयात्मक हरफहरू त चन्द्रागिरीबाट काठमाडौँ देख्दाको छ। उनले गाडीको यात्रालाई अद्भुत भनेसँगै अर्को अद्भुत दृश्यको रुपमा वर्णन गरेका छन्।

उनी लेख्छन्, ‘हाम्रा आँखामुनि एउटा चामत्कारिक दृश्य खुल्यो। हरियाली सिँचाइका सिँढीजस्ता खेतहरू, मध्यभागमा सेता दरबार र मन्दिरहरू, र टाढा टाढा हिमालका सेता शिखरहरू अन्नपूर्ण, गोसाइँथान, हिमलचुली… एक किसिमको जीवित सांग्रिला झैँ।’

सांग्रिला हिमालयको कुलुन पर्वतमा अवस्थित एउटा त्यस्तो ठाउँ हो जहाँ सुखको मात्र बास हुन्छ। यो रहस्यले भरिएको र शान्त छ।

तर रोचक कुराचाहिँ यो कथा बेलायती लेखक जेम्स हिल्टनको उपन्यास ‘लस्ट होराइजन’बाट प्रख्यात भएको हो। वर्तमान समयको काठमाडौँको एउटा यथार्थमध्ये मुस्लोले ढाकेको काठमाडौँको दृश्यसँग तुलना गर्दा उतिबेलाको काठमाडौँ आफैँमा काल्पनिक संसारजस्तो लाग्छ।

रिप्लीले गाडी बोकेर काठमाडौँभित्र लगिँदै गरेको मात्र देखेनन्, उनको टोलीको प्रतीक्षाका लागि गाडीहरू तैनाथ भएको पनि देखे।

सम्झनुपर्ने कुरा के हो भने उनले देखेको त्यो पहिलो कार थिएन। त्यसअघि नै काठमाडौँभित्र गाडी भने भित्रिइसकेका थिए।

ती जर्मनीमा बनेका मर्सिडिज बेन्ज र रोल्स रोयस कम्पनीका थिए। भन्नै परेन, ती गाडीहरू राणा शासकहरूको सुविधाका लागि थियो।

दरबार भित्रिने विदेशी पाहुनाहरूले पनि त्यसको उपभोग गर्न पाउने भइहाले।

‘महाराजा’ सम्बोधन गर्दै प्रधानमन्त्री मोहन समशेरसँगको भेटलाई उनले अर्को अद्भुत अनुभव भनेका छन।

मोहनसमशेरप्रति सम्मान व्यक्त गर्दै उनले लेखेका छन्, उनी एक आकर्षक र उदार विचारका व्यक्ति थिए, जो नेपालमा बाहिरी संसारका नयाँ विचारहरू सावधानीपूर्वक भित्र्याउन चाहन्थे।
उनले राजा त्रिभुवनसँग पनि भेट गरेका थिए। रिप्लीको बयानअनुसार ४३ वर्षीय राजा त्रिभुवन बडो आकर्षक व्यक्तित्व थिए र महाराजको हात समातेर दरबार प्रवेश गर्थे।

दरबारका दृश्यले चकित

राणा र राजाका दरबार भित्र देखिएका दृश्यलाई शब्दमा बयान गर्न नसकिने बताउँछन। तै पनि उनी रोकिँदैनन। भन्छन्, ‘राणा र राजपरिवारका सदस्यहरू रत्नजडित मुकुट लगाउँथे।

हीरा, पन्ना, माणिक र बर्ड अफ प्याराडाइजका प्वाँखहरूले सजिएका ती मुकुट संसारभरका अन्य कुनै पनि मुकुटभन्दा अलग थिए। दरबारको हल सुनौलो र झिलिमिली थियो। कुर्सी, झिलमिली झ्यालबत्ती, चित्रहरू, बाघका छालाहरू, र काँसबाट बनेका सिंहका विशाल मूर्तिहरू, जसका मुखबाट बिजुलीको बत्ती चम्किन्थे।’

उनी छक्क भावमा थप बयान गर्छन्, ‘महाराज र उनका परिवार रत्नले चम्किरहेका थिए, त्यो दृश्य म कहिल्यै बिर्सन सक्दिनँ।’

रिप्लीको काठमाडौँ बसाइका क्रममा भारतका लागि नवनियुक्त अमेरिकी राजदूत लाय हेन्डरसन पनि नेपाल पुगेका थिए।

उनले दरबारमा आयोजित भव्य समारोहमा मन्त्रीको रुपमा ओहदाको प्रमाणपत्र पेश गरेका थिए, एउटा राजाका सामु र अर्को राणा महाराजसामु।

आकर्षक राता पोशाकसहित श्रीपेच नै श्रीपेच लगाएका र तरबार बोकेकाहरू भिडमा तीन जना विदेशी अनुहार तस्वीरमा देखिन्छ। लेखक राणा र राजाका पोशाक देखेर चकित हुन्छन्।

नेपालका दुवै दरबार, विशेषगरी राणा प्रधानमन्त्रीलाई खुसी पार्नुपर्ने जरुरी पनि थियो। किनकि उनी नेपालको राजनीतिको अनुसन्धान गर्न गएका थिएनन्।

खास अनुसन्धानका लागि काठमाडौँबाहिर जान पाउनुपर्ने अनुमति अति आवश्यक थियो। काठमाडौँ आफैँमा रहस्यले भरिपूर्ण त थियो, तर काठमाडौँबाहिरको संसार पनि पत्ता लगाउनु थियो।

मोहनशमशेरले दिए चरा खोज्ने अनुमति

जहाँ थप रहस्य भेटियोस्। यात्रा कथा त चराको पो हो। दरबारको होइन। मोहन शमशेरबाट मन लागेजति ठाउँ जान पाउने अनुमति लिएर उनीहरू पश्चिम नेपालको यात्रामा निस्कन्छन् ।

तर काठमाडौँ अहिलेको पश्चिम नेपालसँग जोडिएकै थिएन।

फेरि भारतलाई नै बाटो पारेर जानुपर्थो। २०–३० थप भरियाहरूलाई सामान बोकाएर रक्सौलबाट रेल चढेर रिप्लीको टोली नेपालको पश्चिमी भेगको सीमानासम्म पुग्यो।

चारवटा रेल फेर्दै करिब ८०० माइलको रेल यात्रापछि कौरियाल घाट पुग्दा उनीहरूले टाढा उत्तरतिर सेतै चम्मिएका हिमालका चुचुराहरू देखे।

तत्कालीन युनाइटेट प्रोभिन्स, हालको उत्तर प्रदेशकी गभर्नर, कवि तथा स्वतन्त्र सेनानी सरोजिनी नायडुको सहयोगमा एउटा हात्ती र गोरू गाढाको व्यवस्था भएपछि तराई पार गर्दै टोली नेपालका पहाडतिर उक्लिन्छ।

नेपाल भित्रिएपछि नेपाल सरकारका तर्फबाट थप तीनवटा हात्ती पनि दिइएको बताउँदै लेखक हात्ती र गोरुगाढा दुवैको प्रयोगबारे अप्ठ्यारो अनुभव साट्छन्।

तर हिँड्नुभन्दा केही छिटो र केहीबेर भए पनि रमाइलो अनुभूति भएको पनि छुटाउँदैनन। तीन दिनको यस्तो यात्रा सम्झिँदै उनी लेख्छन्, ‘हामी २०औँ शताब्दी होइन, १६ औँ शताब्दीमा फर्किएका छौँ।’

पहाड उक्लनुअघि कर्णाली नदीको विशाल मैदानमा उनीहरूले क्याम्प राखे। जहाँ रेशमजस्ता मुलायम हरिया धागाहरूको तरंग नदीमा मिसिन्थ्यो र पानीमा आफ्नै लय बनाउँदै बग्थ्यो।

रिप्लीको शब्दमा शान्त तर शक्तिशाली कर्णाली नदी करिब १५ किलोमिटर प्रतिघण्टाको तेजमा बग्थे। जाडोमा हरियो र पवित्र देखिने नदी वर्षामा भने माटो बोकेर बग्थ्यो।
पश्चिम नेपालको यो यात्रामा रिप्लीले उनको टोली बसेको रेक्चा गाउँलाई महत्त्वसाथ सम्झँदै वर्णन गरेका छन्।

अहिलेको कर्णाली प्रदेश, सुर्खेतको चौकुने गाउँपालिका वडा ५ मा पर्नसक्ने यो गाउँबारे अहिले इन्टरनेटमा खोज्दा पानीको हाहाकारका समाचारहरूसहित भेटिन्छ।

रिप्लीले ती ठाउँलाई, पंक्षीसम्बन्धी अध्ययनकालागि एसियाकै एक उपयुक्त स्थानका रूपमा व्याख्या गरेका छन्।

त्यतिबेला ४० वटा घर भएको रेक्चामा अहिलेका समाचार अनुसार ७० घर छन्। तर पानीको स्रोत घट्दै गएपछि मानिसहरू बसाइँ सरिरहेका छन्। किनकि केही वर्षअघि मात्र त्यहाँ ८० घरपरिवार थिए।

रेक्चाका बासिन्दाका लागि रिप्लीको टोली अमेरिकी थिएनन्। उनीहरू त पञ्जाबी थिए।

त्यतिबेला उनीहरूलाई पञ्जाब नै सबैभन्दा टाढाको ठाउँ हो भन्ने लाग्थ्यो। अमेरिका भन्ने त्यहा कसैले पनि सुनेको थिएन तर कसैकसैले समुद्रपारीबाट आउनेलाई अंग्रेज भनिने शब्द सुनेको बताउँथे।

बास माग्दा जातको कुरा, टपरीमा तातो भात र चिप्लो साग

एउटा घरमा बास माग्दा अशुद्ध हुन्छ भनी एक ब्राम्हणीले खाना नदिएपछि पाँचको नोट देखाउँदै आफू पनि ठूलो जातको भएको र अशुद्ध नहुने भन्दै अनुरोध गरेपछि टपरीमा तातो र चिप्लो सागसँग भात खान पाएको लेखक सम्झन्छन् ।

कठ्याँग्रिदो जाडोमा रिप्ली यात्रामा भेटिएका एक नेपालीसँगै अगेनाछेउमा सुत्छन्। तर धुवाँले निस्सासिनुपर्दाको अप्ठ्यारोले उनको केही दिनअघिको दरबार बसाइको सम्झना ताजा भएर आउँछ। उनको टोलीका अरु सदस्य कोही त्रिपाल र कोही गोठमा सुतेको सम्झना पनि लेखकसँग छ।

१०६ वर्षपछि भेटियो काँडेभ्याकुर

यो ठाउँलाई बढी सम्झना गरेर लेख्नुपछाडि यो कथाको रहस्य छ। अन्ततः त्यो रहस्यको घुम्टो उघ्रिन्छ, रेक्चामा पुगेर।

मध्यपहाडी क्षेत्रमा पाइने त्यो चरा डिसेम्बरको मध्य जाडोबीच क्रिसमसका दिन अर्थात् २५ तारिखमा भेटिएको थियो। यो रिप्लीको देश अमेरिकामा मनाइने प्रमुख चाड हो।

यसले पनि उनको टोलीको यो उपलब्धिलाई झनै रहस्यपूर्ण बनाउँछ।

त्यो कुनै काल्पनिक जीव थिएन, बरु नेपालको पहाडी खोँचहरूमा लुकेर बसेको एउटा यस्तो अस्तित्व थियो जसलाई संसारले ‘स्पिनी ब्याब्लर’ भन्यो।

हाम्रा लागि यो केवल एउटा चरा होला, तर विज्ञानका लागि यो एउटा हराएको युगको फिर्ती थियो। र, यो खोज ‘नेपाल चमत्कार’ को रुपमा स्वागत भयो।

रिप्लीले ‘नेचर ल्याब’ (प्राकृतिक प्रयोगशाला) भनेको देशमा लोप भइसकेको ठानिएका प्रजातिहरू अज्ञात वन र खोँचहरूमा अझै सुरक्षित छन् भन्ने प्रमाणित गरिदियो।

रहस्यहरू भेटिनुअघिको तत्कालको समय त्यति नाटकीय नहुन सक्छ जति हामी अनुमान गर्छौँ।

रिप्लीको टोलीले बनपाखा घुम्दै गर्दा सात वटा विशेष किसिमको चरा देखेका थिए। केही झाडीभित्र त केही भुइँमा उफ्रिँदै चारो खोजिरहेका। चरासँग उनको त्यो भेटलाई दृश्यमा अनुमान गर्दा, उनको हातको पसरमा एउटा यस्तो सानो चरा थियो, जुन १०६ वर्षदेखि हराइरहेको थियो।

त्यो चरालाई हामी धेरैले सामान्य ज्ञानको प्रश्नबाट जान्दछौँ– नेपालमा मात्र पाइने पंक्षी कुन हो?

हामीले पटक पटक दिएको उत्तर हो– काँडे भ्याकुर।

रिप्ली कुनै युद्धमा थिएनन् तर यसलाई सबैभन्दा ठूलो विजयको रुपमा उत्सव मनाएको उनका शब्दहरूमा देखिन्छ। साथै चराहरूको खोजीमा एउटा उत्कृष्ट पशुपंक्षी वैज्ञानिक खोज मानेका छन्।

यो पौने शताब्दीमा के के परिवर्तन भए, हामी अहिले साक्षी छौँ। नेपालीहरू संसारका धेरै देशका कुना कुना पुगेका छन्। तर, चराहरू? भेटिनेभन्दा लोप भएको प्रमाणित हुने बढ्दो क्रममा छ। नेपालमा मात्र पाइने भनेर देश चिनाउने थुप्रै प्रजातिहरू लोप हुने संघारमा छन्। वैज्ञानिकहरू संसारभरका धेरै खोँचहरूमा पुगिसकेका छन्, तर उनीहरूले नयाँ भेट्टाउनुभन्दा बढी लोप भएको निश्कर्ष निकालिरहेका छन्।

हराइसकेका जीवजन्तु फिर्ता ल्याउन सम्भव छैन। किनकि खोज्न बाँकी ठाउँ खासै बाँकी छैनन्। तर लोप हुनै लागेकालाई बचाउन भने सम्भव छ, जब हामी आफैँ संरक्षणमा लाग्नेछौँ।

पहिचानको दृष्टिले देश चिनाउन चरा, वन्यजन्तु, हिमाल या गौतम बुद्धजस्ता राष्ट्रिय धरोहरहरू सहायक मात्र हुन् तिनको संरक्षण गर्दै नयाँ आविष्कार गर्न भने आफ्नै परिश्रम चाहिन्छन्। तब मात्र हामीलाई नेपाल चिनाउन पर्याप्त नयाँ बिम्बहरू उपलब्ध हुनेछन्।

भविष्यको आधार विगतमा कोरिएको हुनेछ। आफूलाई चिन्न अरुले कसरी चिनेका छन् भन्ने जान्न पनि उत्तिकै जरुरी। मेरो अबको खोज योभन्दा अझै पुराना लेखहरूमार्फत् हुनेछ।

सोच्दैछु, १०५ वर्षअघिको नेपाल झन् कस्तो थियो होला? अझै बढी रहस्यमयी छ कि?

– कार्की लेखक/पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?