+
+
Shares
समीक्षा :

एउटा ‘मनको गहिराइ’ लाई अर्को मनले भेट्टाउँदा

यो लेख पढ्दा आफूलाई सहयोग गर्ने माहोल छैन भने त्यही शासकीय उर्दीलाई मान्न कर लाग्दो रहेछ भने झैं लाग्यो। त्यसले दिएको पीडा शायद यी पानाहरूमा पोखेर दिदीले अलिकति आफूलाई हल्का पारिन् कि झैं लाग्छ।

नम्रता गुरागाईं नम्रता गुरागाईं
२०८३ भदौ ६ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साहित्यकार डा. प्रभादेवी देवकोटा कैनीको ‘मनको गहिराइबाट’ मा बाल्यकाल, यात्रा र छोरीका स्वरसम्बन्धी १३ लेख समेटिएका छन्।
  • पुस्तकमा महिलामाथिको विभेद, बालविवाह, कन्यादान र विधवाप्रथाविरुद्ध डा. देवकोटा कैनीले गरेको विद्रोह र आत्मनिर्णयका प्रसङ्ग छन्।
  • लेखहरूमा विदेश यात्राका अनुभव, शरणार्थी, फर्स्टलेडी, व्रतबन्ध र नशासम्बन्धी दृष्टिकोणसमेत समेटिएको छ।

महिलाहरूको पक्षमा सतिसाल जस्तो उभिएर शिक्षाको चेतना बाँडिसकेकी साहित्यकार डा. प्रभादेवी देवकोटा कैनीको ‘मनको गहिराइबाट’ लाई पढिसक्दा निकै ऊर्जा मिलेको छ। दिदीलाई एकपटक भर्चुअल कार्यक्रममा भेटेकी हुँ, तर धेरैपटक भेटेको अनुभूति भएको छ। सानैदेखि विभेदसँग जुधेर सत्यको पक्षमा धरहरा जस्तो उभिन सक्नु दिदीको वास्तविक मनको गहिराइसम्म नपुगे पनि यो पुस्तकको गहिराइलाई थोरै भए पनि कोट्याउने प्रयास गरेकी छु।

‘मनको गहिराइबाट’ का लेखहरू तीन छुट्टाछुट्टै विषयमा बाँडिएका छन्। पहिलो— आफ्नो बाल्यकालका तीतामीठा अनुभूति संस्मरणमा समेटिएका छन्, अर्को— यात्राका अनुभूतिहरू र तेस्रो— छोरीका स्वरहरू (मौनताबाट अधिकारतर्फका पाइला) छन्। प्रायः सबै लेखले पाठकलाई सँगसँगै हिंडाउँछन्। १३ वटा लेखको सँगालो निकै पठनीय छ।

पुस्तकको सुरुआतमै ‘कान्छा पण्डितकी छोरी’ शीर्षकमा आफ्नो जन्मदिनका तीतामीठा अनुभूति राखेकी छिन्। ती अनुभूतिहरूमा त्यो बेलाको समाजमा महिलालाई पुरुषले हेर्ने दृष्टिकोण आफ्नै बा भए पनि नढाँटी व्याख्या गरिएको छ। लेखमा आफू हुर्कंदै जाँदा केही आमाले, केही आफन्त र घरगाउँलेहरूले सुनाएका कथाहरू छन्; जसले दिदीलाई आफ्नो तथा समग्र महिलाको अधिकारको पक्षमा दह्रो भएर उभिन सघायो भन्दा अत्युक्ति नहोला।

त्यतिखेरको पुरुषप्रधान समाजमा गर्भवती श्रीमती घरमा साँझ–बिहान भएको बेला ७ दिनसम्म श्रीमान् घरमा नहुनु, व्यथाले च्यापेको बेला छेउमा बसेर सान्त्वना दिनु त कता हो कता, बरु जन्मिएको बच्चा ‘छोरो नै होस् !’ भनेर पाठपूजामा व्यस्त हुनु र आधा मरेर जन्माएको बच्चा छोरी भएको थाहा पाएपछि सुत्केरीलाई सघाउन आउने सबैलाई गाली गरेर घर पठाउनु तथा सुत्केरीलाई २–३ घण्टासम्म खान नदिनुले नै कस्तो थियो भन्ने स्पष्ट हुन्छ।

शायद उनले जन्मिएको बच्चा छोरो नभएकोमा अहिल्यै दुवै बिते भने बरु अर्की छोरो जन्माउने स्वास्नी ल्याउँछु भन्दै आफ्नो पुरुषत्वको हाँक दिएर त्यति लामो समयसम्म खान नदिएका होलान्। आडम्बरका धनी पण्डित बा आफ्नो जजमानीको भविष्यवाणीमा हारिसकेका थिए, तैपनि स्वीकार्न तयार थिएनन्। उनी समाजलाई ढाँटिरहन सफल भए र समाज कानमा तेल हालेर उनको ढाँट सुनिरह्यो। तर बुद्धिका गरिब विचरा पण्डितहरूलाई के थाहा र पूजापाठले पेटभित्रको बच्चा फेरिंदैन भनेर !

घरको खम्बा भनिने बाको निधन हुँदा आमाको घरको जहाज डुबेको थियो होला नै, तर प्रभा दिदीको व्यक्तिगत जहाज भने उत्रिएको हुनुपर्छ। यस अर्थमा उनको जहाज उत्रियो कि बुवा भएको भए बालविवाह हुने पक्का रहेछ। धन्न उनले मावली हजुरआमाको कन्यादान गरिदिने रहर र बाको बालविवाह गरिदिने रहरको पुतली हुनु परेन; जसले बालखैमा अर्काको घर सम्हाल्नका लागि जे भन्यो त्यही गर्नुपर्थ्यो, जता भन्यो त्यतै उडिदिनुपर्थ्यो, जता भन्यो त्यतै बसिदिनुपर्थ्यो र जहाँ भन्यो त्यहीं खसिदिनुपर्थ्यो। शायद आमाले उनलाई स्कूल पठाएकै कारणले होला, आफ्नै मर्जीमा उड्न सकिन्। पुरातन कन्यादानलाई विरोध गरेर प्रेमविवाह रोजिन्।

‘कान्छी आमा’ लेखमा आफ्नै आमाको भुक्तमानको बयान छ। १० वर्षमा आफूभन्दा २५ वर्ष जेठो मान्छेसँग बिहे गरेर पठाउने बाबुआमाहरू पनि पापी नै हुन् भन्ने लाग्छ, २० वर्ष नाघिसक्दा पनि आफ्नी छोरी सानै लाग्दा। बालसुलभपन नै नगएको बेला अर्काको घर खानुपर्ने, त्यो पनि माया दिएर कहाँ हुनु र ! तर बाले एउटा काम भने राम्रै गरेछन्। उनले आमालाई पढाएकाले कमसेकम आमा अन्यायसँग लड्न/भिड्न सक्ने भइछन्। आफू घरमा पढेर केही ज्ञान लिएकाले नै होला छोरासँगै छोरीलाई पनि स्कूल पठाइछन्। घरकी एउटी महिला शिक्षित भई भने परिवार शिक्षित हुन्छ भनेको यही होला शायद; जुन घरबाट चारै वटा छोराछोरी स्कूल गएको कथा यो पुस्तकमा पढ्न पाइन्छ।

यसै पनि महिला, त्यसमाथि सधवा र विधवामा भएको विभेद ‘मामाघर’ भन्ने संस्मरणमा पढ्न पाइन्छ। यो लेखमा मामाघर आउने नातिनातिनामा पहिलो भएर होला दिदीले मावलीहरू सबैबाट धेरै माया पाएको साथै घृणा पनि उत्तिकै देखेको थाहा हुन्छ। मामाघरमा मामाहरू भन्ने लोग्नेमान्छेहरूले आफ्ना श्रीमतीहरूलाई गरेको पशुको जस्तो व्यवहार देखेर दिदीमा विद्रोहको बीउ रोपिएको हुनुपर्छ; जहाँ पाए भने सधवा भनिने महिलाहरूले नै विधवालाई हेप्नका लागि पुरुषलाई सहयोग गरेका छन्।

सधवाहरूले विधवालाई अझ कमजोर बनाएको देखेर उनलाई कमजोरहरूको पक्षमा बोल्न सघाएको होला भन्न सकिन्छ। उनी भन्छिन्– “एकातिर सधवा माइजुहरू रातो टीका, रातो सारीमा सजिएर चुरापोतेमा र गहनामा झल्किने, अर्कातिर विधवा माइजुहरू जसको जीवन फुङ्ग उडे जस्तो, पहिरन फिका, पहेंलो टीका। एकातिर रङ खोसिएको कथा, अर्कातिर नियन्त्रित जवानीको व्यथा, तर मामाहरू पत्नी बिते पनि कहिल्यै विधुर भनिएन। न त उनीहरूको लुगाफाटो बदलियो, न सामाजिक व्यवहार नै, पत्नी बिरामी परे मात्र पनि सजिलै अर्की ल्याउन सक्थे।”

यहींबाट थाहा हुन्छ कि त्यो बेलाको समाजमा महिलाको मूल्य एउटा पशुको भन्दा केही फरक थिएन भन्ने कुरा। ती विधवाहरूको राम्री भएर हिंड्ने रहर त लोग्ने मरेकै दिन मर्‍यो। बढ्दै गरेको जवानीलाई समेत न कसैसँग साट्न सक्छन्, न त होइन भनेर आफैंलाई ढाँट्न सक्छन्। न उनीहरू आफ्नो विवाहअघिको मेरो सौन्दर्य फिर्ता देऊ भनेर माग्न सक्छन्, न त मन परेको एक टिपेर भाग्न सक्छन्। यो लेख पढ्दै जाँदा पाठकलाई समेत विद्रोह गर्न मन लाग्छ।

“तिम्रो कन्यादान गर्न मन थियो मलाई, तर म बाँच्दिनँ अब मेरो जीवनले अर्कै बाटो रोज्यो– मैले माइतीको स्वीकृति विना प्रेमविवाह गरें, विधिविधान केही भएन, ममा कन्यादानप्रति मतभेद बढ्दै गयो। मैले आफ्ना छोरीको पनि कन्यादान गरिनँ।”

लेख पढ्दै जाँदा एकातिर आफूलाई माया गर्ने हजुरआमा क्यान्सर जस्तो घातक रोगसँग जुधेर हारेपछि अर्थात् हजुरआमाको देहान्तमा लेखकलाई पीर लागेको छ भने अर्कातिर बालविवाहबाट बचेकाले आफ्नो मान्छे आफैंले रोजेर समाजमा एउटा तरङ्ग ल्याउन सफल भएकी लेखिकालाई उत्तिकै खुशी पनि लागेको छ।

‘मेरो गाउँ’ भन्ने लेखमा उनी आफ्नै बाल्यकालका सम्झनासँग लडिबुडी गरेकी छिन्। धेरै वर्षपछि आफ्नो गाउँ पुग्दाको आफ्नो बालापनलाई मज्जाले बिस्कुन हालेकी छिन्; जहाँ पहिलाका वरपीपल मासिएर विकासे सडक बनेको छ। पहिला घण्टौं पैदल हिंडेर पुग्ने ठाउँमा आफैं गाडी लिएर गएकी छिन्, न आफू त्यो उमेरको नै छिन्, तर दिदीका आँखाले त्यही पहिलाको धुलौटो बाटो, चौतारीका वरपीपल, पानी लिन गएको पँधेरो र गोठ खोजिरहेको छ। आखिर बाँचुन्जेल परिवर्तन नहुने पनि त्यही याद नै त होला ! अरू त के नै पो हुन्छ होला पछिसम्म आफ्नो वशमा।

समाजलाई शिक्षित बनाउन विद्यालय खोल्न प्रेरणा जगाउने तथा पछि राष्ट्रले सधैं सम्झिरहने व्यक्तिहरू साहित्यकार राजेश्वर देवकोटा, डा. उपेन्द्र देवकोटा, राजनीतिज्ञ बाबुराम भट्टराईको योगदान पनि यी संस्मरणहरूमा भेटिन्छन्। आफ्नै ठाउँमा विदेशीहरूले खोलिदिएको स्कूलको शिक्षा पाएर समाजले खोलेका आँखाका कथा छन्। समाजले जात नै काढ्ने डरलाई वास्ता नगरी छोरीलाई स्कूल पठाउने उनकी आमाको कथा छ, जो एउटी विद्रोही महिला नै हुनुपर्छ; जसले आफ्ना श्रीमान् बितेपछि पनि सबै छोराछोरीलाई पढाएर समाजमा एक किसिमको क्रान्ति नै गरिछन्। शायद त्यही क्रान्तिको झिल्कोले प्रभा दिदीको जीवन उज्यालो पार्न सहयोग गर्‍यो।

यो पुस्तकभित्र घुम्न गएका ठाउँका अनुभूतिहरू पनि मज्जाले उनिएका छन्। यसको उदाहरणमा ‘सेरेना भिलेजका हँसिला शरणार्थी’ जसले भूटानीहरूका कथालाई मज्जाले समेटेको छ, ‘बिरानो भूमिमा नमस्कार– अपनत्वको अनुभूति’ ले घर छाडेर बाहिर जाँदा कसैले गरेको नमस्कारले आफ्नो बनाएको कथा छ, कतै रोमबाट मिलान जाँदा रेलमा एकछिन भेटेको ‘जोसेफको कल्पनाको नेपाल’ मा ‘के बुद्ध जन्मिएको देश हो ?’ भन्दा दिएको आश्चर्य छ भने कतै ‘आधुनिक ऋषि प्रोफेसर पराजुली’ कृषि पेशामा रमाएका प्रमोदको पश्चिमा शैलीको बसाइ र सोचाइले दिएको आश्चर्य पढ्न पाइन्छ। भेडा, बाख्रा र कुखुरा पालेर रमाएका उनले कहिलेकाहीं भेट हुने उनको साथीको कुरा गर्दा ‘हामी पति–पत्नी हैनौं, त्यो नसोच्नुहोला। न तिक्तता न रिक्तता’ भनेको सुन्दा लेखकलाई अचम्म नलागेको होइन।

अमेरिका घुम्न आएका बेला सेरेना भिलेजका शरणार्थी भेट्न जाँदा देखेको गुन्द्रुकको अचार र मानापाथीले घरै पुगे झैं लाग्छ लेखकलाई, तर भूटानी सरकारले देश निकाला गरेपछि रातारात नेपाल पसी १७ वर्ष बिताएर अमेरिका आएको दुई वर्षमै उनीहरू प्रसन्नता व्यक्त गर्दै भन्दैथिए, “न छाना उड्ने डर, न पानी चुहिने डर, तातो–चिसो पानी सजिलै पाइन्छ, गाडी छ, चिन्ता छैन।” शायद सुख पाएपछि मान्छेले दुःख बिर्सन खोज्छ होला। उसो त नेपाल जस्तो गरिब देशलाई आवश्यकता जति सबै दिएर शरणार्थी पाल्न पनि सजिलो त कहाँ थियो होला र ! त्यतिखेर कसैले वर्षौंदेखि आफ्नो भनेर बस्दै आएको घरबाटै निकालेर खेदेको बेला आफ्नो सम्झिएर आश्रय दिनु नै ठूलो थियो नि होइन र ! छाडेर आएको दुई वर्षमै “अमेरिकामा केको ‘नमस्ते’ यहाँ त ‘बाइबाइ’ भन्नुपर्छ” भन्ने वाक्यले दिएको पराया अनुभूति बोस्टनमा पुग्दा एक सोमालियनको नमस्कारले अपनत्व दिएको कुरा ‘बिरानो भूमिमा नमस्कार’ पढेपछि थाहा हुन्छ।

‘हेलेन ह्यारी र कुकुर महिमा’ मा पशुलाई पनि मान्छेलाई जस्तै माया गर्नुपर्ने ज्ञान विदेशीले सिकाउनु र अमेरिकामा आएर कुकुरको अन्त्येष्टि गर्न बनाएको छुट्टै चिहानहरू देखेर अवाक् भएको बेला आफूलाई आफूले छामेको कथा छ। जहाँ मालिक्नीलाई ल्याइदिएको चिया उसले खानुभन्दा पहिला कुकुरले खाँदा पनि नरिसाई बाँकी चिया घुट्क्याएको देखेर अचम्ममा परेकी लेखकको अमेरिका आएपछि कुकुरलाई हेर्ने दृष्टिकोण मात्र नबदलिएर, जीवनप्रतिको बुझाइ नै बदलिएको कथा पढ्न पाइन्छ।

‘सम्बन्धविच्छेद बाध्यता कि क्षमताको द्योतक’– संस्मरणमा आफू सक्षम भएर मात्र चिसो सम्बन्धलाई विच्छेद गर्नु राम्रो हुन्छ, आर्थिक रूपले र सामाजिक रूपले पनि भन्ने सन्देश दिन्छ।

‘फर्स्टलेडी’ मा संसारका विभिन्न देशमा राष्ट्रपतिका श्रीमतीहरूलाई दिइने काम केही नहुने नाम अथवा उपाधिको चर्चा गरेको छ। यो लेखमा समाजले कसरी हेर्छ, त्यो उपाधि पाउनेलाई त्यही भन्छ भन्ने कुराको गहन अध्ययन छ। मैले पनि सुनेकी छु, मिसेल ओबामाको आत्मकथा ‘बिकमिङ’। उनले त्यहाँ ‘फर्स्टलेडी’ अर्थात् प्रथम महिला, न कुनै पद हो न पेशा, न त्यसका लागि तलब छुट्याइन्छ, न त काम भनेकी छिन्।

कानूनी पेशामा अब्बल मानिएकी मिसेल जब श्रीमान् बाराक ओबामा राष्ट्रपति भए उनी पनि सँगै ह्वाइट हाउस गइन्। उनी बाहिरी रूपमा त्यही फर्स्टलेडी उपाधि धारण गर्नेको लाइनमा उभिइन् तर भित्री रूपमा आफ्ना श्रीमान्‌लाई सहयोग गर्ने विना तलबकी अघोषित वकिल थिइन्। जसको सहायताले बाराक ओबामाले कुनै पनि चारित्रिक आक्षेप विना ८ वर्ष अमेरिकी जनतालाई आशा र भरोसा दिंदै देश हाँकेका थिए। तर त्यही फर्स्टलेडीले देखिने गरी आफ्ना श्रीमान्‌लाई सहयोग गरे भने राष्ट्रपतिको नाममा नमिठो फुर्को जोड्ने मान्छेहरूको जमात पनि बाक्लै हुने रहेछ भन्ने कुरा यो लेखमा पढ्न पाइन्छ।

यसको उदाहरणको रूपमा अमेरिका स्वतन्त्रपछि बनेका पहिलो राष्ट्रपति जर्ज वासिङ्टनकी पत्नी मार्थाले राजनीतिक मुद्दाहरूमा नजिकबाट हेरेपछि समाजले नपचाएर ‘लेडी वासिङ्टन’ भन्न थालेछ। दोस्रो राष्ट्रपति जोन एडम्सकी पत्नी अबिगेल एडम्सले आफ्ना श्रीमान्‌लाई जनताले देख्ने गरी कामकाजमा सल्लाह दिंदा समाजले पचाउन नसकेर ‘मिस्टर प्रेसिडेन्ट’ भन्नु तथा तेस्रो राष्ट्रपति उड्रो विल्सनकी पत्नीले पतिलाई सघाएको देखेर ‘पेटीकोट गभर्मेन्ट’ नाममा उल्याउनु आदिलाई लिन सकिन्छ। लेखकले धेरै देशका फर्स्टलेडीको बारेमा लेख्दा आफ्नै देशका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति रामचन्द्र पौडेलका पत्नीलाई पनि यदाकदा भन्ने गरेको फर्स्टलेडीको कुरा यो लेखमा पढ्न पाइन्छ र पत्नी नभए नजिकका नातेदारलाई यो उपाधि दिने कुरा उल्लेख पनि पाइन्छ।

‘कलियुगकी गार्गी’ लेख पढेपछि मलाई भित्रैदेखि हल्लायो। म आफूले पनि ३ वर्षअघि घर गएर छोराको व्रतबन्ध गरेकी थिएँ। व्रतबन्ध गरेपछि छोराहरू पूर्ण मान्छे हुन्छन् भन्ने कुरामा विश्वास नलागे पनि त्यही अविश्वासलाई किन मैले मौन समर्थन गरें भन्नुको पछाडि समाजका सबै कुरालाई नकार्न सकिंदैन भन्ने हो। मेरो छोरालाई उसकै ठूलोबुबाले गायत्री मन्त्र सुनाउनुभएको थियो तर किन दोलाइले छोपेर सुनाउनुभयो मैले प्रश्न पनि गरिनँ। यसको मतलब मैले कर्मकाण्डलाई मौन समर्थन गरेकी रहेछु भन्ने लाग्छ अहिले। जुन कर्मकाण्डका केही नमिल्दा कुराहरू जस्तो व्रतबन्धमा बटुकलाई कसैले नसुन्ने गरी सुनाइने गायत्री मन्त्र, कन्यादान, जबर्जस्तीको विवाह आदि चलनमाथि आजभन्दा दुई–तीन दशक अगाडि नै विरोध गर्नु मात्र होइन आफू स्वयंले प्रेमविवाह गरेर र छोरीहरूको कन्यादान नगरी विवाह गरिदिएर समाजलाई चुनौती दिइसकेकी थिइन् यो पुस्तककी लेखकले। किन मलाई चाहिं काम सक्नुसँग मात्र मतलब रह्यो होला ! अहिले सोचिरहेछु र महिलालाई तल राख्ने निन्दनीय चलनको नबुझी मौन समर्थक भएकोमा दुःखी पनि छु उत्तिकै।

व्रतबन्धमा मन्त्र सुनाउने सन्दर्भमा उनको शब्दमा– “जीवनका दुई–तीन दशक शिक्षण पेशामा बिताएकी मैले स्कूल र कलेजका कोठामा अध्यापन गरेर धेरै नै शिष्य बनाएकी थिएँ तर जग्गे र मण्डपमा मन्त्र सुनाएर गुरुआमा बन्ने प्रयास गरेकी थिइनँ।

“मेरा हातमा सेतो पूरा पेजमा मैले यत्नसँग ठूला र सफा अक्षरमा लेखेको गायत्री मन्त्र थियो। जब मैले रञ्जनालाई मन्त्र सुनाउन पछ्यौराभित्र घुसेर ‘ॐ’ मात्र भनेकी थिएँ, एक युवक गुरु हाम्रो पछ्यौरीभित्र घुसे। आफूले लेखेको नबुझिने मन्त्र दिएर ‘ल यो लिनु र यसमा लेखेको मन्त्र रञ्जनालाई सुनाउनू’ भन्ने आदेश दिए।

मैले पछ्यौरी खोलें र भनें म गायत्री मन्त्र नै सुनाउँछु, रञ्जनाले पनि दिदीले गायत्री मन्त्र नै सुनाउनुहुन्छ, म त्यही सुन्छु भनिन्। युवक गुरुले अर्का पाका गुरुलाई सोधे। पाका गुरुले शासकले झैं घोषणा गरे— ‘महिलाले गायत्री मन्त्र सुन्नुहुँदैन, सुनाउनु पनि हुँदैन।’

जब ती गुरुले दिएको मन्त्र सुनाएर निस्किएँ, त्यस दिन कर्मकाण्ड गर्ने ब्राह्मणको अगाडि मेरो विद्वत्ता, अनुभव, विवेक, बेस्सरी पछारियो। कारण म महिला थिएँ र हुँ।”

यो लेख पढ्दा आफूलाई सहयोग गर्ने माहोल छैन भने त्यही शासकीय उर्दीलाई मान्न कर लाग्दो रहेछ भने झैं लाग्यो। त्यसले दिएको पीडा शायद यी पानाहरूमा पोखेर दिदीले अलिकति आफूलाई हल्का पारिन् कि झैं लाग्छ।

कखरादेखि विद्यावारिधिसम्मको शिक्षा लिई जीवनका तीन दशकसम्म शिक्षण पेशामा समर्पित भएर सयौं विद्यार्थीलाई जनचेतना जगाइसकेकी साहित्यकार प्रभा एक सामान्य स्वाध्ययनले पुरेत्याइँ गरेर जीविका चलाउने एक लोग्नेमान्छेसँग

महिला भएकै कारण हारेको अवस्थाको चित्रण यो लेखमा पढ्दा म पनि आफ्नो छोराको व्रतबन्धमा महिलाविरोधी सामाजिक चलनको समर्थनको एक हिस्सा भएकोमा आफैंसँग खेद प्रकट गरें। महिलाहरूले गायत्री मन्त्र सुने हामीभन्दा जान्ने हुन्छन् भनेर बहुलाउँछन् भन्ने समाजमै हुर्किएकी मैले कर्मकाण्डमा मन्दविष घुलिने साना कुरालाई बुझ्न जरुरी छ भन्ने लाग्यो।

यो पुस्तकको अन्तिम लेख ‘नशा लिनेका’ भन्ने शीर्षकमा छ। हिन्दी भाषामा लेखिएको शीर्षक र ‘भूमि नेपाली’ जोडिएकाले खोतल्दै गएँ। केही हिन्दी कविताका टुक्राबाट शुरु भएको लेख पढ्दै जाँदा लेखक स्वयम् बोलिरहेकोले अलिकति अलमल नभएको होइन। हिन्दी कविता शायद भूमि नेपालीबाट पाएको होला भन्ने अनुमान गरें। मैले यस्तै कविताहरू भूमि नेपालीले वाचन गरेको बेलाबेला सुनेकी पनि हुँ।

यो निबन्धमा नशा लिनु इज्जत हो वा बेइज्जत हो भन्ने कुराको लामो फेहरिस्त छ। नशा कहिल्यै नलिने कविले नशालु कविता लेखेर त्यो बेलादेखि अहिलेसम्म समाज हल्लाएको कथा पनि छ भने आखिर नशा के हो त भनेर दिदीले मज्जाले पर्गेलेकी छिन्। एउटा ब्राह्मण परिवारमा हुर्केकी छोरीले घरपरिवार र समाजमा जे देखी त्यसैको छाप पछिसम्म पर्दा नशा लिनु भनेको खत्तमै हो भन्ने मानक बनाउनु अनौठो कुरा पनि होइन तर पछि औकातमा बसेर थोरै खाए त्यसले नराम्रो गरिहाल्दैन भन्ने कुराको निचोडमा पुग्न धेरै समय लागेको भान हुन्छ।

आफ्नो नशा सेवनलाई उनले यसरी भन्दा– “हसिनाको यसपटक त वाइन लिएर राम्रो निदाउनु ल भन्ने अर्ती र मेरो निर्णयलाई मूर्तरूप दिएँ। सन् १९९८ मे महिनाको २८ तारिखको दिन एक ब्राह्मण पुत्रीले यो विशाल पृथ्वीको थलमा तिरस्कार गर्दै आएको जल नभमा स्वीकार गरेकी थिएँ।” यो लेख पढेपछि मैले पनि एउटा नशाकै कुरा सम्झिएँ।

सन्दर्भ आफ्नो भर्खर विवाह भएको थियो। तरकारी लिन पसल जान लागेकी थिएँ, श्रीमान्‌ले “एक बोतल बियर पनि ल्याइदेऊ न ल !” भने। नाइँ भन्न नसकेर पसल गएँ तर तरकारी लिइसकेपछि साहुजीलाई पहिलोपल्ट ऊ त्यो बियर पनि देऊ भन्न साँच्चै गाह्रो भयो मलाई। किनेको बियर बोकेर आउँदा समेत चोरेर ल्याएको झैं भइरह्यो। दादाहरूले बुवा, ठूलोबुबाबाट लुकीलुकी खाएको नदेखेको होइन। आफैं उनीहरूको ड्युटी बसेर उनीहरूलाई खान छुट दिएकी पनि थिएँ तर आफूले खाएकी थिइनँ। त्यही भएर मलाई त्यति धेरै अप्ठ्यारो लागेको होला भन्छ मनले।

मनको गहिराइबाटले धेरै कुरा समेटेको छ। कतै परदेशमा नमस्कारको साटो बाइबाइ सुन्दा लागेको दाँतमा ढुङ्गो भेटिन्छ, कतै परायाबाट सुनेको नमस्कारले दिएको अपनत्व भेटिन्छ भने धेरै महिला भएर बाँच्नुका सकस र त्यसको विरोध गर्दा दिएको खुशी भेटिन्छ। उनकै भाषामा– “मैले परम्परालाई चुनौती दिएँ, आत्मविश्वास पक्का बनाएँ र आफ्नो अधिकार लिएँ।

अवैध ठानिएको मन्त्र उच्चारण होस् वा तोकिएको भूमिका अस्वीकार गर्नु, पहिलो गिलास वाइन उठाउनु होस् वा असह्य विवाहबाट अलग हुनु– यी स–साना विद्रोह र म आफैंसँग सञ्चित ज्ञानले नै आत्मबलमा उचाइ थप्यो र चेतना जगायो” सुन्दा दिदीको मनका गहिराइका कुरा हामी सबै महिलाका कुरा हुन् र आफ्नो अधिकारका लागि कोही बोलिदिंदैन आफैं बोल्नुपर्छ भन्ने सन्देश यी लेखहरूले दिएका छन्।

साहित्यकार केदारनाथ खनालले भने झैं यो सङ्ग्रहमा अतीतमा देखेभोगेका, अनुभूत गरेका स्मृतिमा उर्लेका ज्वारभाटाको सँगालो हो जहाँ स्मृतिमा सलबलाएको बाल्यकाल, महिलामाथिको शोषण, दमन र त्यसमा चालेका पाइला भेटिनुको साथै यात्रा गर्दा लागेका अनुभूतिहरू छन्। स्वदेशको भूगोल विदेशसम्म फैलिएको कथा छन्। त्यस्तै हरि सांस्कृतिक केन्द्रका संरक्षक ईश्वरचन्द्र देवकोटाले भने झैं ‘मनको गहिराइबाट’ पुस्तकले पारिवारिक मूल्य, सांस्कृतिक चेतना र सामाजिक परिवर्तनका पक्षमा तत्कालीन र वर्तमानको विवेचनात्मक दृष्टिकोण प्रस्तुत गरेको छ।

पुस्तकमा भएका लेखका शीर्षकहरू अलि लामा भए कि तथा ठ्याक्क लेखसँग अलि अमिल्दा हुन् कि झैं लाग्छन् कुनै कुनै। एउटा उदाहरणमा ‘कलियुगकी गार्गी’ भन्नुको सट्टा ‘गायत्री मन्त्र’ मात्र भनेको भए अलि छिटो बुझिने थियो कि ! नत्र लेखहरूले पाठकलाई सँगसँगै हिंडाएर समाजका हर्कत पनि देखाउँछ भने दिदीको साहस पनि उत्तिकै देखाउँछ।

दिदीको कलमलाई सलाम !

(हालः अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?