+
+
Shares
ललितकला :

कालो मसीमा देखिने पाटनको एकान्त र थाकेका कुकुरहरू

प्रदर्शनीमा राखिएका चित्रहरूले दर्शकलाई सहरी जीवनको यथार्थ र उनको आफ्नै मानसिक अवस्थालाई पनि प्रतिबिम्बित गर्न सकेको छ । 

सापेक्ष सापेक्ष
२०८३ भदौ ४ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चित्रकार नवीन नाब्लोले पाटनको मौनता र सडकका कुकुरलाई केन्द्रमा राखेर ग्यालरी एमक्युब, पाटनमा ‘टेम्पल्स, नेचर एन्ड पोक्चेज्’ प्रदर्शनी सुरु गरेका छन् ।
  • नवीनले आफ्नै वरिपरिको वातावरण र पाटनका गल्लीलाई क्यानभासमा उतार्नुपर्ने भन्दै इन्टरनेटका फोटोभन्दा आफ्नै खिचेको फोटो प्रयोग गर्ने बताए ।

काठमाडौंको भिडभाड र कोलाहलको बीचमा एउटा यस्तो संसार पनि छ, जहाँ समय केही बेरका लागि टक्क अडिन्छ । पाटनको गल्लीका पेटी, ससाना ढुङ्गे मूर्ति र चैत्यहरूका अगाडि सुतिरहेका वा टोलाइहरेका कुकुरहरूलाई नियाल्ने हो भने तिनमा त्यहीं टक्क रोकिएको समय भेट्न सकिन्छ । उनीहरूमा एकान्तपनको अभास र थकान भेटिन्छ । 

चित्रकार नवीन नाब्लोले ग्यालरी एमक्युब, पाटनमा टेम्पल्स, नेचर एन्ड पोक्चेज् नामक आफ्नो एकल प्रदर्शनीमा तिनै कुकुर र पाटनको मौनतालाई क्यानभासमा उतार्ने कोसिस गरेका छन् । यो उनको दोस्रो एकल चित्रकला प्रदर्शनी हो ।

यो प्रदर्शनीमा राखिएका चित्रहरूले दर्शकलाई सहरी जीवनको यथार्थ र उनको आफ्नै मानसिक अवस्थालाई पनि प्रतिबिम्बित गर्न सकेको छ । 

000

जमानामा ताप्लेजुङबाट नवीनको परिवार झापा बसाइँ झरेको थियो । ताप्लेजुङमा जन्मिए पनि उनको बाल्यकाल झापामै बित्यो । प्लस टुसम्मको अध्ययन पनि झापामै भयो । त्यसपछि भने बुबाले नै काठमाडौं पठाउने वाचा गरेका थिए । सर्त एउटा मात्र थियो – प्लस टूमा राम्रो अंक ल्याउनु पर्ने ।

परीक्षाको बेला पनि चित्र कोरेकै कारण गाली र कुटाइ खाएका नवीनले अन्ततः प्लस टू राम्रै अंकमा उत्तीर्ण गरे । र काठमाडौंको बाटो रोजे । यसरी सन् २००९ मा उनी र उनका भाइ ब्याचलर अध्ययनका लागि काठमाडौं आएका थिए । ललितकलामा सानैदेखि रुचि भएका नवीन काठमाडौं विश्वविद्यालयमा ब्याचलर इन फाइन आर्ट्स (बीएफए) मा भर्ना भए । उनले यही विश्वविद्यालयदेखि सन् २०१३ मा ब्याचलर र २०१६ मा मास्टर्स इन फाइन आर्ट्स (एमएफए) पूरा गरे ।

नवीनको जीवनकथा जति क्यानभास जस्तै शान्त देखिन्छ, भित्री पाटो उति नै संघर्ष र एकान्तले भरिएको छ । काठमाडौंमा झन्डै १५ वर्ष बिताइसकेका नवीन आजकल चबहिलमा दिदीहरूसँग बस्छन् । र सकेसम्म रातदिन क्यानभासमै हराउन खोज्छन् । उनका सबै दाजुभाइहरू र  जुम्ल्याहा भाइ विदेशमा छन् । भर्खरै मात्र उनका जुम्ल्याहा भाइले विदेशमा घर किनेको खबर सुनाउँदा उनी काठमाडौंका गल्लीहरूमा यही प्रदर्शनीका लागि सब्जेक्ट खोज्न गल्ली-गल्ली भौंतारिरहेका थिए ।

‘सबै बाहिर छन्, भाइले पनि घर किन्यो । आफू चाँहि यहाँ आर्टिस्ट आर्टिस्ट भन्दै कुदिराको छु,’ उनी सुनाउँछन् ।

उनी कुरा त सहजै सुनाउँछन्; तर यसमा उनको आत्मबोध र कलाकारले भोग्ने एक्लोपन भेटिन्छ । तर, यही पारिवारिक दूरी र सहरको एकान्त नै उनको कलाको सबैभन्दा ठूलो उत्प्रेरक बनेको छ ।

000

नवीन पहिला ठूलाठूला रंगीन पेन्टिङ र पोट्रेटहरू बनाउँथे । 

तर पछिल्लो समय पूर्ण रूपमा ‘पेन एन्ड इन्क’ विधामा सिफ्ट भएका छन् । सानो क्यानभासमा उनी पूर्णत ध्यानस्थ भएर फेरि मेट्नु नपर्ने गरी रेखा कोरिरहन्छन् । खासमा कालो मसीको यो माध्यम जति आकर्षक देखिन्छ, उति नै कठिन र चुनौतीपूर्ण हुन्छ । किनकि, मसीको काममा सच्याउने ठाउँ हुँदैन । 

‘एकचोटी फ्लोमा गरेपछि डार्क भयो भने त्यसलाई कम गर्न मिल्दैन, पेपरमा क्लिनिनेस राख्न निकै गाह्रो हुन्छ’ नवीन यसको प्राविधिक जटिलता प्रस्ट्याउँछन् ।

यसैगरी बनाइएका ३० बढी चित्र अहिले यो प्रदर्शनीमा राखिएका छन् । उनका ती काम सर्सर्ती हेर्दा चित्रहरूमा एउटा विशेषता भेटिन्छ – खाली ठाउँ अर्थात् वाइट स्पेस ।

यो प्रदर्शनीमा राखिएका धेरैजसो क्यानभासमा भाग सेतो र खाली छाडेर विषयवस्तुलाई मात्र केन्द्रमा राखिएका चित्रहरू देख्न सकिन्छ । माउन्ट (फ्रेमको किनारा) समेत नराखिएका यी चित्रहरूले दर्शकको ध्यान सिधै मुख्य विषयमा खिच्न सक्छन् ।

‘वाइट स्पेसले सब्जेक्टलाई फोकस गर्छ । यदि त्यहाँ अरू सब्जेक्ट थपियो भने त्यो मुख्य विषयसँग हार्मोनाइज हुनुपर्छ, नत्र त्यसले डिस्टर्ब गर्छ,’ उनी सुनाउँछन् ।

अर्थात् मिनिमलिस्टिक चित्रहरूको सङ्कलन नै यो प्रदर्शनीको खासीयत हो ।

अर्को प्रदर्शनीमा राखिएका सबै जसो चित्रहरूमा पाटनका विभिन्न ठाउँमा सुतिरहेका कुकुरहरू देखिन्छन् । तर यी कुकुरहरू कुनै मुभमेन्टमा छैनन्; सबै आराम गरिरहेका, थकित वा कसैको पर्खाइमाझैं शिथिल मुद्रामा छन् ।

चित्रमा सब्जेक्टका रूपमा कुकुरलाई लिनुमा एउटा घटना छ । 

सरकारले भत्काएको सुकुमवासी बस्तीमा एक दिन नवीनले भग्नावशेषअगाडि एउटा कुकुर निकै उदास अवस्थामा सुतिरहेको देखे । उनले त्यसको फोटो खिचे । र, स्टुडियोमा गएर चित्र कोरे । त्यहीँबाट कुकुरलाई आफ्नो मुख्य विषय बनाउने सोच बनाए ।

पछि उनले थप कुकुरहरू भेट्दै गए । चित्र कोर्दै गए ।

‘काठमाडौं छिरेपछि मान्छेको जीवनमा जुन भागदौड र च्यालेन्ज सुरु हुन्छ, त्यो निकै गाह्रो छ । यी कुकुरहरूको थकानमा मैले आफ्नै कन्डिसन रिलेट गरें’ नवीन सुनाउँछन् ।

उनी आफ्ना चित्रका लागि इन्टरनेटमा पाइने कुनै पनि फोटो कहिल्यै प्रयोग गर्दैनन् । सकेसम्म आफैंले खिच्छन् । उनको विचारमा आफ्नै आँखाले देखेर खिचेको फोटोमा जुन दृष्टिकोण हुन्छ, त्यो अरुले खिचेको फोटोमा पाइँदैन ।

तथापि, आजभोलि कला क्षेत्रमा युट्युब वा इन्स्टाग्राम हेरेर पश्चिमा कलाको कपी गर्ने प्रवृत्ति बढेकोप्रति नवीन चिन्तित छन् । उनी आफ्नै वरिपरिको वातावरण, संस्कृति र गल्लीहरूलाई क्यानभासमा उतार्नु पर्ने विश्वास गर्छन्। 

‘हामी आर्टिस्टहरूले आफ्नै सेरोफेरोका चिजहरू बनाउनु एकदमै महत्त्वपूर्ण छ । यो नै बढी अथेन्टिक हुन्छ’ नवीन भन्छन्, ‘भोलि १०० वर्षपछि कसैले हेर्दा पनि यो कहाँको चित्र हो भन्दा नेपालको पाटनको त्यो गल्लीको हो भनेर चिन्न सकोस ।’

हुन पनि हो, पाटन क्षेत्रफलका हिसाबले सानो छ । तर, यहाँ सानाठूला सयौं मन्दिर र चैत्यहरू छन् । जसको कथा फरक-फरक छ । तिनमा दैनिक देखिने पात्रहरू चाहे कुकुर होस् मान्छे होस्, फरक-फरक हुन्छन् । नवीनले मात्र मन्दिर अगाडि देखिएका कुकुरलाई क्यानभासमा टिपेका हुन्।

उनको यी कामले समयलाई त टक्क अडाएको छ नै, सँगै समाजको धार्मिक सहिष्णुता र सहअस्तित्वलाई पनि कलात्मक ढंगले प्रस्तुत गरेको छ । त्यससँगै कालो मसीको प्रत्येक धर्कासँगै नवीनले कोरेका पाटनका कुकुरहरू र मन्दिरका आकृतिहरूले यो व्यस्त सहरलाई केही बेर रोकिएर सोच्न र विश्राम लिन आग्रह गरिरहेका छन् ।

000

नवीन नाब्लो एउटा विधामा सीमित छैनन् ।

ललितकला क्षेत्रमा उनी कार्टुन र क्यारिकेचर विधामा पनि उत्तिकै सक्रिय छन् । टाउको ठूलो र शरीर सानो भएको उनको क्यारिकेचर शैली कला वृतमा निकै रुचाइएको छ । जसमा उनले मान्छेहरूको भावनालाई बढाएर देखाउने गर्छन् ।

यसरी, उमेरले ४० को हाराहारीमा पुग्न लागे पनि झट्ट हेर्दा २५ वर्षका जस्ता देखिने नवीनले कला र जीवनलाई सँगसँगै डोर्‍याइरहेका छन् । उनलाई थाहा छ – कला क्षेत्रमा लाग्दा ठूलो आर्थिक उपलब्धि हुँदैन । यो यथार्थबोध गरिसकेका उनी आफ्नै गति र एकान्तमा रमाइरहन चाहन्छन् ।

फोटो: चन्द्रबहादुर आले/नवीन नाब्लो

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?