+
+
Shares
टिप्पणी :

देउवा-ओली-दाहालको प्रतिगमन प्रयास

जसको विस्थापनको कामना गर्दै नाति पुस्ता सडकमा बलिदान दिन तयार भएको थियो, आज तिनैको आलो रगतमाथि पुराना नेताहरूको भद्दा सत्तानाच उदेकलाग्दो छ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८३ भदौ ४ गते २१:१३
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि पुराना नेताहरू देउवा, ओली र दाहाल पुनर्स्थापनाका लागि सक्रिय भएको विश्लेषण गरिएको छ ।
  • कांग्रेसभित्र देउवाको पुनरागमन प्रयासलाई पार्टीपंक्ति र सरकारी रवैयाले मलजल गरिरहेको र वैधानिकता विवाद अदालत पुगेको लेखमा भनिएको छ ।
  • नयाँ दल र सरकारले औचित्य पुष्टि गर्न र संस्थागत सुधार गर्न नसके जेनजी विद्रोहको उपलब्धि पुराना पात्रको पुनरागमनमा खेर जाने जोखिम रहेको लेखले चेतावनी दिएको छ ।

साउन सकिएर भदौ लागिसक्यो। गत वर्ष यही बेला जेनजी विद्रोहका लागि समाजको गर्भमा नागरिक असन्तुष्टि र आक्रोशको लाभा उम्लन सुरु गरेको थियो। विस्फोटक रूप लिएको त्यो नवयुवा विद्रोहको एक वर्ष पुग्दै गर्दा जसको विस्थापनका लागि त्यति ठूलो आन्दोलन भएको थियो, तिनै कथित शीर्ष पात्रहरू आज पार्टी र सत्तामा पुनर्स्थापनाका लागि विनासंकोच जुर्मुराइरहेका छन्।

झलक्क हेर्दा सामान्य लाग्ने यी राजनीतिक घटनाक्रम तीन जना बुढा नेताको सत्तालोभ मात्र होइन। राजनीतिशास्त्री क्रेन ब्रिन्टनले आफ्नो पुस्तक ‘द एनाटोमी अफ रिभोलुसन‘ मा झन्डै एक शताब्दीअघि नै यस्ता राजनीतिक अभ्यासको रुपरेखा बारे स्पष्ट पारिसकेका थिए ।

ब्रिन्टनले क्रान्तिलाई एकप्रकारको ज्वरोसँग तुलना गरेका थिए। समाजमा अन्याय र असन्तुष्टि बढ्दै जादा क्रान्तिको ज्वरो आउँछ, नागरिक तातिन्छन् र परिवर्तनका लागि सडकमा उत्रिन्छन्। तर समाज सधैँ ज्वरोको अवस्थामा रहन सक्दैन।

ब्रिन्टनका अनुसार, क्रान्तिपछि एउटा यस्तो विन्दु आउँछ, जसलाई उनले ‘थर्मिडोरियन रियाक्सन’ भनेका छन् । त्यतिबेला समाज क्रान्ति र निरन्तर आन्दोलनबाट थाकेर स्थिरता र शान्तिको खोजीतिर फर्किन थाल्छ। यही चरणमा नागरिकले ‘नयाँ’ र ‘पुरानो’बीचको भेद छुट्याउने धेरै कष्ट बेसाउन छाडिदिन्छन्, वा त्यसलाई छुट्याएर प्रश्न गर्ने राजनीतिक ऊर्जा र क्षमता नै कमजोर हुँदै जान सक्छ।

समाजको यही स्वभावले परिवर्तनकारी ऊर्जालाई निमोठ्न खोजेको छ । हावा बिस्तारै पुराना शीर्ष नेताहरूको अनुकूलतामा चल्न थालेको छ । यही मौका छोपेर पुरानो राजनीतिक अभिजात वर्ग सत्तामा फर्कन खोजिरहेको छ, जुन सिंहासनबाट जेनजी आन्दोलनले उनीहरूलाई लघारेर सडकमा पुर्‍याएको थियो ।  

देउवा, ओली र दाहालको अहिलेको अन्तिम छटपटी त्यही ‘थर्मिडोरियन रियाक्सन’ को नेपाली संस्करण हो । नेतात्रयबाट प्रायश्चित पर्खिरहेको नयाँ पुस्तालाई उनीहरूले प्रतिगमनको जवाफ फर्काउन चाहिरहेका देखिन्छन्, जुन नेपाली समाजको राजनीतिक स्वास्थ्यका लागि निकै हानिकारक साबित हुनसक्छ । 

कांग्रेसी कचकच, कम्युनिस्टलाई राहत 

जेनजी विद्रोहको बलको रापतापपछि पनि यथास्थितिमै चलिरहेका कम्युनिस्ट साइनबोर्ड टाँसेका दलहरूबारे धेरै शब्द खर्च गर्नुको अर्थ छैन। तर विद्रोहपछि ‘जेन एक्स’ पुस्ताको नेतृत्वदायी हस्तक्षेपसँगै सुधारको आश गरिएको कांग्रेसमा नै पछाडि फर्किने प्रयास उत्कर्षमा पुगेको छ। 

आन्दोलनताका भौतिक हमलामै परेसँगै विदेशिएका तत्कालीन सभापति देउवा राजनीतिक अनुकूलताका झ्यालहरूबाट स्वदेश छिरेका छन् । उनमा पुनरागमनको भोक यति तीव्र बनेको छ कि अभिभावकीय भूमिकाको सम्मान अस्वीकार गरेर बुढ्यौलीले गाँजेको शरीर घिसारेर राजनीतिक दौडधुपमा छन् । पार्टी सत्ताको पुरानै सिंहासनमा फर्कन प्रयासरत छन्।

सत्तामा टिकिरहन तत्कालीन राजाको रुचिअनुसार संसद विघटन गरेका उनी पार्टी विभाजन गर्न पनि पछि परेका थिएनन्। अहिले पनि उनी यसैका लागि पार्टी विभाजनदेखि धार्मिक एजेन्डासम्म बोक्न तयार रहेको  सन्देश दिन हिच्किचाइरहेका छैनन्।

देउवाका यी भगिरथ प्रयासलाई पार्टीभित्रको एउटा पंक्ति र सरकारी रबैयाले समेत मलजल गरिरहेको छ। घटनाक्रमहरू हेर्दा देउवाको स्वदेश फिर्ती कुनै एक दिनको निर्णय हो जस्तो लाग्दैन। कानुनी प्रक्रिया कमजोर बन्दै जाँदा कांग्रेसको वैधानिकता विवाद पुनः अदालतमा प्रवेश गरेसँगै कांग्रेस विवाद रोचक मोडमा पुगेको छ।

देउवालाई पक्राउ पूर्जीदेखि सुरक्षा स्कर्टिङसम्मका यी गतिविधिले कुनै संयोगभन्दा बढी सुनियोजित तयारीलाई संकेत गर्छ ।

केही महिनाअघि देउवालाई विदेशबाट नेपाल ल्याउने उद्देश्यसहित इन्टरपोलसमक्ष रेड नोटिस जारी गराउन मेहनत गरिरहेको गृह प्रशासनले नै पछि उनलाई स्कर्टिङ गर्दै चुनदेवी पुर्‍याइदियो। देउवालाई पक्राउ पूर्जीदेखि सुरक्षा स्कर्टिङसम्मका यी गतिविधिले कुनै संयोगभन्दा बढी सुनियोजित तयारीलाई संकेत गर्छ । 

न्यायालय वृत्तमा सत्तारूढ दलको शीर्ष नेताले कांग्रेस मुद्दालाई पुनरवलोकनको निस्सा दिन गरेको दबाब बारे चर्चा हुने गरेको न्यायालय उच्च स्रोत सुनाउँछ ।  

चुनदेवीमै सही, ‘सभापति’को कुर्सीमा देउवाको तामझामसहित ‘पुनरागमन’को रिहर्सलले केपी ओली र प्रचण्डलाई पक्कै राहत दिएको हुनुपर्छ। नयाँ दल र सरकारका अल्लारे खेलबाडले नेतात्रय र उनीहरू आश्रित पंक्तिमा पुनर्स्थापना र शक्तिमा थप निरन्तरता आशाको उज्यालो ह्वात्तै बढेको छ।

उता, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै पार्टीभित्र दोस्रो-तेस्रो पुस्तामा मौलाउँदै गरेको प्रतिरोध चेतलाई निमोठ्न उद्यत छन्। एमालेभित्र डराइ-डराइ पार्टी पुनर्गठनको कुरा गर्ने नेताहरूलाई आवाराको संज्ञा दिंदै ओली चेतावनीको हुँकार गर्दै हिंडिरहेका छन्। 

अर्कोतिर, दाहालले लज्जाका अन्तिम वस्त्रहरू पनि उतारेर जेनजी आन्दोलनको एक वर्ष नपुग्दै युद्ध लडेर आएका योद्धाहरूको चेतना र योगदानलाई चुनौती दिंदै आफ्नै ज्वाईंलाई कोशी प्रदेशमा महत्वपूर्ण मन्त्रालय सुम्पिएका छन्।

दाहालले लज्जाका अन्तिम वस्त्रहरू पनि उतारेर जेनजी आन्दोलनको एक वर्ष नपुग्दै युद्ध लडेर आएका योद्धाहरूको चेतना र योगदानलाई चुनौती दिंदै आफ्नै ज्वाईंलाई कोशी प्रदेशमा महत्वपूर्ण मन्त्रालय सुम्पिएका छन्। 

ओलीको राजनीतिक शुद्धीकरणविरुद्धको असहिष्णुता, देउवाको सत्तालिप्सा र दाहालको नातावाद – यी सबै पुराना इलिटहरूले आफ्नो गुमेको शक्ति पुनःस्थापित गर्न गरिरहेको हतप्रयास हुन्। 

जसको पतनको कामना गर्दै नाति पुस्ता सडकमा बलिदान दिन तयार भएको थियो, आज तिनैको आलो रगतमाथि पुराना नेताहरूको भद्दा सत्तानाच उदेकलाग्दो मात्र होइन, दुत्कारयोग्य पनि छ।

नयाँ होइन थकान र थर्मिडोरको सिद्धान्त

ब्रिन्टनले क्रान्तिलाई ज्वरोसँग तुलना गरे जस्तै नेपाली समाज पनि एउटा यस्तो विन्दुमा आइपुग्दैछ, जहाँ समाज क्रान्ति र निरन्तर आन्दोलनबाट थाकेर स्थिरता र शान्तिको खोजीतिर फर्किन थाल्छ। यही चरणमा नागरिकले ‘नयाँ’ र ‘पुरानो’ बीचको भेद छुट्याउने राजनीतिक ऊर्जा र क्षमता नै गुमाउँदै जान्छन् ।

नेपाली समाज पनि त्यही ‘थकान’तिर पुगेको प्रशस्त संकेत देखिन थालेका छन्। यही थकानको फाइदा उठाउँदै पुराना शीर्ष नेताहरू राजनीतिको पुरानै खेल दोहोर्‍याइरहेका छन्।

त्यसो त, यो नेपाली समाजले बेहोरेको नयाँ नियति होइन । ००७ सालको परिवर्तनपछि सत्ताको केन्द्रमा राणा र राजाहरू नै देखिए। २०४६ सालको परिवर्तनपछि पनि कुनै न कुनै रूपमा पुरानै पञ्चको शासन पुनरावृत्ति भयो। 

माओवादी जनयुद्ध र ०६२/६३ को गणतन्त्रमा पनि ‘सामन्तवाद’ले धेरै अवतारमा मुन्टो उठाउन खोजिरह्यो, रहेकै छ। आन्दोलनको रापताप सेलाउँदै गएपछि समाजमा पुरानै नेतृत्व र चेतना हाबी हुनथाल्ने अभ्यास दोहोरिने त्यही लक्षण यसपटक पनि देखिन थालेको छ।

र, यो नेपाली नियति मात्र होइन । कुख्यात तानाशाह फर्डिनान्ड मार्कोसलाई देश निकाला गर्ने ‘पिपुल पावर’ क्रान्ति गर्ने फिलिपिनीहरूले साढे तीन दशकपछि उनकै छोरालाई अत्यधिक मत दिएर सत्तामा फर्काए। 

अरब स्प्रिङको आँधीले ३० वर्ष सत्तामा रहेका होस्नी मुबारकलाई फालेको इजिप्टका नागरिकलाई शासन गर्न जम्मा तीन वर्षपछि अझ कठोर तानाशाह सैनिक जनरल अब्देल फताह अल-सिसी आए।  

सन् १९९० देखि २०१५ बीचमा संसारमा भएका १२३ वटा आन्दोलनमा भएका ९८ वटा काउन्टर-रिभोलुसन चुनौतीहरूको अध्ययन गरेका किलियन क्लार्कको निष्कर्ष अझ महत्त्वपूर्ण छ: आन्दोलनले दुत्कारेका पात्रहरू फर्कने सम्भावना नयाँ सरकार कमजोर हुँदा मात्र होइन, नयाँ सरकारले आफूलाई संस्थागत गर्न खोजिरहँदा पनि उत्तिकै बढ्छ । किनकि पुराना संरचना र शक्तिमाथिको हस्तक्षेपपछिको प्रतिक्रिया सामान्य हुँदैन। 

अर्थात् नयाँ सत्ताको कमजोरीले मात्र होइन, सुधारको प्रयासले नै कहिलेकाहीँ पुराना शासकलाई प्रतिरोध गर्न बाध्य बनाउँछ, उनीहरू अन्तिम प्रयास गर्न बाध्य हुन्छन् ।  

‘लफङ्गाहरू’लाई ‘नालायकहरू’को चर्को चुनौती 

वामपन्थी नेता घनश्याम भूसालले चुनावपछि भनेका थिए- देश नालायकहरूको हातमा थियो, अब लफङ्गाहरूको हातमा गयो। 

नालायक हुनु क्षमता, विवेक र दक्षता नहुनु हो। लफङ्गा हुनु आचरण, अनुशासन र राजनीतिक संस्कार नहुनु हो। नालायकले काम बिगार्न सक्छ तर लफङ्गाले कामसँगै माहोल पनि बिगार्न सक्छ। 

 सरकार, नयाँ दल र पुराना दलभित्रका नयाँ पुस्ताले आफ्नो औचित्य पुष्टि गर्न नसक्दा पुराना नेताहरूको शिर अझ उँचो र स्वर चर्को हुने हो ।

सरकार र पार्टीमा रहेर नेतृत्व दाबी गर्ने हरेक नयाँ पुस्ताले यो आरोपलाई गलत साबित गर्न मेहनत गर्नुपर्छ । भूसालका बिम्बहरूमा सहमत/असहमत हुन सकिन्छ तर समयले उनलाई सही ठहर्‍याउने जोखिम भने बढाइरहेको छ । 

किनकि नयाँ दल र सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसक्दा पुराना नेताहरूको शिर अझ उँचो र स्वर चर्को हुने हो । 

बिर्सन नहुने कुरा यो हो कि विद्रोहले पात्र बदले पनि सत्ता संरचना पुरानै छ। जेनजी आन्दोलनअघि प्रधानमन्त्रीको कुर्सीबाट ओलीले देखाउने गरेको अहंकार, आफूलाई नीति र विधिभन्दा माथि राख्ने प्रवृत्ति बिर्साउने अभ्यास आन्दोलनपछि सत्तामा पुगेका वालेन्द्र शाहले पनि दोहोर्‍याउन कुनै अप्ठ्यारो मानिरहेका छैनन् । 

पुराना नेताहरूले पार्टीभित्रको लोकतन्त्र कमजोर पार्न र आफ्ना आसेपासेलाई स्थापित गर्न जे-जस्ता अभ्यास गर्थे, नयाँ भनिएका पात्रहरूले पनि शक्तिमा पुगेपछि त्यही अभ्यासको भद्दा नक्कल गरिरहेका देखिन्छन्। जनतासँग संवाद नगर्ने, नीति र विधिलाई चुनौती दिने र आफूलाई त्यसको अपवाद ठान्ने अभ्यासले नयाँ सरकार र जनताबीचको विश्वासको धागो क्रमशः कमजोर बनाउँदैछ।

यहाँनेर नयाँ पुस्तालाई एउटा महत्वपूर्ण प्रश्न सोध्नैपर्ने हुन्छ: परिवर्तनको अर्थ पुराना अनुहार हटाउनु मात्र हो, कि संस्था र राजनीतिक संस्कार बदल्नु पनि हो? जनताको भनिएको पार्टी बिस्तारै किन केही नेताको पार्टीमा रूपान्तरण हुन्छ ? 

जबसम्म आन्तरिक लोकतन्त्र संस्थागत हुँदैन, अनुहार जतिसुकै नयाँ भए पनि व्यवहार पुरानै दोहोरिन्छ। नयाँ पुस्ताले पनि शैली नबदल्ने हो भने गौंडामा मौका कुरेर बसिरहेका नेताहरूको प्रतिवाद गर्ने आधार थप कमजोर हुनेछ । 

बुझिनेगरी भनौं, एक सिलिन्डर ग्यास पाउन साउने झरीमा दिनभर भिजेर लाइनमा बस्दा बेलुका पहुँचविहीन नागरिक रित्तै हात घर फर्किनुपर्ने अवस्थामा सत्ताको चास्नीमा चुर्लुम्म डुबेका वृद्ध नेताका स्वर चर्को बनिहाल्छ।

जोखिम र जिम्मेवारी

नयाँ शक्तिले काम, संवाद र संस्थागत सुधार गर्न नसक्दा पैदा हुने राजनीतिक शून्यता लामो समय टिक्दैन । यो शून्यता वृद्ध नेताहरूले अनुभव, संगठन र योगदानको भाष्यले भरिदिन थाल्छन्। यही रिक्तता र नयाँ शक्तिको अदूरदर्शितामा फस्टाइरहेको देउवा-ओली-दाहालको पुनरागमन रहरले जेनजी आन्दोलनलाई नै राजनीतिक त्रासदीमा बदल्ने जोखिम बढाइरहेको छ।

छिपछिपे लोकतन्त्रको अभ्यास मौलाउन नसकिरहेका कम्युनिस्ट पार्टीभित्रका तेस्रो-चौथो पुस्ताका लागि पनि यो झन महत्वपूर्ण सवाल हो ।

यो सत्तारूढ दल र सरकारका लागि मात्र चुनौती होइन, पार्टी पुनर्गठनको अभियानमा जुटेका पुराना दलका नयाँ पुस्ताका लागि झनै ठूलो जोखिम हो।

छिपछिपे लोकतन्त्रको अभ्यास मौलाउन नसकिरहेका कम्युनिस्ट पार्टीभित्रका तेस्रो-चौथो पुस्ताका लागि पनि यो झन महत्वपूर्ण सवाल हो । 

खासगरी रास्वपा नेतृत्वले अझ ध्यान दिनुपर्ने कुरा हो- आन्दोलनले खोलेको ढोकाबाट को-को भित्र पस्ने भनेर निर्धारण गर्ने संगठन तयार भएन भने आन्दोलनको आँधीले खराबभन्दा खराब पात्र र प्रवृत्तिलाई पनि सत्तामा पुर्‍याउँछ। सम्बन्धित दलले त्यस्ता पात्रहरूलाई रोक्न वा सच्याउन सकेन भने सरकार बुझ्ने आँखीझ्याल नै तिनीहरू बनिदिन्छन्।

सडकमा मानिस जम्मा गर्ने शक्ति र आन्दोलनपछि राज्य सञ्चालन गर्ने क्षमता एउटै होइन। सडकमा शक्तिशाली देखिएको नयाँ पुस्ताले यसलाई संस्थागत गर्ने कौशल र प्रतिबद्धता नदेखाउने हो भने जेनजी विद्रोहको बलिदानी नै खेर जाने जोखिम रहन्छ। 

भनिन्छ- निरन्तरताको स्वतन्त्रतामा नै सतर्कताको मूल्य जीवित रहन्छ र यो सतर्कता अब कुनै एक जना नेता वा दलको जिम्मा होइन, त्यो पुस्ताको जिम्मा हो, जसले सडकमा आफ्नो रगत बगाएर परिवर्तनको ढोका खोलेको थियो।

लेखक
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?