+
+
Shares

केपी ओलीलाई झपट रावलले दिए ४ बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १०:४०

३१ साउन, काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ४ बुँदे सुझाव दिएका छन् ।

पार्टी अफिसको क्यान्टिनमा बसेर आफूलाई अध्यक्षबाट हटाउने कुरा गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसलाई विधि र प्रक्रिया अनुसार नभएको बताएका थिए ।यसप्रति सिधा र वैचारिक प्रश्नहरू भनेर नेता रावलले अध्यक्ष ओलीले व्यक्त गरेका अभिव्यक्ति र तिनले गम्भीर जिज्ञासाहरू उब्जाएको बताएका छन् ।

१. चिया गफ कि पार्टीको जीवन्त धड्कन ?

पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई ’आवारा’को उपमा दिइरहँदा इतिहासले प्रश्न गरिरहेको छ— हिजोका सङ्घर्षपूर्ण दिनहरूमा तिनै कार्यकर्ताहरूसँगै बसेर राजनीति र क्रान्तिका पाठ सिकाउने कमरेड स्वयं के हुनुहुन्थ्यो? यदि विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने, तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई चाहिँ के भन्ने?

२. नेतृत्व परिवर्तन : हिजो अधिकार, आज अराजकता?

पार्टीमा नेतृत्व रूपान्तरण र हस्तान्तरणको माग गर्नेहरूलाई सोझै ’अराजक’ देख्नु कुन मार्क्सवादी सिद्धान्तभित्र पर्छ? हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग र सङ्घर्ष नगरीकन तपाईं आजको सर्वोच्च ठाउँमा पुग्नुभएको हो र? हिजो आफूले गर्दा ’न्यायोचित क्रान्ति’ हुने, तर आज अरूले उही माग दोहोर्याउँदा ’अराजकता’ ठहरिने यो कस्तो दोहोरो मापदण्ड हो?

 ३. आन्तरिक लोकतन्त्र कि एकाधिकारवादी धम्की ?

पार्टी सुधार र रूपान्तरणको आवाज उठाउनेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्ने गैर–जिम्मेवार अभिव्यक्ति किमार्थ सुहाउँदैन। हिजोका अग्रज नेताहरूले पनि तपाईंलाई यसै गरी धम्क्याएर पाखा लगाएको भए आज तपाईंको राजनीतिक अस्तित्व कहाँ हुन्थ्यो कमरेड? याद रहोस्— यो पार्टी कसैको निजी कम्पनी वा प्राइभेट लिमिटेड होइन; हजारौँ सहिदको रगत, लाखौँ कार्यकर्ताको पसिना र बलिदानले उभिएको साझा घर हो।

 ४. अवसरको हिसाब–किताब र आत्मसमीक्षाको प्रश्न

अरू कोही जिम्मेवारीमा पुग्दा ‘पटक–पटक अवसर पाएको’ वा ‘मैले नै बनाइदिएको’’ भनेर अवमूल्यन गर्ने, अनि कमरेडको आफ्नै हकमा भने त्यो नियम कहिल्यै लागू नहुने? अवसर र जिम्मेवारीको यो हिसाब–किताब अरू साधारण कार्यकर्ताका लागि मात्र बनाइएको मानक हो कि नेतृत्वको आफ्नै लागिपनि लागू हुन्छ?

यी प्रश्नहरू कुनै व्यक्ति विशेषविरुद्धको व्यक्तिगत आक्रोश वा पूर्वाग्रह नभएर पार्टीलाई सही दिशामा डोर्याउने विषय भएको रावलले बताएका छन् । साथै यसले आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने र वैचारिक मन्थनलाई ऊर्जा दिने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?