+
+
Shares
इतिहासविद् महेशराज पन्तसँग वार्ता :

‘सुगौली सन्धि त होइन रणबहादुरको पालामा कुमाउँसँग भएको सन्धिको सक्कल प्रति सुरक्षित राखेको छु’ 

सुगौली सन्धिको मूल प्रति कहाँ छ भन्ने प्रश्न छ। मेरो पुर्खासँग जोडिएको अर्को उदाहरण पनि छ। वि.सं. १८४४ जस्तो लाग्छ। गोरखाले कुमाउँ जित्यो। गोरखाका राजा रणबहादुर शाह र कुमाउँका राजा मोहन चन्द बीच भएको सन्धिको मूल प्रति मेरो संरक्षणमा छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इतिहासविद् डा. महेशराज पन्तले आठ दशकभन्दा बढी उमेरमा पनि दैनिक घण्टौंसम्म अध्ययन, अनुसन्धान र लेखनकार्यमा आफूलाई सक्रिय राखेका छन्।
  • डा. पन्तले सञ्चालन गर्दै आएको संशोधन मण्डलले नेपालको इतिहास लेखनमा प्रामाणिक तथ्यहरू स्थापित गर्न उल्लेख्य योगदान पुर्‍याएको छ।
  • अध्ययन–अनुसन्धानका लागि आर्थिक स्रोत र सरकारी चासोको अभावमा ऐतिहासिक सामग्रीहरूको संरक्षण र संवद्र्धनमा चुनौती थपिएको डा. पन्तले बताए ।

नेपाली इतिहास, भाषा र संस्कृतिमा रुचि राख्नेका लागि चिनाइरहनुपर्ने नाम होइन, डा. महेशराज पन्त। ८२ वर्षको उमेरमा पनि पन्त दैनिक घण्टौंसम्म अध्ययन, अनुसन्धान र लेखनमा सक्रिय छन्। संशोधन मण्डलका सदस्य तथा इतिहासप्रधान त्रैमासिक पत्रिका पूर्णिमाका सम्पादक पन्तले जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्। उनले जर्मनीका विभिन्न विश्वविद्यालयमा अध्यापन समेत गरेका छन्।

आफ्ना पिता नयराज पन्तको पदमार्ग पछ्याएका डा. पन्तले जीवनको सारा ऊर्जा इतिहास अनुसन्धान–अन्वेषणमै लगाए। सरस्वतीको पछि लाग्दा लक्ष्मी टाढिइन्। नेपाली इतिहास लेखनका धरोहरको रूपमा रहेको संशोधन मण्डलको सञ्चालन घाटा वार्षिक आठ लाख रुपैयाँ छ।

नेपाली इतिहासलेखनको विकासक्रम, विदेशी अध्येताको योगदान र सीमा, इतिहासका स्रोत बुझ्न आवश्यक भाषा, अभिलेख तथा पुरातात्त्विक सामग्रीमा अनुसन्धानकर्ताको पहुँच र संशोधन मण्डलको भविष्यबारे प्रा.डा. पन्तसँग अनलाइनखबरका सन्त गाहा मगरले गरेको अन्तर्वार्ताः 

उमेरले ८२ वर्ष पुग्नुभयो। अहिले दिनचर्या कसरी बितिरहेको छ?

भदौ ४ गते ८२ वर्ष पूरा गरेर ८३ वर्षमा प्रवेश गर्छु। बिहान करिब पाँच बजे उठ्छु। सामान्य नित्यकर्म र हल्का खाजापछि दुई–अढाइ घण्टा प्रातः भ्रमणमा निस्कन्छु। फर्केर खाना खाएपछि ११ बजे आफ्नो आसनमा बस्छु। साँझ ६ बजेसम्म लेख्ने, अनुसन्धान गर्ने र संशोधन मण्डलको कार्यालय सम्बन्धी काम गर्छु।

६ बजेपछि पत्रपत्रिका हेर्छु, कहिलेकाहीं फेसबुक पनि हेर्छु। साँझको खाना खाएपछि आफैंले किनेर राखेका किताब पढ्छु र करिब १० बजे ओछ्यानमा जान्छु।

आधुनिक इतिहासलेखन शुरु हुनुअघि नेपालमा इतिहासको अभ्यास कस्तो थियो?

इतिहास लेख्ने परम्परा अवश्य थियो, नभए चौधौं–पन्ध्रौं शताब्दीमा वंशावली एकाएक तयार हुने थिएन। पश्चिमबाट अनुप्राणित भएर लेखिएको किताब त होइन त्यो। वंशावली, ठ्यासफु, शिलापत्र र अनुश्रुति थिए। तर त्यस्ता सामग्री पढ्ने मान्छे थिएन।

संस्कृत परम्परामा महाभारतलाई नै ‘इतिहास’ भनिएको छ। त्यसमा आजको जस्तो वर्ष र मिति क्रमबद्ध नहुन सक्छ, तर कुन राजा भए, कसले के गरे, कसको पालामा यस्तो अत्याचार भयो भन्ने स्मृति थियो।

गोपालराज वंशावलीमा कुन राजाले कति वर्ष शासन गरे भन्ने विवरण आउँछ। पन्ध्रौं शताब्दीको लेखकले छैटौं वा सातौं शताब्दीको कुरा आफैं सिर्जना गरेको होइन।

प्रमाणमा आधारित (आधुनिक) नेपाली इतिहासलेखनको आरम्भ कहाँबाट भएको मान्नुहुन्छ?

प्रमाणमा आधारित प्राचीन इतिहासलेखनको महत्त्वपूर्ण प्रस्थानविन्दु भगवानलाल इन्द्रजीको काम हो। वि.सं. १९३३ जंगबहादुर राणा  परलोक भएपछि उनका भाइ रणोद्दीप सिंह श्री ३ महाराज भए। उनका पालामा १९३७ मा गुजरातबाट भगवानलाल इन्द्रजी नेपालमा विभिन्न अभिलेख खोज्न आए।

त्यो भन्दा पनि पहिला वि.सं. १८४८ मा ब्रिटिश इन्डियाबाट आएका कर्कप्याट्रिकले पनि नेपालका बारेमा किताब लेखे। उनको पुस्तक ‘एन अकाउन्ट अफ किङ्गडम अफ नेपाल’मा पनि एक–दुई वटा च्याप्टर नेपाल सम्बन्धी लेखेका छन्।

त्यस्तै १८५८ मा आएका फ्रान्सिस ह्यामिल्टनले त बाइसे–चौबिसेकै इतिहास लेखे। त्यसलाई सम्पूर्ण रूपले जित्ने इतिहास अझै आएको पनि छैन।

हाम्रोमा युरोपियन ढंगको होइन रामायण, महाभारतको प्रसंग ल्याएर इतिहास लेख्ने चलन थियो। जयस्थिति मल्लको पालामा वि.सं. १५औं शताब्दीको वंशावली पाइन्छ। त्यो वंशावलीमा दुईथरी संस्कृत र एकथरी तत्कालिक नेवारीमा लेखिएको पाइन्छ। त्यहाँबाट दुई–तीन सय वर्षको इतिहासको त राम्रो ज्ञान भयो। प्राचीनकालको इतिहासको बारेमा गडबढ छ।

भगवानलाल इन्द्रजी आएर मानदेव, अंशुवर्माको अभिलेख खोजेर समकालीन सामग्रीको आधारमा नेपालको इतिहास लेख्ने चलन आयो।

भगवानलालले भन्दा पहिला नै कर्कप्याटिक र ह्यामिल्टनले नेपाल बारे लेखिसकेका थिए। यति हुँदाहुँदै इतिहास लेखन भगवानलालबाट शुरु भएको किन मान्ने ?

प्रमाणित ढंगको इतिहास लेखन भगवानलालको पालामा शुरु भयो। उनी प्राचीन अक्षरहरू पनि जान्दथे। संस्कृति भाषा पनि जान्ने र डकुमेन्टलाई न्याय गर्न सक्ने इतिहासविद् थिए।

उनी प्राचीन लिपि र संस्कृत जान्दथे, अभिलेख पढ्न र जाँच्न सक्थे। उनले नेपालका २३ वटा अभिलेख अध्ययन गरेर ‘इन्डियन एन्टिक्वेरी’मा प्रकाशित गरे। मानदेव, अंशुवर्मा लगायतका समकालीन अभिलेखका आधारमा इतिहास लेख्ने बाटो त्यहाँबाट स्पष्ट भयो। कर्कप्याट्रिक र ह्यामिल्टनमा सूक्ष्म अवलोकन थियो, तर उनीहरू स्रोत–भाषा र प्राचीन लिपिका विशेषज्ञ थिएनन्। भगवानलालको नेपाल भ्रमणको उद्देश्य र पद्धति मूलतः प्राज्ञिक थियो।

हो नेपालबारे त्यसअघि पनि विदेशीले लेखेका थिए। विलियम कर्कप्याट्रिक विक्रम संवत् १८४८ तिर नेपाल आएका थिए। उनी राजनीतिक उद्देश्यले, नेपाल–चीन युद्धको सन्दर्भमा अंग्रेज दूतका रूपमा आएका थिए। उनको लेखाइमा इतिहासभन्दा बाटोघाटो, भूगोल र यात्रा सम्बन्धी अवलोकन बढी छ।

फ्रान्सिस बुकानन ह्यामिल्टन पनि राजनीतिक मिसनसँगै आएका थिए। उनीहरूको लेखनमा डकुमेन्ट भन्दा पनि अवलोकन धेरै पाइन्छ। १८५८ मा रणबहादुर शाह भागेर काशी गए। ह्यामिल्टन क्याप्टेन नक्ससँग सन्धि गर्न आएका हुन्। सन्धि भयो तर लागू भएन। उनीहरू राजनीतिक र सामरिक उद्देश्यले आएका थिए भने भगवानलाल एकेडेमिक उद्देश्यले आएका थिए।

ह्यामिल्टनको किताबमा कर्कप्याट्रिकको भन्दा इतिहासतत्त्व बढी पाइन्छ होइन ?

हो। कुमाउँ–गढवालसम्मका विषय समेटिएका छन्। उनी सेन वंशावलीसम्म पुगेका छन्।

नेपाली इतिहासको खोजमा भगवानलालपछि कसको योगदान उल्लेखनीय छ?

सेसिल बेन्डलको नाम आउँछ। अहिलेको राष्ट्रिय अभिलेखालयलाई त्यतिबेला अंग्रेजीमा दरबार लाइब्रेरी र नेपालीमा वीर पुस्तकालय भनिन्थ्यो। त्यसको स्थापना वीरशमशेरले गरेका थिए। शुरुमा हनुमानढोकामा थियो। त्यहाँबाट घण्टाघर नजिक ल्याइयो र अहिले रामशाहपथमा छ।

सेसिल बेन्डलले त्यतिबेलाको वीर पुस्तकालयमा रहेको एउटा महत्त्वपूर्ण वंशावली पत्ता लगाए। अहिले हामी त्यसलाई ‘गोपालराज वंशावली’ भन्छौं। बेन्डलले पत्ता लगाएका कारण अन्तर्राष्ट्रिय जगतमा त्यो ‘बेन्डल वंशावली’का नामले पनि चिनियो।

ताडपत्रमा लेखिएको त्यो सामग्री अध्ययनका लागि वीरशमशेरको अनुमतिमा केही समय बेलायत लगियो। १५औं शताब्दीको उक्त सामग्री काठमाडौंस्थित बेलायती राजदूतको जमानतमा पठाइएको थियो। पछि सुरक्षित रूपमा फिर्ता आयो।

राष्ट्रिय अभिलेखालयमा मूल हस्तलिखित ग्रन्थ रहे पनि त्यसको चित्रयुक्त काठको गाता विदेशको लिलामीमा पुगेको घटना छ। भित्रको किताब खास चोरी हुँदैन। गाता चोरी हुँदोरहेछ। कडा सुरक्षा र ताल्चाभित्र रहेको वस्तुको गाता विदेश कसरी पुग्यो भन्ने प्रश्न त रहन्छ।

त्यही वंशावलीका आधारमा बेन्डलले नेपालको दशौंदेखि चौधौं शताब्दीसम्मको एकसरो इतिहास रच्नुभयो। तीन वंशावली हो। लहरै सारिएको हुनाले एउटै नामले प्रख्यात भयो। वीर पुस्तकालयमा क्याट लगिङ गर्दा गोपालवंशी राजाहरूबाट उठान भएको हुनाले गोपालराजावाली वंशावली भनिएको थियो। पछि बाबुराम आचार्य र हाम्रा पिता (नयराज पन्त)हरूले गोपालराज वंशावली भन्नुभयो। वास्तवमा त्यसमा संस्कृत र नेवारी भाषाका अलग–अलग सामग्री लगातार सारिएका छन्। मूल ग्रन्थको वास्तविक नाम के थियो भन्ने पनि निश्चित छैन।

संस्कृत भागलाई ज्ञानमणि नेपालले विस्तृतमा अध्ययन गरेर भूतवृत्तान्त छ भनेर लेख्नुभयो। त्यो किताबको संस्कृत पनि अत्यन्त स्पष्ट।

नेपाली इतिहासलेखनका मुख्य समस्या के हुन्?

पहिलो समस्या शासक र राज्यको उदासीनता हो। भारतमा अंग्रेज शासन आएपछि एसियाटिक सोसाइटी लगायत संस्थाबाट अनुसन्धानको महत्त्व स्थापित भयो। विभिन्न रियासतले पनि ग्रन्थ प्रकाशन र अनुसन्धानमा सहयोग गरे।

हामीकहाँ राणाहरूले यतापट्टि खास इच्छा देखाएनन्। नेपालका शासकमा त्यस्तो दीर्घकालीन चासो देखिएन। पर्सिभल ल्यान्डनले चन्द्रशमशेरबारे लेख्दा पनि उनलाई आफ्नै देशको इतिहास प्रकाश होस् भन्ने इच्छा थिएन, हामी आएको हुनाले हेर्ने भए हेर भनेर छोडेका हुन् भन्ने आशय व्यक्त गरेका छन्।

मैले त भनेको छु नि नपढ्ने नेपाली भनेर। तपाईंले पनि पढ्नुभएको छ नि! नेपालमा गोर्खाली शासन आउनु भन्दा अगाडि पान इन्डियन कन्टेक्सटमा देखाउन लायक किताब एउटा पनि छैन।

दोस्रो ठूलो समस्या भाषा हो। नेपालको इतिहासका ८० प्रतिशत पुराना स्रोत संस्कृतमा छन्। तर नेपाल संस्कृत विश्वविद्यालयमा इतिहासको गम्भीर पढाइ छैन, इतिहास पढाइ हुने त्रिभुवन विश्वविद्यालयमा संस्कृतसँग आवश्यक सम्बन्ध छैन। इतिहास पढ्नेले स्रोतको भाषा नजान्ने र संस्कृत पढ्नेले इतिहासको पद्धति नजान्ने अवस्था छ। स्रोतसम्म नपुगी इतिहास कसरी लेखिन्छ?

नेपालको इतिहास लेखेका विदेशी इतिहासकारका बलिया र कमजोर पक्ष के देख्नुहुन्छ?

पश्चिमा अध्येतासँग आलोचनात्मक पद्धति बलियो छ। तर उनीहरूले विश्वविद्यालय पुगेपछि मात्रै संस्कृत, इन्डोलोजी वा दक्षिण एशियाली अध्ययन शुरु गर्छन्। अक्षर चिन्ने तहदेखि शुरु गरेर ५–६ वर्षभित्र संस्कृत, कुनै आधुनिक भारतीय भाषा, अन्य सहायक विषय र शोध सबै पूरा गर्नुपर्छ।

हाम्रो समाजमा संस्कृतका शब्द र मन्त्र बाल्यकालदेखि कानमा परिरहन्छन्, यद्यपि अर्थ नबुझेका हुन सक्छौं। उनीहरूसँग त्यो सांस्कृतिक परिचय हुँदैन। तर पर्याप्त समय उनीहरूले खर्च गर्न सक्दैनन्।

हामीसँग परम्परागत स्रोत र भाषाको निकटता छ, तर आलोचनात्मक विश्लेषण कमजोर छ। उनीहरूको आलोचनात्मक पद्धति र हाम्रो स्रोत–भाषाको ज्ञान जोडिनुपर्छ। नयराज पन्तले गर्न खोज्नुको काम यही थियो। काम कति भयो त्यो त अरूले भन्ने कुरा हो।

सिल्भाँ लेभीको काम प्रशंसित छ, तर उनका निष्कर्षमा पनि थुप्रै त्रुटि छन् नि ?

लेभीको योगदान ठूलो छ, त्यसमा विवाद छैन। तर उनको लेखाइमा तथ्यगत कमजोरी पनि छन्। उदाहरणका लागि हामीले भृकुटीलाई अंशुवर्माकी छोरी भनेर पढ्यौं। अहिले पनि धेरैलाई त्यही लाग्छ। तर त्यसलाई निर्विवाद रूपमा प्रमाणित गरिएको छैन।

‘भृकुटी अंशुवर्माकी छोरी होइनन्’ भनेर पनि म ठोकुवा गर्न सक्दिनँ। प्रश्न खुलै छ। अंशुवर्माले आफूलाई वर्णाश्रम धर्म र आर्य मर्यादा अनुसार शासन गर्ने व्यक्ति भनेका छन्। उनले आफ्नी छोरी तिब्बती राजा स्रोङचङ गम्पोलाई दिए होलान् कि दिएनन् होला भन्ने प्रश्न उठ्छ। अर्कोतर्फ अंशुवर्माले बौद्ध धर्मलाई आश्रय पनि दिएका थिए। त्यसैले धार्मिक आधारमा मात्रै निष्कर्ष निकाल्न मिल्दैन। तर भृकुटीको बुबा अंशुवर्मा नै हो भन्ने पनि के छ?

तिब्बती भाषामा नामको पनि अनुवाद हुँदोरहेछ। अंशु भनेको किरण, बर्मा भनको कवच हुने रहेछ। तिब्बत भाषामा गोचा रहेछ। त्यो भाषामा गो भनेको किरण र चा भनेको कवच हुँदोरहेछ। अनि भृकुटी भनेको आँखी भौं। आँखी भौंलाई तिब्बतीहरू ख्रिचुन भन्दा रहेछन् भनेर लेभीले जोडे।

पछि के आयो भने अंशुवर्मा कुल परम्परा अनुसार राजा भएका होइनन्। उनको नाममा देव पनि छैन। अंशुवर्माले उत्तराधिकारी बनाएको उदयदेव भनिएको छ। राजकुमारै भनिएको छ। उनको अभिलेख चित्लाङमा पाइएको छ। उदयदेवलाई डिफ्याक्टो रुलरहरूले खेदे भनेर तिब्बती वंशावलीमा आउँछ। त्यही आएको हुनाले उदयदेवले छोरी दिए भन्ने छ।

लेभीले यो कुरा इस्वी संवत् १९०२ मा लेखे। २०२६ सम्ममा पनि कुनै पनि नेपाली इतिहासकारले नेपालीमा के लेखेको छ भनेर पल्टाएको छैन। मानिकाबुमा लेखिएको छ भनिएको छ। यस्तो काम गर्न यहाँका विद्वानलाई फुर्सद पनि भएन।

तिब्बती भाषामा नामको पनि अनुवाद हुने गरेको आधार लिएर अंशुवर्मा र भृकुटीको सम्बन्ध जोडिएको देखिन्छ। तर तिब्बती वंशावलीमा अंशुवर्माका उत्तराधिकारी उदयदेव तिब्बत गएको प्रसंग पनि आउँछ। त्यस आधारमा भृकुटी उदयदेवकी छोरी हुनसक्ने तर्क पनि छ। समस्या के हो भने तिब्बती स्रोतमा वास्तवमा के लेखिएको छ भनेर नेपाली इतिहासकारले मूल सामग्री पल्टाएर पर्याप्त काम गरेका छैनन्। प्रमाण नहेरी एउटा मतलाई अन्तिम सत्य मान्नुहुँदैन।

भृकुटीले विवाह गरेर तिब्बत जाने बेलामा बुद्धको प्रतिमा लिएर गएको भनिन्छ। यहाँले अंशुवर्मालाई कुल परम्परा अनुसार शासन गर्ने राजा भन्नुभयो। अंशुवर्माले त आफू हिन्दु भएको हुनाले देवीदेवताको मूर्ति पठाउँथे होलान् नि ?

त्यतिबेला बुद्ध धर्मलाई पनि संरक्षण त गरेका थिए। तर तपाईंले भने जस्तै मूर्ति र प्रतिमा दुवै पठाउन पनि त सक्थे। यस सम्बन्धी नेपालतर्फ केही पनि छैन। जे आएको छ तिब्बती स्रोतबाटै आएको छ। यो प्रश्नको उत्तर छैन। अरनिकोको प्रश्न पनि त्यस्तै छ। संशोधन मण्डलले केही काम गरेको छ।

यहाँले उल्लेख गर्नुभएको संशोधन मण्डल के हो? यसको सुरुआत कसरी भयो?

मेरा पिताजी नयराज पन्त वनारसबाट पढेर फर्किएपछि विक्रम संवत् १९९७ सालमा एउटा अलग किसिमको पाठशाला शुरु गर्नुभयो। उहाँले अंग्रेज सरकारले स्थापना गरेको शिक्षापद्धतिमा पढ्नुभएको थियो तर त्यसबाट सन्तुष्ट हुनुहुन्नथ्यो। परीक्षाको प्रश्नपत्रमै गल्ती भेट्टाएपछि त्यसप्रति उहाँको श्रद्धा भएन। १०० पूर्णाङ्कमा ३३ अंक ल्याएपछि पास हुने कुरा पनि उहाँलाई मन परेन।

हाम्रो प्राचीन परम्परा अनुसार त सम्पूर्ण ग्रन्थ नै जान्नुपर्ने थियो। यो पद्धति अनुसार त एकतिहाइ मात्र जानेको मानिसलाई पनि विद्वान् मानिने भए। यस्तो कुराले उहाँलाई वेचैन बनायो। यही असन्तोषले उहाँलाई आफ्नै ढंगको अध्ययन–अध्यापन शुरु गर्न प्रेरित गर्‍यो।

कुनै समय महत्त्व नबुझेर फालिएका कागजले इतिहासको ठूलो रिक्तता भर्न सक्छन्। संरक्षण मात्र पर्याप्त हुँदैन, सूचीकरण, पहुँच र अध्ययन पनि चाहिन्छ।

आर्थिक वा संस्थागत आधार केही थिएन। अहिले पनि छैन। आफ्ना साथीका छोरा, आफ्नै छोरा र आफन्तलाई पढाउन थाल्नुभयो। उद्देश्य संस्कृत वाङ्मयको  राम्रो अध्ययन गर्नु थियो। त्यो इतिहासमा मात्र सीमित थिएन; आयुर्वेदलगायत शास्त्रमा पनि काम गर्न खोज्नुभयो, दिव्यबज्र बज्राचार्यसँग मिलेर।

संस्कृतिमा लाग्ने मान्छेहरू धेरैजसो अध्यात्मवादमा छन्, देउताको कुरा गर्छन्। हाम्रो बुवाले धर्मनिरपेक्ष ढंगले संस्कृतको अध्ययनलाई अगाडि बढाउन खोज्नुभयो। एक्लो मान्छेले गरेको काम भएको हुनाले सबैलाई त भएन। त्यहाँ पढेकाहरू संस्कृत भाषाका अभिलेख, ग्रन्थ र शास्त्र पढ्दा भाषाको दृष्टिले उनीहरू अड्किने भएनन्। पछि यही आधारमा नेपालको इतिहासका स्रोत खोज्ने र सच्याउने काम अघि बढ्यो। संशोधन सम्बन्धी प्रकाशन विक्रम संवत् २००९ असोज ५ गतेदेखि शुरु भयो भने संशोधन मण्डल औपचारिक रूपमा २०१८ सालमा दर्ता भयो।

संशोधन मण्डलले इतिहासमा स्थापित भनिएका कुरा पनि पुनः परीक्षण गर्दै आएको छ, कि

इतिहासको काम नै प्रमाणका आधारमा पुरानो निष्कर्ष जाँचिरहनु हो। मैले आफ्नै गल्ती पनि सच्याएको छु। योगनरेन्द्र मल्लको राज्याभिषेक सम्बन्धी सामग्रीमा आएको ‘षडङ्ग पाठ’लाई मैले शुरुमा वेदका ६ अङ्ग—शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष—पढिएको अर्थमा बुझेको थिएँ। पछि ऐश्वर्यधर शर्मा राजोपाध्यायले त्यो प्रसंगमा ‘षडङ्ग’को अर्थ रुद्रीपाठको निश्चित विधि हो भनेर मेरो आँखा खोलिदिनुभयो।

मैले उहाँलाई यसबारे लेख्न अनुरोध गरें। उहाँले लेख तयार पनि गर्नुभयो, तर हामीले सँगै बसेर अन्तिम रूप दिन नपाउँदै उहाँ २०७४ मा बित्नुभयो। पछि मैले थप खोजेर उहाँको हस्तलिखित सामग्रीसहित प्रकाशित गरें। दुःखको कुरा, विश्वविद्यालयका प्राध्यापकले मेरो पुरानै त्रुटिपूर्ण लेख उद्धृत गरेर त्यही गल्ती दोहोर्‍याएका रहेछन्। विश्वविद्यालयले संशोधन मण्डलले भन्दा अघि बढेर खोज्नुपर्ने हो; उल्टै पुरानो गल्ती सार्दा समस्या हुन्छ।

संशोधन मण्डलले नेपाली इतिहासमा गरेका प्रमुख सुधारलाई कसरी सम्झनुहुन्छ?

एउटा उदाहरण ‘नेपाल’को ऐतिहासिक भूगोल हो। पहिला पहिला  काठमाडौं बाहिरका मानिसले काठमाडौं आउँदा ‘नेपाल जाने’ भन्थे। त्यसबाट नेपाल भनेको काठमाडौं उपत्यका मात्र हो भन्ने बुझाइ बनेको थियो। नेपालको प्राचीन इतिहासको केन्द्र उपत्यका हो, तर ऐतिहासिक नेपाल सधैं उपत्यकामा मात्रै सीमित थियो भन्न मिल्दैन। प्रमाणका आधारमा यो बुझाइ फराकिलो बनाइएको छ। नेपालको इतिहासको प्रारम्भिककालदेखि नै नेपालको केन्द्रविन्दु काठमाडौं उपत्यका नै हो। यो उपत्यका नै नेपाल हो भन्ने धेरैले स्वीकारेका छन्।

संशोधन मण्डलले काम गर्नुअघिका विद्यालयदेखि विश्वविद्यालयसम्मका इतिहासका पाठ्यपुस्तक र अहिलेका पाठ्यपुस्तक तुलना गर्नुस्। अहिले प्रयोग भएका ७०–७५ प्रतिशत तथ्य हाम्रा अनुसन्धानबाट आएका छन्। हामीलाई व्यक्तिगत वा संस्थागत जस नआए पनि तथ्य सच्चिनु मुख्य कुरा हो।

संशोधन मण्डलले जस नपाए पनि इतिहास सुधार भइरहेको छ भन्न खोज्नुभएको हो ?

पुरातत्वविद् बाबुकृष्ण रिजाल भन्नुहुन्थ्यो– हेर्नुस् महेशजी तपाईंहरूले भोलि मानदेवको पालामा नेपालले तोप बनाएको थियो भनेर लेख्नुस्, विश्वविद्यालय पढ्ने सबैले त्यही सार्छन्। हामीले सारिसकेपछि फेरि तोप बनाएको होइन रहेछ भनेर लेख्नुस्। फेरि होइन रहेछ भन्ने पनि सार्छौं। तर तपाईंहरूलाई कसैले जस दिंदैन। तपाईंहरूलाई साधन स्रोत आउँदैन। पाए यिनीहरूले भोकभोकै मार्छन्।

हुन पनि अहिले हाम्रो अवस्था त्यस्तै छ। संशोधन मण्डलले निकालेका तथ्य अरूले प्रयोग गरे, तर संस्था टिकाउन आवश्यक आधार बनेन। यस्तो काममा साँच्चिकै प्रतिबद्ध व्यक्तिलाई सहयोग चाहिन्छ। सहयोग कसलाई गर्ने भन्ने निर्णय उसले विगतमा गरेको काम र निकालेको परिणाम हेरेर गर्न सकिन्छ।

जुनागढमा जन्मिएका भगवानलाल इन्द्रजीलाई अनुसन्धान–अन्वेषणका लागि भारतकै नवावहरूले आर्थिक सहयोग गरेका थिए। हामीकहाँ त्यस्ता नवावहरूको कमी देखियो होइन ?

भारतका विभिन्न रियासतले ग्रन्थमाला चलाए, प्राचीन ग्रन्थ खोजे र छापे। मैसुरबाट कौटिल्यको अर्थशास्त्र हराइरहेको थियो। १९०५ मा दक्षिण भारतमा एउटा प्रति भेट्टियो र त्यसको उद्धार भयो। काश्मीरलगायत ठाउँका आफ्नै ग्रन्थमाला  छन्। उनीहरूको प्रान्तकै ग्रन्थमाला हुँदा हाम्रो नेपालकै छैन। नेपालमा हेमराज पण्डितले भीमशमशेरको पालामा प्राचीन आयुर्वेद ग्रन्थ ‘काश्यपसंहिता’लाई ‘नेपाल ग्रन्थमाला–१’ भनेर प्रकाशित गर्नुभयो, तर दोस्रो ग्रन्थ आएन। ऐतिहासिक महत्त्व बुझेर निरन्तर काम गर्ने संस्कार यहाँ जागेन।

तपाईंको जीवनकालमै अनुसन्धान गर्न पाए हुन्थ्यो भन्ने कुनै विशेष सामग्री छ?

हनुमानढोका दरबार क्षेत्रमा एउटा ढुकुटी छ। २०७२ को भूकम्पपछि त्यो खोल्दा सुन, चाँदी, जवाहरात, ऐतिहासिक तक्मा र ताम्रपत्रको सूची बनाइएको थियो। त्यहाँ १४६ वटा ताम्रपत्र रहेको विवरण थियो। त्यो सूची बनाउनेमध्ये पुरातत्व विभागका निर्देशक लगायत बाहिरबाट त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागका तत्कालीन प्रमुख मुकुन्दराज अर्याल पनि हुनुहुन्थ्यो।

मैले उहाँलाई ती ताम्रपत्र बाहिर ल्याउन सके इतिहासका धेरै पाटा खुल्न सक्ने बताएँ। उहाँले केही ताम्रपत्रका तस्वीर दिनुभयो। एउटा तस्वीर हेर्दा म अत्यन्त उत्साहित भएँ, किनभने त्यो लिच्छविकालीन ताम्रपत्र थियो। लिच्छविकालीन ताम्रपत्रको उल्लेख पाइन्थ्यो, सामग्री नै भने भेटिएको थिएन। तस्वीरबाट पढ्न सकिएजति विवरण मैले ‘पूर्णिमा’ को १४५औं अंकमा प्रकाशित गरेको छु।

त्यो तामपत्रमा के लेखिएको रहेछ ?

त्यसमा विष्णुको मन्दिर र ब्राह्मणलाई दिइएको दानको प्रसंग छ। अझ महत्त्वपूर्ण कुरा, त्यसमा आफूलाई लिच्छवि वंशको भन्ने, नामको अन्त्यमा ‘देव’ आउने एक शासक र उनका पिताको नाम देखिन्छ। ती नाम यसअघि प्रकाशमा आएका थिएनन्। त्यो नेपालको इतिहासमा स्रोत अत्यन्त कम पाइने कालखण्डसँग सम्बन्धित देखिन्छ। बाँकी चार वटामा काठमाडौंका राजा र विजयपुर, तनहुँ, लमजुङका राजासँग भएका सन्धि बारे उल्लेख रहेछ। ती सबै पूर्णिमामा छापेको छु। अरू ताम्रपत्र अध्ययन गर्न पाए धेरै कुरा खुल्न सक्छन्।

तपाईं राष्ट्रपतिको इतिहास तथा पुरातत्त्व सल्लाहकार हुँदा पनि ती सामग्री हेर्न पाउनुभएन?

म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको इतिहास तथा पुरातत्त्व सल्लाहकारका रूपमा करिब १४–१५ महिना रहें। समय छोटो भएकाले के काम गर्न सकिन्छ भनेर उहाँले सोध्नुभयो। मैले यही १४६ ताम्रपत्रको कुरा राखें र उपलब्ध विवरण देखाएँ। राष्ट्रपतिको कार्यालयबाट तत्काल सम्बन्धित निकायलाई पत्र पनि गयो।

तर त्यो ढुकुटीमा तीन वटा ताल्चा लाग्ने र तीन निकायको समन्वय चाहिने रहेछ। बैठकहरू भए, निष्कर्ष आएन। मेरो कार्यकाल सकियो, ढुकुटी खुलेन। राष्ट्रपतिको सल्लाहकार हुँदा पनि इतिहासका ती स्रोत हेर्न पाइनँ। अनुसन्धानकर्ताको पहुँच कति कठिन छ भन्ने एउटा उदाहरण हो यो।

हाम्रा अभिलेख राष्ट्रपतिका सल्लाहकारले नै र्हेर्न नमिल्ने गरी राखिएको हुँदो रहेछ। एकातिर अभिलेखमा पहुँच छैन, अर्कोतिर महत्त्वपूर्ण दस्तावेज हराएका-हराए न्। के–कस्ता सामग्री हराएका छन्?

सुगौली सन्धिको मूल प्रति कहाँ छ भन्ने प्रश्न छ। मेरो पुर्खासँग जोडिएको अर्को उदाहरण पनि छ। वि.सं. १८४४ जस्तो लाग्छ। गोरखाले कुमाउँ जित्यो। गोरखाका राजा रणबहादुर शाह र कुमाउँका राजा मोहन चन्द बीच भएको सन्धिको मूल प्रति मेरो संरक्षणमा छ।

कसरी भन्नुस् न। मेरो हजुरआमा भन्दा पाँच पुस्ता अगाडिको पुर्खा त्यतिबेला परराष्ट्रमन्त्री सरहको जिम्मेवारीमा सन्धि गर्न गएका थिए र प्रति घरमा ल्याएर राखे। त्यसको प्रति नौ अंकको पूर्णिमामा छापिएको छ। हाम्रो घरमा ल्याएर राखेको कारण जोगियो। यस्ता कति कागज सरकारी कार्यालयबाट व्यक्तिका घरमा पुगे र कति हराए, हामीलाई थाहा छैन।

भीमसेन थापाको समयका दुई नक्शा हराएका छन्। विक्रम संवत् २०१३ सालसम्म परराष्ट्र मन्त्रालयमा रहेको भनिन्छ। एउटामा नेपालबाट एशिया र युरोपका ठाउँको दूरी र अर्कोमा नेपालभित्रका स्थानको विस्तृत विवरण थियो। अहिले ती नक्शा दिल्लीमा पुराना सामान संकलन गर्ने व्यक्तिको संग्रहालयमा छ भनिन्छ। किन हराउँदा रहेछन् पुराना सामग्रीहरू ?

राष्ट्रिय अभिलेखालयमा मूल हस्तलिखित ग्रन्थ रहे पनि त्यसको चित्रयुक्त काठको गाता विदेशको लिलामीमा पुगेको घटना छ। भित्रको किताब खास चोरी हुँदैन। गाता चोरी हुँदोरहेछ। कडा सुरक्षा र ताल्चाभित्र रहेको वस्तुको गाता विदेश कसरी पुग्यो भन्ने प्रश्न त रहन्छ।

जुद्धशमशेरको पालातिर हनुमानढोकाका पुराना कागज फाल्ने अभियान चलेको थियो। त्यसमा खटिएका रामजी तिवारीले इतिहासमा काम लाग्न सक्ने दुई बोरा जति कागज छुट्याएर ल्याउनुभयो। फाल्न लागिएका कागज भएकाले कसैले खोजेन। तिनै कागजमा १८७१ मा अंग्रेजसँगको युद्धअघि हिअर्सी र मुरक्रफ्ट जोगीको भेषमा मानसरोवरतर्फ जान खोज्दा नेपाली सैनिकले नियन्त्रणमा लिएको विवरण समेत भेटियो। पछि त्यो सामग्री संशोधन मण्डलले प्रकाशन गरेको छ।

यसबाट के देखिन्छ भने कुनै समय महत्त्व नबुझेर फालिएका कागजले इतिहासको ठूलो रिक्तता भर्न सक्छन्। संरक्षण मात्र पर्याप्त हुँदैन, सूचीकरण, पहुँच र अध्ययन पनि चाहिन्छ।

पुरातत्त्व, विश्वविद्यालय र प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थालाई जनशक्ति र स्रोत दिए काम सुध्रेला?

एक–दुई जनाले गर्लान्, तर सुविधा दिएर मात्रै सबै ठीक हुन्छ भन्ने मलाई लाग्दैन। आजको जीवनशैलीमा मानिसलाई धेरै पैसा चाहिएको छ। एउटा संस्थाबाट तलब लिन्छ, फेरि अर्को परियोजना खोज्छ। प्राज्ञ वा प्राध्यापक आफ्नो संस्थाको पूर्णकालीन कामभन्दा बाहिरका परियोजनामा व्यस्त हुन्छन्। नेपाल प्रज्ञा प्रतिष्ठानकै प्राज्ञहरू अरूको किताब संशोधन गरेर बस्छन्। विषयमा आफूलाई पूर्ण रूपमा समर्पित गर्ने मानिस औंलामा गन्न सकिन्छ।

स्रोत र सुविधा आवश्यक छन्, तर निष्ठा र निरन्तरता झन् आवश्यक छन्। साँच्चिकै काम गर्नेलाई सहयोग गर्नुपर्छ। कसले काम गर्छ भनेर भाषणबाट होइन, उसको अघिल्लो काम, पोर्टफोलियो र परिणामबाट थाहा हुन्छ।

इतिहासमा रुचि राख्ने युवाले कहाँबाट शुरु गर्ने?

डिग्रीका लागि मात्रै शोध गरेर हुँदैन। थेसिसलाई औपचारिकता पूरा गर्ने माध्यम र नामअघि ‘डाक्टर’ लेखाउने बाटो बनाइयो भने गम्भीर काम निस्कँदैन। आफूले काम गर्ने विषयका मूल स्रोत र त्यस सम्बन्धी आधुनिक अनुसन्धान पढ्न सक्ने भाषा सिक्नुपर्छ।

ह्याम्बर्ग विश्वविद्यालयकै उदाहरण लिऊँ। बुद्ध धर्ममा विद्यावारिधि गर्ने हो भने संस्कृत पढ्नैपर्छ। आधुनिक अनुसन्धान बुझ्न अंग्रेजी, फ्रेन्च वा जर्मन आवश्यक पर्न सक्छ। अहिले जापानी र चिनियाँ भाषामा पनि बुद्ध धर्म सम्बन्धी लेख र ग्रन्थ प्रशस्त छन्। महायानमा काम गर्ने हो भने तिब्बती र चिनियाँ भाषा चाहिन्छ। विषय अनुसार भाषा र पद्धतिको तयारी नगरी गम्भीर अनुसन्धान सम्भव छैन।

सूचनाप्रविधिको विकासले गर्दा भाषाको अनुवाद निकै सहज भनेको छ। एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले भाषाको समस्या कम गर्न सक्दैन?

आधुनिक भाषाको सामान्य अनुवादलाई सच्याएर पढ्नयोग्य बनाउन प्रविधिले सहयोग गर्ला। तर प्राचीन भाषाको प्राविधिक शब्द कसरी अनुवाद गर्छ भन्ने प्रश्न छ। उदाहरणका लागि गोपालराज वंशावलीमा प्रयोग भएको साढे पाँच सय वर्ष पुरानो नेवारीलाई एआईले कति सही अनुवाद गर्ला? त्यस भाषाको सामग्री र सही व्याख्या प्रणालीमा पुगेकै छैन भने उसले कसरी जान्दछ ? कसैले ज्ञान दिएपछि मात्रै उसले काम गर्ने हो। त्यसैले प्रविधि सहयोगी हुन सक्छ, मूल भाषाको ज्ञानको विकल्प होइन।

अहिले तपाईंको सबैभन्दा ठूलो चिन्ता के हो?

संशोधन मण्डलले विक्रम संवत् १९९७ देखि काम गर्दै आएको छ। त्यतिबेला पाठशाला थियो, विद्यार्थी उत्पादन हुन्थे। अब त्यो छैन। संशोधन मण्डलले निरन्तरता नपाउने त पक्कापक्की जस्तै भयो। कमसेकम यहाँ संग्रहित सामग्रीको संरक्षण भइदिए हुन्थ्यो भन्ने मेरो भनाइ हो।

मैले आफैं जोडेको करिब १५ हजार थान मुद्रित सामग्री छ। पुर्ख्यौली संग्रहमा ५–६ हजारजति हस्तलिखित किताब छन्। कतिपयको अर्को प्रति संसारमै नहुन सक्छ। केही सामग्रीको डिजिटाइजेसन गरिरहेका छौं, तर गति सुस्त छ। संग्रह अहिले आफ्नै घरमा राखिएको छ।

भाडा नतिरे पनि कर्मचारी लगायतको मासिक खर्च औसतमा एक लाख रुपैयाँ पुग्छ। आम्दानीको मुख्य स्रोत पुस्तक बिक्री हो, त्यसबाट वर्षमा करिब चार लाख रुपैयाँ आउँछ। वार्षिक खर्चसँग तुलना गर्दा ठूलो घाटा हुन्छ। आर्थिक आधार नबने संस्था र संग्रहको निरन्तरता कठिन हुन्छ। कम्तीमा यो संग्रह सुरक्षित रहोस् भन्ने चाहना छ।

यसको जिम्मेवारी सरकारले लिनुपर्छ  भन्ने हो?

म सरकारलाई मात्रै दोष दिन्नँ। सरकारले काम गर्न भनेकाले हामीले शुरु गरेका होइनौं। विक्रम संवत् १९९७ मा जुद्धशमशेरले नयराज पन्तलाई बनारसबाट फर्केर यस्तो काम गर भनेर आदेश दिएका थिएनन्। उहाँले आफ्नै इच्छाले शुरु गर्नुभयो। त्यसैले सरकारले हामीलाई पाल्नैपर्छ भन्ने पनि होइन।

सरकारका आफ्नै पुरातत्त्व विभाग, विश्वविद्यालय र प्रज्ञा–प्रतिष्ठान छन्। तिनले पनि आफ्नो ढंगले काम गरिरहेका छन्। कसको काम राम्रो भनेर निष्पक्ष मूल्यांकन कसले गर्ने भन्ने प्रश्न छ। तर दुर्लभ संग्रह र सार्वजनिक महत्त्वको ज्ञान जोगाउने विषयमा राज्य, विश्वविद्यालय र समाज सबैले सोच्नुपर्छ।

यति लामो कामपछि सन्तोष छ कि उपेक्षाको अनुभूति बढी छ?

मलाई एउटा कुरामा सन्तोष छ— मैले कुनै पक्षलाई रिझाउन वा कसैको अपमान गर्न अनुसन्धान गरेको छैन। प्रमाणले जे देखायो, त्यही लेख्ने प्रयत्न गरें।

आठौं शताब्दीका संस्कृत नाटककार भवभूतिलाई समकालीनहरूले उपेक्षा गर्दा उनले पृथ्वी विशाल छ, समय अनन्त छ, कुनै न कुनै बेला आफू जस्तै रुचि भएको मानिस जन्मेला र आफ्नो काम बुझ्ला भनेर चित्त बुझाएका थिए।

आज पनि हामीले आठौं शताब्दीका भवभूतिकै उदाहरण सम्झर चित्त बुझाउनुपर्ने अवस्था छ होइन ?

तर मलाई त्यसमा अफसोच छैन। बुद्धिजीवीहरूको अकाल मृत्यु देखेको छु। उनीहरूको मनमा आगो बलेको छ। मलाई त्यस्तो छैन। मनमा आगो बोकेर असन्तोषमा बाँच्नुपरेको छैन।

इच्छा लागेर यो काम गरेको हुँ, अझै गरिरहेको छु। मैले त रेनेसाकालदेखिको युरोपको इतिहास पढेको छु। त्योभन्दा अगाडि नयाँ अन्वेषण गर्नेलाई फाँसी दिइन्थ्यो। हामी जस्ताले चिन्ता गर्नुपर्ने केही छैन। जिन्दगी यस्तै हो।

फोटो/भिडियो : कमल प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?