News Summary
Generated by OK AI. Editorially reviewed.- कंगना रनावतले बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै इन्स्टाग्राम स्टोरीमा जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ नगर्न भनिन् ।
- बाबा रामदेवले कंगनाको ‘जेनेरेशन गटर’ अभिव्यक्तिलाई ‘बिग्रिएको दिमागको संकेत’ भन्दै यसबारे उनको पार्टीका मानिसले संज्ञान लिनुपर्ने बताए ।
- कंगनाले युवा हिन्दू महिलाबारे टिप्पणी गर्दै उनीहरूलाई ‘जेनेरेशन गटर’ भनेकी थिइन् ।
मुम्बइ । अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी वा बेडरुमबारे सपना नदेख्न भनेकी छन् ।
कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर बाबा रामदेवले त्यसलाई ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले प्रतिक्रिया जनाएकी हुन् ।
कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत बाबा रामदेवलाई जवाफ दिँदै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ नगर्नुस् । कसैले केवल हल्ला र गसिपका आधारमा मात्रै यस्तो सोच्न सक्छ । कम्तीमा मलाई कहिल्यै सर्वोच्च अदालतबाट झुटा वा नक्कली मेडिकल दाबीका कारण फटकार लागेको छैन । त्यसैले मलाई चरित्रको पाठ नपढाउनुस् । तपाईंको चरित्र जस्तोसुकै होस्, मेरो त्यसको तुलनामा धेरै राम्रो छ । यहाँ कुनै ठगी भेटिएको छैन ।’
हालै बाबा रामदेवले जेन जेडलाई लिएर कंगनाले दिएको ‘जेनेरेसन गटर’ अभिव्यक्तिको आलोचना गरेका थिए ।
एक टिभी कुराकानीमा कंगनाको टिप्पणीबारे प्रतिक्रिया दिँदै बाबा रामदेवले भनेका थिए, ‘उनको योग्यता के हो ? उनको बाल्यकाल कस्तो रह्यो ? उनको जवानी कस्तो रह्यो ? उनका यसअघिका गतिविधि कस्ता रहे ? म यस्ता मानिसबारे कुरा गर्न चाहन्नँ । कुनै पनि देशका युवालाई, जेन जेडलाई ‘गटर-पटर’ भन्नु बिग्रिएको दिमागको संकेत हो । यो गलत कुरा हो । यस विषयमा उनको पार्टीका मानिसले संज्ञान लिनुपर्छ ।’
कंगना तपाईंको योगकी प्रशंसक रहँदै आएकोबारे प्रश्न गर्दा बाबा रामदेवले भनेका थिए, ‘मेरो प्रशंसा गरून्, योगको प्रशंसा गरून् भन्दैमा म यहाँ उनका पापमाथि लीपापोती गरिदिऊँ ?’
बाबा रामदेवले युवाको कुनै जात नहुने पनि बताएका थिए । उनका अनुसार युवामा सबै समेटिन्छन्न् । ‘त्यसमा ब्राह्मणका पनि सन्तान छन्, क्षेत्रीयका पनि, वैश्यका पनि, दलितका पनि, आदिवासी–वनवासीका, एससी–एसटीका, सबैका सन्तान छन्, आज युवा आफैंमा एक धेरै ठूलो शक्ति हो, त्यसलाई कसैले नकार्न सक्दैन’ उनले भनेका थिए ।
कंगनाले हालै एक इन्स्टाग्राम स्टोरीमा युवा हिन्दू महिलाको व्यवहारबारे टिप्पणी गर्दै उनीहरूलाई ‘जेनेरेसन गटर’ भनेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘सबैभन्दा बढी चकित पार्ने कुरा युवा हिन्दू महिलाको व्यवहार हो । उनीहरू स्वतन्त्र र करिअर बनाउने महिलाको जीवनको नक्कल गर्न चाहन्छन्, तर त्यो स्वतन्त्रता आर्जन गर्न चाहँदैनन् । जो महिला वास्तवमै स्वतन्त्र हुन्छन्, उनीहरू विद्रोही निर्णय लिन्छन्, खुलेर आफ्नो धारणा राख्छन्, परम्पराभन्दा फरक करिअर रोज्छन् र आफ्ना हरेक निर्णयको जिम्मेवारी पनि आफैं लिन्छन्, किनकि उनीहरू आफ्नै बलमा जीवन जिउँछन् । उनीहरू यी सबै कुरा आफ्ना आमाबुबा वा परिवारको मूल्यमा गर्दैनन् । यो तथाकथित पश्चिमी सोच भएका भारतीय महिलाको नयाँ पुस्ता हो, जसलाई म ‘जेनेरेसन गटर’ भन्छु ।’
प्रतिक्रिया 4