News Summary
Generated by OK AI. Editorially reviewed.- श्रद्धा प्रसाईंको निर्देशनमा फिल्म ‘डियर काब्या’ निर्माण हुने भएको छ र विहिबार औपचारिक घोषणा गरिएको छ।
- गोल्डेन उल्फ पिक्चर्सको ब्यानरमा बन्ने फिल्ममा उपासनासिंह ठकुरी र विक्की खड्का शीर्ष भूमिकामा देखिनेछन्, र खड्काले यसैबाट अभिनयमा डेब्यू गर्नेछन्।
- मंसिरबाट छायांकन सुरु हुने यो फिल्ममा गौरी मल्ल, तृप्ती नाड्कर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुनको अभिनय रहनेछ।
काठमाडौं । श्रद्धा प्रसाईंको निर्देशनमा फिल्म ‘डियर काब्या’ निर्माण हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा यो फिल्मको औपचारिक घोषणा गरियो । प्रसाईंले साउन महिनामै यो फिल्मको निर्माण इजाजत पाएकी थिइन् । विहिबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको ३० फिट लामो पोस्टर सार्वजनिक गरियो ।
गोल्डेन उल्फ पिक्चर्सको ब्यानरमा बन्ने फिल्ममा उपासनासिंह ठकुरी र विक्की खड्का शीर्ष भूमिकामा देखिनेछन् । खड्काले यो प्रोजेक्टबाट चलचित्र अभिनयमा डेब्यू गर्न लागेका हुन् ।
निर्देशक प्रसाईं डेब्यू निर्देशकीय फिल्म ‘ककाकिकी’ प्रदर्शन तयारीमा छ । पहिलो फिल्म प्रदर्शनमा नआउँदै दोस्रो फिल्मको निर्माण घोषणा गरिएको हो । यो फिल्मको छायांकन मंसिरबाट सुरु हुने जनाइएको छ ।

फिल्ममा गौरी मल्ल, तृप्ती नाड्कर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुनको अभिनय हुनेछ । लगानीकर्ता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने चर्चित अभिनेत्री दीया मास्के र सन्दीप डंगोल कार्यकारी निर्माता हुन् ।
फिल्म र टेलिभिजनकी चर्चित अभिनेत्री मास्केको यो पहिलो निर्माण फिल्म हुनेछ । फिल्मको निर्माण आफ्नो लागि नयाँ अनुभव हुने जनाउँदै उनले फिल्मबारे अन्य कुरा क्रमशः सार्वजनिक गर्ने बताइन् ।
पत्रकार सम्मेलनमा अभिनेत्री ठकुरीले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेको भन्दै उत्साह व्यक्त गरिन् । निर्माताका अनुसार, कथावस्तु र अन्य प्राविधिक पक्ष चाँडै सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया 4