+
+
Shares
वार्ता :

‘नारदमुनि अलप भएर अर्को ठाउँ पुगे’ जस्तै क्वान्टम प्रविधिमा सूचना पठाउन सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते २२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको आईबीएम कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा. यादवप्रसाद कँडेलले क्वान्टम फिजिक्स र कम्प्युटिङको क्षेत्रमा महत्त्वपूर्ण अनुसन्धान गरिरहेका छन् ।
  • डा. कँडेलले क्वान्टम चिपमा इलेक्ट्रोन क्युबिटलाई इन्ट्याङ्गल गरी सूचना सफलतापूर्वक टेलिपोर्टेसन गर्ने प्रविधि विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
  • क्वान्टम कम्प्युटरको विकाससँगै भविष्यमा जटिल रोगको औषधि पत्ता लगाउन र जलवायु परिवर्तनका क्षेत्रमा ठूलो परिवर्तन आउने उहाँले बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४०’ को सूचीमा रहेका डा. यादवप्रसाद कँडेल एक क्वान्टम वैज्ञानिक हुन् । अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरबाट क्वान्टम फिजिक्समा पीएचडी गरेका उनी  संसारकै सबैभन्दा ठूला कम्पनीमध्ये एक आईबीएममा वैज्ञानिकका रूपमा कार्यरत छन् । क्वान्टम साइन्स भनेको के हो, त्यसले समाजमा अहिले र भविष्यमा के प्रभाव पार्न सक्छ भन्ने विषयमा डा. कँडेलसँग अनलाइनखबरका लागि जनार्दन बरालले गरेको कुराकानी :

क्वान्टम फिजिक्स भनेको के हो ? साधारण मान्छेले बुझ्ने गरी बताइदिनुस् न ?

क्वान्टम फिजिक्स प्रकृतिको सबैभन्दा सरल भाषा हो । यस विषयमा अनुसन्धान सुरु भएको लगभग १ सय वर्ष हुन लाग्यो । प्रकृतिले फरक–फरक तहमा फरक तरिकाले काम गर्दो रहेछ । हामीले हाम्रो आकार, तौल र गतिका आधारमा संसारलाई बुझ्छौं ।

तर, यो संसारमा हामीभन्दा निकै ठूला कुरा छन् । जस्तै : तारा वा ग्यालेक्सीहरू । अनि एकदमै साना अणु, परमाणु, इलेक्ट्रोन, प्रोटोनजस्ता कणहरू पनि छन् । ती अति सूक्ष्म कणहरूको अनौठो व्यवहारलाई सामान्य विज्ञानले वा ‘न्युटनको नियम’ जस्तो विषयले व्याख्या गर्न सक्दैन । प्रकृतिमा रहेका सूक्ष्म कण, थोरै ऊर्जा र तिनीहरूको अन्तर्क्रिया वा व्यवहारलाई व्याख्या गर्ने विज्ञान नै क्वान्टम फिजिक्स हो । अर्थात्, अणु–परमाणुको तहमा हुने व्यवहारलाई व्याख्या गर्ने विज्ञान क्वान्टम फिजिक्स हो ।

मानिसहरू एक्लै हुँदा एउटा व्यवहार र साथीहरूसँग भेला हुँदा अर्काे व्यवहार देखाउँछन् नि ! त्यस्तै एटम वा अण–परमाणुहरूले पनि एक्लै हुँदा एक किसिमको, दुई–चार वटा राख्यो भने अर्कै र समूहमा हुँदा अर्कै व्यवहार देखाउँछन् । संसारमा हरेक चिज सूक्ष्म कणहरूले बनेका छन्, हामी नै पनि त्यस्तै सूक्ष्म कणले बनेका छौं । सूक्ष्म कण एक्लै हुँदा वा अन्य कणसँग अन्तर्क्रिया गरिनसकेको अवस्थामा तिनीहरूको भित्री स्वभाव कस्तो हुन्छ भनेर अध्ययन गर्ने विधा क्वान्टम फिजिक्स हो । प्रकाश र ध्वनिजस्ता तरंग थोरै ऊर्जाको अवस्थामा कसरी काम गर्छन् भन्ने सूक्ष्म कुराहरूको अध्ययन यसमा हुन्छ ।

पौराणिक कथामा नारदमुनि एक ठाउँबाट गायब भएर अर्काे ठाउँमा निस्किए जस्तै, क्वान्टम फिजिक्समा पनि कुनै सूचना एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । यसलाई क्वान्टम टेलिपोर्टेसन भनिन्छ । तर, कुनै वस्तु वा कण नभई त्यसमा रहेका सूचना मात्रै ट्रान्स्फर हुन्छ ।

विज्ञान तथा भौतिकशास्त्र अध्ययन त शताब्दीयौंदेखि भइरहेको छ । शास्त्रीय भौतिकशास्त्र र क्वान्टम फिजिक्सबीचको फरक चाहिँ के हो ?

भौतिकशास्त्रलाई मूलत: दुई भागमा बाँडिन्छ– क्लासिकल फिजिक्स र क्वान्टम फिजिक्स । क्लासिकल फिजिक्स भनेको रुखबाट फल वा फालेको बल कहाँ झर्छ भनेर हिसाब गर्ने विधा हो । हामीले देख्ने प्राय: सबै कुराको अध्ययन शास्त्रीय फिजिक्स अन्तर्गत हुन्छन्, जसले गाडीको ब्रेकिङ डिस्टेन्सदेखि दैनिक जीवनका ठूला वस्तुहरूको स्थिति व्याख्या गर्छ ।

क्वान्टम फिजिक्स भने अलि फरक छ । उदाहरणका लागि सूर्यबाट आउने प्रकाश हामीले अनुभव गरिरहेकै हो । तर, लेजर लाइटको व्यवहार फरक हुन्छ । दैनिक जीवनमा यस्ता अनौठा कुराहरू देखिन्छन्, त्यो क्लासिकल फिजिक्सले व्याख्या गर्न सक्दैन ।

अहिलेका नयाँ प्रविधि, चिप्स वा स्क्रिनहरू बनाउन सामग्रीलाई परमाणुको तहमा शुद्धीकरण र नापजाँच गरिएको हुन्छ । त्यो कुरा कति राख्ने, किन राख्ने, कसरी राख्ने जान्न पनि न्युटनको नियमले मात्र पुग्दैन, क्वान्टम फिजिक्स नै चाहिन्छ । जहाँ क्लासिकल मेकानिक्सले व्याख्या गर्न सक्दैन, त्यहाँ फरक सिद्धान्त र भाषाका रूपमा क्वान्टम फिजिक्सको प्रयोग हुन्छ ।

तपाईंले नै भन्नुभयो, क्वान्टम फिजिक्समा सय वर्षदेखि अनुसन्धान भइरहेको छ । तर, नेपालका लागि यो पक्कै पनि नौलो नै हो । क्वान्टम फिजिक्समा तपाईंको रुचि चाहिँ कसरी विकास भयो ?

नेपालमा पनि क्वान्टम फिजिक्सका सैद्धान्तिक पढाइ भइरहेको छ । मेरो अध्ययनको आधार पनि त्यही नै हो । मलाई सधैं नयाँ कुरा र के भइरहेको छ भन्ने जान्ने इच्छा हुन्थ्यो । सुरुमा एस्ट्रोनोमीतिर रुचि थियो, जुन क्लासिकल मेकानिक्स वा न्युटनका नियमहरूबाट धेरै व्याख्या गर्न सकिन्थ्यो ।

अति सूक्ष्म कणहरूको अनौठो व्यवहारलाई सामान्य विज्ञानले वा ‘न्युटनको नियम’ जस्तो विषयले व्याख्या गर्न सक्दैन । प्रकृतिमा रहेका सूक्ष्म कण, थोरै ऊर्जा र तिनीहरूको अन्तर्क्रिया वा व्यवहारलाई व्याख्या गर्ने विज्ञान नै क्वान्टम फिजिक्स हो ।

तर, प्रविधिलाई गहिराइबाट बुझ्न क्वान्टम फिजिक्स आवश्यक छ भन्ने कुरा प्राध्यापकहरूबाट थाहा पाएँ । पढ्दापढ्दै सुपरपोजिसन, इन्ट्याङ्गलमेन्ट, टेलिपोर्टेसन जस्ता अवधारणाहरू सुन्न पाइयो । पौराणिक कथामा ‘नारद मुनि एक ठाउँबाट बिलाएर अर्काे ठाउँ पुग्छन्’ भन्ने सुनिन्थ्यो । करिब–करिब त्यस्तै कुरा क्वान्टम फिजिक्समा पनि हुन्छ भन्ने सुनेपछि मलाई यसै विधामा जानुपर्छ भन्ने लाग्यो ।

क्वान्टम फिजिक्सका सिद्धान्तलाई आफैंले प्रयोग गरेर हेर्ने मन थियो । त्यसैले यहाँ रहँदा हिसाब र सिमुलेसन आधारित अनुसन्धान गरेँ, त्यसपछि प्रयोगात्मक अनुसन्धानतर्फ लागेँ ।

तपाईंले अमेरिकाको विश्वविद्यालयबाट क्वान्टम फिजिक्समै पीएचडी गर्नुभयो । पीएचडीमा तपाईंले गर्नुभएको महत्त्वपूर्ण अनुसन्धान र त्यसबाट के कुरा पत्ता लाग्यो, बताइदिनुस् न ?

पीएचडीका क्रममा मेरो काम क्वान्टम चिप डिजाइन गर्ने, त्यसलाई आफैंले बनाउने र त्यसमा एक्स्पेरिमेन्ट गरेर आफ्ना हाइपोथेसिसहरू जाँच गर्ने थियो ।

हामीले दैनिक प्रयोग गरिरहेको प्रविधि डिजिटल कम्प्युटिङ हो । अहिले यसैसँगै क्वान्टम फिजिक्स र प्रविधिमा आधारित क्वान्टम कम्प्युटिङको विकास भइरहेको छ । मेरो मुख्य काम क्युबिट अर्थात् क्वान्टम चिप बनाउने, त्यसको परीक्षण गर्ने र क्वान्टम सूचना सम्बन्धी अनुसन्धान गर्ने थियो ।

त्यसबेला मलाई सबैभन्दा रोचक लागेको काम ‘इन्ट्याङ्गलमेन्ट’ र ‘टेलिपोर्टेसन’ सँग सम्बन्धित थियो । पहिले क्वान्टम फिजिक्समा जति काम भए लेजर र एटमहरू प्रयोग गरेर परीक्षण गरिन्थ्यो । तर, सिलिकन वेफर वा चिपहरूमा इलेक्ट्रोन जस्ता अतिसूक्ष्म कणहरूलाई एक्लै राखेर तिनीहरूको गुण नाप्न गाह्रो हुन्थ्यो । प्रविधि उन्नत हुँदै गयो । त्यसमा मेरो काम चाहिँ इलेक्ट्रोनहरूलाई ‘स्क्वायर ग्रिड’ मा नियन्त्रण वा कब्जा गरेर राख्ने, त्यसको नजिकै चुम्बक राख्दा त्यो ‘इलेक्ट्रोन क्युबिट’ बन्छ । एउटा क्युबिट बनाउन सकिने भए पनि धेरै क्युबिटहरूको सञ्जाल बनाएर प्रयोग गर्नु र एउटा क्युबिटको डेटा अर्कोसम्म पुर्‍याउनु अझै पनि चुनौतीपूर्ण छ । मेरो पहिलो अनुसन्धान नै इलेक्ट्रोन क्युबिटहरूलाई इन्ट्याङ्गल गरेर छुट्याएर अलि टाढा लैजाने र टेलिपोर्टेसन मार्फत एउटा क्युबिटको सूचना अर्को क्युबिटमा सफलतापूर्वक स्थानान्तरण गर्नेसम्बन्धी थियो । इलेक्ट्रोन स्पिन क्युबिट प्रयोग गरेर गरिएको त्यो अनुसन्धान सफल भयो ।

तपाईंले क्युबिटहरूलाई इन्ट्याङ्गल राखेर एउटा क्युबिटबाट अर्को क्युबिटसम्म डेटा कसरी ट्रान्स्फर गर्न सकिन्छ भन्नेमा पीएचडी गर्नुभयो, जुन प्रसिद्ध ‘नेचर’ जर्नलमा पनि प्रकाशित भयो । र, त्यसको प्रविधि नै विकास पनि भयो । त्यसबाट यस क्षेत्रमा के फाइदा भयो ?

सामान्य कम्प्युटरमा स्विच अन वा डेटा उस्तै रहन्छ । बत्ती अन भएको बेला हेरे पनि अन नै हुन्छ, नहेरे पनि । तर, क्वान्टम प्रणालीमा क्युबिटको अवस्था हेर्‍यो नै भने मात्रै पनि त्यसको अवस्था परिवर्तन हुन्छ । यसलाई प्राविधिक भाषामा ‘डिकोहेरेन्स’ भनिन्छ । त्यसकारण क्वान्टम चिप बनाउन अलि गाह्रो छ ।

त्यसैले क्वान्टम इन्फर्मेसनलाई तार जोडेर वा सिधा बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्दैन । साथै, ‘नो–क्लोनिङ थ्योरम’ अनुसार क्युबिटको वास्तविक अवस्था दुरुस्तै कपी गर्न पनि सकिँदैन । यस्तो अवस्थामा इन्ट्याङ्गल गरिएका कणहरू प्रयोग गरी टेलिपोर्टेसन मार्फत डेटा पठाउँदा सूचना नष्ट हुँदैन र नाप्नु पनि पर्दैन । नाप्यो भने सूचना नै परिवर्तन हुन्छ । यो प्रविधिले नयाँ बन्दै गरेका क्वान्टम कम्प्युटरहरूमा डेटा ट्रान्स्फरको आधार बन्ने क्षमता राख्छ । यो मेरो अनुन्धान क्वान्टम कम्प्युटरको अंश बन्न सक्छ ।

अहिले पनि क्वान्टम कम्प्युटरहरू बनेका छन् । ती क्वान्टम कम्प्युटरहरूले अहिले कस्ता काम गर्न सक्छन् र भविष्यमा यसले के-के गर्न सक्लान् ?

यसलाई डिजिटल र क्वान्टम कम्प्युटरको फरकबाट सुरु गरौं । हामीले दैनिक गर्ने कामका लागि डिजिटल कम्प्युटरहरू निकै प्रभावकारी छन् । हामीले प्रयोग गर्ने कुनै उत्पादन उदाहरणका लागि औषधि बनाउँदा रसायन तथा पदार्थको गुण पत्ता लगाउन यो कम्प्युटरले योगदान गर्छ सक्छ । त्यस्तै, जलवायु सिमुलेसन गर्न वा ठूलो स्केलमा प्राकृतिक प्रणालीको सिमुलेसन गर्न डिजिटल कम्प्युटरलाई गाह्रो पर्छ, त्यस्तो काममा क्वान्टम कम्प्युटर चाहिन्छ ।

अहिलेका ठूला सुपर कम्प्युटरहरू पनि अहिलेकै डिजिटल कम्प्युटरमा धेरै चिपहरूलाई एकै ठाउँमा राखेर उच्च गतिमा काम गर्न सक्ने बनाइएको हुन्छ, जसले धेरैजसो अवस्थामा अनुमान मात्र गर्न सक्छन् ।

संसारमा १ सय १८ वटा परमाणुहरू छन् । तीमध्ये गणितीय रूपमा सम्पूर्ण फिजिक्स हातले लेखेर बुझिएको भनेको हाइड्रोजन मात्र हो । बाँकी सबैको गुण हिसाब गर्न वा सिमुलेट गरेर नयाँ औषधि बनाउन पनि हाइड्रोजनकै आधारमा अनुमान गर्नुपर्छ । त्यसो गर्दा हाइड्रोजनमा यति–यति हालेपछि यो हुन्छ भन्ने खालको अनुमानका आधारमा काम गर्नुपर्ने र ठ्याक्कै हिसाब गर्न नसकिने यो सीमा पहिलेदेखि नै थियो ।

यसलाई सकेसम्म यथार्थपरक बनाउने प्रयास भइरहेकै थियो । त्यही क्रममा प्रकृतिको आफ्नै वास्तविक भाषा क्वान्टम फिजिक्स रहेछ, यसैमा आधारित भएर काम गर्ने उपकरणका रूपमा क्वान्टम कम्प्युटर बनाऊँ न त भनेर काम सुरु गरियो ।

हामीले दैनिक गर्ने कामका लागि त डिजिटल कम्प्युटर पर्याप्त छ । त्यसैले क्वान्टम कम्प्युटर मानिसको हातहातमा हुने छैन, साधारण कम्प्युटरले गर्न नसक्ने काम गर्न मात्रै यसको प्रयोग हुनेछ ।

मेरो विचारमा यसको पहिलो प्रयोग औषधि र अन्य पदार्थको विकासमा हुन्छ होला । विगतमा असम्भव मानिएका रोगको उपचार अहिले सम्भव भए जस्तै, नयाँ पदार्थ र रसायनहरूको आधारभूत तहमा अध्ययन गरी नयाँ औषधि र प्रविधि विकास गर्न क्वान्टम कम्प्युटरले सहज बनाउने छ ।

दोस्रो साइबर सुरक्षा । ठूला क्वान्टम कम्प्युटर बनेपछि अहिलेको क्रिप्टोग्राफी ब्रेक हुनेछ । पासवर्डहरू ब्रेक हुन सक्छन् । यसैले अहिले डेटा सुरक्षित गर्ने वा नयाँ सुरक्षित प्रणाली बनाउने चासो बढेको छ । अहिले नै ‘ग्यादर नाउ, डिक्रिप्ट लेटर’ भन्ने अवधारणा सुरु भइसक्यो । अहिले डिक्रिप्ट गर्न नसकिने डेटा पनि संकलन गरेर राख्ने र पछि क्वान्टम कम्प्युटर बनेपछि त्यसलाई डिक्रिप्ट गर्न सकिन्छ भनेर ।

तेस्रो पूँजीबजार– मान्छेकै व्यवहार पनि जति धेरै मानिस थपियो, त्यसै अनुसार फरक पर्दै जान्छ । सेयर बजार पनि त्यही हो । त्यसो हुँदा सेयर बजारको पोर्टफोलियो अप्टिमाइजेसन, अप्सन प्राइसिङ लगायतलाई पनि यसले मद्दत गर्न सक्छ– खासगरी हाइ–फ्रिक्वेन्सी ट्रेडिङमा यसको प्रक्षेपणले काम गर्न सक्छ, त्यसमा यसको प्रयोग गर्न सकिन्छ ।

तपाईं अहिले विश्वकै पुरानो र ठूला प्रविधि कम्पनीमध्येको एक आइबीएममा काम गर्दै हुनुहुन्छ । त्यहाँ तपाईं खास के काम गर्नुहुन्छ ?

विश्वविद्यालयको प्रयोगशालामा प्रोफेसरले गर्ने अनुसन्धान जस्तै काम म त्यहाँ गर्छु । अमेरिकाका ठूला प्रविधि कम्पनीहरूले एकातिर प्रविधि विकास गरिरहेका हुन्छन् भने अर्कातिर १०–२० वर्षपछाडिको प्रविधि कस्तो होला भनेर त्यसको विकास गर्न आधारभूत विज्ञानमा अनुसन्धान गर्छन् । मेरो काम पनि क्वान्टम कम्प्युटिङमा भविष्यमा आउन सक्ने समस्या र आवश्यक प्रविधिका विषयमा फिजिक्सको तहमा रहेर अनुसन्धान गर्नु हो ।

तपाईंले पीएचडीमा गर्नुभएको अनुसन्धानकै निरन्तरता त्यहाँ भइरहेको छ ?

हो, त्यसैको ‘बिल्डअप’ हो । म सिधै बजारमा बेच्ने प्रडक्ट बनाउँदिनँ, बरु आधारभूत अनुसन्धान गर्छु । भोलि बन्न सक्ने क्वान्टम कम्प्युटरका लागि क्वान्टम चिप वा क्युबिट यसरी बनाउनुपर्छ भन्ने अनुसन्धान मैले गर्छु, जसले भोलिका कामलाई मार्गनिर्देश गर्न सक्छ ।

क्वान्टम कम्प्युटिङमा आईबीएम जस्ता निजी कर्पाेरेट क्षेत्र र विभिन्न देशका सरकारले कसरी लगानी गरिरहेका छन् ?

क्वान्टम कम्प्युटिङमा अनुसन्धानको सुरुवात सन् १९९० तिर भएको हो । सुरुमा विभिन्न देशका सरकार, सरकारी अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूले यसमा लगानी गर्थे । बिस्तारै यो भविष्यको मुख्य प्रविधि बन्न सक्ने देखिएपछि अहिले यसमा लगानीको ठूलो प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिका, चीन, युरोपेली संघ र अस्ट्रेलिया जस्ता देशका सरकारले क्वान्टम अनुसन्धानमा उल्लेख्य बजेट छुट्याएका छन् । निजी क्षेत्रबाट आईबीएम, गुगल, इन्टेलजस्ता ठूला कम्पनीले ठूलो रकम लगानी गरिरहेका छन् । आईबीएमले नै आगामी ५ वर्षमा १० अर्ब डलर खर्च गर्ने सार्वजनिक घोषणा गरिसकेको छ, जुन नेपालको वार्षिक बजेटकै दुई तिहाइ हिस्सा बराबर हुन्छ । त्यसैगरी अन्य कम्पनीले पनि ठूलो रकम लगानी गरिरहेका छन् ।

क्वान्टम कम्प्युटिङ बिस्तारै अनुसन्धानबाट व्यावहारिक प्रयोगतर्फ जाँदै छ । अहिलेसम्म क्वान्टम कम्प्युटिङको सबैभन्दा ठूलो उपलब्धि के हो ?

एक अनुसन्धानकर्ता र भौतिक वैज्ञानिकका रूपमा भन्नुपर्दा, अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भनेको रसायनहरूको सिमुलेसन हो । डिजिटल सुपर कम्प्युटरहरूले एप्रोक्सिमेसन (अनुमान) प्रयोग गरेर पनि समाधान गर्न नसक्ने बिन्दुमा पुगेका समस्यालाई क्वान्टम कम्प्युटरले समाधान गर्न थालेको छ । अब जति पनि नयाँ कुरा हुनेछन्, ती सबै सुपर कम्प्युटरले गर्न नसक्ने विषय मात्रै हुनेछन् ।

यस कुराले म निकै उत्साही छु । भविष्यमा क्यान्सरजस्ता जटिल रोगहरूको पूर्ण उपचार खोज्न, नयाँ औषधि पत्ता लगाउन र १०–२० वर्षअघि सम्म सोच्नै नसकिएका प्रविधि विकास गर्न यसले ठूलो मद्दत गर्ने छ । यसको पहिलो व्यावहारिक प्रयोग चाहिँ नयाँ औषधि बनाउन नै हुन्छ होला ।

यसले स्वास्थ्य सेवामा क्रान्ति ल्याउनुका साथै ठूलो आर्थिक मूल्य पनि सिर्जना गर्ने देखिन्छ । यसको सिर्जना गर्न सक्ने आर्थिक मूल्यलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

आर्थिक र रणनीतिक महत्त्वकै कारण अहिले शक्ति राष्ट्रहरूबीच यसमा तीव्र प्रतिस्पर्धा सुरु भइसकेको छ । देशहरूले प्रविधि निर्यातमा नियन्त्रण लगाउन थालेका छन् । अमेरिका र चीनले आ–आफ्नो प्रविधि आफ्नै देशभित्र सीमित राख्न खोजिरहेका छन् । १९६० को दशकमा चन्द्रमामा कसले पहिलो पाइला टेक्ने भन्ने प्रतिस्पर्धा भए जस्तै अहिले पहिलो व्यावहारिक क्वान्टम कम्प्युटर कसले बनाउने भन्ने होडबाजी चलेको छ ।

यसले निश्चित रूपमा नयाँ आर्थिक प्रणाली रचना सिर्जना गर्ने छ । एआई केही समयअघिसम्म प्रयोगशालामा मात्र सीमित थियो तर बाहिर आएपछि ठूलो प्रभाव पार्‍यो । क्वान्टम कम्प्युटिङ पूर्णरूपमा बाहिर आउँदा यसको सम्भावना अथाह हुनेछ ।

यो पूर्ण प्रयोगमा कहिलेसम्म आउला ?

आईबीएमको रोडम्याप अनुसार २०२९ सम्ममा यसको नमुना (प्रोटोटाइप) कम्प्युटर बन्ने छ, जसमा क्युबिटहरूले वातावरणीय प्रभावका कारण डेटा नगुमाउने (एरर एक्युमुलेट नहुने) प्रविधि हुनेछ । त्यसैगरी २०३३ सम्ममा धेरै ठूला र जटिल कामहरू गर्न सक्ने पूर्ण क्षमताको क्वान्टम कम्प्युटर विकास गर्ने लक्ष्य राखिएको छ ।

तपाईं त्यही रोडम्यापमा काम गरिरहनुभएको छ ?

त्यो गन्तव्यसम्म पुग्न आवश्यक आधारभूत फिजिक्स रिसर्च गर्ने टोलीमा म आबद्ध छु । सन् २०१९ मा गुगलले क्वान्टम सुप्रिमेसी अर्थात् डिजिटल कम्प्युटरले गर्नै नसक्ने काम क्वान्टम कम्प्युटरले गर्‍यो भनेर दाबी गरेको थियो । अहिले भने उद्योग ‘क्वान्टम एडभान्टेज’ को दिशामा अघि बढेको छ । यो भनेको सुपर कम्प्युटरको तुलनामा समय, लागत र ऊर्जाका हिसाबले क्वान्टम कम्प्युटरबाट काम गर्दा फाइदा हुन्छ भन्ने प्रमाणित गर्नु हो । भर्खरै आईबीएमका क्वान्टम कम्प्युटर प्रयोग गरेर विभिन्न अनुसन्धान केन्द्रले शोधपत्रहरू प्रकाशित गरेका छन्, जहाँ हामी ‘एडभान्टेज एरा’ मा प्रवेश गर्‍यौं भन्ने उल्लेख गरेका छन् ।

क्वान्टम कम्प्युटिङबाट लाभ लिने समय सुरु भइसक्यो ?

हो, लाभ लिने बेला सुरु भइसकेको छ । आईबीएमका १४०–१५० क्युबिट भएका प्रोसेसरहरू अहिले क्लाउड मार्फत पहुँचमा आइसकेका छन् । २०३३ सम्म हजारौं–लाखौं क्युबिट भएका प्रणालीहरू बनिसक्नेछन् ।

तपाईं आईबीएमको जुन प्रयोगशालामा बसेर काम गर्नुहुन्छ, त्यसको वातावरण कस्तो छ, त्यो कस्तो ल्याब हो ?

म काम गर्ने ‘टीजे वाटसन रिसर्च सेन्टर’ को इतिहास निकै पुरानो र समृद्ध छ । हामीले दैनिक प्रयोग गर्ने क्रेडिट कार्डको ‘म्याग्नेटिक स्वाइप’, ‘क्यूआर कोड’ पढ्ने प्रविधि र डिजिटल कम्प्युटिङका सुरुवाती हार्डवेयरहरू यही ल्याबबाट विकास भएका हुन् ।

यहाँको अनुसन्धान संस्कृति एकदमै उत्कृष्ट छ । कसैलाई नतिजाको हतारो छैन, तर नयाँ कुरा खोज्ने उत्साह सबैमा छ । हरेक प्रोजेक्टको सुरुवात ‘यो के हो र किन हो ?’ भन्ने आधारभूत प्रश्नबाट हुन्छ ।

नयाँ प्रविधि र अनुसन्धानमा पक्कै पनि अनौठा र रोचक विषय हुन्छन् । क्वान्टम कम्प्युटिङमा अहिलेसम्म कस्ता अनौठा कुरा देखिएका वा पत्ता लागेका छन् ?

क्वान्टम फिजिक्समा आधारभूत सिद्धान्तहरू नै अनौठा छन् । मैले देखेका केही अनौठा विषय भन्छु ।

पहिलो– डिजिटल कम्प्युटरमा तपाईंले वान भनेर स्टोर गर्नुभयो भने त्यो वान नै रहन्छ । क्वान्टम संसारमा सुपरपोजिसन अवस्थामा रहेका क्युबिटहरूलाई तिनीहरूको स्थिति के छ भनेर मापन गर्‍यो वा सोध्यो भने तिनीहरूको अवस्था र स्टोर भएको सूचना नै परिवर्तन हुन्छ ।

दोस्रो– क्वान्टम फिजिक्समा सूक्ष्म पार्टिकल्समा वेभ (तरंग) र भौतिक कण दुवैको गुण हुन्छ । मानिसलाई पर्खालभित्र राख्यो भने नाघ्न पर्याप्त ऊर्जा नभएसम्म पारि जान सक्दैन । तर, इलेक्ट्रोनलाई इलेक्ट्रिक फिल्डको पर्खालभित्र थुनेर राख्दा, पर्याप्त ऊर्जा नभए पनि त्यो पर्खाललाई नफोडी वा ननाघी एकाएक अर्कातिर निस्कन सक्छ । यसलाई टनेलिङ भनिन्छ, जुन वेभ–पार्टिकल डुवालिटीको अवधारणाबाट मात्र गणितीय रूपमा व्याख्या गर्न सकिन्छ ।

तेस्रो– पौराणिक कथामा नारदमुनि एक ठाउँबाट गायब भएर अर्काे ठाउँमा निस्किए जस्तै, क्वान्टम फिजिक्समा पनि कुनै सूचना एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । यसलाई क्वान्टम टेलिपोर्टेसन भनिन्छ । तर, कुनै वस्तु वा कण नभई त्यसमा रहेका सूचना मात्रै ट्रान्स्फर हुन्छ ।

विज्ञान र प्रविधिको कुनै भौगोलिक वा राजनीतिक सीमा हुँदैन । नेपाली वैज्ञानिक र प्रविधिज्ञहरूले विश्वका अग्रणी प्रविधि र क्वान्टम कम्प्युटिङ जस्ता उच्च अनुसन्धान क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।

इन्ट्याङ्गल गरिएका दुई सूक्ष्म कणलाई ब्रह्माण्डको दुई फरक कुनामा राखे पनि, तार वा कुनै भौतिक माध्यम प्रयोग नगरीकनै एक ठाउँको क्वान्टम सूचना अर्काे ठाउँमा सिधै पठाउन सकिन्छ । यो ब्लुटुथ वा वाइफाई जस्तो होइन । ब्लुटुथ वा वाइफाई इलेक्ट्रोम्याग्नेटिक तरंग प्रयोग हुन्छन्, तर क्वान्टम टेलिपोर्टेसनमा बीचमा केही पनि हुँदैन । बीचमा कुनै माध्यम नै नभई असीमित दुरीसम्म सूचना ट्रान्स्फर यो प्रविधिबाट हुन्छ ।

नेपालका विश्वविद्यालयबाट आधारभूत शिक्षा लिएर अन्तर्राष्ट्रिय स्तरको यति ठूलो अनुसन्धानमा सहभागी भइरहँदा, नेपालको विश्वविद्यालय शिक्षा र नेपाली वैज्ञानिकहरूको स्थितिलाई कसरी हेर्नुहुन्छ ?

विज्ञान र प्रविधिको कुनै भौगोलिक वा राजनीतिक सीमा हुँदैन । नेपाली वैज्ञानिक र प्रविधिज्ञहरूले विश्वका अग्रणी प्रविधि र क्वान्टम कम्प्युटिङ जस्ता उच्च अनुसन्धान क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।

हामीकहाँ उच्च जोखिम र ठूलो लगानीका अनुसन्धानमा लगानी गर्ने क्षमता अहिल्यै भइनसकेकाले धेरैजसो नेपाली वैज्ञानिक विदेशी प्रयोगशालाहरूमा कार्यरत हुनुहुन्छ । तर, अहिले नेपाली मूलका अनुसन्धानकर्ताहरूले विश्वस्तरमा गरिरहेको योगदान गर्व गर्न लायक छ ।

भविष्यमा यो प्रविधि पूर्णरूपमा विकास भइसक्दा, पूर्वाधार र आर्थिक रूपमा पछि परेको नेपालजस्तो देशले यसबाट कसरी फाइदा लिन सक्छ ?

जुनसुकै प्रविधिका दुई वटा पाटा हुन्छन्– एउटा प्रविधि बनाउने र अर्काे त्यसको प्रयोग गर्ने ।

हामी आफैंले हार्डवेयर वा क्वान्टम कम्प्युटर नबनाए पनि नेपालका विश्वविद्यालयहरूमा सैद्धान्तिक अध्ययन र अनुसन्धान गर्ने विज्ञहरूको कमी छैन । कम्प्युटिङ साइन्स, फिजिक्स, केमिस्ट्री र बायोलोजीका नेपाली अनुसन्धानकर्ताहरूले क्वान्टम कम्प्युटिङका व्यावहारिक प्रयोगहरू (युज–केसहरू ) र सफ्टवेयर र एल्गोरिदममा अनुसन्धान गर्न सक्छन् । क्लाउड मार्फत प्रविधि उपलब्ध हुने भएकाले नेपालमै बसेर यसको प्रयोग र अनुसन्धान गरी यो प्रविधि क्रान्तिबाट नेपालले ठूलो लाभ लिन सक्छ ।

भनेपछि अहिलेको यो पूर्वतयारी चरणमा विश्वविद्यालयहरूले काम गर्नुपर्‍यो ?

हो, अहिले नै पूर्व तयारीतिर लागिएन भने पछि ढिला हुन्छ र प्रविधि अपनाउनमा नै समय बित्छ ।

तपाईं यस क्षेत्रमा जोडिएको हुनाले व्यक्तिगत वा संस्थागत रूपमा नेपालमा केही योगदान दिनेबारे सोच्नुभएको छ ?

अहिले म आईबीएममा आबद्ध भएकाले प्रत्यक्षभन्दा पनि कम्पनी र अनुसन्धान संस्थाहरूसँगको साझेदार मार्फत सहयोग गर्न सकिन्छ । क्लाउडमा रहेका क्वान्टम कम्प्युटर प्रयोग गर्न हरेक सेकेन्डको शुल्क लाग्छ, तर अनुसन्धानकर्ताहरूले फन्डिङका लागि आवेदन दिए अनुसन्धानका लागि निश्चित समय नि:शुल्क उपलब्ध हुन्छ । त्यसैले नेपालका अनुसन्धानकर्ताहरूले ती प्रणाली प्रयोग गर्न चाहे पहुँच सहज बनाउने र कसरी अघि बढ्ने भन्नेमा सहजीकरण गर्न सकिन्छ ।

भविष्यमा नेपाली समाजलाई केही योगदान गर्ने कस्तो योजना छ ?

अहिले नै त प्रयोगात्मक अनुसन्धानमै मेरो ऊर्जा लगाउने मन छ । तर, आगामी ५ देखि १० वर्षपछि यस क्षेत्रमा थप विशेषज्ञता हासिल गरेर नेपाल फर्कने सोच छ । यहाँ आएर अनुसन्धान केन्द्र चलाउने, कुनै विश्वविद्यालय वा गैरनाफामूलक संस्थामार्फत अनुसन्धान र अध्यापनमा सक्रिय हुने योजना छ ।

हामीले पढ्दा प्रोफेसरहरूले आफ्ना सफलताका अनुभव सुनाउँदा प्रेरित हुन्थ्यौं । त्यसैले ५–१० वर्षपछि कुनै विश्वविद्यालयमा प्राध्यापक वा साझेदारका रूपमा जोडिएर नयाँ पुस्तालाई तयार पार्न सहयोग गर्ने मेरो योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?