+

बार्सिलोनाको रिजर्भ टोलीलाई सर्जियो बुस्केट्सले प्रशिक्षण दिँदै

२०८३ भदौ  २ गते ११:१७ २०८३ भदौ २ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन्।
  • ३८ वर्षीय बुस्केट्सले बार्सिलोनाको रिजर्भ टोली 'बार्सा एथलेटिक'मा प्रशिक्षक जुलियानो बेलेत्तीको स्टाफका रूपमा काम गर्नेछन्।
  • बुस्केट्सले क्लबका लागि ७२२ खेल खेल्दै नौपटक ला लिगा र तीनपटक च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए।

२ भदौ, काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन् ।

३८ वर्षीय बुस्केट्सले स्पेनको चौथो श्रेणीमा रहेको बार्सिलोना रिजर्भ टोली ‘बार्सा एथलेटिक’मा प्रशिक्षक जुलियानो बेलेत्तीको स्टाफका रूपमा काम गर्नेछन् । उनले प्रशिक्षकका लागि आवश्यक लाइसेन्ससमेत पूरा गर्नेछन् ।

बार्सिलोना एथलेटिक पछिल्लो समय लगातार कमजोर प्रदर्शन गर्दै दोस्रो श्रेणीबाट दुई तह तल झरेर सेगुन्डा फेडेरासियोनमा पुगेको छ । बेलेत्ती र बुस्केट्सको मुख्य लक्ष्य टोलीलाई तेस्रो श्रेणीमा फर्काउनुका साथै पहिलो टोलीका लागि प्रतिभावान् युवा खेलाडी विकास गर्नु हुनेछ ।

बुस्केट्स सन् २००५ मा किशोर खेलाडीका रूपमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए । सिनियर टोलीमा स्थान बनाउनुअघि उनले रिजर्भ टोलीका लागि २५ खेल खेलेका थिए । त्यसपछि पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाको मुख्य टोलीमा स्थान बनाएका उनले क्लबका लागि ७२२ खेल खेले ।

बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्नेमा बुस्केट्सभन्दा अघि लियोनल मेसी र जाभी हर्नान्डेज मात्रै छन् । उनले क्लबबाट नौपटक ला लिगा र तीनपटक च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए ।

स्पेनका लागि १४३ खेल खेलेका बुस्केट्स सन् २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए ।

बार्सिलोना छाडेपछि उनी सन् २०२३ मा इन्टर मियामी पुगेका थिए । त्यहाँ उनले पूर्व बार्सिलोना सहकर्मी तथा निकट साथीहरू लियोनल मेसी, जोर्डी अल्बा र लुइस सुवारेजसँगै खेले ।

इन्टर मियामीका लागि ११६ खेल खेलेका बुस्केट्सले २०२३ मा लिग्स कप र २०२५ मा एमएलएस कप जितेपछि खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

अब बार्सिलोनाको युवा टोलीबाटै उनले आफ्नो प्रशिक्षक करिअरको सुरुवात गर्ने भएका छन् ।

-ईएसपीएनबाट

बार्सिलोना सर्जियो बुस्केट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय