News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा हुने २०औं एसियन गेम्समा नेपालका १३६ खेलाडीले २२ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
- राष्ट्रिय खेलकुद परिषद्ले यस प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षकसहित कूल १६८ जनाको टोली टुङ्गो लगाएको छ ।
- २०औं एसियन गेम्समा टिम गेमतर्फ कबड्डी, भलिबल र क्रिकेटमा नेपालले सहभागिता जनाउने भएको छ ।
२० साउन, काठमाडौं । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औं एसियन गेम्स (एसियाली खेलकुद)मा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) २०औं एसियन गेम्सका लागि २२ खेलमा सहभागि हुने खेलाडी संख्या टुङ्गो लगाएको हो ।
एसियन गेम्स २०२६ मा १३६ खेलाडी सहभागि हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिएका छन् । यस्तै २२ खेलमा कूल ३२ प्रशिक्षक समावेश हुनेछन् ।
खेलाडी र प्रशिक्षक गरी कूल १६८ जना नेपालबाट जापान जानेछन् ।
छनोट चरण पार गरेर एसियन गेम्समा छनोट भएको इ-स्पोर्ट्स भने अन्तिम समयमा एसियन गेम्समा अटाउन सकेन । यसअघि राखेप सदस्य सचिवले नै २०औं एसियन गेम्समा २३ खेलमा करिब १४० खेलाडी सहभागि हुने बताएका थिए । तर इ-स्पोर्ट्स भने समावेश भएन ।
२०औं एसियन गेम्समा नेपालबाट पछिल्लो पटक पदक जितेको कराते र कबड्डीसँगै आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइकलिङ, गल्फ, जुडो, स्क्वास, स्वीमिङ, टेबल टेनिस, टेनिस, कुस्ती, भलिबल, क्यानोइ स्लालोम, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड, तेक्वान्दो, उसु छन् ।
टिम खेल अन्तर्गत कबड्डी, भलिबल र क्रिकेट मात्र समावेश छ भने १९ व्यक्तिगत खेल छन् । जसमा कबड्डीको पुरुष र महिला दुबै टिममा गरेर सर्वाधिक २४ जना खेलाडी छन् । त्यस्तै पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ जना खेलाडी छन् ।
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइकलिङ, गल्फ, जुडो, कबड्डी, कराते, सफ्ट टेनिस, स्क्वास, स्वीमिङ, टेबल टेनिस, टेनिस, कुस्ती, उसुतर्फ नेपालबाट पुरुष र महिला दुबै खेलाडी सहभागि हुनेछन् ।
यसैगरी भलिबलमा नेपालको महिला टिमले मात्र सहभागिता जनाउनेछ भने क्यानोइ स्लालोम, क्रिकेट, डान्स एन्ड स्पोर्ट्स, स्केटबोर्ड र तेक्वान्दोमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् ।
व्यक्तिगत खेल तर्फ उसुबाट सबैभन्दा ११ खेलाडी सहभागि हुनेछन् भने डान्स स्पोर्टमा सबैभन्दा कम १ खेलाडी मात्र छन् । यस्तै साइकलिङ, आर्चरी र स्क्वासमा एक पुरुष र एक महिला गरी दुई-दुई खेलाडी समावेश छन् भने क्यानोई, स्केडबोर्ड र तेक्वान्दोमा पुरुषतर्फ दुई खेलाडी मात्र सहभागि छन् ।
पछिल्लो पटक सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाएका थिए । जसमा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डीले कांस्य पदक जितेको थियो । यस पटक आइची नागोयामा नेपालले स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । पहिलो एसियन गेम्स देखि नै सहभागिता जनाउँदै आएपनि नेपालले अहिलेसम्म ३ रजत र २३ कांस्य पदक मात्र जितेको छ ।

प्रतिक्रिया 4