+

२०औं एसियन गेम्समा केको आधारमा सहभागिता गराउने ? कति खेल पठाउने ?

२०८३ वैशाख  १५ गते २१:४६ २०८३ वैशाख १५ गते २१:४६

अहिलेसम्म कहिल्यै नजितेको स्वर्ण पदकको महत्वाकांक्षी योजना बनाएर नेपाली शैलीमा तयारी गरिरहेको नेपालबाट कति खेल सहभागी गराउने, कति खेलाडी पठाउने र केको आधारमा सहभागी गराउने भन्ने अहिले ठूलो कौतुहलता र चासोको विषय बनेको छ ।

२०औं एसियन गेम्समा केको आधारमा सहभागिता गराउने ? कति खेल पठाउने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८३ साल सेप्टेम्बर-अक्टोबरमा जापानको आइची नागोयामा २०औं एसियन गेम्स हुँदैछ, जसमा नेपालले ३२ खेलमा चार सयभन्दा बढी खेलाडीको नाम दर्ता गराइसकेको छ।
  • नेपालले २०औं एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित मिसन २०२६ अन्तर्गत तयारी गरिरहेको छ, तर खेल र खेलाडी संख्या निर्धारणमा विवाद र अन्योल छ।
  • राखेप र नेपाल ओलम्पिक कमिटीबीच खेलाडी लङ लिस्ट र सहभागिताको विषयमा छलफल भइरहेको छ र बुधबारसम्म सहभागी खेल र खेलाडी संख्या टुंगो लाग्ने अपेक्षा छ।

१५ वैशाख, काठमाडौं । एसियाको सबैभन्दा ठूलो खेलमेलाको रुपमा रहेको आइची नागोया २०औं एसियन गेम्स २०२६ आउने सेप्टेम्बर-अक्टोरबमा जापानको आइची नागोयामा हुँदैछ ।

उक्त खेल मेलामा नेपालले पनि सहभागिताका लागि यसअघि नै ३२ खेलको नाम दर्ता गराइसकेको छ । त्यसमा चार सय माथिका खेलाडीको सूची (बाई नम्बर) पनि बुझाइएको छ ।

तर एसियाकै ठूलो खेल मेला, एसियाका बेस्ट अफ दि बेस्टसँग प्रतिस्पर्धा गर्नुपर्ने र हामीले अहिलेसम्म कहिल्यै नजितेको स्वर्ण पदकको महत्वाकांक्षी योजना बनाएर नेपाली शैलीमा तयारी गरिरहेको नेपालबाट कति खेल सहभागी गराउने, कति खेलाडी पठाउने र केको आधारमा नेपाली खेल र खेलाडी सहभागी गराउने भन्ने अहिले ठूलो कौतुहलता र चासोको विषय बनेको छ ।

नेपालबाट कति खेलमा कति खेलाडीले सहभागिता जनाउन भन्ने निर्णय पछि नै होला । तर नेपालको विगतको प्रदर्शन, नतिजा र उपलब्धि अनि यसपटक नेपालको तयारी अवस्था हेर्दा कति खेलमा कति खेलाडी सहभागी गराउनु उपयुक्त हुनेछ भन्ने बहसको विषय भने पक्कै हो ।

एकातिर १९औं एसियन गेम्सपछि नै २०औं एसियन गेम्समा स्वर्णसहित दोहोरो संख्यामा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय खेलकुद परिषद (राखेप)ले २०८० साल माघ देखि सुरु गरेको मिसन २०२६ को तयारी छ । अर्कोतिर नेपाल ओलम्पिक कमिटी र सरकारबीच कसले खेल र खेलाडी संख्या तोक्ने भन्ने एक खालको अन्योलको स्थिति पनि रह्यो ।

यस्तै एसियन गेम्समा सहभागी हुनका लागि सरकारले कति बजेट छुट्याउँछ त्यो अर्को महत्वपूर्ण विषय छ । एकै खेलका दुई संघको विवाद, भित्रको आन्तरिक विवाद त नेपाली खेलकुदमा नौलो विषय भएन ।

अनि सबैभन्दा महत्वपूर्ण प्रश्न त नेपालले एसियन गेम्समा प्रतिस्पर्धा गर्न लायक कति खेलाडी तयार गरेको छ अनि के नेपाली खेलाडीहरु साँच्चै पदक(स्वर्ण, रजत र कांस्य) जित्न सक्षम छन् ?

अन्तर्राष्ट्रिय खेलकुद वैज्ञानिक ढंगमा निरन्तर अघि बढिरहेको अवस्थामा नेपाली खेलकुद भने पुरानै शैलीको प्रशिक्षण र तयारीले एसियन गेम्समा पदक जित्न कति चुनौती हुनेछ त्यस बारे त्यति चर्चा भएकै छैन ।

अझ नयाँ-नयाँ उत्कृष्ट प्रतिभा जन्माउने, भइरहेको खेलाडीको प्रदर्शन अझ राम्रो बनाउने, नेपालभित्र उपलब्ध भएका उत्कृष्टमध्ये उत्कृष्ट खेलाडी छान्ने प्ल्याटफर्मको रुपमा रहेको बृहत राष्ट्रिय खेलकुदको दशौं संस्करण त आयोजना हुनै सकेको छैन । नवौं राष्ट्रिय खेलकुदपछि नेपालले १९औं एसियन गेम्समा सहभागिता जनायो । त्यसपछि २०८१ साल मंसिरमै तय भएको दशौं राष्ट्रिय खेलकुद पटक-पटक मिति तोकेर पनि आयोजना हुन सकेको छैन । यसले नै नेपाली खेलको अवस्था, खेलकुदको प्राथमिकता कस्तो छ भनेर पुष्टि गर्छ ।

२०औं एसियन गेम्सका लागि अहिलेसम्म नेपालको तयारी हेर्दा मिसन २०२६ को नाममा भएको तयारी, कराते लगायत केही खेलको लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र पदक अनि एसियन गेम्समा सहभागी हुन नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट नेपाल खेलको सूची दर्ता हुनु नै हो ।

राखेपले स्वर्ण पदक सहित दोहोरो संख्यामा पदक जित्ने भन्दै करौडौं खर्च गरेर दुई वर्ष भन्दा बढी समय तयारी गरेपनि त्यसको ठोस परिणाम निस्कन सकेको छैन ।

यसबाहेक नेपालले २०औं एसियन गेम्सकै लागि भनेर अन्य राष्ट्रहरूले गर्ने स्पेशल ट्रेनिङ, वैदेशिक ट्रेनिङ जस्ता कामहरू त गरेकै छैन ।

त्यसैले अहिले सबैभन्दा मुख्य प्रश्न भनेकै माथि भने जस्तै २०औं एसियन गेम्समा नेपालबाट कति खेल सहभागी हुने र ती खेलमा कति खेलाडी पठाउने भन्ने नै हो ।

****

त्यसैले अहिलेसम्मको नेपालको तयारी, सरकारबाट पाउने बजेट, नेपालले पदक जित्ने र राम्रो प्रदर्शन गर्ने सम्भावना भएको खेल र विगतमा एसियन गेम्समा नेपालको सहभागिता र प्रदर्शनको विश्लेषण गर्दै नेपालले एसियन गेम्समा खेल र खेलाडी सहभागि गराउनु उचित देखिनेछ । त्यसैको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।

कति खेल र खेलाडी सहभागी भन्ने विषयमा जानुअघि एसियन गेम्ससँग जोडिएका नेपालको केही विगतका तथ्यांकहरू हेरौं ।

२०औं एसियाली खेलकुदका लागि मिसन २०२६ मा विभिन्न १० खेल समावेश गरेर तयारी भइरहेको थियो । २०८० साल माघमा सुरु भएको यो मिसन २०२६ बिचमा केही रोकिँदै फेरि सुरु हुँदै यस वर्ष माघसम्म कायम रह्यो । तर नयाँ सरकार आउँदा पनि अहिले भने यसले गति लिन सकेको छैन ।

राखेपले मिसन २०२६ को विशेष प्रशिक्षणको नाममा विगत दुई वर्षमा भएको तयारीको कति प्रगति भयो खेलाडीमा कति सुधार आयो भन्ने विषयमा केही सार्वजनिक गरेको छैन । यसका लागि राष्ट्रिय टिम तयारी गठन गरेर अघि बढेपनि अपेक्षा अनुसार परिणाम देखिन सकेको छैन ।

अर्को सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा नेपालबाट अहिलेसम्मकै धेरै २९ खेलमा २५३ खेलाडी सहभागी थिए । तर उपलब्धि जम्मा दुई पदक- करातेबाट एरिका गुरुङको रजत र महिला कबड्डीमा कांस्य । त्यसमा महिला भलिबल, महिला फुटबल, महिला ह्यान्डबल, पुरुष रग्बी जस्ता मास खेलले पहिलो पटक एसियन गेम्समा सहभागिता जनाउँदा नेपालको संख्या बढेको थियो ।

सन् २००६ यताको पछिल्लो पाँच एसियन गेम्समा नेपालको पदकको संख्या हेर्ने हो भने जम्मा ८ मात्र छ । त्यसमा पदक जित्ने खेल जम्मा ५ (कराते, कबड्डी, प्याराग्लाइडिङ, बक्सिङ र तेक्वान्दो) मात्र छ ।

राज्यको करोडौं खर्च गरेर तयारी गर्ने एसियन गेम्समा जम्बो टोली लिएर सहभागि हुने अनि उपलब्धि मात्र १-२ पदकमा सीमित हुने । विगतको यो अभ्यास हेर्दा पनि नेपालको स्थिति कस्तो छ भनेर प्रष्ट पार्छ । हामी त्यो स्थितिबाट सुध्रने त परको कुरा त्यही अवस्थामा रहन पनि कठिन भइसकेको छ ।

एसियन गेम्समा सहभागी हुन यसअघि कुनै छनोट खेल्नु नपर्ने, बजेटले भ्यासम्मका खेलाडी सहभागि गराउन पाउने र नेपालका लागि धेरै खेलाडीहरूलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर प्रदान हुने भएकोले पनि धेरै खेल सहभागी हुँदै आएका थिए ।

तर जापानमा हुने २०औं एसियन गेम्समा यस पटक केही फरक प्रावधान रहेको छ । समूह खेल देखि व्यक्तिगत खेलसम्म प्राय क्वालिफायर खेल्नुपर्ने वा वरियतामा रहनुपर्ने प्रावधान छ । जसले गर्दा यसपटक नेपालबाट समूह खेल र व्यक्तिगत खेल गरेर धेरै खेललाई सहभागि हुनै चुनौती हुने अवस्था छ । किनभने नेपालले समूह खेलमध्ये केहीको छनोट नै खेल्ने भने केहीको वरियतामा पनि पछि छ । केही खेलको वरियताको आधारमा सहभागी हुने अपेक्षा छ ।

यस्तै व्यक्तिगत खेलहरूतर्फ पनि क्वालिफायर खेल्नुपर्ने खेलहरूमा नेपालको सहभागिता खासै देखिएको छैन । आयोजक जापानले यस पटक एसियन गेम्समा सहभागिताको लागि केही कडाइ गरेपछि नेपाल जस्तो देशको लागि धेरै खेलाडी सहभागी गराउने सम्भावना टरेको छ । तैपनि नेपालबाट एसियन गेम्समा आफ्नो खेल समावेश गराउन यहाँ प्रतिस्पर्धा नै छ ।

सहभागिताको आधार कस्तो ?

त्यसो भए अब नेपालबाट कुन खेल कति सहभागि होलान् त ? मुल प्रश्नमा फर्कौं ।

यसमा विशेषगरी नेपालको पछिल्ला एसियन गेम्सहरुमा पदक जितेका खेल, पछिल्लो पटक पेरिस ओलम्पिकमा सहभागी भएका खेल, मिसन २०२६ मा तयारीमा रहेका खेल, पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलहरू र एनओसीले स्कलरसिप दिएका खेलका खेलाडीलाई आधार बनाएर एसियन गेम्समा सहभागी हुनु उचित देखिन्छ ।

यसलाई थप विश्लेषण गरौं ।

पछिल्ला पाँच एसियन गेम्समा पदक जित्ने खेल र खेलाडीहरुमा सन् २००६ मा तेक्वान्दोबाट दिपक विष्ट, मनिता शाही र आयशा शाक्य थिए । सन् २०१० मा बक्सिङका दिपक महर्जन, २०१४ मा करातेकी विमला तामाङ, २०१८ मा प्याराग्लाइडिङबाट रजत तथा पछिल्लो पटक २०२३ मा करातेकी एरिका गुरुङको ऐतिहासिक रजत र महिला कबड्डीको टिमको ऐतिहासिक कांस्य पदक थियो ।

यो आधारमा हेर्दा कराते, बक्सिङ, तेक्वान्दो र महिला कबड्डीको नाम अघि आउँछ ।

पछिल्लो पटक पेरिस ओलम्पिकममा नेपालबाट एथ्लेटिक्स (सन्तोषी चौधरी), पौडी (गौरिका सिंह र एलेक्स शाह), ब्याडमिन्टन (प्रिन्स दाहाल), टेबलटेनिस (श्यान्टु श्रेष्ठ) र जुडो (मनिता प्रधान श्रेष्ठ) सहभागी थिए । तर कसैको प्रदर्शन ‘वाह’ गर्न लायक थिएन ।

मिसन २०२६ मा समावेश खेलहरूमा माथि आइसकेको कराते, बक्सिङ, तेक्वान्दो, महिला कबड्डी, एथ्लेटिक्स र जुडो सहित कुस्ती, महिला भलिबल, उसु, गल्फ छन् । पछिल्लो समयमा मिसन २०२३ मा केही खेलहरू समावेश गर्ने प्रस्ताव गरिएको सुनिएपनि आधिकारिक रूपमा बाहिर आएको छैन ।

यसबाहेक पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता भइरहने खेल र उत्कृष्ट प्रदर्शन गर्दै पदक भित्र्याउने करातेकी एरिका गुरुङ हुन् । उनले करातेको विश्व च्याम्पियनसिप देखि कराते वान प्रिमियर लिगमा लगातार जस्तो ऐतिहासिक पकद जितिरहेकी छिन् । गत वर्ष उनले कराते वान प्रिमियर लिगमा २ रजत र १ कांस्य जितिन् ।

यस बाहेक अर्को एउटा खेल छ क्रिकेट । जसले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेलिसकेको छ र यसअघि दुवै पटक एसियन गेम्समा पनि सहभागिता जनाइसकेको छ । एसियामा पाँच टेष्ट राष्ट्र बाहेक उत्कृष्ट एसोसिएट टोली, टी-२० विश्वकप पनि खेलेको आधारमा क्रिकेट पनि एसियन गेम्समा सहभागी हुने सम्भावित खेलमा पर्छ ।

यस्तै विश्वमै उदाउँदो खेलको रुपमा रहेको र नेपालमा पनि उत्कृष्ट खेलाडीहरु रहेको ईस्पोर्ट्समा पनि नेपालको राम्रो सम्भावना छ । २०२३ मा हान्झाउमा भएको १९औं एसियन गेम्समा नेपालबाट पब्जी लगायत केही विधामा नेपालले पदक नजितेपनि उत्कृष्ट प्रदर्शन गरेको थियो । यस पटक पनि नेपालको सम्भावना राम्रो छ ।

तर यो खेल अन्य नियमित खेल भन्दा फरक प्रकृति अनि फरक तरिकाले तयारी गर्नुपर्ने हुन्छ । त्यसमा पनि नेपालमा अहिले ईस्पोर्ट्सको लागि राखेपमा दर्ता रहेको ईस्पोर्ट्स एसोसिएसन नेपाल (इशान) र अर्को संस्था नेसा पनि सक्रिय छ । यस्तोमा नेसाले देशभित्र क्वालिफायर गराइरहेको छ भने एसियन गेम्समको लागि राखेपले इशानबाट लङ लिस्ट मागेको छ ।

माथिका यी अवस्थाहरू हेर्दा अहिले एसियन गेम्समा सहभागी गराउन सकिने मुख्य खेलहरू यिनै देखिन्छन् । त्यसमा करिब १४ खेल देखिएका छन् ।

त्यसमा पनि नियमित जस्तो अन्तर्राष्ट्रिय सहभागिता भइरहने खेल पछिल्लो पटक एसियन गेम्समा पदक जितेको दुई खेल कराते र महिला कबड्डी छन् । यस्तै उसुले पनि थाउलो विश्वकपमा पदक जितेको छ । भलिबल नेपालको राष्ट्रिय खेल र महिला भलिबलको पनि काभाको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र पदक जितेको छ ।

पुरुष क्रिकेट टिमले लगातार टी-२० विश्वकप खेलेको छ । यस्तै टेबल टेनिस, ब्याडमिन्टन, कुस्ती, एथ्लेटिक्स, पौडी खेलाडीहरुले पनि नियमित जसो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् भने दक्षिण एसियाली स्तरमा केही पदकहरू पनि आएको छ ।

यस्तै नेपाल ओलम्पिक कमिटीले २०औं एसियन गेम्सकै लागि भनेर विभिन्न ४ खेलका पाँच खेलाडी (आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्र बहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ) लाई मासिक ५० हजारका दरले स्कलरसिप पनि प्रदान गरेको थियो । माथि चर्चा गरिएको खेलबाहेक यसमा आर्चरी पनि रहेको छ ।

माथि चर्चा गरिएका यी खेलबाहेक अन्य खेलको पनि अन्तर्राष्ट्रिय सहभागिताहरू भइरहेको छ ।

तर २०औं एसियन गेम्समा सहभागी हुन सक्ने सम्भावित खेलको केही आधार मात्र यहाँ प्रस्तुत गरिएको हो ।

अब यी खेलहरुलाई पनि अझै ब्रेक डाउन गरेर उत्कृष्ट प्रदर्शन गर्ने खेललाई मात्र २०औं एसियन गेम्समा सहभागी गराउन सकिनेछ । त्यसमा मास गेमतर्फ हेर्दा मुख्य तीन खेल महिला कबड्डी, पुरुष क्रिकेट र महिला भलिबलको सम्भावना धेरै छ ।

यस्तै व्यक्तिगततर्फ हेर्दा करातेको सबैभन्दा अघि छ । व्यक्तिगत खेलको संख्या जति भएपनि सम्बधित खेलमा सहभागी हुने खेलाडीको संख्या भने क्वालिफायर र वरियताको आधार हेर्दा न्युन हुन सक्छ ।

त्यसैले नेपालले २०औं एसियन गेम्समा सहभागि जनाउँदा पछिल्लो संस्करणमा सहभागिता र जितेको पदकको आधारमा, मास गेममा विश्वकप खेल्ने देखि अन्तर्राष्ट्रिय सहभागिता उपलब्धि, मिसन २०२६ मा रहेर प्रशिक्षण गरेका खेलाडी र नेपाल ओलम्पिक कमिटीले स्करलरसिप दिएर तयारी गरेका केही खेलका खेलाडीहरूमा आधारित रहेर खेलाडी छनोट गर्न सबैभन्दा उचित देखिनेछ ।

कति खेल समावेश गर्दा ठिक होला ?

नेपाली खेलकुदको वर्तमान अवस्था, खेलकुदको कार्यकारी निकाय देखि खेल संघसम्म देखिरहने विवाद, सरकारले बजेटमा गर्ने कन्ज्युस्याइँ, नेपालको पुरानै शैलीको तयारी, नेपालको विगतको प्रदर्शन र अहिले जापानमा हुने एसियन गेम्मसको सहभागिताको प्रवाधान हेर्दा नेपालबाट यस पटक विगतमा भन्दा कम खेल समावेश हुने धेरै सम्भावना छ ।

नेपालले पछिल्लो संस्करण जितेको पदक र प्रदर्शन, पछिल्लो पाँच संस्करण (दुई दशकमा नेपालको प्रदर्शन र पदक), नेपालको राष्ट्रिय खेल, मिसन २०२६ मा मा तयारी गरेको खेल र ओलम्पिकमा अनिवार्य सहभागी हुने खेलको हिसाबले करिब एक दर्जन वा त्यो भन्दा पनि कमको संख्यामा खेल मात्रै सहभागी गराउन लायक देखिन्छ ।

यसमा पनि नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शन त्यसमा नेपालको वरियता, क्वालिफायर्स (यदि खेलेको भए) यसको प्रदर्शन पनि निर्णायक हुनेछ । यी सबै खेल पर्नै पर्छ वा यी खेलहरु मात्र सहभागि हुनुपर्छ अरु हुनुपर्दैन भन्ने भन्दा पनि नेपालले आफ्नो अवस्था हेरेर सहभागी गराउनु उचित हुन्छ ।

तर नेपाली खेलकुदको तयारी, अन्तर्राष्ट्रिय सहभागि र उपलब्धि, नेपाली खेलाडी सहभागि हुँदा लाग्ने ठूलो बजेट यी सबै कुरालाई मध्यनजर गर्दा नेपालले पदक जित्न सक्ने, राम्रो प्रदर्शन र पदकको सम्भावना भएको खेल र केही मास गेमलाई सहभागी गराउनु उपयुक्त देखिन्छ ।

यसमा अन्य खेलको क्वालिफायर्स र वरियतामा उच्च रहेमा सहभागी हुने सम्भावना छ ।

यदि नेपालले पदक जित्ने लक्ष्य राखेको खेलहरुमात्र समावेश गराउने भने निकै थोरै खेल मात्र पर्न सक्छ । माथि चर्चा गरिएकामध्ये पनि क्वालिफायर र वरियता अनुसारको प्रावधान फलो गर्दा सबै खेल २०औं एसियन गेम्समा सहभागि हुनका लागि योग्य नहुन सक्छन् । त्यसैले नेपालले निश्चित क्राइटेरिया तोकेर पनि खेलहरु (समूह खेल र व्यक्तिगत खेल) तोक्दा त्यो नै सबैभन्दा उपयुक्त विकल्प देखिनेछ ।

यसैबीच २०औं एसियन गेम्समा खेल र खेलाडीको सहभागिताबारे राष्ट्रिय खेलकुद परिषद कार्यकारी समितिको मंगलबार बैठक बसेको थियो । त्यसमा विभिन्न खेलको लङ लिस्टमा आएका खेलाडी संख्याको बारेमा छलफल भयो ।

जसमा यसअघि दर्ता भएका ३२ खेलमध्ये २६ खेलको लङ लिस्टको विषयमा छलफल भएको थियो ।

यस्तै २०औं एसियन गेम्स तयारी र नेपालको सहभागितादेखि खेलाडी लङ लिस्टको विषयमा राखेप सदस्य सचिव राम चरित्र मेहतासहित युवा तथा खेलकुद मन्त्रालयका मुख्य सल्लाहकार सिद्धी व्यन्जनकार र राजु सिंह नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कोषाध्यक्ष र कार्यालय सचिवबीच मंगलबारै छलफल भएको थियो ।

यसले एसियन गेम्सको विषयमा राखेप र नेपाल ओलम्पिक कमिटीबीच छलफलको औपचारिक सुरुवात पनि भएको छ ।

भोली बुधबार सम्ममा नेपालबाट एसियन गेम्समा सहभागी हुने खेल र खेलाडीको संख्या टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

२०औं एसियन गेम्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय