+
एन्फा :

एन्फा तदर्थ समिति गठनको माग

२०८३ साउन  २० गते १०:३२ २०८३ साउन २० गते १०:३२

एफएमटीका अध्यक्ष भिक्टर राणाले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र पठाउँदै यो समस्या समाधान गर्न तदर्थ समिति गठन गर्न माग गरेको हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघको समस्या समाधानका लागि तदर्थ समिति गठन गर्न फिफासमक्ष माग गरेको छ ।
  • एफएमटीका अध्यक्ष भिक्टर राणाले एन्फा नेतृत्वको कार्यकाल सकिएको र कार्यसम्पादन कमजोर रहेकाले जिल्लादेखि केन्द्रसम्म नयाँ निर्वाचन आवश्यक रहेको बताए ।
  • फिफाको निलम्बनका कारण नेपाल साफ च्याम्पियनसिप खेल्नबाट वञ्चित हुने जोखिम बढेपछि संस्थाले विवाद सुल्झाउन मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

२० साउन, काठमाडौँ । फुटबलर्स मिसन टुगेदर (एफएमटी) अखिल नेपाल फुटबल संघ (एन्फा) को समस्या समाधान गर्न तदर्थ समिति गठनको माग गरेको छ ।

हाल एन्फा फिफाको निम्बनमा छ र वर्तमान एन्फा कार्यसमितिको कार्यकाल पनि असार पहिलो साता नै सकिएको छ ।

नेपाली फुटबल शुन्यताको अवस्थामा पुगिसकेको र फिफा निलम्बनको असर नेपाली फुटबलमा देखिएको भन्दै फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले चिन्ता व्यक्त गरेको छ ।

एफएमटीले एन्फा निलम्बनको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै विश्व फुटबल महासंघलाई पत्र पठाइएको संस्थाका सिइओ मधुसुदन उपाध्यायले बताए ।

एफएमटी नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी, रेफ्री, प्रशिक्षक र पदाधिकारीलाई समेट्दै सन् २०१८ मा गठन भएको हो ।

एफएमटीका अध्यक्ष भिक्टर राणाले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र पठाउँदै यो समस्या समाधान गर्न तदर्थ समिति गठन गर्न माग गरेको हुन् । ‘एन्फाको निलम्बनको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै हामी तपाईंलाई यो पत्र लेख्दैछौँ  । यो प्रतिबन्ध र यसका दूरगामी परिणामहरूप्रति हामी अत्यन्तै चिन्तित छौँ । यस निर्णयले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ भने खेलाडी, प्रशिक्षक, रेफ्री र पदाधिकारीहरूलाई समान रूपमा असर पुर्याएको छ । यस निलम्बनले नेपालमा फुटबलको विकासलाई मात्र रोकेको छैन, अक्षम एन्फा नेतृत्वलाई समर्थन गरेजस्तो देखिएकाले फिफाको छविमा पनि दाग लगाएको छ,’ पत्रमा लेखिएको छ,

‘वर्तमान एन्फा टोलीको कार्यकाल समाप्त भइसकेको छ । उनीहरूको कार्यसम्पादन अत्यन्तै कमजोर रहेको छ र नेपालमा फुटबलको सुधारका लागि उनीहरूले कुनै सार्थक कदम चाल्न सकेका छैनन् । उनीहरू यस संस्थालाई अगाडि बढाउन असक्षम छन् र उनीहरूको नेतृत्व निरन्तर रहनुले संकटलाई अझ गहिरो बनाउनेछ ।’

ति समस्याहरु समाधानका लागि जिल्लास्तरदेखि नै निर्वाचन गर्दै केन्द्रिय निर्वाचन गर्नुपर्ने र तदर्थ समिति गठन गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । साथै विवादको समाधानको लागि मध्यस्थाता गर्न फुटबलर्स मिसन टुगेदर तयार रहेको समेत पत्रमा लेखिएको छ ।

‘यस गतिरोधबाट बाहिर निस्कने एकमात्र उपाय भनेको सुरुमा जिल्लास्तर र त्यसपछि राष्ट्रियस्तरमा निर्वाचन गराई नयाँ जनादेश प्राप्त गर्नु हो । यो लोकतान्त्रिक प्रक्रियाले नेपाली फुटबल प्रशासनमा विश्वसनीयता, जवाफदेहिता र विश्वास पुनःस्थापित गर्नेछ । त्यसैले, यी निर्वाचनहरू सम्पन्न गराउने जिम्मेवारीसहितको तदर्थ समिति गठन गरी यो गतिरोध अन्त्य गर्न हामी तपाईंको सहयोगको माग गर्दछौं । फुटबलर्स मिसन टुगेदर विवादित पक्षहरूबीच मध्यस्थता गर्न र तपाईंले चाहेमा निष्पक्ष तथा पारदर्शी निर्वाचन गराउन तदर्थ समितिको नेतृत्व गर्न तयार छ ।’

एन्फाको विवाद बढेपछि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले २५ जुनमा एन्फालाई निलम्बन गरेको थियो  । फिफाको निलम्बनमा रहेकोले आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा समेत नेपाल ड्र मा समावेश थिएन । यदी सेप्टेम्बर १ सम्म फिफाको निलम्बन फुकुवा भएमा मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउनेछ । अन्यथा दक्षिण एसियाको मुख्य प्रतियोगिताको रुपमा रहेको साफ च्याम्पियनसिप खेल्नबाट नेपाल बन्चित हुनेछ ।

एन्फा नेपाल फुटबल फिफा फुटबलर्स मिसन टुगेदर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय