News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने भएको छ ।
- आईसीसीले विश्वकप छनोटको मिति सार्वजनिक गरे पनि प्रतियोगिता आयोजना हुने स्थलको टुङ्गो भने अझै लगाएको छैन ।
- दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा कुल १४ टोलीले प्रतिस्पर्धा गर्ने तालिका तय गरिएको छ ।
२० साउन, काठमाडौं । सन् २०२७ मा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको छ ।
आईसीसीले प्रतियोगिताको मिति टुंग्याए पनि आयोजना स्थल भने अझै तय गरेको छैन ।
आईसीसीले यसअघि सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेताले सिधै १४ टोली सम्मिलित विश्वकपमा स्थान बनाउनेछ ।
छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ खेल्नेछन् । तीन टोलीमध्ये उत्कृष्ट एक टोलीले मुख्य १२ टोलीको चरणमा स्थान बनाउनेछ ।
सन् २०२७ को विश्वकप अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ रंगशालामा आयोजना हुनेछ ।
छनोट प्रतियोगितामा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक सेप्टेम्बर ३०, २०२६ सम्मको आईसीसी एकदिवसीय वरीयतामा रहेका सबैभन्दा पुछारका दुई पूर्ण सदस्य राष्ट्र, विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन् ।
विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यहाँबाट शीर्ष चार टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका टोलीले तीन चरणको राउन्ड रोबिन खेल्नेछन्। दुवै समूहका शीर्ष दुई टोली छनोट प्लेअफमा पुग्नेछन्।
हाल वेस्ट इन्डिज आईसीसी एकदिवसीय वरीयताको १०औं स्थानमा छ । सेप्टेम्बरमा भारतसँग हुने दुई ओडीआईपछि विश्वकपमा सिधा छनोट हुने नहुने टुंगो लाग्नेछ ।
यदि शीर्ष आठभित्र पर्न नसके वेस्ट इन्डिजले पनि विश्वकप खेल्न छनोट प्रतियोगिता पार गर्नुपर्नेछ ।
वेस्ट इन्डिज सन् २०२३ को विश्वकपमा छनोट हुन असफल भएको थियो । त्यसबेला हरारेमा भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित हुँदै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको थियो ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4