+
+
Shares

जिद्दी बच्चालाई कसरी शान्त पार्ने ? ६ उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकाको जिद्दीपनालाई गाली वा सजायभन्दा पनि धैर्य, समझदारी र मायालु व्यवहारद्वारा सम्हाल्नु अभिभावकका लागि प्रभावकारी उपाय मानिन्छ।

बच्चाहरूले जिद्दी गर्नु हरेक घरमा देखिने सामान्य व्यवहार हो । कहिले उनीहरूलाई नयाँ खेलौना चाहिन्छ, कहिले बाहिर खेल्न जान जिद्दी गर्छन् भने कहिले विद्यालय जानै मान्दैनन् । यस्तो अवस्थामा उनीहरूको व्यवहारले अभिभावकको धैर्यको परीक्षा लिन सक्छ । धेरैजसो अभिभावक बच्चालाई गाली गर्ने गर्छन् । तर, यसले बच्चा शान्त हुनुको सट्टा झन् बढी जिद्दी बन्न सक्छ ।

त्यसैले बच्चाको जिद्दीलाई गाली वा सजायभन्दा पनि माया, धैर्य र समझदारीका साथ सम्हाल्नु आवश्यक हुन्छ । बच्चाको भावना बुझेर सही तरिका अपनाउँदा जिद्दी कम गर्न मात्र होइन, अभिभावक र बच्चाबीचको विश्वास तथा भावनात्मक सम्बन्ध बलियो बनाउन पनि मद्दत पुग्छ ।

१.ध्यान अन्यत्र मोड्ने

सानो उमेरका बच्चाको ध्यान अन्यत्र मोड्ने उपाय प्रभावकारी हुन सक्छ । उदाहरणका लागि, बजार वा पसलमा आफूलाई मन परेको वस्तु नपाउँदा बच्चा रुन वा जिद्दी गर्न थाल्यो भने उसको ध्यान अन्य कुनै कुरातर्फ मोड्न सकिन्छ । उसलाई वरपरको कुनै रोचक कुरा देखाउने वा अर्को गतिविधिमा सहभागी गराउने प्रयास गर्नुपर्छ । कतिपय अवस्थामा वातावरण र ध्यान परिवर्तन गरेपछि बच्चाको रिस तथा जिद्दीपन आफैं कम हुँदै जान्छ ।

२.दैनिक दिनचर्या निश्चित गर्ने

बच्चामा जिद्दीपन र चिडचिडापन बढ्नुको एउटा कारण अनियमित दिनचर्या पनि हुन सक्छ । खाना खाने, खेल्ने, पढ्ने र सुत्ने समय सकेसम्म निश्चित राख्दा बच्चाले स्थिरता र सुरक्षाको महसुस गर्छ ।

बच्चालाई कुन समयमा के गर्ने भन्ने पहिले नै थाहा हुँदा कुनै गतिविधि अचानक रोक्नुपर्दा वा परिवर्तन गर्नुपर्दा हुने विरोध पनि कम हुन सक्छ । त्यसैले बच्चाको उमेर र आवश्यकताअनुसार सरल र व्यावहारिक दिनचर्या बनाउनु राम्रो हुन्छ ।

३.आवश्यक पर्दा ‘हुँदैन’ भन्न सिक्ने

बच्चाले मागेका हरेक कुरा पूरा गरिदिनु राम्रो अभिभावकत्व होइन । कतिपय अवस्थामा अभिभावकले स्पष्ट रूपमा ‘हुँदैन’ भन्न आवश्यक हुन्छ । तर ‘हुँदैन’ भन्ने तरिका पनि महत्वपूर्ण हुन्छ ।

रिसाएर कराउनु वा बच्चालाई अपमानित गर्नुभन्दा त्यसको कारण शान्त रूपमा बुझाउनु पर्छ । हुँदैन मात्रै भन्नु भन्दा त्यसको कारणसहित बझाउनु राम्रो हुन्छ । जस्तो: अहिले यो हुँदैन, किनभने सुत्ने समय भइसक्यो वा त्यो खानेकुरा किन्नु हुँदैन, त्यो खादाँ पेट दुख्छ ।

यसले बच्चालाई नियम र सीमाको कारण बुझ्न मद्दत गर्छ ।

४.बच्चालाई स–साना विकल्प दिनुपर्छ

उमेरअनुसार बच्चालाई स–साना निर्णय आफैं लिन दिने हो भने उसले आफ्नो कुरा राख्ने र आफूलाई केही हदसम्म नियन्त्रणमा रहेको महसुस गर्ने अवसर पाउँछ । यसले धेरै अवस्थामा जिद्दी कम गर्न मद्दत गर्छ।

उदाहरणका लागि, दुईवटा कपडा देखाएर आफूलाई मन परेको कपडा रोज्न दिन सकिन्छ । त्यस्तै, गृहकार्य कहिले गर्ने भनेर ‘पहिले पढ्ने कि खेलिसकेपछि पढ्ने ?’ भनेर सोध्न सकिन्छ । यसरी सीमित र उचित विकल्प दिँदा बच्चाले अभिभावकको निर्देशनलाई सहज रूपमा स्वीकार गर्न सक्छ ।

५.राम्रो व्यवहारको प्रशंसा गर्ने

बच्चाहरू आफ्नो राम्रो व्यवहारको प्रशंसा चाहन्छन् । जब बच्चाले शान्त भएर आफ्नो कुरा राख्छ, नियम पालना गर्छ वा जिद्दी नगरी अभिभावकको कुरा बुझ्छ भने उसको प्रशंसा गर्नुपर्छ । ‘आज तिमीले धेरै राम्रोसँग आफ्नो कुरा भन्यौ’ वा ‘तिमीले जिद्दी नगरी मेरो कुरा बुझ्यौ, यो निकै राम्रो भयो’ जस्ता सकारात्मक शब्दले बच्चालाई त्यस्तै राम्रो व्यवहार दोहोर्‍याउन प्रेरित गर्न सक्छ ।

सानो बच्चाका लागि स्टार चार्ट, स्टिकर वा उसको मनपर्ने गतिविधि जस्ता सामान्य प्रोत्साहनका उपाय पनि अपनाउन सकिन्छ । तर, हरेक राम्रो व्यवहारका लागि पुरस्कार दिनैपर्छ भन्ने हुँदैन । अभिभावकको प्रशंसा र सकारात्मक ध्यान पनि प्रभावकारी हुन सक्छ ।

६.आफू शान्त रहने र धैर्य राख्ने

बच्चाले आफ्नो वरपरका मानिसको व्यवहारबाट धेरै कुरा सिक्छ । यदि अभिभावकले बच्चाको हरेक जिद्दीमा रिसाउने, कराउने वा कठोर प्रतिक्रिया दिने गर्छन् भने बच्चाले पनि त्यस्तै व्यवहार सिक्न सक्छ ।

त्यसैले यस्तो अवस्थामा अभिभावकले पहिले आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । गहिरो सास लिने, केही सेकेन्ड रोकिएर त्यसपछि बच्चासँग कुरा गर्ने शान्त आवाजमा स्पष्ट रूपमा कुरा गर्दा बच्चाले पनि विस्तारै आफ्ना भावना नियन्त्रण गर्न सिक्न सक्छ ।

ध्यान दिनुपर्ने कुरा

सबैभन्दा महत्वपूर्ण कुरा, बच्चाको जिद्दीलाई हरेक पटक उसको बदमासी वा जानाजानी दुःख दिने प्रयासका रूपमा बुझ्नु हुँदैन । कतिपय अवस्थामा बच्चाले आफ्ना भावना शब्दमा व्यक्त गर्न नसक्दा रोएर, रिसाएर वा जिद्दी गरेर आफ्नो कुरा व्यक्त गरिरहेको हुन सक्छ ।

त्यसैले उसको भावना बुझ्दै, आवश्यक सीमाहरू स्पष्ट रूपमा निर्धारण गरेर र निरन्तर एउटै किसिमको व्यवहार गर्नु राम्रो अभिभावकत्वको महत्वपूर्ण हिस्सा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?