News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी जापानमा भएको अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
- नरिता विमानस्थलमा रेल सेवा अवरुद्ध हुँदा छ हजारभन्दा बढी यात्रु रातभर अलपत्र परेका छन् ।
- चिबा प्रान्तका हजारौँ घरपरिवार विद्युत्विहीन भएका छन् भने सयौँ मानिस आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।
२९ साउन, टोकियो (रासस/एएफपी) । पूर्वी जापानमा अति भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौं यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन् । सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
बिहीबार साँझदेखि परेको अत्यधिक वर्षाका कारण चिबा प्रान्तका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको थियो । जापान मौसम विज्ञान एजेन्सीले पहिलोपटक चिबाका लागि उच्चस्तरीय भारी वर्षाको चेतावनी जारी गरेको थियो ।
मौसम अधिकारीहरूले वर्षा ‘अभूतपूर्व स्तरमा पुगिरहेको’ बताएका छन् । चिबाका केही स्थानमा एक घण्टामै ११५ मिलिमिटर वर्षा भएको छ, जुन अत्यन्तै असामान्य वर्षा हो । २४ घण्टाको अवधिमा ३६० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । जबकि यो अवधिमा २०० मिलिमिटर वर्षा हुनुलाई नै अति भारी वर्षा भएको मानिन्छ ।
चिबा प्रान्तको विपद् व्यवस्थापन कार्यालयका अनुसार मृत्यु हुनेमा बाढीले भरिएको सडकमा फेला परेका ६० वा ७० वर्षका एक पुरुष तथा डुबानमा परेको कारभित्र फसेकी ६६ वर्षीया महिला छन् । सडकमा मृत अवस्थामा फेला परेका अर्का व्यक्तिको उमेर खुलेको छैन । चौथो मृतकको उमेर र लिङ्गसमेत खुल्न सकेको छैन । थप दुई जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।
शुक्रबार बिहानसम्म चिबा प्रान्तका करिब २६ हजार घरपरिवार विद्युत्विहीन भएका थिए । इचिकावा, काशीवा र सकुरालगायत सहरमा ४५ घर पूर्ण रूपमा बाढीमा डुबेका छन् भने अन्य ३९ घरको भुइँमुनिसम्म पानी पसेको विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
भारी वर्षाको सबैभन्दा ठूलो प्रभाव नरिता विमानस्थलमा देखिएको छ । टोकियोलाई सेवा दिने प्रमुख विमानस्थलमध्ये एक नरितामा करिब छ हजार यात्रु रातभर अलपत्र परेका थिए । चिबा विपद् व्यवस्थापन कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म विमानस्थलबाट आउने–जाने धेरै रेल सेवा रद्द भएका थिए ।
विमानस्थलमा अलपत्र यात्रुलाई कर्मचारीले निःशुल्क पानी, खाना र सुत्ने झोला उपलब्ध गराएको यात्रुहरूले सामाजिक सञ्जालमार्फत बताएका छन् । एक यात्रुले जापानको सार्वजनिक प्रसारक एनएचकेसँग आफूले विमानस्थलमै रात बिताउनुपर्ने कल्पना नगरेको बताउँदै यो अनुभव कहिल्यै नबिर्सने बताएका थिए ।
रेल सेवा अवरुद्ध भएपछि चिबा स्टेसनमा समेत सयौँ यात्रु अलपत्र परेका थिए । एएफपीका पत्रकारका अनुसार उनीहरू लामो समयसम्म स्टेसनमै रोकिएका थिए । काशीवा सहरमा बाढीको पानीले गाडीको अगाडिको बत्तीको स्तरसम्म सडक डुबाएको थियो । एनएचकेका अनुसार सयौँ मानिसले चिबाका विभिन्न आश्रयस्थलमा रात बिताएका थिए ।
इचिकावा सहरकी एक महिलाले अचानक आएको बाढीले आफूहरूलाई स्तब्ध बनाएको र विद्युत् आपूर्ति बन्द भएपछि आगामी दुई दिनमा आफ्नो व्यवसाय सञ्चालन गर्न सकिने हो कि होइन भन्ने चिन्ता रहेको बताइन् ।
अत्यधिक वर्षाका कारण जारी गरिएको पाँचौँ तहको उच्च जोखिम चेतावनी शुक्रबार बिहानसम्म चौथो तहमा झारिएको छ । पाँचौँ तहलाई जीवन जोगाउन तत्काल कदम चाल्नुपर्ने अवस्थाको उच्चतम चेतावनी मानिन्छ ।
जापानमा पछिल्लो घटनाले अत्यधिक वर्षा र जलवायु परिवर्तनबीचको सम्बन्धबारे चिन्ता पुनः बढाएको छ । वैज्ञानिकहरूका अनुसार मानव गतिविधिबाट भइरहेको जलवायु परिवर्तनले विश्वभर चरम मौसमका घटना अझ बढी, लामो समयसम्म र तीव्र रूपमा हुने जोखिम बढाइरहेको छ ।
प्रतिक्रिया 4