News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा भिसा परिवर्तन र रोजगारीको प्रलोभन देखाएर १५ जनाभन्दा बढी नेपालीबाट लाखौँ येन ठगी गरेको पाइएको छ ।
- पोसुतो कम्पनीका सञ्चालक रोमन भट्टराईले इनाहो कम्पनीको नक्कली नियुक्ति पत्र थमाएर प्रतिव्यक्ति साढे चार लाख येनसम्म असुलेका छन् ।
- पीडितहरूले भिसा पाए पनि काम नपाएको र भट्टराईले काम खोज्ने भन्दै पन्छिँदै आएको गुनासो गरेका छन् ।
२४ साउन, टोकियो । चार वर्षअघि सुन्दर भविष्यको सपना बोकेर विद्यार्थी भिसामा जापान आएकी झुमा शर्मा (परिवर्तित नाम)ले विद्यार्थी जीवनमा धेरै संघर्ष गरिन् । सुरुका दुई वर्ष भाषा विद्यालय र त्यसपछिका दुई वर्ष सेन्मोन स्कुलमा अध्ययन गरिन् । चार वर्षको पढाइ र संघर्षपछि यसै वर्ष विद्यार्थी भिसाबाट वर्किङ भिसामा परिवर्तन गरेर नयाँ दिशातर्फ अघि बढ्ने सपना बोकेकी थिइन् ।
गत मार्चमा सोत्सुग्योउ (दीक्षान्त समारोह) पछि भिसा वर्किङमा परिवर्तन गर्ने उनको लक्ष्य थियो । सोही क्रममा जापानको चिबामा पोसुतो भन्ने कम्पनी (श्रमिक आपूर्ति गर्ने कम्पनी ) सञ्चालन गर्दै आएका रोमन भट्टराईसँग उनको भेट भयो । भट्टराईले झुमासँग भिसा परिवर्तन गरिदिने र भिसा आएको कम्पनीमा काम लगाइदिने सर्तमा साढे चार लाख येन लिए ।
उनको एक वर्षको वर्किङ भिसा त आयो तर, जुन कम्पनीबाट भिसा आयो त्यो कम्पनीमा काम भने पाइनन् । त्यसपछि मात्र आफू नेपालीबाटै ठगिएको थाहा पाएको उनी बताउँछिन् ।
झुमा त प्रतिनिधि पात्र मात्र हुन् । भट्टराईबाटै ठगीमा परेकी विष्णु शर्मा (परिवर्तित नाम) भन्छिन्, ‘साढे चार लाख बुझायौँ । भिसा आएको ३ महिना बितिसक्यो तर, कामको टुंगो छैन ।’ जापानमा खान, बस्नै समस्या हुन थालेको उनको भनाइ छ । विष्णुले भनिन्, ‘जापान आउँदा लागेको ऋणसमेत तिर्न सकेको छैन, यता यो हालत भयो ।’
भट्टराईले सञ्चालन गरेको पोसुतो कम्पनीले अर्कै कम्पनीको नाइतेइ (कम्पनीले कर्मचारी नियुक्त गर्ने निर्णय गरेको भन्ने जानकारी पत्र) बनाएर १५ जना बढी नेपाली नागरिकबाट लाखौँ येन लिएको पाइएको छ । पोसुतो कम्पनीले जापानी कम्पनी इनाहोको नक्कली नाइतेइ बनाएर कामको खोजीमा रहेका नेपालीबाट लाखौँ ठगी गर्ने गरेको पाइएको हो ।
कामको खोजीमा रहेका नेपालीलाई नक्कली नाइतेइ थमाएर प्रतिव्यक्ति चार लाख ५० हजार येनसम्म लिने गरेको अनलाइनखबरलाई प्राप्त कागजपत्रबाट खुल्न आउँछ ।
पोसुतो भन्ने कम्पनीले पीडितलाई बुझाएको नाइतेइ आफ्नो कम्पनीले जारी नगरेको इनाहो कम्पनीले जनाएको छ । कम्पनीले भन्यो, ‘यो नाइतेइका बारेमा हाम्रो कम्पनी जानकार छैन ।’
कामदारसँग अन्तर्वार्ता लिने र अन्तर्वार्ता पास भएको खण्डमा सम्बन्धित व्यक्तिलाई नाइतेइ दिने गरेको कम्पनीले जनाएको छ । तर पीडितहरूको भनाइअनुसार उनीहरूले इनाहो भन्ने कम्पनीका लागि अन्तर्वार्ता नै दिएका छैनन् ।
पीडितहरूले दिएको जानकारीअनुसार उनीहरूको एक वर्षको भिसा आइसकेको भए तापनि त्यो भिसा कुन कम्पनीबाट आएको हो भन्ने नै थाहा छैन । वैध प्रक्रिया हुन्थ्यो भने जुन कम्पनीबाट भिसा आएको हो त्यही कम्पनीमा पीडितहरूले काम गरेको हुनुपर्थ्यो । तर भिसाा आएको लामो समय बितिसक्दा समेत उनीहरूले काम पाएका छैनन् ।

‘भिसा आएपछि कम्पनीले फोर्कलिफ्ट (सामान लोड, अनलोड हुन प्रयोग हुने सवारी)को लाइसेन्स नभएकाले काम दिन नसक्ने बतायो,’ पोसुतो कम्पनीका सञ्चालक रोमन भट्टराईले भने, ‘उहाँहरूलाई हामी काम खोज्दै छौँ ।’
कुन कम्पनीबाट भिसा आएको हो ? भन्ने प्रश्नमा भट्टराईले कम्पनीको बारेमा आफूलाई पनि थाहा नभएको जवाफ दिए । ‘मैले मान्छे जम्मा गरेर सनी श्रेष्ठलाई बुझाएको हो । उसले भिसाको आवेदन गर्दा कुन कम्पनीको कागजपत्र बुझाएको हो मलाई थाहा छैन,’ उनले भने, ‘सनीसँग मैले मिलेर काम गरेको हो ।’ सनी श्रेष्ठ शीतल एन्ड अनिल भन्ने कम्पनीका सञ्चालक हुन् ।
यता, सनीले भने रोमन भट्टराईलाई प्रत्यक्ष रूपमा आफूले नचिनेको प्रतिक्रिया दिएका छन् । ‘मैले उहाँलाई प्रत्यक्ष चिनेको छैन । अन्य साथीहरूमार्फत काम गर्ने हो,’ सनीले अनलाइनखबरसँग भने, ‘यति ठूलो रकम लिएर काम गरेको भन्दा म नै छक्क परेको छु । नाइतेइ निकालेको कम्पनीमा काम लगाउन नसकेको खण्डमा पीडितको पैसा फिर्ता गर्नुपर्छ ।’
भट्टराईलाई रकम बुझाएका पीडितहरूले कहिले उनकै खातामा, कहिले सुजुकी नाम गरेको जापानी नागरिकको खातामा त कहिले आफ्नै श्रीमतीको खातामा रकम जम्मा गर्न लगाएको प्रमाणसमेत फेला परेको छ । व्यक्तिगत खातामा पैसा मगाउनुले पनि यो काम कानुनसम्मत नभएको भन्ने पुष्टि हुन्छ ।
पछिल्लो समय जापानमा बढ्दो ठगीको घटनाले राम्रा कम्पनीलाई समेत काम गर्न समस्या हुने गरेको ह्युमन रिसोर्सेस कम्पनीका सञ्चालक डा. भुपालमान श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘परदेशमा नेपाली, नेपालीबाटै ठगिनु आफैँमा दु:खद विषय हो । यस्ता घटनाले जापानी नागरिकमा नेपाल र नेपालीप्रतिको दृष्टिकोणसमेत नकारात्मक बन्छ ।
प्रतिक्रिया 4