News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको हाउझाउमा भएको १९औँ एसियाडमा नेपालबाट २५३ खेलाडी सहभागी भए पनि करिब ४०० जनाको टोली पुगेको थियो।
- पेरिस र टोकियो ओलम्पिकमा पनि खेलाडीभन्दा प्रशिक्षक र अफिसियल धेरै पुगेको भन्दै आलोचना हुँदै आएको छ।
- आगामी २०औँ एसियन गेम्सका लागि राखेपले १३७ खेलाडीसहित २१८ सदस्यीय टोली बनाएको छ र असम्बन्धित व्यक्ति नपठाउने बताएको छ।
४ भदौ, काठमाडौं । ३ वर्षअघि चीनको हाउझाउ सहरमा भएको १९औ एसियन गेम्स (एसियाड) मा नेपालबाट २९ खेलका लागि २५३ खेलाडी सहभागी भए । नेपालले उक्त प्रतियोगितामा दुई पदक जित्यो ।
तर, १९औं एसियाडमा नेपालबाट खेलाडी, प्रशिक्षक र अफिसियलसहित करिब ४०० जनाको जम्बो टोली हाउझाउ पुगेको थियो । अर्थात्, खेलाडीको संख्याभन्दा करिब १५० बढी त प्रशिक्षक तथा अफिसियल नै थिए ।
यसअघि फ्रान्सको पेरिसमा भएको ३३औं गृष्मकालीन ओलम्पिकमा पनि यस्तै अवस्था देखिएको थियो । २०८१ सालमा भएको उक्त ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाएका थिए । तर खेलाडीभन्दा तेब्बरभन्दा बढी अर्थात् २२ जना बढी प्रशिक्षक तथा अफिसियल पेरिस पुगेका थिए । नेपालले उक्त ओलम्पिकमा कुनै पदक जित्न सकेन ।
ब्याडमिन्टन प्रशिक्षकसमेत सहभागी हुन नपाउँदा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव टंकलाल घिसिङ र तत्कालीन खेलकुद मन्त्री तेजुलाल चौधरी भने ओलम्पिक अवलोकनका लागि पेरिस पुगेका थिए । खेलाडीको सहभागिता सीमित हुँदा पदाधिकारीको उपस्थिति भने उल्लेख्य देखिएपछि त्यसबेला पनि विरोध भएको थियो ।
पेरिस ओलम्पिक जस्तै २०७८ मा जापानमा भएको टोकियो ओलम्पिकमा पनि नेपालबाट खेलाडीभन्दा अफिसियलको संख्या धेरै थियो । टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोली सहभागी भएको थियो । जसमा खेलाडीको संख्या ५ मात्रै थियो । ४ जना प्रशिक्षक थिए भने बाँकी सदस्य पदाधिकारी तथा अन्य अफिसियल थिए ।

यी केही उदाहरण मात्रै हुन् । नेपालले सहभागिता जनाउने ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको तुलनामा अफिसियलको संख्या बढी हुने गरेको तथ्य पटक–पटक उजागर हुँदै आएको छ ।
खेलकुद प्रतियोगिताको बहानामा विदेश भ्रमण गर्ने र त्यसवापत भत्ता बुझ्ने प्रवृत्ति नेपाली खेलकुदमा पुरानै हो । प्रतियोगितामा खेलाडीलाई आवश्यक पर्ने प्रशिक्षण तथा व्यवस्थापनभन्दा पदाधिकारीको सहभागितालाई प्राथमिकता दिइएको भन्दै आलोचना हुँदै आएको छ । कतिसम्म भने, तत्कालीन युवा तथा खेलकुद मन्त्रालयले पेरिस ओलम्पिकमा भएका खेलाडी र प्रशिक्षकबाहेकको खर्च नबेहोर्ने घोषणा नै गरेको थियो ।
अधिकांश प्रतियोगितामा खेलाडी र प्रशिक्षकसँगै खेल संघ र राखेपका कर्मचारी तथा पदाधिकारीहरू विदेश जाने गरेका छन् । केही प्रतियोगितामा त खेलसँग असम्बन्धित व्यक्तिहरूसमेत अफिसियलको रूपमा विदेश सयर गर्ने गरेको पाइन्छ ।
‘लावालस्कर विदेश जाने पदाधिकारीको काम घुम्ने बाहेक केही हुँदैन । खेलाडीलाई आवश्यक पर्दा सहयोग गर्ने कोही हुँदैन । खेल हेर्न र घुम्न मात्रै त्यहाँ पुग्छन्,’ एक पूर्वखेलाडी भन्छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पदाधिकारीको हवाई टिकट, होटल, खाना तथा दैनिक भत्ता सबै सरकारबाट बेहोर्ने प्रचलन छ । एउटै प्रतियोगितामा पदाधिकारी लावालस्कर लागेर सहभागी हुँदा त्यसको आर्थिक भार खेलकुद क्षेत्रमा पर्ने गरेको छ ।

आगामी असोजमा २०औं एसियन गेम्स हुँदैछ । यसमा पनि विगतकै जस्तै पदाधिकारीको लस्कर लाग्छ कि खेलसँग सम्बन्धित व्यक्तिहरू मात्रै जान्छन् भन्ने प्रश्न उब्जिएको छ । सरकारले भने यस पटक असम्बन्धित व्यक्तिहरूलाई एसियन गेम्समा नपठाइने बताउँदै आएको छ ।
आउँदो एसियाडका लागि राखेपले २२ खेलका लागि १३७ खेलाडी सहभागी हुने टुंगो लगाइसकेको छ । राखेप सदस्यसचिव रामचरित्र मेहताका अनुसार यस पटक १३७ खेलाडीसहित कूल २१८ सदस्यीय नेपाली टोली एसियाडमा सहभागी हुने छन् । १९औं खेलकुदको तुलनामा यस पटक खेलाडी सहभागितासमेत घटाइएको छ ।
राखेपकाअनुसार शिक्षा तथा खेलकुद सस्मित पोखरेल पनि २०औं एसियन गेम्समा सहभागी हुनेछन् । टोलीमा ३२ जना प्रशिक्षक छन् । १८ जना व्यवस्थापक, ११ जना एचक्यू अफिसियल, ६ जना मेडिकल टिम, ४ जना पत्रकार र ५ जना नेपाल ओलम्पिक कमिटीको तर्फबाट एसियन गेम्समा सहभागी हुँदैछन् ।
यस्तै खेल प्राविधिक, चिफ द मिसन, डेपुटी चिफ द मिस, शिक्षा तथा खेलकुद मन्त्तीको अतिथि समान एक-एक जना रहनेछन् । सहभागी हुनेहरू नाम भने खुलाइएको छैन ।
सदस्यसचिव मेहताले अन्तर्राष्ट्रिय प्रतियोगितामा आवश्यक जनशक्ति मात्र पठाउने दाबी गरे । प्रतियोगितामा जाने प्रत्येक व्यक्तिको भूमिका र जिम्मेवारी स्पष्ट हुने उनको भनाइ छ । ‘काम चाहिने मान्छे मात्र जान्छन् । काम सकिएपछि तुरुन्तै फर्किन्छन् । त्यहाँ घुम्नका लागि कोही जाँदैन,’ उनी भन्छन् ।
सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्ने गरी टोली निर्माण गरिएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने टोलीमा खेलाडी र आवश्यक प्रशिक्षक, व्यवस्थापक, चिकित्सक, प्राविधिक जनशक्तिलाई प्राथमिकता दिने राखेपको दाबी छ ।
राखेपका पूर्वसदस्य सचिव केशवराज विष्ट असम्बन्धित व्यक्ति लैजानु गलत हुने बताउँछन् । ‘बोर्ड सदस्य धेरै जाने तथा ओलम्पिक कमिटीले धेरै मान्छे लाने हुँदा कहिलेकाहीँ ५/१० जना मान्छे फाल्तु देखिन्छन्,’ उनी भन्छन्, ‘यसपालि के हुन्छ हेरौं । तर घुम्नका लागि जाने र इच्छा पूरा गर्नका लागि लैजाने कुरा ठिक होइन ।’
प्रतिक्रिया 4