+
क्रिकेट विश्वकप लिग २ :

नामिबिया विरुद्ध नेपालको संघर्ष, ब्याटिङमा कमजोर प्रदर्शन

२०८३ साउन  ५ गते २३:३८ २०८३ साउन ५ गते २३:३८

दुई महिनाअघि घरेलु मैदानमा भएको लिग २ को दुवै शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा फड्को मार्दै शीर्ष चारको आशा देखाएको नेपाल विदेशी भूमिका कमजोर प्रदर्शनलाई फेरि निरन्तरता दिएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ ।
  • टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५७ रनमा समेटिएपछि नामिबियाले उक्त लक्ष्य २ विकेट गुमाएर सहजै पूरा गर्‍यो ।
  • नेपालका कप्तान रोहित पौडेलले नामिबियाको उत्कृष्ट बलिङ र ब्याटिङ युनिटको कमजोर प्रदर्शन नै हारको मुख्य कारण भएको बताएका छन् ।

२०औं एसियाली खेलकुदमा छनोट, नेपाल प्रिमियर लिग सिजन ३ को अक्सनको माहोलपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली क्रिकेट विश्वकप लिग २ खेल्न नेदरल्यान्ड्स पुगेको थियो ।

भर्खर फिफा विश्वकपको माहोलमा झुमेको नेपाली खेलकुदको दर्शक क्रिकेटमा सिफ्ट हुँदै थिए । तर नेपाली टोलीको प्रदर्शन भने विदेशी भूमिमा पुरानै लयमा फर्कियो ।

दुई महिनाअघि घरेलु मैदानमा भएको लिग २ को दुवै शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा फड्को मार्दै शीर्ष चारको आशा देखाएको नेपाल विदेशी भूमिका कमजोर प्रदर्शनलाई फेरि निरन्तरता दिएको छ ।

२०२४-२६ को लिग २ साइकल अन्तर्गत मंगलबादेखि नेदरल्यान्ड्समा सुरु नयाँ शृखंलाको पहिलो खेलमै नेपाल अफ्रिकी राष्ट्र नामिबियासँग ८ विकेटले सहजै पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ बल अगावै सबै विकेट गुमाएर १५७ रनमा अलआउट भएको थियो । नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ७४ बल बाँकी छँदै जम्मा २ विकेट मात्र गुमाएर भेट्टायो । यो लिग २ साइकलमा नेपाल तेस्रो पटक नामिबियासँग पराजित भएको हो । सन् २०२४ फ्रेबुअरीमा नेपालबाटै सुरु भएको लिग २ को पहिलो शृखंलामै नेपाल नामिबियासँग ४ र २ विकेटले पराजित भएको थियो ।

लिग २ मा आफ्नो दोस्रो अन्तिम शृखंला खेलिरहेको नेपाल सामु अब हरेक खेल उत्तिकै महत्वपूर्ण छ । तर विदेशी कन्डिसनमा सधैँ कमजोर प्रदर्शन गर्ने नेपालको लागि यो हारले शीर्ष चारको सम्भावनालाई फेरि कमजोर बनाउने संकेत देखाएको छ । किनभने नेपालले लिग २ को यो साइकलमा विदेशी भूमिमा राम्रो प्रदर्शन गर्न सकेको छैन । विदेशी भूमिमा कूल १७ खेलमा नेपालले जम्मा ४ खेल मात्र जितेको छ भने यो ११औं पराजय हो । २ खेलमा भने नतिजा निस्केन ।

लिग २ मा २९ खेल खेलिसकेको नेपाल हाल २४ अंकसहित पाँचौ स्थानमा छ । नेपाल पछि रहेका नामिबिया र क्यानडाको पनि समान २४ अंक छ । नेपाल रनरेटमा मात्र छ ।

लिग २ बाट विश्वकप २०२७ को लागि ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड ३८ अंक जोडेर दोस्रोमा छ । नेपालले अब बाँकी ७ वटै खेल जिते पनि स्कटल्यान्ड समान अंक हुनेछ । त्यसैले नेपालका लागि अब बाँकी ७ वटै खेल फाइनल सरह हुनेछ । नेदरल्यान्ड्सका बाँकी तीन खेल खेलेपछि नेपालले अन्तिम शृखंला ओमानमा खेल्नेछ । अक्टोबरमा तय भएको उक्त शृंखलमा नेपालले ओमान र क्यानडासँग २-२ खेल खेल्नेछ ।

जेजेको बलिङमा फसेको नेपाल

उट्रेचस्थित स्पोर्टपार्क मार्सचल्केरविडमा टस हारेपछि ब्याटिङ गरेको नेपालले सुरुवात नै राम्रो गर्न सकेन । नामिबियाका अलराउण्डर जेजे स्मिथ बलिङमा छाए । सुरुवाती दुई विकेट लिएका जेजेले नेपालको अन्तिम ४ विकेट पनि लिए । बिचमा ज्याक ब्रेसवल र बर्नार्ड स्कोल्ट्सजेले २-२ विकेट लिए ।

ओपनर कुशल भुर्तेल दोस्रो बलमै मिडियम पेसर जेजेको बलमा बोल्ड भए । जेजेले नै नवौँ ओभरमा इशान पाण्डेलाई पनि बोल्ड गरे । ३१ बल खेलेका जम्मा ८ रन मात्र जोडे । त्यसपछि अर्का ओपनर आसिफ शेख (१६) लाई ब्रेसवलले १६ औं ओभरमै आउट गर्दा नेपालको स्कोर ४०-३ थियो ।

कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स केही सम्हाल्ने प्रयास गरे । रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । तर दुवै खेलाडीसहित आरिफ शेख पनि लगातार आउट हुँदा नेपालको इनिङ्स धर्मराएको थियो ।

३१औं ओभरमा दीपेन्द्रलाई स्कोल्ट्जले बोल्ड गरे । दीपेन्द्रले ५१ बल खेल्दै २ चौका प्रहार गरी ३० रन बनाए । त्यही ओभरमा आरिफ एलबीडब्लु धरापमा परे ।

त्यसपछि ब्रेसवेलले ३४औ ओभरमा कप्तान रोहितलाई विकेटकिपर जान ग्रिनबाट क्याच गराए । लगातार विकेट गुमेपछि नेपाल ९९-६ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रममा पनि ब्याटिङ गर्न सक्ने खेलाडी हुँदा नेपालले रन उकास्न सक्ने अपेक्षा थियो । तर थप ५८ रन जोड्दा बाँकी ४ विकेट गुम्यो ।

स्टार बलर जेजेले अन्तिम ४ विकेट नै लिए । सोमपाल कामीले ३० बलमा १ चौकासहित १५, गुलशनले ३८ बल खेल्दै समान चौका र १ छक्का सहित २०, करणले १५ बलमा १ चौका र छक्का प्रहार गरी १८ रन जोडे । नन्दन यादव १ रन बनाएर आउट भए । सन्दीप लामिछाने १ रनमा अविजित रहे । बाउन्ड्रीमा पनि नेपालले संघर्ष गर्दा जम्मा ६ चौका र २ छक्का प्रहार गरेको थियो ।

शीर्ष क्रमले राम्रो सुरुवात लिन नसक्दा मध्यक्रम र तल्लोक्रमले पनि ब्याटिङमा लय लिन सकेनन् ।

नामिबियाका जेज स्मितले ९.५ ओभरमा २७ रन मात्र खर्चेर ६ विकेट लिए । स्कोल्ट्जले १० ओभरमा  २ मेडन २२ रन तथा ब्रेसवले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चेर समान २ विकेट लिए । रुबेन ट्रम्पलम्यानले विकेट नलिएपनि न्यु बलमा राम्रो साथ दिँदै  १० ओभरमा १ मेडन राख्दै ३७ रन मात्र खर्चे ।

खेलपछि नेपालका कप्तान रोहित पौडेलले नामिबियाले राम्रो बलिङ गरेको र ब्याटिङ युनिटले सम्हालिन नसकेको प्रतिक्रिया दिए । ‘नामिबियाले राम्रो बलिङ गर्‍यो । विदेशगरी जेजे स्मिथले राम्रो बलिङ गरे । ट्रम्पलमेनले राम्रो सुरुवात दिलाए । विशेषगरी पावर प्लेमा विकेट गएपछि ब्याटिङ युनिट स्टेप अप हुन सकेन । रन स्कोर गर्ने बेला म र दीपेन्द्र आउट भयौँ । ब्याटिङ युनिट राम्रो भएन ।’ रोहितल भने । उनले अब आउने खेलमा राम्रो योजना बनाएर खेल्ने बताए ।

भान लिन्गेन र जान फ्रायलिंकको साझेदारी

नेपालले दिएको लक्ष्य नामिबियाका लागि ठूलो थिएन, जसले गर्दा ढुक्कले खेले । नेपालले स्कोरबोर्डमा कम रन बनाउँदा बलरले रन डिफेन्ड गर्ने अवसर नै पाएन ।

नामिबियाको इनिङ्समा ओपनर माइकल भान लिन्गेन र जान फ्रायलिंकले राम्रो ब्याटिङ गरे । दुवैले अर्धशतक प्रहार गरे भने ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरे ।

यसै खेलबाट नामिबियाका लागि ओडिआईमा डेब्यु गरेका अलेजान्डर बुसिङ भोलचेन्कलाई नन्दन यादवले २ रनमै आउट गर्दै नेपालालई सफलता दिलाएका थिए । २१ रनमा पहिलो विकेट गुमाएपनि भान लिन्गेन र फ्राईलिंकले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे ।

भान लिन्गनलाई नेपालका कप्तान रोहित पौडेलले बोल्ड गरे । उनले ७९ बल खेल्दै ४ चौका मदतमा ५१ रन जोडे । नेपाल विरुदध दुई शतक प्रहार गरिसकेका भान लिन्गनेल सन्यास फिर्ता लिएर उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

नामिबयाका लागि सर्वाधिक रन बनाएका फ्राईलिंक ७८ रनमा अविजित रहे । ८९ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । जान निकोल लफ्टी इटनले अविजित १७ रन योगदान गरे ।

नामिबिया विरुद्ध ओडिआईमा नेपालको कमजोर प्रदर्शनले निरन्तरता पाउँदा यो छैटौं हार हो । यी दुईबीच ओडिआईमा ९ खेल हुँदा नेपाललसन् २०२३ मा घरेलु मैदानमै भएको २ खेल मात्र जितेको थियो । १ खेल भने नतिजाविहिन बनेको थियो ।

अब नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्स विरुद्ध खेल्दैछ । कप्तान रोहितले अर्को खेलमा राम्रो योजना बनाएर आउने बताएका छन् ।

PHOTO: FB/CAN

आईसीसी क्रिकेट विश्वकप लिग टू
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय